site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
महंगो निर्वाचन धान्ने कसरी ? प्रणाली नै फेर्ने कि विकल्प खोज्ने ? 
Sarbottam CementSarbottam Cement

काठमाडौं । “साथीहरुले थोरै रिपोर्ट सुनाउनुभएको छ । गाउँपालिकाको चुनावमा १० करोड खर्च गरेर जितेको देखियो । १० करोड बाफरे ! एउटा गाउँपालिकाको चुनावमा १० करोड खर्च गर्ने भनेपछि प्रदेश र संघको चुनावमा त उनीहरुले ५०औँ करोड खर्च गर्ने भए, अर्बतिर जाने भयो,” नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले साउन ९ गते काठमाडौंमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै भनेको कुरा हो यो ।

प्रचण्डले कुन गाउँपालिकाका प्रमुखले १० करोड खर्च गरे भनेर भनेनन् तर उनले सांकेतिकरुपमा चुनाव निकै महंगो भएको संकेत गरे ।

प्रदेश र संघको निर्वाचनको मुखैमा प्रचण्डले अर्बसम्म खर्च हुन सक्ने अनुमान पनि लगाए । 

Prabhu Bank
Agni Group
NIC Asia

स्थानीय तहको निर्वाचनअघि नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले पनि आफ्नो चुनावमा पाँच करोड खर्च भएको अभिव्यक्ति दिए ।

यी दुवै नेतालाई निर्वाचन आयोगले पत्र काट्यो । अध्यक्ष प्रचण्डले जवाफ दिएका छैनन् भने कोइरालाले निर्वाचन आयोगलाई पनि अचम्ममा पर्नेगरी जवाफ दिए ।

Global Ime bank

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले कोइरालाले दिएको जवाफलाई बाह्रखरीसँगको कुराकानीमा यसरी स्मरण गरे– हामीले उहाँले बोलेको कुरालाई लिएर स्पष्टीकरण सोधेका थियौं । सोध्दा उहाँले दिएको जवाफ मार्मिक पनि छ । उहाँले तपाईंहरुले निर्वाचन खर्च भनेर उमेदवारीदेखि रिजल्ट नभएको समयावधिलाई मान्नुहुन्छ अर्थात् कानुनले पनि त्यही भन्छ । त्यतिबेला २५ लाख भनेर दिएको छ । मैले त त्यो अवधिमा २१–२२ लाख खर्च गरेँ । एक महिनामा गरेको खर्चबाट मात्रै निर्वाचन जितिन्छ ? मैले मेरो निर्वाचन क्षेत्रमा निर्वाचन जित्न त पाँच वर्षदेखि मेहनत गरेको छु । पाँच वर्षमा म सयौं पटक पुगेको छु ।  सयौं कार्यक्रममा सहभागी भएको छु, हिँडेको छु । विकासका खर्च गरेको छु । आयोगको दृष्टिमा एक महिना, हाम्रो दृष्टिमा त्यो माहोल बनाउन, संगठन गर्न, कार्यकर्ता परिचालन गर्न चाहिने हाम्रो निर्वाचन खर्च हो भनेर मैले कार्यकर्ताहरुलाई वर्षौँको मेहनत पो लाग्छ भन्ने अर्थमा भनेको हुँ । आयोगलाई अवज्ञा गरेको होइन भनेर पेश गर्नुभएको छ । हामी पनि सोचमग्न भयौैं । 

कोइरालाको कुरा सुनेपछि थपलियालाई पनि लाग्यो–  निर्वाचनको खर्च भनेको उमेदवारी दर्ता भएपछिको खर्च मात्रै होइन रहेछ । आचारसंहिताको उल्लंघन पनि निर्वाचनको बेला मात्रै होइन रहेछ । 

