site stats
साहित्य
अवसरवाद जिन्दावाद !

आजसम्मको आफ्नु र अर्काको सबै अनुभवबाट के थाहा पाएँ भने अवसरवादीहरू नै यस संसारमा सबभन्दा ठूला विद्वान्, सत्यवान्, पहलमान, धनवान्, भाग्यवान् र महान् हुँदा रहेछन् ।

सोझासाझा गरिब गाउँलेहरूका बीच दुईचार संस्कृतका शुद्ध–अशुद्ध श्लोक उद्धृत गरेर पण्डित कहलाउने, धर्मावतारको नाउँ पाउने, आफूलाई ज्ञानी र योगी भन्न लगाउनेहरूलाई हामीहरूले खुब देखेका छौँ ।

आदर र श्रद्धा मात्र कहाँ हो र थैली पनि बटुल्न पाइन्छ । मौका परेको बेला अड्डा–अदालतका हाकिम कारिन्दाहरू कसरी एक छिनमा एक हप्ताको रकम तयार पार्छन् । पाखेकाँठे भन्ने सुइँको पाउनेबित्तिकै सहरका साहु–महाजनहरू कसरी आफ्नु मालतालको मोलभाउ बढाउँछन्, सोझासाझा बुढाबुढीहरूलाई तीर्थस्थानका पन्डापुजारीहरू कसरी फकाउँछन्, धम्क्याउँछन् ।

NMB Bank
Agani Group

अवसरवादी जुआइँले जग्गेभित्र पसेपछि ठिक मौका छोपेर घडी, रेडियो र साइकिलको माग गर्छ र पाई पनि हाल्छ । लोग्ने खुसी भएको सुअवसर छोपेर स्वास्नीले नयाँ गहना या सारी किन्न लगाइहाल्छे । बाबुआमाले माया गर्न आँटेको मौकामा छोराछोरीहरूले मन परेका चीजबिज मागिहाल्छन् ।

सोझा र सच्चा नागरिक लुरुलुरु साइकल डोर्याएर हिँड्नेछन् । तर, अवसरवादीहरू भने बत्ती नभए पनि पुलिसको आँखा बचाएर मजाले निस्किहाल्छन् । मौका छोपेर नक्कल गर्ने विद्यार्थी पहिलो भएर निस्किदिन्छ र इनाम पनि पाउँछ । तर, ज्ञान बढाउन र बुद्धिमान हुन पढ्ने विद्यार्थी सधैँ बुद्धू र बौलाहा कहलाउँछ ।

Global bank

सबैका आँखा छलेर दिउँसै टुँडिखेलमा पिसाप फेर्नेले फेरिहाल्छ । अलिकति अँध्यारो भएको ठाउँमा बेला पाउनेबित्तिकै गुन्डाले मौका छोपिहाल्छ । अलिकति हूल हुनेबित्तिकै बगलीमाराले आफ्नु चातुर्य चलाइहाल्छ ।

भीडमा अरूलाई छलेर अघि सर्नेले सबभन्दा पछि आए पनि सबभन्दा अघि ठाउँ पाइहाल्छ । मुख्य कुरा, जहाँ पनि, जुन बखत पनि भाग्नुपर्छ । समातिनु हुँदैन । सफलता पाएपछि गल्तीमा पनि गर्व गरिन्छ, असफल भए बुद्धि पनि बेकार जान्छ ।

अर्को कुरो, आफूले चिनेको कुनै मान्छे ठूलो ठाउँमा पुगेछ भने अरू सबै काम छाडेर पनि उत्निखेरै बधाई दिन पुग्न चुक्नु हुँदैन । अलिअलि मात्र चिनजान भएको मान्छे भए सोच्नुपर्छ, कतातिरबाट साइनो लगाए सजिलो पर्ला !

कुनै मन्त्रीज्यू आफ्नु गाउँ या नगरमा पाल्नुहुने हो भने कुनै भए नभएको संस्थाको तर्फबाट पनि उहाँको अभिनन्दन, माल्यार्पण गर्न बिर्सने भुल एकदमै गर्नु हुँदैन । अवसर र आवश्यक पर्यो भने आफ्नु बुद्धिले नभ्याए अरूबाट केही लेखाएर भए पनि अखबारमा स्टेटमेन्ट दिन कहिल्यै चुक्नु हुँदैन ।

कहिलेकाहीँ मौकामा पछिको बाटो हेरेर मुस्तैदी देखाउन अथवा दुईचार पैसा झिक्न अबेर गर्नु पनि ठिक छैन, किनभने दुईचार मुठी दाना छरेर खेतभरी मानामुरी अनाज काट्न पाएझैँ त्यसले भविष्यमा फाइदा ल्याउनेछ ।

अरू बेला जेजस्तो भए पनि मौकामा चन्दा दिन पनि पछि सर्नु बिल्कुल उचित हुँदैन । यसले एकडेढ रुपियाँ खर्च गरेर घरै सुतीसुती खुब मजासँग समाजसेवकको ठूलो दर्जा पाइहालिन्छ । सकेसम्म आफ्नु नोक्सान हुन दिनु हुन्न र केही गरेर पनि सबभन्दा अगाडि नै पुग्ने दाउ खोज्नुपर्छ ।

सरकारले जहाँजहाँ पैसा बाँड्छ त्यहाँ आफूलाई पनि अघि सार्नुपर्छ, पछि नहट्नुहोला । कहिले मीठो बोलीले, कहिले हप्काएर, कहिले खुट्टा समातेर, कहिले बन्दुक देखाएर, कहिले अर्काको गला रेटेर, कहीँ आफ्नै हत्या समेत गर्नखोज्ने रूप देखाएर सधैँ आत्मोन्नतिको महान् लक्ष्यतिर बढ्दै जानुहोस् ।

आराम र इज्जतका साथ बाँच्ने हो भने अर्काको कमजोरी र असहाय अवस्थाको सदुपयोग गर्ने कलामा निपुणता प्राप्त गर्नुपर्छ । नीति र आदर्शमा अल्झेर आएको अवसर आफ्नु हातबाट फुस्किन दिनेहरू अवश्य अभागी हुन् ।

मानवता र सामाजिक उन्नतिका निम्ति कहर काट्नेहरू महान मूर्ख हुन्, स्वाङ पार्न नजान्नेहरू, अर्काको दयनीय स्थितिबाट फाइदा उठाउन नसक्नेहरू, छलकपट नभएकाहरू, आफ्नु सिद्धान्तमा अडिरहनेहरू, अर्काको लागि दुःख सहने बिचराहरू साँच्चीकै सुकरात र ईसाझैँ सन्की र बौलाहा हुन्, अर्काको पिठिउँमा चक्कु हान्न नसक्नेहरू दुर्बल हृदयका लाछी हुन् ।

ए आदर्शवादीहरू ! तपाईंहरू बीच वनमा कराइरहनोस् । ए देशका चित्त दुःखाउने सच्चा सपूतहरू ! तिमीहरू टाउको ठोकेर आफ्ना मालिक नेताहरूको भाषण पढेर सन्तोष गर ।

ए मेरा सोझा इमानदार बा र धर्मभीरु आमा ! तपाईंहरूको कुबुद्धि अर्तीमा लागेर नै मैले तपाईंहरूको निम्ति आजसम्म केही गर्न सकेको छैन । ए नीतिशास्त्र र धर्मशास्त्रका फुस्रे श्लोकहरू ! तिमीहरूको कुप्रभावमा परेर त म सधैँ गरिब, पाखे, निकम्मा, लाटो र अव्यावहारिक नै रहेँ ।

मलाई तिमीहरूले यस दुनियाँमा बाँच्न लायक राखेनौ । तिमीहरूको कुचक्रले सधैँ मलाई हजारौँको अगाडि बेइज्जत हुनुपरेको छ । मान्छेले संसारको इज्जत र आत्मसम्मान दुवै सँगसँगै पाउन सक्दो रहेनछ । एक न एकलाई छाड्नैपर्छ । तिमीहरूले मलाई साहै्र दुर्गतिमा पार्यौ, म पनि अब तिमीहरूले भनेको नटेर्ने विचार गर्दै छु ।

भन्नोस् न, मौका पाएको बेलामा अलिकति अरूको कुरा लगाएर, साखुल्ले भएर औ हाँ मा हाँ मिलाइदिएर आफ्नु काम चल्छ भने, त्यसो गर्नमा केको झन्झट ? एकदुईपटक भेटेको बेलामा नमस्कार गरेर मास्टर, प्रोफेसरहरू खुसी हुन्छन् र जाँचको बेलामा छाति फुकाएर नम्बर दिन्छन् भने, किन निहुरेर उनलाई ढोग नै नदिनु ?

मञ्चमा भाषण गरेर, केही प्रचलित शब्द या वाक्यहरू दोहोर्याएर प्रगतिशील कहलाइन्छ भने किन त्यो घोकी नराख्नु ? लेखक र कितापका नाउँ लिएर मात्र विद्वान् र खुब पढैया कहलाइन्छ भने किन त्यसको लिस्ट बनाएर बिहान–बेलुका याद नगर्नु ?

मौका पाएको बेला खुसुक्क निस्केर अगिल्तिरको सिट पाइन्छ भने किन घण्टौँ क्युमा उभिएर समय शक्ति खेर फाल्नु ? आफ्नु आरामको अगाडि इज्जत केही होइन । दुःख सहेर इज्जतदार भएकोमा के फाइदा छ !

यताउता एकपल्ट मुन्टो घुमाएर हेर्नु, भन्ने कुरा भनिहाल्नु, गर्ने कुरा गरिहाल्नु, लिने कुरा लिइहाल्नु ।

के व्यक्ति, के समाज, के राष्ट्र, के संसार । अवसर पाएर बिरालाले मुसोलाई च्याप्न पुगेझँै अथवा गोज्याङ्ग्र्रो र लाटोजस्तो देखिने बकुल्लाले फुर्तीसाथ माछा टिपेझैँ अथवा चारैतिर सुनसान देखेर सिनेमाको नाइकेले नाइकिनीलाई अँगालो हाल्न पुगेझैँ अन्तर्राष्ट्रिय क्षेत्रमा त झन् अवसरवाद प्यारो भइरहेको छ ।

राजनीतिको बाघचालमा मौका पाउनेबित्तिकै सुटुक्क अर्काको खालभित्र पसेर बाख्रा खाने र आफ्नु ताकत बढाउने अनेकौँ राजनीतिक र सैनिक गुटहरू सधैँ ताकमा बसिरहेका देखिन्छन् ।

एकै प्रश्न छ, कसरी जतिसके चाँडो र कमसेकम मिहिनेतमा बर्ताभन्दा बर्ता कुरा हात लगाउने हो ! अल्छी र बेकम्मा मान्छेको निम्ति यो जस्तो सजिलो र सुखद दर्शन के होला ।

हामीकहाँ पनि धेरै जस्ताले यसलाई मन पराएकै छन् । समाजवाद किन चाहियो ? यस्तो आरामसाथ बसेर अरूको आँखा छलेर, एक टुक्रा सिन्का यताको उता नगरेर आफ्नु बुद्धिचाल र अवसरवादको बलमा त्यसै खान पाइन्छ भने, को जान्छ समाजभरिको लागि मरीमरी काम गर्न ? त्यसैले सधैँ बाँचिरहोस् सामन्तवाद र त्यसको प्रिय दौँतरी अवसरवाद !

अस्ति नै टुँडिखेलमा सहिद स्मारक हेर्न गएको थिएँ । त्यहाँ भेला भएका अनेकौँ भलाद्मीहरू सहिदहरूको सम्झना गरेर आँसु बगाइरहेका थिए । ठूलोको तारिफ गर्ने पनि ठूलै गनिन्छ भनेर होला, गुनगान गरिरहेका थिए । मलाई भने हाँसो उठेर आयो । तर, हाँसिनँ । सहिदहरूको अपमान गर्ने भनेर कुट्लान भन्ने डरले । बिचरा सहिदहरूमाथि श्रद्धा र आदर त छँदै छ, दया पनि लागेर आयो ।

तिनीहरू हाम्रा अरू नेताज्यूहरूझैँ दूरदर्शी रहेनछन्, त्यसैले अघि सरेर अनिकालमा मर्न पुगे ।

साँच्ची, रात रहे, अग्राख पलाए भन्ने दूरदर्शिताको सिद्धान्त नमान्ने मान्छेको यस्तै दुर्गति हुन्छ । स्वतन्त्रताको लडाइँमा ज्यान दिएर उनले के पाए त ? उनका छोराछोरी आज उनकै नेपालमा भिख मागिरहेका छन्, पढ्न नपाएर गल्लीगल्लीमा त्यसै भौँतारिएर हल्लिरहेका छन् र आधा पेट खाएर रोगी जीवन पालिरहेका छन् ।

त्यस बेला जिउज्यान जोगाएको भए अहिले कुनै मन्त्री या अफिसर भएर आरामसँग मोटर चढ्न त पाइन्थ्यो होला ? मरेपछि माला लगाउन पाएर के हुन्छ ? तिनीहरूभन्दा त बरु हाम्रा नेताज्यूहरू नै लाख गुना बुद्धिमान् र महान् रहेछन् । सहिदहरूभन्दा कुनै हालतमा कम इज्जत छैन । सधैँ हात जोडेका पुजारीहरूको अगिपछि घुइँचो छ ।

सहिदहरूको स्मारक अगाडि त सहिद दिवसको दिन पनि मानिसहरू कमै जान्छन् । बरु, झन् त्यै अवसर छोपेर टिकट सजिलै गरी पाइएला भन्ने आशाले त्यो बेला त सिनेमा हलमा कत्रो भीड गरेर मानिसहरू ओइरिन्छन् ! वाह ! वाह !

आज मलाई भगवान् बुद्धले ज्ञान पाएको झैँ सबै कुरा छर्लंग र प्रस्ट भएको छ । मलाई आफ्ना समस्त असफलता, दुःख, निराशा र कमजोरीहरूको रहस्य राम्ररी थाहा भयो । आजसम्म मैले पाएको ज्ञान सय पैसै, झुटो रहेछ ।

मलाई केटाकेटीमा गुरुले दिएको शिक्षा, “इमानदार हुनुपर्छ, सन्तोष र धैर्य कहिल्यै छाड्नु हुँदैन”, आमाबाले दिएको अर्ती, “अर्काको चीजलाई कहिल्यै नछुनू, आफ्नु हकबाहिरको कुरामा आँखा नगाड्नु”, धर्मशास्त्रमा पढेको कुरो, “ईश्वरले योग्यता र मिहिनेतअनुसार अवश्य फल दिन्छन्” आदिआदि सबै बकमफुसजस्तो लाग्न थाल्यो ।

सोझा र असल मान्छेलाई कुल्चिँदै, पछि हुत्याउँदै, अल्मल्याउँदै पछि आउने बहादुर बाठाहरू कति अगाडि बढिसके । बाँच्नको निम्ति इमानदारीभन्दा बढ्ता बुद्धि र बल, बुद्धि र बल दुवैभन्दा बढ्ता बठ्याइँ, बुद्धि, बल र बठ्याइँ तीनैभन्दा बढ्ता षड्यन्त्र, बल, बुद्धि. बठयाइँ र षड्यन्त्र चारैभन्दा पनि बढ्ता आफूलाई र अर्कालाई धोका दिने कूटनीतिक अभ्यासको ठूलो आवश्यकता आइपर्दो रहेछ । निर्लज्ज भएर टाउको उठाउन सक्ने मौका परेको बेलामा आफ्नै साथीभाइहरूको घाँटी अँठ्याउन सक्ने हिम्मत चाहिँदो रहेछ ।

मलाई भने आफ्नै आत्मासँग लाज मान्ने र अन्तरात्मासँग डराउने नराम्रो रोग लागेको थियो । अनि, आफ्नै साथीभाइहरूलाई धोका दिन सक्ने छुसी बल र बठ्याइँ पनि थिएन । त्यसैले पो मलाई मेरा केही साथीहरू लाटो, जीवनमा दुःख पाउन जन्मेको अभागी भन्दा रहेछन् ।

सोझो र इमानदार मान्छे त बिचरा त्यो लुसे कुकुरजस्तै रहेछ, जो अरूले चाटीचाटी खाइसकेर फालेको दुनाबोहोता आखिरमा सुँघीसुँघी पेट भर्छ ।

भोजभतेरमा सुत्त अघि सरेर बस्नेले मजाको ठाउँ पाउँछ । शिष्टता देखाएर पछि पर्नेले या त भुईँमा बस्नपर्ला या शिष्टता देखाउने भलाद्मी बिचराहरू सधैँ भुईँमा पर्छन् र भोकै मर्छन् ।

पछि पर्ने र खस्नेलाई कसैले माया गर्दैन, बरु अल्छी, लाटा, काम नलाग्ने र अभागी भनेर नै तारिफ गर्छन् । इमानदार र मिहिनेती मानिसहरूले जति आँत सुकाएर काम गरे पनि सबै अवसरवादीहरूभन्दा त पछि नै परेका हुन्छन्, जसरी साइकल हाँक्नेले स्वाँस्वा, फ्वाँफ्वाँ गरेर जति छिटो गरी पाउदान चलाए पनि हेन्डिलमा बसाइराखेको मान्छे नै अगाडि भइरहन्छ ।

(‘गोविन्द भट्टका निबन्ध’ बाट । स्रोत  ः पच्चीस वर्षका नेपाली निबन्ध ।)
 

प्रकाशित मिति: शनिबार, मंसिर ३, २०७९  ०९:३४
प्रतिक्रिया दिनुहोस्
सम्पादकीय