प्रश्न मूर्खतापूर्ण थियो
त्यसको जवाफ
न्यायाधीशका मगजबाहिरको
विद्वत हुनेवाला थियो
त्यसकारण मैले
दाँत मात्र देखाएँ
दाँत मात्र देखाएँ
दाँत मात्र देखाएँ
एक विशेष न्यायाधीशले
त्यस्तो केही सोधेन
खालि कुटिल मुस्कानले मतिर घुरिरह्यो, घुरिरह्यो
म
डराएँ
किनभने, कुटिल मुस्कान
मनुष्य मात्रको लागि निकै घातक,
भयानक
र खतरनाक हुन्छ
मलाई यो न्यायाधीश झन् खतरनाक लाग्यो
म
भयातुर भएँ
समय मौन छ
सब न्यायाधीश
मलाई
र
समयलाई
भयानक घुरिरहेका छन्
लाग्दै छ
फैसला कडा हुँदै छ
उनीहरूले
मेरा सोच
मेरा शब्द
मेरा वाक्य
त्यसमा निर्माण भएका मेरा कविता सत्ताविरोधी मानेका थिए
इजलासमा
पैरवी
हेर्न
ढुकिरहेका
तठस्त वैरभावका थुप्रै आँखाहरू थिए
ती सब
एक कविको
नियति हेर्न बसेका मनोरञ्जनकामी विदूषक थिए
ती त्यस्तो, उस्तो कायर नभएको भए
फासिस्टको राज्य चल्ने थिएन
दलिल थियो
मैले
तैल्य, शालीन
भक्तिका, शृंगारका, नितम्बका, वक्षस्थलका
आदि आदि
राम्रो खुराकका कविताहरू
लेख्नपर्ने थियो
तर, मैले त्यसो गरिनँ
के गरेँ ?
भटाभट वर्जित विषयमा लेखिरहेँ, लेखिरहेँ
न्यायाधीशहरू
वकिलहरू
उग्र
क्षुब्ध
थिए
किनभने,
म दाँत मात्र देखाइरहेको थिएँ
इजलास जारी थियो
म दाँत मात्र देखाइरहेको थिएँ
संसारमा सजिलो काम दाँत मात्र देखाउनु हो