नयाँ दिल्ली । चीनमा कोरोनाभाइरसको संक्रमण रोक्न गरिएको कडा लकडाउनको विरोधमा केही दिनदेखि जनता सडकमा उत्रिएका छन् । बेइजिङ, सांघाई, सिनजियाङलगायत देशका धेरै सहरहरूमा प्रदर्शन जारी छ ।
राष्ट्रपति सी चिनफिङले अध्ययन गरेको बेइजिङको सिंगुआ विश्वविद्यालयका विद्यार्थीले पनि सरकारको शून्य कोरोना नीतिको विरोध गरिरहेका छन् । उनीहरूले राष्ट्रपति सीविरुद्ध नारा लगाइँदै भने, “सी चिनफिङ राजगद्दी छोड । हामीलाई लोकतन्त्र, विधिको शासन र अभिव्यक्ति स्वतन्त्रता चाहिन्छ ।”
चीनमा कडा लकडाउनको चर्को विरोध यसअघि देखिएको थिएन । दुई वर्षअघि पहिलोपटक चीनको वुहानमा कोरोनाको ‘केस’ बाहिर आएपछि कम्युनिस्ट सरकारले कडा लकडाउनको नीति लिएको थियो । चीन विश्वको पहिलो देश हो, जहाँ कोरोनाका कारण लकडाउन गरिएको थियो । यो यस सन्दर्भमा अन्तिम देश पनि बन्ने देखिन्छ । तर, दुई वर्ष बितिसक्दा पनि यो नीतिविरुद्ध जनता किन सडकमा ?
गएको साता सिनजियाङस्थित उरुम्चीको एउटा भवनमा आगलागी भएको थियो । त्यसमा परी कम्तीमा १० जनाको मृत्यु भयो । लकडाउनको नियम यति कडा थियो कि भवनबाट भाग्न खोज्नेलाई सुरक्षाकर्मीले त्यहीँ रोके, जान दिएनन् । कडा प्रतिबन्धका कारण १० जनाको ज्यान अनाहकमै गएको स्थानीयको भनाइ उद्धृत गर्दै बीबीसी हिन्दीले जनाएको छ ।
चीन यस्तो देश हो, जहाँ पछिल्लो समय सरकार र प्रशासनविरुद्ध विरलै विरोध प्रदर्शन भएको देखिन्छ ।
चीनको शून्य कोरोना नीति कत्तिको कडा छ ?
ब्लुमबर्गको एक रिपोर्टअनुसार विश्वमा सबैभन्दा कडा एन्टी–कोरोना नीति र लकडाउनका लागि परिचित चीन अझै पनि संक्रमणसँग लडिरहेको छ । चीनमा कोरोनाको नयाँ लहर सुरु भएदेखि नै लाखौँ मानिस कुनै न कुनै प्रकारको लकडाउनमा बाँचिरहेका छन् ।
ब्लुमबर्गको एक रिपोर्टमा भनिएको छ, “विश्वमा सबैभन्दा कडा एन्टी–कोभिड नीति र लकडाउनका लागि परिचित देश अझै पनि संक्रमणसँग लडिरहेको छ । चीनमा कोरोनाको नयाँ लहर सुरु भएदेखि नै लाखौँ मानिस कुनै न कुनै प्रकारको लकडाउनमा बाँचिरहेका छन् ।”
विश्वमा कोरोनाको लहर आएपछि चीन सरकारले ‘डाइनामिक जिरो–कोभिड’ नामले लकडाउनको नीति लागु गर्न थालेको थियो । उक्त नीति चिनियाँ राष्ट्रपति सीसँग प्रत्यक्ष जोडिएको छ । यसको सफलता र असफलता सीसँग सिधा जोडिएको छ ।
गएको अक्टोबरमा राष्ट्रपति सीले कम्युनिस्ट पार्टीको बैठकमा भनेका थिए, “शून्य कोभिड नीति भनेको भाइरसविरुद्ध जनताको लडाइँ हो ।”
बीबीसीको एक रिपोर्टअनुसार द्रुत रेलको चालक दलका सदस्य कोभिड–१९ बाट संक्रमित व्यक्तिको सम्पर्कमा आएका थिए । त्यसपछि सो रेलमा रहेका सबैलाई कोरोना परीक्षण गरी क्वारेन्टाइनमा राखिएको थियो ।
लकडाउनको नियम पहिलेको तुलनामा अहिले अलि लचिलो छ । कोभिड–१९ संक्रमितलाई १५ दिन आइसोलेसन सेन्टर र तीन दिन होम आइसोलेसनमा राख्नुको सट्टा अहिले आठ दिन मात्र आइसोलेसनमा राख्ने गरिन्छ ।
चीनले अहिले विदेशी यात्रीलाई आफ्नो देशमा प्रवेश गर्न अनुमति दिएको छ । तर, यात्रीले अनिवार्य कोरोना परीक्षण गराउनुपर्छ । अनुमति प्राप्त गर्न सजिलो र सरल छैन ।
चीनमा किन रोकिएको छैन संक्रमण ?
न्युयोर्क टाइम्सका अनुसार लगभग दुई हप्ताअघिसम्म कडा लकडाउनबाट केही राहत दिँदै चीनमा मानिसले सार्वजनिक बस र रेलहरूमा कोरोना संक्रमण नभएको रिपोर्ट देखाउन आवश्यक थिएन । तर, अब परिस्थिति फेरिएको छ । सिनजियाङ, ग्वाङडोङ र ग्वाङझाउजस्ता सहरका मानिस संक्रमणबाट अत्यधिक प्रभावित छन् ।
जापानी अनुसन्धान फर्म नोमुराकाअनुसार गएको हप्तासम्म चीनको कुल जनसंख्याको एकतिहाइ प्रतिनिधित्व गर्ने त्यहाँका ५० भन्दा बढी सहरहरू पूर्ण वा आंशिक लकडाउनमा थिए ।
जोन्स हप्किन्स युनिभर्सिटीका अनुसार पछिल्लो २४ घण्टामा चीनमा ४३ हजारभन्दा बढी कोरोनाका नयाँ संक्रमित भेटिएका छन् । विश्व स्वास्थ्य संगठनको तथ्यांकानुसार पछिल्ला सात दिनमा चीनमा कोरोनाका कारण ४१८ जनाको मृत्यु भएको छ ।
भारतमा पछिल्ला सात दिनमा मात्र दुई हजार ८०० नयाँ संक्रमित रिपोर्ट गरिएको छ र ५१ जनाको मृत्यु भएको छ ।
विश्वका अधिकांश देशले कोरोनाविरुद्धको खोप आएपछि पनि संक्रमणसँग जुध्दै बाँच्न सिक्नुपर्ने विषय स्वीकार गरिसकेका छन् । तर, चीनको बुझाइ फरक छ । चीनले कोरोनाका सबै केस पूर्ण रूपमा उन्मूलन नभएसम्म आफ्नो नीति जारी राख्ने जनाएको छ ।
चीनमा सामूहिक परीक्षण, बारम्बार स्वास्थ्य स्क्यानिङ, मानिसमाथि कडा यात्रा प्रतिबन्ध गर्ने गरिन्छ । विश्व स्वास्थ्य संगठनका अनुसार कोरोना संक्रमण सुरु भएदेखि चीनमा ३० हजारभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ । तर, प्रतिबन्धको प्रभावका कारण युवा बेरोजगारी १८.७ प्रतिशतमा पुगेको छ । अर्थव्यवस्था अझै समस्यामा छ ।
खोप
चीनमा कोरोनाविरुद्धको खोप लिन कुनै बाध्यता छैन । न त खोप लगाउन कुनै अभियान नै चलाइएको छ । चीनले विदेशी खोप प्रयोग गर्दैन । स्वदेशमा बनेका खोपहरू मात्र प्रयोग गरिएको छ ।
विश्व स्वास्थ्य संगठनलाई ‘शून्य नीति’ किन गलत लाग्छ ?
जब महामारी सुरु भयो, चीनले धेरै देशहरूको तुलनामा कोरोनालाई राम्रोसँग ‘ह्यान्डल’ गरेको मानिन्थ्यो । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोरोनाभाइरसको नयाँ ओमिक्रोन भेरियन्टलाई रोक्न गाह्रो हुने जनाएको थियो । किनभने, यसको संक्रमण दर निकै तीव्र थियो ।
डब्ल्यूएचओका प्रमुख डा. टेड्रोस अधानोम गिब्रेयेसोसले भनेका थिए, “यो भाइरस विकसित हुँदै छ । यसको प्रवृत्ति परिवर्तन भइरहेको छ । त्यसैले तदानुसार हाम्रा नीति, नियमहरू परिवर्तन गर्न आवश्यक छ ।”
तर, चिनियाँ राष्ट्रपति सीले भनेका थिए, “चीनको शून्य कोभिड नीति वैज्ञानिक रूपमा प्रमाणित छ ।”
यस्तै, चीनले भन्यो, “डब्ल्यूएचओले नीतिहरू परिवर्तन गर्नुपर्ने भनेको निश्चित रूपमा ‘ठूलो संख्यामा वृद्धहरूको मृत्युको कारण हुनेछ’ ।”