
धेरै अगाडि म अर्थ मन्त्रालयमा सचिव हुँदा उहाँ सोही मन्त्रालयमा राजश्व शाखामा निर्देशक हुनुहुन्थ्यो । हामीले करिब चार वर्ष सहकर्मी भएर काम गर्यौँ । उहाँलाई सम्झँदा उहाँको कामप्रतिको दत्तचित्त र इमानदारिताका बारेमा जति प्रशंसा गरे पनि कम हुन्छ । उहाँ आफ्नो काममा दक्ष हुनुहुन्थ्यो भने कठोर राष्ट्रवादी पनि हुनुुहुन्थ्यो । अर्थ मन्त्रालयपछि उहाँको सरुवा भयो । कलकत्तामा महावाणिज्यदूत भएर जानुभयो ।
अर्थ मन्त्रालयमा उहाँ सँगसँगै काम गरेका दिन अझै मलाई याद छ । उहाँसँगको परिचय छिमेकी र सद्भावको रुपमा रह्यो । त्यो भन्दा बढी मैले उहाँलाई दक्षता र इमानदारितामा कसैले नभेट्ने तहमा पाए । उहाँलाई म दुुर्गाजी भनेर सम्बोधन गर्थेँ । हैसियतमा म सचिव थिए । तर सम्बोधनभन्दा ठूलो कुरा कार्यकौशलता, राष्ट्रप्रति इमानदार भावना र चरित्रमा म विश्वास गर्छु । यस हिसाबले उहाँको चरित्रमा कसैले खोट लगाउन सक्दैन ।
जीवनको मोडमा प्रशासकीय जीवन छोडेर म राजनीतिमा लागेँ । उहाँ प्रशासनमै बस्नुभयो र देश सेवामा जुट्नुभयो । कसैको निर्देशनबाट परिचालित नभई तलमाथि नगरीकन काम गर्ने उहाँको खुबी नै उहाँ कस्तो खालको प्रशासक हो भनेर उहाँको परिचय देखाउन काफी छ । मलाई लाग्छ, वास्तवमा उहाँको जीवनकालमा उहाँले देखाएको कार्यकुशलता नै उहाँको सर्वश्रेष्ठ पहिचान हो ।
उहाँ कलकत्ताबाट फर्केपछि पनि हामी सम्पर्कमै थियौँ । किनकि हाम्रो सम्बन्ध स्नेहभावको थियो, जुन जिन्दगीभरी रह्यो । उहाँ स्वर्गीय हुनुभन्दा सात दिनअघि मात्रै टेलिफोनमा उहाँसँग कुरा गरेको थिएँ । स्वर मसिनो थियो । तर कुराकानीको सिलसिलामा उहाँले लेखेको किताब मलाई पढिदिनुस् न भन्नुभएको थियो । किताब पढेपछि उहाँको चरित्र र जीवनको सिद्धान्तबारे अझ गहिराइमा बुझ्न सकिन्छ । त्यसो त उहाँसँग सामाजिक भलाकुसारीमा कसैको बिहे, कसैको व्रतबन्ध या गोष्ठीमा पटक पटक भेटघाट भएको मलाई याद आउछ ।
दसैँ, तिहार र चाडपर्वको बेला मौकामा पनि हामी भेटेका छौँ । ती सबै भेटमा उहाँप्रतिको सद्भाव र स्नेहले सधैँ मेरो मनमा स्थान ओगटेको अनुभव छ मलाई । किनकि उहाँले प्रशासकको हैसियतले जुन दक्षता प्रकट गरेर देखाउनु भयो, त्यही नै सम्बन्धको हाम्रो आधार बन्यो ।
पञ्चायतकालको बेला थियो । उहाँको बानी थियो कसैसँग नझुक्ने । तर आफ्नो काम फत्ते गर्न जुन तहमा जे गर्नुपथ्र्यो त्यो गर्ने बानी थियो । कहिलेकाहीँ काममा दबाब आउँथे । उहाँ भन्सार विभागमा निर्देशक भएको बेला दरबारबाट यो माल छाडिदेऊ, त्यो छाडिदेऊ भन्ने खालका दबाब आउँथे । निडर स्वभावको उहाँ सही कुरा गर्न र बोल्न अघि सर्नुहुुन्थ्यो । उहाँ नडराइकन एउटा कर्मचारीले दरबारबाट पठाएको सामानलाई अडिट गर्नुपर्छ भन्ने सुझाव दिनुहुुन्थ्यो र अडिट गर्न लगाउनु पनि हुन्थ्यो ।
यसो हेर्दा उहाँको हाराहारीमा आउने मान्छे म झट्ट कोही सम्झिन्न । तर उहाँ जस्तो व्यक्तित्व ज्यादै सानो समूहमा मात्र भेटिन्छन् ।