
काठमाडौं । काठमाडौं उपत्यकाका सुकुम्बासीले मंगलबार काठमाडौं महानगरपालिकाविरुद्ध प्रदर्शन गरेका छन् । थापाथलीस्थित वाग्मती नदी किनारको सुकुम्बासी बस्तीमा डोजर चलाउन खोजिएपछि उनीहरू आन्दोलनमा उत्रिएका हुन् ।
तर, बस्ती हटाउन महानगर पछाडि नहट्ने भएको छ । आफूहरू ‘एक्सन’मा उत्रिइसकेकाले हटाउनुपर्ने बस्ती हटाएरै छाड्ने महानगरका प्रवक्ता नवीन मानन्धरले बताए । “सुकुम्बासीहरूले आफ्नो हिसाबले के गर्छन्, त्यो हाम्रो विषय होइन । तर, हटाउनैपर्ने बस्ती हटाएरै छाड्छौँ । छलफल भइरहेको छ,” उनले भने ।
सोमबार थापाथलीस्थित प्रसूतिगृह पछाडिको सुकुम्बासी बस्तीमा झडप हुँदा महानगरका ३६ नगर प्रहरी घाइते भएका थिए । घाइतेहरूको उपचार जारी छ ।
उनीहरू घरेलु हातहतियारसहित महानगरका मेयर बालेन्द्र शाह (बालेन)विरुद्ध उत्रँदा दिनभर बस्ती तनावग्रस्त बनेको थियो । गैरसुकुम्बासीले पनि अवैध रूपमा घरटहरा बनाएर बस्दै आएको महानगरको जिकिर छ ।

अधिकार सम्पन्न एकीकृत वाग्मती सभ्यता विकास समितिले महानगरलाई सो बस्ती हटाउन आग्रह गरेपछि डोजरसहित नगर प्रहरीको टोली उक्त बस्तीमा पुगेको थियो ।