‘निर्वाचन महंगियो, लड्नै नसकिने भइयो’ भनाइ सबैजसो उमेदवारको छ । तर टिकट पाइसकेपछि प्रतिष्पर्धीलाई उछिन्न करोडौं खर्च गर्ने होडबाजी चल्ने गरेको एक उमेदवारका आकांक्षीको अनुभव छ ।

कतिपय नेताहरुले नै चुनाव महंगिदै गएकाले प्रणाली नै फेर्नुपर्ने तर्क गरिरहेका छन् । 

विशेषगरी माओवादीका नेताहरुले निर्वाचन प्रणाली पूर्णसमानुपातिक बनाउनुपर्ने भन्दै वकालत गर्दै आएका छन् ।

संविधान निर्माणका क्रममा पनि यो विषयमा निकै छलफल भएको थियो । विभिन्न विकल्पमा पनि त्यसबेला छलफल नभएको होइन । तर संविधान जारी गर्ने बेलामा पुरानै प्रणाली अपनाइयो ।

महंगो बन्दै गएको निर्वाचनको विकल्प प्रणाली परिवर्तन गर्नु नै हो त ?

प्रमुख निर्वाचन आयुक्त थपलिया निर्वाचन महंगो हुँदै गएको भन्दै नेताहरुले भनेको कर आयोगले बुझ्न नसकेको बताउँछन् । कसको कारणले निर्वाचन महंगो भएको हो त्यसबारे नेताहरुले नै जवाफ दिनुपर्ने उनको भनाइ छ । 

“आयोगले नबुझेको एउटा विषय निर्वाचन खर्च महंगो हुँदै गयो, निर्वाचन लड्नै नसकिने भयो भनेको के हो ? कसको कारणले ? आयोग, पत्रकार, नागरिकको कारणले, सुरक्षा निकायका कारणले वा आफ्ना कारणले ? तपाईंका कारणले गलत अवस्था सिर्जना हुने अनि मैले गर्न सकिन भनेर भन्ने छुट हुन्छ र ? नेताहरूले यो नागरिकप्रति गरेको अपमान होइन ? अथवा निर्वाचन निष्ठाले जितिँदैन भनेर सन्देश दिन खोजेको हो ? कि आफैंलाई भनेको हुनुपर्‍यो कि जनतामाथि प्रश्न उठाउनुपर्‍यो ,” उनले बाह्रखरीसँगको कुराकानीमा भने, “ मेरा सार्वभौम सम्पन्न मतदाता मैले पैसा नदिइ भोट नै दिँदैनन् भनेर कि त भन्नुपर्‍यो । होइन भने अप्रमाणित, हलुका, लोकतन्त्र लज्जित हुने भाषा बोल्नुहुँदैन । आयोगले यसो भन्नेलाई पटक–पटक प्रश्न पनि उठाएको छ ।”

निर्वाचन आयोगले तोकेको खर्च सीमाले नपुग्ने भए सल्लाह गर्न दलहरुलाई उनको सुझाव छ । 

निर्वाचन प्रणाली बहसको विषय भने बनेको उनले स्वीकार गरे । आयोगले निर्वाचन प्रणालीबारे अध्ययन नै सुरु गरिसकेको छ । निर्वाचन प्रणाली फेर्नुपर्ने सुझाव प्राप्त भएको थपलियाको भनाइ छ ।

“कानुनले निर्वाचन प्रणालीको विषयमा बहस गर्न हामीलाई अनुमति दिन्छ । हामीले बहस पनि प्रारम्भ गरेका छौँ । नीति अनुसन्धान प्रतिष्ठानबाट निर्वाचन प्रणालीको विषयमा गहन अध्ययन भएको छ । त्यो प्रतिवेदन फाइनल भएको छैन,” उनले भने “तथापि, त्यसले भनेका तीन–चारवटा कुरा महत्वपूर्ण छ । त्यसले पनि निर्वाचन प्रणालीमा फेरबदल जरुरी छ भनेको छ ।”

उनका अनुसार त्यो अध्ययन प्रतिवेदनले स्थानीय तहको निर्वाचनलाई दलीय आधारमा नगर्न सुझाव दिएको छ । 

“स्थानीय तहको हकमा त्यहाँ मानिसलाई दलको चिह्न दिएर नगरौं विकास गर्ने ठाउँ हो, कुनै सिद्धान्त लाद्ने ठाउँ होइन भन्ने चित्र त्यसले दिन्छ,” उनले भने । 

त्यसैगरी राष्ट्रिय सभालाई पूर्ण समानुपातिक बनाउने र पूर्ण समानुपातिकमा जाँदा समस्या हल हुने सुझाव आएको छ ।
खर्च गरेर नै चुनाव जिन्तिन्छ भन्ने मानसिकता कायम राखे व्यवस्था नै बद्नाम हुने उनको भनाइ छ । 

पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेल प्रत्यक्ष निर्वाचन प्रणाली स्वयम् महंगो प्रणाली भएको बताउँछन् । 

महंगो निर्वाचनलाई कम गर्न प्रणालीमात्रै परिवर्तन गरेर नपुग्ने उनको विश्लेषण छ । 

“निर्वाचन खर्च कम गर्न चाहिँ निर्वाचन आयोग, मतदाता र राजनीतक दल वा उमेदवार तीन पक्षीय प्रतिवद्धता चाहिन्छ । केही नीतिगत र प्रक्रियागत सुधारको आवश्यकता छ,” उनले बाह्रखरीसँग भने, “संसारभरकै रिसर्चले के देखाउँछ भने अरुको तुलनामा प्रत्यक्ष निर्वाचन प्रणाली (फस्ट पास्ट द पोस्ट) महंगो हुन्छ । प्रणाली नै महंगो ल्याइएपछि त निर्वाचन महंगो हुनु स्वाभाविक नै हो । प्रणाली नै परिवर्तन गर्ने कि अरु भन्ने पनि प्रश्नहरु छन् ।”

उनी निर्वाचन खर्चमा जोडिने तीन पक्षीय व्यवहार परिवर्तन भएसम्म प्रणाली परिवर्तन गर्नुको औचित्य देख्दैनन् ।

“जुनसुकै प्रणाली ल्याए पनि जबसम्म पात्रहरु ( निर्वाचन आयोग, दल वा उमेदवार र मतदाता) को व्यवहार परिवर्तन हुँदैन । प्रणालीले काम नगर्ने रहेछ ।  खर्च कम गर्नका लागि आयोग, दल र मतदातालाई तयार गर्नुपर्छ,” उनी भन्छन् । 
प्राध्यापक कपिल श्रेष्ठ पनि निर्वाचन खर्च महंगो बन्दै गएको बताउँछन् ।  निर्वाचन आयोगले तोकेको खर्च सीमा पनि अव्यावहारिक भएको उनको विश्लेषण छ । 

“निर्वाचन आयोगलाई पनि महंगो हुँदै गएको छ । उमेदवारहरुलाई पनि महंगो बन्दै गएको छ । सिस्टम महंगो हुँदै गएको छ । निर्वाचनको खर्च आयोगले लगाएको सिलिङ सतही र अव्यावहारिक छ । यो खर्च कर्मकाण्ड गर्न मात्रै पुग्छ । संसारमा चुनाव कहीँ पनि सस्तो छैन । डेमोक्रेसी त्यति सस्तो व्यवस्था पनि होइन । डेमोक्रेसीमा चुनाव महंगो भयो भन्दैमा चुनावै नगर्ने व्यवस्था ल्याउने होइन । हामीले त्यस्तो खोजेका होइनौँ । चुनाव महंगो भयो भन्दैमा अधिनायकवादी शासन ल्याउने त ? ,” उनको प्रश्न छ ।

अन्यत्र पनि चुनाव महंगो भएको र व्यवस्था परिवर्तन गर्नुपर्ने बहस भने चलिरहेको श्रेष्ठको भनाइ छ । 

“निर्वाचन व्यवस्थामा परिवर्तन गर्ने, निर्वाचन प्रक्रिया, निर्वाचन खर्चमा नियमन, नियन्त्रण, शंसोधन गर्ने कुराहरु आइरहेको छ । यो इस्यु नेपालमा मात्रै होइन् । अन्यत्र पनि आएको छ,” उनी भन्छन्,“ बेलायतमा पनि यस्तै–यस्तै कुरा उठिरहेको छ ।”

तर, प्रत्यक्ष निर्वाचन प्रणाली परिवर्तन गरेर पूर्ण समानुपातिक प्रणाली बनाउँदै खर्च कम नहुने बताउँछन् । 

“पूर्ण समानुपातिक निर्वाचन प्रणालीले श्रीलंकामा के ग¥यो ? श्रीलंकामा पूर्ण समानुपातिक गर्दा पनि खर्च गर्ने, जनतालाई गिफ्ट, घुस खुवाउनेलगायतका कुरा भए, थाइल्याण्डमा पनि त्यस्तै छ,” उनले बाह्रखरीसँग भने, “हामीले कार्यकारी राष्ट्रपतिको व्यवस्था गरेका छैनौं । त्यसैले अहिले पूर्णसमानुपातिक भन्ने हुँदैन ।”

६० प्रतिशत समानुपातिक छान्दा नै २०६४ सालको निर्वाचन अनुभवले पूर्ण समानुपातिक बनाउँदा कस्तो हुन्छ भन्ने चित्र देखाइसकेको उनको भनाइ छ । पूर्ण समानुपातिक बनाउँदा जनताले १०० प्रतिशत धोका पाउने उनको जिकिर छ । 

“हाम्रोमा समानुपातिकाको अनुभव कस्तो छ ? जम्बो संसद्, ६०१ जना सांसद हुँदा कस्तो थियो हेरौं न । कस्ता–कस्ता मान्छेहरुलाई नेताहरुले त्यहाँ पठाए ?,” उनको विश्लेषण छ,“समानुपातिक व्यवस्थाको गलत प्रयोग भयो । देशप्रति धोका भयो, बेइमानी भयो । समानुपातिकको नाममा धोका भयो । अब धोका पनि सय प्रतिशत नै खाने ?”

किन महंगो बन्दैछ त चुनाव ? खर्च कम गर्न के गर्ने ? 

पूर्वनिर्वाचन आयुक्त पोखरेलका अनुसार निर्वाचन महंगो हुनुमा राजनीतिक दल र कार्यकताबीचको दूरी पनि कारक हो । कार्यकर्तालाई पैसाले विस्थापन गरिदिँदा खर्चमा वृद्धि भएको उनी बताउँछन् । 

“दलहरुको नियन्त्रणभित्र कार्यकर्ता रहेनन् । निर्वाचन महँगो हुनुमा सबैभन्दा ठूलो समस्या हो । विभिन्न कारणले दल र कार्यकर्ता टाढा भए । अनि कार्यकर्ताले गर्ने कामलाई पैसाले प्रतिस्थापन गर्‍यो,” उनी भन्छन् । 

नेतृत्वले रोजेको उमेदवार भन्दा कार्यकर्ताहरुले रोजेको उमेदवार चुनावमा उठाएमा खर्च कम हुन सक्ने उनको भनाइ छ । 

त्यसैगरी निर्वाचनमा उमेदवारहरुको प्रचारप्रसारका लागि धेरै समयावधि छुट्याइनु, मतपत्रलगायतका सामग्री छाप्ने कुरामा विकेन्द्रिकृत नहुनुलगायतका विषयले पनि चुनाव महंगो पारेको उनले बताए ।  

“केन्द्रिकृत निर्वाचन व्यवस्थापन प्रणालीले चुनावलाई महंगो बनायो । मतपत्र यहीँबाट छाप्नुपर्‍यो, मतपत्र छाप्नका लागि निश्चित समय चाहियो । मतपत्र छाप्न सकिन्न भनेर लामो समय प्रचारलाई राख्नुपर्‍यो । यदि विकेन्द्रिकृत प्रणाली भएको भए त मतपत्र तल पनि छाप्न सकिन्थ्यो नि !,” पोखरेलको भनाइ छ, “हिजोको जुुन फ्रेमवर्क छ त्यसभन्दामाथि हामी उठ्न सकेका छैनौं । अहिले त ७५३ सरकार भए । तिनीहरुसँग सहकार्य गरेर धेरै काम गर्न सकिन्थ्यो । हिजो जुन फेमवर्कबाट अघि आयौं । त्यो फेमवर्कलाई समयअघि परिवर्तन गर्न सकेनौं । त्यसले निर्वाचन महंगो पारेको छ ।”

प्राध्यापक श्रेष्ठ अवैध रुपमा सम्पत्ति कमाएकाहरुका कारण पैसा नहुने उमेदवार मारमा पर्दै गएको बताउँछन् । 

“राज्य शक्तिको दोहोन गर्ने, भ्रष्टाचार गरेर धेरै सम्पत्ति कमाएका छन् । चुनावमा धेरै खर्च गर्ने कि त धेरै पटक प्रधानमन्त्री हुनेले खर्च गरेको होला । उनका श्रीमतीहरुले खर्च गरे होलान्, उनका नजिककाहरुले खर्च गरे होला,” उनी भन्छन्, “व्यापारिक पृष्ठभूमि र गलत तरिकाले पैसा कमाउनेहरुले बढी खर्च गरे होला । उनीहरुले गरेको खर्चको असर पैसा नहुने उमेदवारहरुलाई परेको छ ।”

युवा भनिएका नेताहरुको पनि शीर्ष नेताहरुको पदचाप पछ्याएकाले प्रणाली सुधार्न नसक्ने उनको बुझाइ छ ।

“युवा भनिएका कथित नेताहरु पनि ती नेताहरुकै पदचापमा छन् । कहिँलेकाहीँ नानीमैया, बालेन, हर्क साम्पाङहरुजस्ता स्वतन्त्र जन्मिन्छन् । तर, केही स्वतन्त्रहरुले नै मुलुक त चल्दैन नि !,” उनले बाह्रखरीसँग भने । 

निर्वाचन आयोगले पनि बढी खर्च गर्ने, ‘हेट स्पिच’ दिनेहरुलाई कारबाहीको दायरामा ल्याउनुपर्ने श्रेष्ठ बताउँछन् । 
बढी खर्च गर्नेलगायतका नेताहरुलाई केही दिन प्रचारप्रसारमा रोक लगाइदिएमात्रै पनि त्यसले आयोगको प्रतिष्ठा बढ्ने श्रेष्ठको ठम्याइ छ । 

“स्थानीय निर्वाचनमा बढी खर्च गरेको, ‘हेट स्पिच’ दिएकाहरुलाई निर्वाचन आयोगले कमजोर स्पष्टीकरण पत्र दिएपछि फलो गर्नुपर्दैन ? उमेदवारी नै रद्ध गर्न सक्ने कानुन छ । त्यति नसके पनि केही दिन प्रचारप्रसारमा रोक लगाउनुपर्दैन ?,” श्रेष्ठको प्रश्न छ, “भारतमा नै हेरौं न निर्वाचन आयोगले गृह मन्त्री अमित शाह, राहुल गान्धीलाई रोक लगायो । त्यस्तो गर्न सकेको भए निर्वाचन आयोगको प्रतिष्ठा र गरिमा बढ्थ्यो । ”

निर्वाचनमा बढी खर्च कति थाहा पाएर पनि सार्वजनिक गर्न नसक्नु मिडिया, नागरिक समाजको पनि कमजोरी रहेको उनको टिप्पणी छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन ३१, २०७९  ११:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC