site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
त्यही सात दिन
Sarbottam CementSarbottam Cement

त्यही सात दिन ! कति बिहानका अरुण–रश्मिहरू खेल्दै गए, कतिओटा सूर्य सन्ध्याको प्रखरताद्वारा आफ्नो तेजिलो विज्ञापन गर्दै, हीनताकै समर्थनमा समाप्त भइसके, तर ती सात दिन त्यस्तै जाज्वल्यमान छन् ।

सन्ध्या, कहिले उदास धमिलो रूपमा, कहिले केटाकेटीको खेलको चहलपहलमा, कतै नीरव निरीक्षणमा, किसिम–किसिमका रूप, रुचिमा प्रकट भएर गइसकिन् । यस्तै उषाले पनि समयानुसार कहिले जुही, मालतीको प्रफुल्लतामा, कहिले पारिजातको सौरभमा, कतै कमलको प्रस्फुटनमा र कतै तल–माथि भएका खेतहरूमा लहलहाउँदो तोरीको केसरी रङमा, अनेकौँ शृंगारलाई चरितार्थ गरिन्, तर आनन्दकुमारीको शारीरिक जीवनको प्रतिक्षण चलित गतिमा पनि ती सात दिनका आन्तरिक जीवनमा कहिले कुनै, उपद्रव, व्याघात परेन ।

कहिलेसम्म त्यो त्यस्तै रहिरहन्छ, निश्चल, मूक निरीक्षणगामी— यसको उत्तर अनिश्चितै छ ।

Prabhu Bank
Agni Group
NIC Asia

एक दिनको कुरा । स्वर्गको आनन्ददूत कल्पनाभन्दा पनि टाढादेखि कता–कताबाट आई विपन्नताको नर्कमा प्रत्यक्ष हुन गएछ । आँखाले त्यस अकल्पनीयतालाई समात्न साहसै गरेनन् । तर, प्रत्यक्ष थियो प्रत्यक्षै । आँखाले समातेनन्, प्रत्यक्षले आफैँ आँखाहरूलाई समात्यो ।

अनि, त्यही आनन्ददूतको चमत्कार ! अल्लादिनको जादुको महलझैँ एउटा महलमा खेलिरहेका आनन्दमा, आनन्दकुमारीलाई त्यस आनन्ददूतले ल्याएर नै फ्याँक्यो । प्रत्यक्ष नृत्य गर्न थाल्यो ।

Global Ime bank

पहिलो दिन । संकोच र लाजले हर प्रकारका उपभोगलाई डराएका आँखाबाट– परीहरूको विभूतिझैँ– छुनै नहुने जस्तो देख्नुपर्यो । फिक्का गुलाफी रङको पाउडरले गोरो मुखलाई सुदर्शनीय पारेका र एकदम सेतो पाउडरको तहमा श्यामताको आभाले चियाउँदै शुद्ध गोरो हुने प्रयत्नको उपहास गरिरहेका र यस्तै कैयौँ प्रकारका रङ–बिरंगी रुचिकर, अरुचिकर अनुहारहरूले पनि सुन्दर, रेसमी, मूल्यवान्, चमचम परिधानमा गौरवको प्रभावको सृजन गरिरहेकै थिए ।

ती थिए दासीहरू र आनन्दकुमारीको सानोभन्दा सानो इच्छापूर्तिका निम्ति तयार भए पनि, अनभ्यस्त आनन्दकुमारीलाई उनीहरूको परिचर्याको चेष्टा नै एउटा अत्याचार जस्तो कष्टकर लाग्यो ।

आँखामा उत्सुकता खेलिरहेको थियो । अज्ञात लालसाहरू कुन्नि कताबाट आएर जान्नाको निम्ति उन्मुख हुन लालायित थिए । कुना–कुनामा छरिएको सुनौलापन, उनको सामुन्ने आफ्नो अंग खोलेर बसिरहेको थियो । उनीहरूमा आह्वान थियो र हरेक प्रकारका सगति, सवाक्, मूक र निस्पन्द चेष्टाहरू पनि उनलाई आफ्नो काखमा सुख र विश्राम दिन तयार थिए ।

तर, हृदयचाहिँ भीरुताले भाराकान्त भइरहेको थियो । संकोच, लाज उनका मृगीजस्ता आँखाहरूमा सजिलैसित देखिन्थे र तिनीहरू सबैमा उनले आफूलाई हरतरहबाट अबोध जस्तो अनुभव गरिहेकी थिइन् । साधारण समाजको उपयुक्त संस्कारकी भए पनि त्यहाँका उत्कृष्ट सबै थोकको निम्ति अयोग्य, अक्षम !

मनमा ल्याइएका हर प्रकारका साहसहरूले पनि जब उनीलाई थाम्न सकेनन् अनि केही नपाएर डर मान्दै एउटा मखमली कौचमा लडिन्, फेरि आँखा चिम्लेरै, सब दासीहरूलाई त्यहाँबाट अन्त जान भनिन् । त्यो तिनीहरूलाई उनको आज्ञा थियो अथवा भीरु प्रार्थना— यो कुरा ईश्वरै जानून् ।

कुन्नि कताबाट के भएछ र एक घण्टापछि कौचबाट जुरुक्क उठेर एउटा स्प्रिङदार मेचमा बसिन् । कस्तो लचकदार, कस्तो नरम, स्निग्ध र सुखद ! बिस्तार–बिस्तारै वैभवको मादकताले तान्न थाल्यो ।

चित्रित टिनको सुनौला छतमा झुन्डिइरहेका अनेकौँ प्रकारका बिजुलीका झाड, फानुस, कमल र भित्ताहरूमा अनेकौँ प्रकारका कलापूर्ण फ्रेममा जडिएका तस्बिर, सुन्दर ब्याकेट्स, कलापूर्ण मूर्तिहरू, कस्ता आकर्षक, अद्भुत ! टेबुलमाथि राखिएका कैयौँ प्रकारका शृंगारका वस्तुहरू र भिन्न–भिन्न प्रकारका सुन्दर सिसीहरूमा अनेकौँ रङका सुगन्धित सेन्ट, अत्तर इत्यादि !

मुजूरका, मान्छेका, लहरा–पातका चित्रहरू कलापूर्ण बुनोटले नै प्रदर्शित गरेका जालीदार, अनेकौँ रङका रेसमी पर्दाहरू झ्यालमा फरफराइरहेका थिए । सूर्यको घाम होइन कि प्रकाश मात्र ती पर्दाहरूका चमकदार जालीमा झिलमिल खेल खेलिरहेको थियो ।

कस्तो लामो, ठूलो र विशाल कोठा, भुईँमा ओछ्याइएको नरम गलैँचा, अनेक थरीका चित्रकारी भएका रंगीन भित्ता ! भव्यताले मूक अभिमानको सृजन गरिरहेको थियो ।

अकस्मात् उनको आँखा, सामुन्नेको उनीजत्तिकै अग्लो, बिल्लौरी, निर्मल ऐनामा परेर उनले आफ्नो रूप देखिछन्— प्रदीप्त, सरल, लोभ्याउने सौन्दर्य ! उनीलाई आफूमाथि आफ्नै गर्व र ममता पैदा भयो ।

आइमाईहरू स्वभावतः शृंगारप्रिय हुन्छन् । मनमा कुरा खेल्न थाल्यो— ‘राम्ररी सिँगारिए यहाँ भएजतिभन्दा बढ्ता रूप आओइन र ?’ अनि सिनेमाका चलचित्रझैँ आँखाहरूको सामुन्ने ती हरिया, नीला, पहेँला फिक्का, गाढा रङका चमचम सारीहरूको कल्पना चम्कन थाल्यो ।

वैभवको रङले बिस्तार–बिस्तारै मस्तिष्कलाई रंगीन गर्न थाल्यो । ‘कुन रङको सारी मेरो यो स्निग्ध, सेतो, सुकुमार आङमा सुहाउला ? रातो ? होइन, आकर्षक भए पनि त्यसले आफ्नो गाढा रङले शरीरको स्वाभाविक सुन्दरता नै छोपिदेला । अनि पहेँलो, नीलो, कालो ? उहुँ !’

आँखा चिम्लेर माथिका हरएक रङका सारीहरूले मनमनै सजिई क्रमशः आफ्नो काल्पनिक रूप हेरिन् । कुनै पनि मन परेन । अकस्मात् सम्झिन्— आस्मानी रङको मिहीन सारी ।

‘हो । यही हुन्छ । आस्मानी रङको भित्रबाट चियाइरहने रातोपना लिएको सेतो आङको आभा ! कत्ति आकर्षक हुन्छ ?’

अघि आएको मानसिक दुर्बलतालाई त्यो सुसज्जित कोठाको नीरवता र शून्यताहरूले बिस्तार–बिस्तारै साहस दिँदै ल्याए र कल्पना क्रमशः उज्ज्वलतर, प्रदीप्त हुँदै आई, वैभवको मद पिउन थाल्यो ।

त्यसपछि क्रमशः एक दिन, दुई दिन, तीन दिन र यस्तै सातै दिन ! प्रचण्ड विलास, हरेक किसिमका उद्दीपक साधनहरूसाथ तीव्र हुँदै चरितार्थ हुन थाले । हृदय र प्राण, संकोच र लज्जा, शुभ र अनौचित्य कसैको केही पनि लागेन र कसैको वास्ता पनि गरिएन ।

केवल विलास, ज्वाला र एक–एक अणुपर्यन्त तप्त पारिदिने सुख होइन कि प्रमत्तता ! अत्यन्त प्रत्यक्ष र प्रदीप्त सात दिन सात प्रकारका आँधीहुरी चरितार्थ हुन थाले, प्रचण्ड र मदमय ! त्यो सुख थियो कि दुःख, यसको विवेचनाको सुविधा र समय, त्यस बखत दुवै पाइएन ।

तर, त्यसपछि सामुन्ने आयो त्यही अन्धकार, उदास आफ्नो विपन्न कोठा ! त्यही घर, त्यही समाज, त्यही दुःख–सुख, छिमेकीहरूको सहानुभूति र विरोध इत्यादि । रुचिकर, अरुचिकर स्वाभाविकता !

स्वर्गको त्यो आनन्ददूत, परीहरूको सम्पत्ति, अल्लादिनको दीपकको जादु— सबै कता गएछन्, कता हो कता ?

भो । प्रत्यक्ष र प्रस्ट खँदिलो कहानी त यत्तिकै हो । व्यर्थमा काल्पनिक रङ चढाएर कथालाई असत्य र असजिलो पार्नु त ‘कला’ होइन । हो, यसैमध्ये आनन्दकुमारीले आफ्नो साथी सरलालाई लेखेको एउटा चिठीको पनि आविष्कार भएको छ । त्यो पढेपछि कथालाई रोचक वा अरोचक —जेजसो बुझिन्छ— समाप्त भनेर छोडिदिनुपर्दछ ।

चिठीमा थियो—
मेरी सरला,
धेरै दिनमा पत्र लेखिरहेकी छु । मेरो कथा त सुनेकै हौली । तिम्रो मनमा विचार आयो होला कि तिम्री दिदी आनन्द सुखसागरमा चुर्लुम्म भई, संसारको स्वप्नमा शीतलताको शान्ति अथवा सुखको भोग भोगिरहेकी होली । केही अंशमा कुरा पनि सत्य छ । तर, आन्तरिक होइन बाह्य मात्र ।

बाबु–आमाहरू खुसी छन् । तिनीहरूलाई कल्पनातीत सफलता प्राप्त भएको छ, घरद्वार र बन्दबेपारलाई केही पुँजी समेत ! मलाई जन्माए, यस क्षुद्र तनको कुनै किसिमको उपयोगले तिनीहरूलाई प्रसन्न तुल्याएको छ भने मेरो रचना —शरीरको अस्तित्वसम्म— सार्थक भो ।

छिमेकीहरू यताउता हाँस्तछन्, अनेकौँ कटु, क्रूर आलोचना पनि गर्दछन्, तर घृणाले होइन, ईष्र्याले ! मेरो पतनको प्रतिकारनिमित्त कटुता व्यक्त गरेको भए त सुखैको कुरो थियो, सरला ! तर, त्यसो छैन । तिनीहरूको उत्सुक दृष्टि, मलाई हेर्ने तीव्र अदम्य आकांक्षाले नै, तिनीहरूको कहिले पनि पूरा हुन नसक्ने लोलुपता मात्रै व्यक्त गरिरहेको छ ।

सत्य र वास्तविक रूपमा त्यो कहिले पनि पाइएन । तीव्र प्रतिरोधको उद्गम स्थानै शुष्क नभएको भए, यी छिमेकीहरू मेरो यस शरीरैलाई आफ्नो अपमानको प्रतीक भन्ठान्ने थिए, प्रत्यक्ष र मूर्तिमान ! तर, रुने ठाउँमा तिनीहरू हाँस्तछन्, लाजले भुईँ हेर्नुपर्ने ठाउँमा आँखा उठाएर मलाई हेर्दछन् ।

तिनीहरूको दृष्टिमा कतिको लज्जाहीन लोलुपता छ, त्यसको अनुभव त मैले नै प्रतिक्षण गरी, भोगिरहेकी छु । हाँस्तछन्, हाँसून्, हेर्न चाहन्छन्, हेरून्, व्यंग्य गर्छन्, गरून्, त्यो मेरा निम्ति त होइन ! तिनीहरूकै विकार, तिनीहरूमाथि नै चरितार्थ भइरहेछ । तर, अरूहरूको केको गन्थन ?

भयानक अन्धकार । सरला ! आखाँको सामुन्ने यस्तो रमाइलो संसार छरिएको छ, त्यो हेरेर आत्मामा प्रसन्नता पनि आउँदछ । तर, हृदयको भित्री तहमा केही पनि बिउझिँÞदैन । त्यहाँ त त्यही छ, भयानक अन्धकार !

सबैले मलाई हेर्दछन् । खित्का छोडेर हाँस्ने इच्छा हुन्छ । बहुला दुनियाँले यस मेरो शरीरमा त्यो भव्यता, त्यो अतीतको जाज्वल्यता कता छ भनी खोजिरहेको छ । कस्तो गहिरो र तिखो दृष्टि ममाथि पर्दछ, त्यसको अनुभव मात्र म गरिरहेकी छु ।

तर, के हेर्छन् ? ती प्राणीहरूलाई ममा भएको कुन कुराको चाहना छ ? यहाँ त केही छँदै छैन । भएजतिको त ठाउँका ठाउँमा नै छोडेर आएकी छु । बरु, आफ्नो साथमा भएको आकांक्षा, उत्साह, उल्लास, जीवन, गति र अबला नारी जातिको सर्वस्वसमेत त्यहीँ छ । किन त्यहीँ छ ?

देउतामा गरेको समर्पणस्वरूप वा विष्णुले गरेको वृन्दाको सर्वस्वहरण जस्तो, कुन्नि ! यो फैसला गर्न खोज्दा मन आत्तिन थाल्दछ ।

बडो मादकता थियो, सरला ! के भनूँ, भनेर साध्य छैन । वैभवमा यत्ति विलास हुन्छ, विलासमा यति मस्ती हुन्छ र मस्तीमा यस्तो आत्मविस्मृति पनि हुन सक्तो रहेछ, यो कल्पनै थिएन ।

बाबै ! त्यस बखत जम्मै बिर्सेँ सरला ! त्यहाँ भएका सुखहरूमा मेरो शरीर र प्राणको एक–एक कण बाँडिएको थियो, तैपनि पूरा भएन । ती सुखहरूले मलाई खेलौना तुल्याएर खेल्न थाले । एक–एक रोमपर्यन्त लिएर खेलिहाले ।

त्यस खेलमा मेरो अस्तित्वै लोप भयो, तर अहँ, त्यहाँका सुखहरूको खेल–पिपासा मबाट तृप्त भएन । तिनीहरूलाई अझ पनि चाहना छ, बराबर यो चाहना कायमै पनि रहनेछ ।

कस्तो बेहोसी— प्रेम, मोह क्या हो, बुझ्नै सकिनँ । कस्तो ज्वाला ?— भोग र तृष्णा समेत डढिसके ! कस्तो जादु ?— लालसा र उत्कण्ठापर्यन्त लुप्त भए सरला ! हृदयको हाहाकार कसरी तिम्रो हृदयको निकट पुर्याऊँ ? जुन वासना, हाड र मासुको ऐन्द्रिक सत्य, शारीरिक कामोपभोगलाई प्रधानता दिएर गएकी थिएँ, शरीरको सबै किसिमको यस्तो प्रयोग गरे पनि एक अणु मात्र सुख, दुःख, ज्वाला वा जो छ त्यसको अनुभव उपलब्ध भएको भए, यो जम्मै व्यापारलाई —जेजस्तो भए पनि— सुखै र सार्थकै सम्झन्थेँ ।

तर, हाय ! नारीको सर्वस्व गुमाएर पनि त्यो अलिकति पनि त पाइनँ !

पत्र लामो भो । तिमी पनि आत्तिने छ्यौ । तर, बहिनी, हृदयको सन्ताप हो, मूक भएर सहन सकिनँ । भनूँ भने कोसित ? कदाचित् लज्जा छोडी, आँखा चिम्लेर भनि पनि हालूँ भने सुन्नेहरूसँग उपहासबाहेक अरू केही पनि पाउने आशा छैन । नभनूँ भने हृदय गरुंगो भएर थिचिन लागेको छ । असह्यै भएको हुनाले तिमीलाई कष्ट दिइरहेकी छु, केही हलुंगो होला कि भन्ने आशाले ! झिँजो नमाने है !

बिहानदेखि नै झ्यालमा आई बस्तछु । मूक र निस्पन्द दृष्टिले यी आँखाहरूको सामुन्ने छरिएको सृष्टिको अपार वैभव र त्यसको नृत्य हेर्ने क्रम चल्न थाल्दछ । तर, अन्तर्चक्षुमा त चलचित्रका तस्बिर क्रमशः घुमी–घुमी आउँदछन् त्यही एक, दुई, तीन यस्तै सातै दिनको अनन्त, सतृष्ण झिलिमिली !

एकसेएक झकीझकाउ पारेका दामी मोटरहरू सन्नसन्न सामुन्नेको सडकबाट निस्कन थाल्दछन्, उनीहरूमा बसेकामध्ये, कहिलेकाहीँ हेर्न पाउँदछु— यस्तै चमचम परिधानमा सजिएका, पाउडर–लालीले सुशोभित मूर्तिमान् मनोहरता ! अनि, अन्तर्चक्षुमा झल्याँस्स उदाइहाल्दछ, ‘त्यही सात दिन,’ अतृप्त, अपूर्ण, अगाध ! कहिलेसम्म त्यो त्यस्तै रहिरहन्छ तीव्र, वितृष्ण– ईश्वरै जानून् । सरला ! अब मुटु खान थाल्यो, भो ।
तिम्री— दुःखी वा सुखी, कुन्नि, 
दिदी–आनन्द
(रचनाकाल : १९९६)
(भिक्षुको कथाकृति ‘गुनकेसरी’बाट ।)
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, पुस ९, २०७९  ०९:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC