
डाकार । सेनेगलको संसद्मा बिहीबार एकजना पुरुष विधायकले महिला विधायकको गालामा थप्पड हानेपछि निकै हंगामा मच्चिएको छ । सत्तारूढ र विपक्षी राजनीतिक दलहरूबीचको सम्बन्धन बिग्रिरहेका बेला घटेको यस घटनाको फुटेज टेलिभिजनले प्रसारण गरेको थियो ।
संसद्मा बजेट प्रस्तुत भइरहेका बेला विपक्षी सांसद मास्साता साम्बले सरासर हिँडेर अचानक सत्तारूढ बेन्नो बोक याकार (बीबीवाई) गठबन्धनका महिला विधायक एमी नियाये निवाईको गालामा थप्पड हानेपछि संसद्मा झगडा सुरु भएको थियो ।
अर्का एक विधायकले निवाईलाई शान्त पार्नुअघि उनले पनि साम्बमाथि मेच प्रहार गरेकी थिइन् ।
सांसदहरूले एकअर्कालाई आरोप प्रत्यारोप गर्दै मुक्का हानहान गर्न थालेपछि संसद् बैठक नै स्थगन गरिएको थियो ।

गत जुलाईमा भएको विधानसभाको निर्वाचनदेखि नै सत्तारूढ र विपक्षी दलका नेताहरूबीच तनाव सुरु भएको थियो । सो चुनावमा सत्तारूढ पार्टीले सहज बहुमत गुमाएको थियो । राष्ट्रपति म्याकी सालले सन् २०२४ मा तेस्रो कार्यकालका लागि चुनावमा उठ्ने विवादका कारण चुनाव प्रभावित भएको थियो ।
सालले आफू आगामी चुनावमा उठ्नेबारे यकिन धारणा व्यक्त गरेका थिएनन् । विपक्षीहरूले भने उनले तेस्रो कार्यकालका लागि चुनावमा उठ्दा कार्यकाल सीमाको कानुन उल्लंघन हुने तर्क गरेका थिए ।
रोयटर्सबाट ।