site stats
बाह्रखरी गल्फ
एनसेल बाह्रखरी गल्फको उपाधि राजकुमार राईलाई (तस्बिरसहित)

धरान । स्थानीय गल्फर राजकुमार राईले शनिबार सम्पन्न एनसेल बाह्रखरी गल्फ प्रतियोगिताको उपाधि जितेका छन् ।

धरान गल्फ क्लबमा शुक्रबार र शनिबार गरी दुई दिनसम्म चलेको प्रतियोगितामा पहिलो दिन खेलेका राजकुमारले ४१ ‘स्टेबलफोर्ड स्कोर’ गर्दै अग्रता बनाउन सफल भएका थिए । पाँचौँ संस्करणको दोस्रो दिन खेलेका कुनै पनि खेलाडीले राजकुमारको भन्दा बढी स्कोर गर्न नसकेपछि राईले उपाधि जितेका हुन् ।

Himalayan Bank
Dabur nepal
Agni Group

प्रदेश नम्बर–१ का मुख्यमन्त्री राजेन्द्र राईले विजेता राजकुमारलाई ‘गोल्डेन बल’ उपाधि हस्तान्तरण गरेका थिए ।

धरानका राजकुमारले २ ‘ह्यान्डी क्याप’मा खेल्दै समग्रमा ५ बर्डी र २ बुगी खेलेका थिए । जसका कारण राईले ‘मोस्ट बर्डी’को उपाधि पनि हात पारे ।

Global bank

विराटनगरका खेलाडी सुयश प्याकुरेल दोस्रो स्थानमा रहन सफल भए । सुयशले ३७ स्टेबलफोर्ड स्कोर गरेका थिए । सुयशसँगै धरानका काजी राई र काठमाडौंका संगम केसीले पनि समान ३७ स्टेबलफेर्ड स्कोर गरेका थिए । सुयशले ‘ब्याक नाइन’मा १९ स्कोर गरेका थिए भने काजीले १८ र संगमले १६ स्कोर गरेका थिए । त्यसकारण सुयश दोस्रो स्थान हासिल गर्न सफल भएका हुन् । सुयश प्याकुरेल उद्योग संगठन मोरङका अध्यक्ष समेत हुन् ।

धरानका स्थानीय खेलाडी सुन्दर राईले कुल ३६ ग्रस स्कोर जोड्दै ‘बेस्ट ग्रस’को उपाधि जिते ।

महिलातर्फ पहिलो दिन नै अग्रस्थानमा रहन सफल काठमाडौंकी खेलाडी सुस्मासिंह शाहले ३९ स्टेबलफोर्ड स्कोर गर्दै उपाधि जितिन् । दोस्रो स्थानमा रहन सफल धरानकी सुमित्रा लिम्बूले ३७ स्टेबल फोर्ड स्कोर गरिन् । महिलातर्फ सनराइज बैंककी डेपुटी सीईओ आरती राणाले ३५ अंक जोड्दै तेस्रो स्थान हासिल गर्न सफल भइन् ।

६० वर्षमाथिका खेलाडी (सिनियर)तर्फ महेन्द्र मैनाली विजयी भएका छन् । उनी ‘काउन्ट ब्याक’मा विजयी हुन सफल भएका हुन् । उनीसँगै अर्का सिनियर खेलाडी भाइराजा पाण्डेले समान स्कोर गरे पनि काउन्ट ब्याकमा पछि परेका हुन् ।

जोसेफ नाथनले ‘क्लोजेस्ट टु दी पीन’को उपाधि जिते । उनले बललाई होलको ५ फिट ५ इन्चनजिक राख्न सफल भएका थिए । त्यस्तै, संगम केसीले ‘लङ्गेस्ट ड्राइभ’को उपाधि जित्न सफल भए । 

‘स्टेबलफोर्ड फर्म्याटमा ३ बाई ४ ह्यान्डी क्यापमा खेलाइएको प्रतियोगितामा पहिलो दिन ५२ र दोस्रो दिन ४२ गरी जम्मा ९४ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । त्यसमध्ये महिलातर्फ ९ खेलाडीले प्रतिस्पर्धा गरेका थिए भने बाँकी पुरुष खेलाडी थिए ।

धरानका एकहाते गल्फ खेलाडी बलराम राईलाई विशेष सम्मान गरिएको थियो ।

शुक्रबार नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले ‘टी अफ’ गरी प्रतियोगिताको उद्घाटन गरेका थिए ।

प्रतियोगिताका विजेता खेलाडीलाई मुख्यमन्त्री राजेन्द्र राई, उद्योग संगठन मोरङका अध्यक्ष राजकुमार गोल्छा, धरानका मेयर तिलक राई, नेपाल पर्यटन बोर्डका सीईओ धनञ्जय रेग्मी, लक्ष्मी ग्रुपका कार्यकारी निर्देशक निरञ्जन श्रेष्ठ, डिशहोमका प्रबन्ध निर्देशक सुदीप आचार्य, गोर्खा ब्रुअरीका मार्केटिङ निर्देशक आसिस विष्ट, पर्नोड रिकार्डका कन्ट्री डाइरेक्टर रवीन्दर सैनी, एनसेलका चिफ लिगल एन्ड कर्पोरेट सर्भिस अफिसर डाइरेक्टर रमेश घिमिरे, नेपाल गल्फ संघका अध्यक्ष तासी घले, बाह्रखरी मिडियाका प्रबन्ध निर्देशक ज्ञानेश्वर आचार्य, प्रधानसम्पादक प्रतीक प्रधानलगायतले प्रमाणपत्र, ट्रफी वितरण गरेका थिए ।

बाह्रखरीले प्रत्येक वर्ष आयोजना गर्दै आएको गल्फ प्रतियोगितामा एनसेलले गल्फ खेलको माध्यमबाट देशको आर्थिक, सामाजिक र पर्यटनलगायत क्षेत्रको विकासमा योगदान पुर्‍याउन प्रमुख प्रायोजकका रूपमा विगत तीन वर्षदेखि सहकार्य गर्दै आएको छ । यो वर्षको गल्फ प्रतियोगितामा गल्फ खेलाडीसहित करिब पाँच सय पाहुना धरानमा सहभागी भएका थिए ।

एनसेल बाह्रखरी गल्फमा प्रदेश–१ सरकार, उद्योग संगठन मोरङ, विराटनगर महानगरपालिका, इटहरी उपमहानगरपालिका, धरान उपमहानगरपालिका, नेपाल पर्यटन बोर्ड, प्रभु बैंक, द ग्लेन लिभेट सिंगल मल्ट, गोर्खा ब्रुअरी, आईएमई, भाटभटेनी सुपरमार्केट, हुन्ड्याई मोटर्स, शिखर इन्स्योरेन्स, बीएमडब्ल्यू र डिशहोम फाइबरनेटको सहयोग रहेको थियो ।

 

प्रकाशित मिति: शनिबार, फागुन १४, २०७८  १६:५९
प्रतिक्रिया दिनुहोस्
सम्पादकीय