site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
निदाउने खुट्टालाई किन चाहियो ट्राउजर !
Sarbottam CementSarbottam Cement

विराटनगरमा निकै दिन बितिसकेको थियो । दिन पनि कम थिएन । करिब २८ दिनको काजमा विराटनगर पुगेका थियौँ, हामी चारजना ।

अफिसको काम सम्पादन गर्ने एउटा नियमित तालिका थियो । र, थियो, तोकिएको समयमा आवश्वयक काम सिध्याउनुपर्ने बाध्यता पनि । त्यसैले काममा ध्यान दिइनु अस्वाभाविक थिएन ।

त्यसबीचमै पनि बिदा पर्थ्यो । र, बिदाकै लहरोमा लगातार तीन दिनको बिदाले हामीलाई अत्याएको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

त्यही तीनदिने बिदाले सिर्जेको थियो, दार्जिलिङ यात्रा । २०५३ माघ तेस्रो साताको चिसोले च्यापेको थियो । यद्यपि, अचेलजस्तो हुस्सुले तराईलाई पेलिसकेको थिएन । बिहान–बेलुकी चिसोचिसो भए पनि दिउँसोको घामले हाफ स्वेटर मात्र खोज्थ्यो ।

एक साँझ अकस्मात् तीनदिने बिदामा दार्जिलिङ जाने कुरो चल्यो । कुरो चल्यो मात्र हैन, टुंगो नै लाग्यो । त्यसैले शनिबार (सायद शनिबार नै !) बिहानै मारुती भ्यानमा हामी ६ जना कोच्चियौँ ।

Global Ime bank

विजय गौतम सर अगाडिको सिटमा विराजमान भए । राजेश राजभण्डारी दाइ, रघुवर श्रेष्ठजी र अरू पनि केहीले पछिल्लो सिट ओगटे । सन्ठी साइजको मेरा लागि सिट मिल्ने छाँटकाँट देखिएन ।

भ्यानका ड्राइभरले उपाय निकाले । ड्राइभर थिए, त्यसैले यस्ता उपाय निकाल्न खप्पिस पनि । उनले अगाडिको सिटमा एउटा बस्न मिल्ने अवयव स्थापना गरे । उनले गौतम हाकिमलाई देब्रेतिर झ्यालमा पारेर ड्राइभरको देब्रे बस्ने गरी मेरो लागि सिट व्यवस्थापन गरे ।

बिहान यस्तै सात बजेको हुँदो हो, विराटनगर छोड्दा । ड्राइभर र हाकिमका बीचमा असजिलो गरी चेपिएको थिएँ म । तर पनि दार्जिलिङ जाने लोभले यात्रामा रमाउने प्रयत्न गर्दै थिएँ ।

भ्यान दमक पुगेर अडियो । कसैले चियाचमेनाको कुरा उठाएपछि ड्राइभरले एक छेउ लगाएर एउटा होटेलको अघिल्तिर रोकेका थिए । त्यहाँ ओर्लंदा भने मलाई ‘हैट ! बेकारमा आइएछ’ भन्ने लाग्यो । म केही समय त गाडीबाट ओर्लनै सकिनँ । मेरा दुवै खुट्टा निदाएर जाम भएका थिए ।

असहज बसाइको यो पीडादायी परिणामले मलाई दार्जिलिङको यात्रा भारी लाग्न थाल्यो । भर्खरै दमक आइपुगिएको छ । दार्जिलिङ त साँझ मात्र पुगिएला । यो सात–आठ घण्टाको यात्रामा मेरा खुट्टाले कति सकस भोग्ने हो !

यो सोच्दैमा म रन्थनिएँ । दार्जिलिङ यात्रा मेरा लागि अत्यन्तै कष्टकर हुने कुरामा कुनै शंका रहेन । त्यो पीडाबाट मुक्ति पाउने अर्को कुनै उपाय थिएन । न त कसैले त्यतातिर सोचेका नै थिए । नभए तासको खेलमा जस्तो ‘कट फर सिट’ले मलाई केही राहत दिन्थ्यो कि !

गाडीबाट ओर्लिएका हामी सबै नजिककै चियानास्ता पसलमा छिर्यौँ । तराई क्षेत्रको प्रसिद्ध खाजा पुरी–जिलेबी, तरकारी र चियाको खान्कीमा हामफाल्यौँ । कारण, भोकले पेट कराउन थालिसकेको थियो हाम्रो ।

म फेरि पनि त्यही सिटमा गएर बसेँ । अरूले पनि आ–आफ्नो सिट समाए । त्यसपछि ड्राइभरले गाडी पूर्वतिर हुइँक्याए । गाडीभित्र पाँच–छ रङका मानिस, अनेक रङका गफको हुरी चल्दै थियो । गाडीभित्र गरिने गफ त्यस्तै त हो ।

बिर्तामोड पुगेपछि भ्यान उत्तरतिर मोडियो । झापाका प्रसिद्ध ठाउँ शनिश्चरे, हँडिया बुधबारेका बोर्डहरू देखापरे । बारम्बार नाम सुनेका ती ठाउँ । तथापि, त्यस क्षेत्रमा म पहिलोपटक यात्रारत थिएँ ।

रमाइलो मानेँ । यति रमाइलो नमान्ने हो भने मेरो खुट्टाले घरीघरी निदाएर झनै दुःख दिने थियो ।

मेरा दुवै खुट्टा बेस्मारी निदाएकाले मेरा आँखामा रत्तिभर निद थिएन । एक झप्की लिएर केही बेर मात्र आँखा चिम्लन सकेको भए खुट्टा निदाएको पीडा भुल्न सहज हुन्थ्यो होला । तर, त्यो मौका नै मिलेन । घरी गौतम सरको चलमल, अनि घरी ड्राइभरको लगातारको गियर परिवर्तनले मलाई झन् अप्ठेरोमा पारेको थियो ।

खासमा अप्ठेरोमा फलेको फर्सीजस्तै मेरो अवस्था थियो । न त हाकिमसँग केही भन्नु । न त ड्राइभरलाई नै केही भनेर उपाय लाग्थ्यो । मेरो पीडा आफ्नै ठाउँमा थियो । अरू सबै हाँसो ठहाकमा यात्रा गरिरहेका थिए । आफू भने त्यस हाँसोका बीच मन र अनुहार दुवै अमिलो बनाएर यात्रा गर्न बाध्य थिएँ ।

कन्याम हुँदै उकालो उक्लिएको गाडी फिक्कलमा गएर अडियो । १२ बजेर माथि उक्लिसकेको थियो, समय पनि । दमकको खाजाले थेग्न छोडिसकेको थियो । त्यसैले त्यतै कतै दालभात खानुको विकल्प थिएन ।

भातै खान पनि बाहिर ओर्लनु थियो । मलाई बाहिर ओर्लन हदैसम्मको सकस भइसकेको थियो । मेरा दुवै खुट्टा गाडीका टायर पञ्चर भएजसरी जाम थिए । बल्लतल्ल बाहिर निस्केर पाँच/सातपटक उफ्रिएपछि बल्ल खुट्टोले भुईँ छोएको अनुभव भयो ।

मेरो अवस्था देखेर कोही हाँसिरहेका थिए कि थिएनन्, मलाई सम्झना छैन । तर, यात्राको त्यो पीडाले आज पनि मलाई झस्काउने गर्छ ।

भर्खरै फिक्कल आइएको छ । अझै कति गुड्न बाँकी नै छ । भन्नुको अर्थ, मेरा गोडालाई अझै केही घण्टा सकस दिन बाँकी नै छ । तर, मलाई आश्चर्य आज पनि लागिरहेको छ, मेरो गोडातिर कसैको ध्यान किन गइरहेको थिएन ! सम्भवतः ध्यान दिनासाथ उसले मेरो ठाउँमा आउनुपर्थ्यो । अनि, त्यो सकस उसको भागमा पर्ने थियो ।

खैर, त्यो दुःख मैले बोक्न लेखेको रहेछ । म त्यसरी नै दार्जिलिङ पुगेँ, पशुपतिनगर, मिरिक, सुकियापोखरी, घुम हुँदै । सुकियापोखरीको झ्वाइँखट्टेले पनि मेरो खुट्टाको उपचार गर्न सकेन । आश्चर्य !

दार्जिलिङमा ओर्लिएपछि मलाई राहत मिल्यो । खुट्टा त माइनस डिग्रीको (हो कि ! चिसो औधी थियो ।) दार्जिलिङमा पनि निदाएकै थियो । ओर्लिएर केही बेर दार्जिलिङको भूमिमा टेकेपछि मात्रै मेरा गोडालाई बल मिलेको थियो ।

दार्जिलिङको यो यात्रामा गोडाले दिनुसम्मको सकस दिएकै थियो । सँगै अर्को सकस थपियो । त्यो थियो, त्यहाँको चिसो र स्याँठ । जसले दिनभरि निदाएका मेरा ट्राउजरविहीन खुट्टामा हानिरहेको थियो ।

त्यस बेलासम्म म ट्राउजर लगाउँदिनथेँ । काठमाडौंको कस्तै जाडोमा पनि मेरा खुट्टामा ट्राउजर हुँदैन थियो । खासमा ट्राउजर लगाउने बानी नै भएन । त्यसैले कहिल्यै किन्दै किनिएन ।

दार्जिलिङमा भने ‘लभ स्टोरी’को गीतले ‘याद आ रही है...तेरी याद आ रही है...’ भनेजस्तै ट्राउजरको याद आइरह्यो । तर, हुस्सु म ! एउटा ट्राउजर किनेर लगाइहालौँ भन्नेतिर मेरो ध्यान गएन ।

सायद सोचेँ हूँला, निदाउने खुट्टालाई किन चाहियो र ट्राउजर ! फेरि, ट्राउजरभन्दा दह्रिलो खुराकी तातोपानीसँग उदरस्थ गरेपछि खुट्टा त के ज्यानै पनि तात्छ । सायद यस्तैयस्तै केही सोचियो होला । त्यसैले थोरै समय बजार घुमेर सबै घुसे एउटा रेस्टुरेन्टभित्र ।

डेढ/दुई घण्टाको समय रेस्टुरेन्टले खायो । हामीले भोक र थकाइ मार्न केही खानेकुरा खायौँ । नास्ताखानासँगै सिक्किमतिरको ब्रान्डीले पनि समय लिएको थियो ।

रेस्टुरेन्टबाट बाहिर निस्कियौँ । हामी सबै रात बिताउन मिलाइएको होटेलमा पुग्यौँ । होटेलवालाले बिनाएसीको कोठामा पुर्याए । त्यो देखेरै राजेश दाइ, रघुवर र म रन्थनियौँ । होटेल पुग्दासम्मै चिसोले सेकिसकेको थियो । त्यसमाथि एउटा÷एउटा सिरक राखिएको ओछ्यानले के तातो दिन्थ्यो !

हाम्रो खैलाबैलाले होटेल साहु सायद पग्लिए । थप एक÷एकथान सिरक ओछ्यानमा ल्याइदिने भए । र, दोहोरो सिरक खापेर हामी तीनैजना ओछ्यानमा लम्पसार पर्यौँ । यति हुँदा पनि जाडोले मुटु काँपी नै रह्यो । त्यतिखेर बाहिरी सिरक मात्रै हैन, भित्री सिरक (रकसी)ले पनि केही काम गरिरहेको थिएन ।

यतिखेर मेरा खुट्टा निदाएका थिएनन् । म निदाउन खोजिरहेको थिएँ, जाडोले निदाउन सकिरहेको थिइनँ । राजेश दाइ र रघुवरको हालत पनि त्यस्तै थियो । सिरकभित्र लडेरै हामी तीन भाइ गफिन थाल्यौँ ।

कति बेला ओछ्यान तात्यो, कति बेला निदाइयो थाहा भएन । बिहानै चार बजे नै टाइगर हिल जाने भनेर उठाउन आइहाले, सहयात्रीहरू ।

मेरो अबको चिन्ता दुई थानमा बढ्यो । अघिल्लो दिनसम्म ‘खुट्टा निदाउने भयो’ भन्ने मात्रै थियो । अब त ट्राउजर नलगाउँदा दार्जिलिङको माघे जाडोले खेद्ने समस्या पनि खडा भयो ।

त्यसैले राजेश दाइको सल्लाहबमोजिम राति लगाएको पतलुनमाथि नै पाइन्ट उनेँ । तर, थर्मोकोटजस्तो न्यानो के हुन्थ्यो ! पतलुनले चिसो अलिकति पनि छेकेन । जीन या कटराइजको पाइन्ट भएको भए केही न्यानो हुन्थ्यो होला । तर, पोलिस्टर कपडाको पाइन्टले त्यो माथिको चिसोलाई के छेल्थ्यो !

आखिर पुग्नै थियो टाइगर हिल । सूर्योदय हेर्ने त्यो प्रसिद्ध थलोमा जानैपर्थ्यो । अनेक घुम्ती पार गर्दै टाइगर हिल पुगियो ।

हिलमा हिउँको ढिस्को बनाएर राखिएको थियो । त्यसै दिन त हैन, पहिले नै हिउँ परेको रहेछ । त्यहाँ चिसो खान आउनेहरूका लागि त्यो राखिएको थियो, सायद ।

टाइगर हिलमा चिसोले झनै हान्यो । त्यसैले गाडीबाट ओर्लने हिम्मत भएन । गाडीमै बसेर पनि के टाइगर हिल पुगेको बयान गर्नु भनेर चिसो सहँदै ओर्लिएँ । ट्राउजर नभएको खुट्टा अहिले पनि निदाइ नै रहेको थियो ।

बादल लागेको कारण टाइगर हिलको यात्रा सफल भएन । हिलबाट सूर्योदय हेर्न सकिएन । सूर्योदय हेर्न पाए केही सन्तोक लाग्थ्यो कि । तर, त्यसको सम्भावना नै रहेन । र, एक÷एक कप थर्मसे चिया पिएर हामी ओर्लियौँ तलतिर ।

अब भने दार्जिलिङ पुगेर एउटा ट्राउजरचाहिँ किन्छु– म यही सोचिरहेको थिएँ । गाडीमा बसाइ नमिलेकाले मेरा खुट्टाले नियमित निदाउने प्रक्रिया सुरु गरिसकेको थियो । ट्राउजर लगाउन पाए यति सारो निदाउँदैन थियो कि ! म मनलाई सान्त्वना दिँदै थिएँ ।

तर, गज्जब भयो । गाडी दार्जिलिङतिर नलागेर खर्स्याङतिर पो ओर्लियो । र, खर्स्याङ हुँदै सिलिगुडी । त्यतिखेरै राम्रो खालको ट्राउजर किन्ने मेरो सपनामा पानी पोखियो ।

यसरी त्यो यात्राभरि मेरा खुट्टा निदाइरह्यो । अब विराटनगर कति बेला पुगिएला र खुट्टा निदाउन छोड्ला, सिलिगुडीमा पनि मलाई त्यही चिन्ताले सताइरहेको थियो ।  
  
  


 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, पुस ९, २०७९  ०६:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC