site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
लोग्ने
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

लोग्नेको बरखी सिध्याएर निर्मला बहिनीको विवाहलाई माइत आएकी थिइन् । आधा जीउ र विरहले लोलाएका आँखा लिएर उनी फुङ्ग उडेको एउटा अचेतन सपनाझैँ बहिनीको सिँगारपटारमै अल्झिइन् । क्रिम, पाउडर, लिपस्टिक, रुज, गाजलको यो सानो कोठी कहाँ लगाइदिए ठीक पर्ला–गालाको टुप्पामा कि चिउँडामा ? 
आ ! को लाउँछ छिः यस्तो नक्कली कोठी पनि ! मुखुन्डो सिँगारेको जस्तो । कोठी लाइदिन निर्मला आफैँलाई मन परेन । गालामा कोठी लगाइदिने चलन त गइसक्यो । फेरि बहिनीको गालै राम्रो छ, धेरै उत्ताउलो केलाई ? बरु यो बाटुलो रातो टीका गोरो निधारमा खुब खुल्छ । 
निर्मला यिनै रमाइला रङले आफ्नो अन्तरमा कोरिन आएका अनेक भावुक रेखाहरूलाई लतपत्याउने कोसिस गर्दै थिइन्, तर कसो–कसो अगाडिको त्यो ठूलो ऐनामा उत्रेको आफ्नो र बहिनीको त्यो दुई प्रतिच्छायाले उनका भावुकतालाई फेरि कोतर्‍यो । 
दुई वर्षअघि निर्मलाले छोडेर गएको त्यो ऐना कोठामा पहिलेकै झैँ जहाँको तहीँ जस्ताको तस्तै रहेछ । कहीँ पारो उप्केको थिएन, कहीँ फुटेको थिएन । बरु उनलाई आफैँ सम्पूर्ण बदलिएझैँ लाग्यो । आफू ज्यादै थोत्रिएझैँ लाग्यो । 
गाजलले कोरिएका ती आँखा पहिलेका झैँ अस्थिर भएर यताउता नाच्नलाई मानौँ थाकिसकेका झैँ देखिन्थे, न फेरि उनको पनमा केही चञ्चलता नै रहेको थियो । निर्मलाले सिँगारिसकेर बहिनीको अनुहार ऐनातिर फर्काइदिइन् । 
उनलाई बहिनीको त्यो अनुहार ज्यादै लोभलाग्दो लागेर आयो । आफैँले सिँगारेकी भए पनि निर्मलालाई बहिनीको त्यो अनुहार समातेर एक पल्ट म्वाइँ खान मन लाग्यो, तर त्यसो गर्न सकिनन् । उनलाई लाज लाग्यो, साथै केही अभिमान पनि, किनभने उनी बहिनीजस्तै राम्री थिइन्, अझ ऊभन्दा पनि राम्री । 
साँच्चै, जो पनि उनलाई यही भन्थे– उर्मिलाभन्दा निर्मला राम्री । तैपनि किन–किन निर्मलालाई आज बहिनीको अगाडि आफू फिका हुँदै गएझैँ लाग्यो । साँच्चै, उर्मिला दिदीको हातबाट गाढा रङको झोल बनेकी थिई । 
निर्मलालाई आफ्नो हातको सीप देखी खुसीको सट्टा ईष्र्या लाग्यो । यसै गरी उनले आफूलाई सिँगार्न पाए ! पल्लो कोठामा उर्मिलालाई हेर्न आएका केटा दाजुका विराटनगरका नयाँ साथी थिए । सायद प्रोफेसर हुन् क्यारे । निर्मलालाई उस्तो थाहा थिएन । 
उतापट्टि कोठामा गरेको गुनगुन दिदीबहिनी बसेको कोठामा बिस्तारै सुनियो । अनि निर्मलाका कान ठडिएर आँखा चनाखा भए । निर्मलाले आफ्नै एकसुरमा देखिन्–ऐनातिर निहुरेर हलुकासित मुस्काई । 
कपालको आँठोमा घुसेर कानैनेर ढल्किएको गुलाफको रातो कोपिलाले उसको सौन्दर्यमा अझ बढी निखार ल्याइदिएको थियो । उतापट्टि किन हो दाजु खित्का छोडेर हाँसे, त्यसपछि सँगै मधुरोसित फुस्किएको एउटा नौलो हाँसो पनि । 
निर्मलाका सबै अचेतन तन्तुहरू अप्रत्याशित रूपले झनझनाए । उनी लठ्ठिँदै गइन् । उर्मिला उनीतिर हेरेर मुस्काइदिई । उसको त्यो एकात्मक सौन्दर्यले निर्मलाको अन्तरलाई कमिलाले झैँ चिल्यो । 
उनीभित्रको सबै द्रव जमेर बरफ भयो । उर्मिला ऐनासँगै टाँसिएकी थिई । एक्कासि निर्मलाले बहिनीको टाउकोबाट फूल झट्कारेर धुजाधुजा पारिदिइन् । उर्मिला पक्क परी— ‘किन दिदी ?’
निर्मलाको पातलो गोरो अनुहारमा जताततै पसिना चिटचिटायो । विस्फारित आँखाले उनले उर्मिलालाई एकटकसँग हेरिरहिन्, अनि निश्चेष्ट हुँदाहुँदै पनि निर्मला फेरि बहिनीको निधारको टीका उक्काउन लम्किइन् । 
उर्मिला तर्सिई । दिदीले नभेट्टाउँदै दगुरेर कोठाबाट बाहिर निस्की । बहिनी तर्सेर भागेकी देख्दा निर्मलालाई हाँसो उठ्यो, रित्तो कोठामा उनी एक्लै मरीमरी हाँस्न थालिन् । हाँस्दा आँखाबाट आँसु बरर्र भयो । 
मुटु खुम्चिएझैँ भयो, उनले घुँडामा मुन्टो अड्याएर बिस्तारै सास तानिन् । अनि बिस्तारैसित खोकिन्, तर घाँटी ठ्याप्प सुकेको थियो । तिर्खाले हो कि ? तर तिर्खा त उनलाई लागेको थिएन । खालि घाँटी भिजाउन निर्मलाले टेबुलमाथिको गिलास उठाएर अलिकति पानी खाइन् । आँखाबाट आँसुको बादल हटिसकेको थिएन । 
निर्मलालाई बाहिरबाट ढोकाको पर्दा उठाएर कसैले चियाएझैँ लाग्यो, उनी पछाडि फर्किइन् । साँच्चै नै उर्मिला रहिछ, दिदीले देख्नासाथ ऊ पर्दा छोडेर भागी । के कनसुत्लो लाउन आएकी होली । निर्मलालाई बहिनीमाथि त्यसै रिस उठ्यो । 
भित्रै आए त म के गर्थे र ? भुत्ल्याउने थिइनँ । लोग्ने पाउन आँटेँ भनेर फुर्केकी । मलाई सौता हुन आएकी भन्ठानेकी होली त्यसैले, नत्र किन चियो गरेर हिँड्थी । उता कोठाबाट हाँसेको आवाज टड्कारो भएर राम्रैसित सुनियो । सतर्क भएर निर्मलाले यतातिर कान थापिन् । 
उः, हो त नि, त्यही प्रोफेसर हाँसेको रहेछ । स्वर कति मीठो, मान्छे पनि त राम्रै छ नि ! खुल्ने अनुहार, कस्तो गोरो, लायकको, अग्लो ।
‘निर्मला नानी ! एक पल्ट उता दराजको साँचो दिनुपयो रे’, गोदावरी सँघारभित्र टेक्न नपाउँदै कराई । ‘आमै, निर्मला नानी त लौन के गरेको यस्तो !’
निर्मला झसङ्ग भइन्, ओठमा दगुरिरहेको हातबाट लिपस्टिक खस्यो । ऐनामा झ्वासझ्वास्ती उनले सँघारको बीचमा उभिइरहेकी गोदावरीलाई देखिन् अनि पुतलीजस्तै सिँगारिएकी आफूलाई । निर्मला लोलाइन् । कुन प्रवाहमा उनले आफूलाई त्यसरी सिँगारिन्, उनलाई पत्तै थिएन । 
पहाडको टुप्पासम्म ढाक्न पुग्ने अनेकौँ विकट छालहरू उनको हृदयमा तरङ्गित भइरहेका थिए । निर्मला ऐनामा हेरेको हे¥यै भइन् । गोदावरी कोठामा पसेर उनको अगाडि उभिई ।
‘हा, निर्मला नानी ! तपाईंले पनि यस्तो सिँगार गर्न हुन्छ ? लौ हेर, झन् टीका पनि लगाएको । लोग्ने नभएको मान्छे !’
निर्मलाको हृदयको स्पन्दन एकैपल्ट स्तब्ध हुन गयो । लोग्ने नभएको मान्छे ! हो त नि, उनको लोग्ने त विवाह भएको वर्ष दिनमै प्लेन एक्सिडेन्टमा परिहाले नि ! उतापट्टिको त्यो... त्यो त उर्मिलाको लोग्ने, उसलाई हेर्न आएको ।
गिलासको जुठो पानी खन्याएर निर्मलाले ख्वालख्वाल मुख पखालिन् । गोदावरी साँचो लिएर निस्कन नपाउँदै निर्मला उसको बाटो छेक्न पुगिन्— ‘गोदावरी ! कसैलाई पनि नभन है ! बिन्ती हेर, कसैलाई नभन ।’
‘किन भन्थेँ तपाईंको कुरा पनि’, गोदावरी हाँस्दै निस्की ।
निर्मलालाई आफ्नो कमजोरीमाथि ज्यादै नै लाज लाग्यो । गोदावरीको अगाडि पनि उनले आफ्नो भूल ढाक्न सकिनन् । के भनी होली गोदावरीले पनि ! छिल्लीएकी उत्ताउली ! 
निर्मलाको गाला कानसम्म रातो भयो । मुखको लाली र पाउडर रुमालले रगडी–रगडी पुछ्न थालिन् । आमा र दाजुले देख्नुभएको भए ! छिः, त्यही उर्मिलाले उसलाई त्यसरी सिँगारिएकी देखेकी भए नि ! 
एकैछिनमा गोदावरी फेरि आइपुगी— ‘निर्मला नानी ! आमाले भन्नुभएको, बहिनीको लुगा मिलाइदिन आउनोस् रे !’
‘आएँ, जा !’
‘चाँडै आउनोस् है !’ गोदावरी फर्किई ।
निर्मला गइनन् ।
‘लुगा फेराइदिन पनि मै जानुपर्ने ? लोग्ने पाइसकी, अझ केटाकेटी छे ।’ उर्मिलालाई पछि लगाएर आमा कोठाभित्र पसिन् ।
‘तिमी के गरिरा’की यहाँ ? त्यति लुगा लगाइदिन बोलाएको पनि, बिचरी कहिल्यै फरिया नलाएकी मान्छे, त्यसै बेरेर आई, लौन हेरिदेऊ ।’
निर्मलाले बहिनीलाई तलदेखि माथिसम्म हेरिन्, सारी लाएको ठीकसित मिलेको थियो । अब पनि उर्मिला केटाकेटी छे र ! दुलहा हेर्न आइसके, आमाको समझ पनि कस्तो ! 
हरियो लुगामा उर्मिला खुबसित खुलेकी थिई । केटाले अवश्य उर्मिलालाई मन पराउनेछ, शङ्कै छैन ।
‘लौन त निर्मला, तिमी पनि उठ, उर्मिलालाई उता लैजानुपर्‍यो ।’
‘म जान्नँ आमा ! तपाईं भइहाल्नुहुन्छ नि !’
आमाले बडा–बडा आँखा तरेर निर्मलालाई हेरिन्— ‘कस्ता अटेर छोरीहरू आफ्ना त, कामको बेलामा पनि यस्तो हो !’
‘कपाल दुखेर चौपट्ट छ, नत्र आइहाल्थेँ नि ! टाउको उठाउनै भएको छैन ।’ 
‘भइगो त, आइज ए उर्मिला !’ आमा फन्कँदै कोठाबाट निस्किन् । उर्मिला सारीको टुप्पो चपाउँदै दिदीचाहिँको पछाडि गएर टाँसिई । निर्मलाले फर्केर पनि हेरिनन् ।
‘हिँड्नोस् न दिदी ! तपाईं पनि...’ उर्मिलाले भित्रैदेखिको बल फुकाई । 
‘तिमीलाई हेर्न आएको मान्छे म गएर के काम ?’
‘मलाई एक्लै लाज लाग्छ, कसरी बस्नु त्यहाँ ?’ उर्मिलाको स्वर रुन्चे भयो । 
‘केको लाज ? आफ्नै मान्छे त हो नि ! बिहे भएपछि पनि यस्तै स्वाङ गरेर निर्वाह हुन्छ कि ?’ निर्मलाले हाँस्ने कोसिस गरिन् ।
उर्मिला हाँस्न सकिन । दाजु कोठाभित्र पसेर उर्मिलालाई लिएर गए । निर्मलाले मन बाँध्न सकिनन्, उठेर उनी पनि दाजुको पछिपछि लागिन् । सबै जना भित्र पसे, तर निर्मला ढोकाको पर्दा समातेर बाहिरै उभिइन् । 
भित्र दाजुले नयाँ मान्छेलाई उर्मिलाको परिचय दिए— ‘उर्मिला, मेरी कान्छी बहिनी ! यसै वर्ष म्याट्रिक पास भई ।’ फेरि दाजुले ढोकातिर देखाए— ‘ऊ माहिली चाहिँ । आऊ न निर्मला भित्र !’
त्यो मान्छेले दाजुको पछिल्लो कुरा सुन्यो कि सुनेन कुन्नि, उसले एक चोटि पुलुक्क पनि निर्मलातिर हेरेन । मान्छे भलादमीजस्तो छ । तर के हुन्थ्यो, उसका आँखा उर्मिलाको हरियो सिफनको सारीमा मात्रै अल्झिराखेझैँ लाग्यो निर्मलालाई, अनि त्यहाँ बसिरहन मन लागेन । 
त्यहाँबाट उठेर उनी बाहिर बार्दलीमा गएर उभिइन् । बाहिर टन्टलापुर घाम लागिरहेको थियो । शून्य पिचरोडको दायाँ–बायाँ सडकमा बुङबुङ्ती उडेको धूलो, अनि छिनछिनमा हिँड्ने दैत्याकार ट्रान्सपोर्ट सर्भिसको कानै थर्काउने घर्रघर्र आवाजले निर्मलाको मनलाई झन् खल्लो तुल्याइदियो । 
पर ढोकाबाहिर एउटा नयाँ जिप उभिएको रहेछ । सायद उर्मिलालाई हेर्न आउने केटाको होला । भित्रपट्टि मैलो सेतो कमिज, कालो चस्मा लगाएको मान्छे स्टियरिङलाई अँगालो हालेर घोप्टिरहेको थियो, ड्राइभर हो क्यार ! त्यस्तै लाग्यो निर्मलालाई । 
त्यो मान्छे निर्मलालाई देखेर जिपभित्रैबाट लगातार सुसेल्न थाल्यो । निर्मलालाई मन परेन । उनी त्यताबाट आफ्नो कोठामा फर्किन् । त्यहाँ उर्मिलालाई हेर्न आउने केटो मात्रै एक्लै अखबार पल्टाएर बसिरहेको रहेछ । 
निर्मला झस्किइन्, त्यो कोठा उनको होइन, दाजुको थियो । कसरी त्यहाँ आइपुगिन्, निर्मला आफैँले पत्तो पाइनन् । फेरि उनी ठाडै खुट्टाले फर्किन पनि सकिनन् । त्यसै आउँदा–जाँदा के भन्ला त्यो मान्छेले पनि, फेरि बिकाममा झन् त्यहाँ ठिङ्ग उभिइरहँदा के भन्ला नि ! 
ज्यादै अप्ठ्यारो लाग्यो निर्मलालाई । त्यो मान्छेले अखबारबाट टाउको उठाएर एक पल्ट निर्मलातिर पुलुक्क हे¥यो अनि फेरि अखबारमै निहुरियो । निर्मला चल्न खोजिन्, तर उनका गोडा जड भएका थिए । उनी उभिएकोउभियै भइरहिन् । 
धेरै बेरसम्म उभिइरहँदा पनि त्यो मान्छेले केही बोलेन, निर्मलालाई उसले एक पल्ट बससम्म पनि भनेन । ऊ अखबारमै हराएजस्तो देखिन्थ्यो । उसको निहुरेको बाटुलो अनुहार, घुम्रेको कपाल र त्यसबाट बिस्तार–बिस्तार उडेको कोलगेटको मधुरो गन्ध–निर्मला चेतनाहीन भएर विस्मृतिमा पुगिन् । आँखाअगाडि दृश्य निस्पट्ट हुँदै गयो । 
‘बस्नोस् न, कति उभिइरहनुभएको !’ त्यो मान्छे निर्मलातिर फर्केर खिस्स हाँस्यो ।
निर्मलाको घुँडादेखि तलसम्म काँप्यो, उनी बसिनन् । त्यो मान्छे बसेको ठाउँबाट सरेर निर्मलाको नजिकै आयो— ‘बस्नोस् न एकछिन !’
निर्मलाको धोतीको सप्कोको टुप्पो बिस्तार–बिस्तार उसले तानिरहेको रहेछ । निर्मला केही विरोध नगरी खालि उभिइरहिन् । एकछिनपछि त्यो मान्छेले निर्मलाका दुवै हात समातेर आफूसितै टाँसेर राख्यो । निर्मला ज्ञानशून्यझैँ चुपचाप बसिन् । 
उसको तातो सम्पर्कले निर्मलालाई केही सान्त्वना मिल्यो । आँखामा टुक्रिएका सपना फेरि जोरिन थाले–फूलैफूलको बारी, फूलैफूलको आकाश, फूलैफूलले ढाकेको बाटो । 
तर एकैछिनमा निर्मलाको लामो–लामो सपना फेरि टुक्रियो । उनलाई आफ्नो देब्रे गाला बेसरी दुखेझैँ लाग्यो । उनले आफ्नो गाला छामिन्, रगताम्मे भएको रहेछ । हत्केलाभरि रगत, आँखै तिरमिराउने रातो । निर्मला कहालिएर उठिन् । त्यो मान्छे निर्दयतासँग हाँसिरहेको थियो । 
निर्मलाले घुइरा आँखाले उसलाई हेरिन् । ऊ लापर्बाहीसित उठेर सडकपट्टिको झ्यालमा गएर उभियो । निर्मलासित ऊ बोल्दै बोलेन । बेइमान ! निर्मलालाई एक थप्पड कसेर उसको गालामा हिर्काऊँ झैँ लाग्यो, तर हात उठेन । 
त्यो उनको को हो र ? त्यसलाई के माया, त्यो त उर्मिलाको केटो । निर्मलाको हृदयका वेग सबै सामसुम भएर गए । चिथोरिएको गाला लिएर उनी हुर्रिदै गइन् । मटानमा उर्मिला भेटिई ।
‘के भयो दिदी गालामा ?’
निर्मलाले राता आँखा पल्टाएर बहिनीलाई हेरिन् । उर्मिला डराई । ‘के भयो भनेको पो त !’
निर्मलाले बहिनीलाई धकेलेर भित्तामा जोताइदिइन् ।
‘तेरो लोग्ने एक्लै छ, जा रे कोठामा !’
मटान नाघ्न नपाउँदै निर्मला फेरि पानी बोक्ने रामेसित ठोक्किन पुगिन् । रामे मौका भेट्टाएर हाँस्यो । कमिजको भित्री खल्तीबाट एउटा मोडिएको कागज उसले दौडँदै निर्मलालाई दियो— ‘यो तपाईंलाई पल्लो घरको मास्टरले लुकाएर दिनू भनेको ।’
कोठामा पुगेर उनले ढ्यामढुम ढोका लगाइन् । उनको आत्मा मध्याह्नको बाँसघारीझैँ सुइँसुइँ कराइरहेको थियो । काँधमा झुन्डिएको धोतीको सप्को उनलाई सर्प टाँसिएझैँ लाग्यो । 
सरसर धोती तानेर उनले खाटमुनि भकुन्ड्याइदिइन्, तैपनि चित्त बुझेन । घाइते गालामा आफैँले जोरसँग दुईचार थप्पड हिर्काइन् । अझ शान्ति मिलेन, छाती हुरीले खडखडाएको खुला झ्यालझैँ ढ्याङढ्याङ बज्रिरहेको थियो । 

दुई हातले निर्मलाले छाती च्यापिन्, तर व्यथा झन् निचोरियो–अघि सडकमा जिपको ड्राइभरले बेकाइदासित सुसेलेको, रामेले ल्याएको त्यो गुन्डा मास्टरको चिठी ! अनि निर्मलाले सम्झनै सकिनन्, टेबुलमाथिको सिसीबाट दुई वटा स्लिपिङ ट्याबलेट झिकेर निलिन् अनि भित्र गुम्सिएको लामो घुँक्का छोड्दै तकियामाथि घोप्टिइन् ।

(कथाकार शाहको ‘पहेँलो गुलाफ’ बाट ।)

NIBLNIBL
प्रकाशित मिति: शनिबार, मंसिर १०, २०७९  १३:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC