टोकियो । जापानमा मृत्युदण्डको प्रतिक्षामा रहेका तीनजना कैदीले सरकारलाई अदालतमा तान्दैछन् । तिनीहरुले झुण्ड्याएर मृत्युदण्ड दिने कार्यविरुद्ध संघर्ष गर्ने भएका बीबीसीले लेखेको छ ।
मुलुकमा मृत्युदण्डको नाममा कसैलाई झुण्ड्याइनु निकै अमानवीय कार्य भएको उनीहरुको जिकिर छ । उनीहरुले अदालतमा फाँसी दिइने भन्ने सन्त्राशका कारण परेको मनावैज्ञानिक तनावको क्षतिपूर्ति स्वरुप दुई लाख ३८ हजार अमेरिकी डलर क्षतिपूर्तिको पनि माग गरिरहेका छन् ।
जापानी समाचार निकाय क्योदोले तिनीहरुले थुप्रै वर्षदेखि मृत्युको डर लिएर बाँच्दा आफूमाथि मानसिक आघात परेको बताएका उल्लेख गरेको छ ।
न्याय मन्त्रालयले आफूसमक्ष अझै यस्तो कुनै गुनासो प्राप्त भइनसकेकाले यसबारे कुनै टिप्पणी गर्न नसकिने बताएको छ । ती तीन कैदीका वकिल क्योजी मिजुतानीले यस मुद्दाले जापानमा भावी ठूला सजायमाथि बहस सुरु गर्ने आशा राखेको बताएका छन् ।
गत वर्षको अन्त्यमा ओसाका सहरमा पनि मृत्युदण्डकै दिन दुईजना कैदीले फाँसीविरुद्ध कानुनी कारबाही अघि बढाएका थिए ।
जापानमा अहिले पनि मृत्युदण्ड दिइनु केही घण्टाअघि मात्र कैदीहरुलाई त्यसबारे जानकारी दिइने गरिएको छ । सरकारले भने कैदीहरुलाई मानसिक तनावबाट टाढा राख्न यस्तो उपाय अपनाइएको बताउने गरेको छ ।
मानव अधिकारवादी समूहहरुले पनि लामो समयदेखि फाँसी दिइनु अमानवीय तरिका भएको बताउँदै आएका थिए ।