site stats
बाह्रखरी :: Baahrakhari
विशेष
कन्यामको प्राकृतिक सुन्दरता मासिने खतरा

इलाम । रहरलाग्दो पहाड शृङ्खलाको ‘चेन ब्रेक’ गर्दै  स्वार्थ समूहले इलामको सूर्योदय नगरपालिकाको कन्याममा निजी जमिनमा सडक निर्माण गर्दा स्थानीयले प्रतिकार गरेका छन् । चिया विकास निगमको जमिन अतिक्रमण गरेर डोजर लगाएपछि आक्रोसित स्थानीयले डोजरै लगाएर बाटो बन्द गरेर प्रतिकार गरेका हुन् । 

बगानका म्यानेजर सचिन सुब्बाको नेतृत्वमा करिब ४० युवा प्रतिकारमा उत्रिएका थिए । 

सूर्योदय नगरपालिका ७ को कन्याममा चिया विकास निगमको केही जमिन अतिक्रमण गरेर सडक निर्माण गरिएको भन्दै स्थानीय युवाले माघ ११ गते विरोध गरेका थिए । सडक निर्माण कार्य रोक्न माग गर्दै नगरप्रमुख रणबहादुर राईलाई सोही दिन ज्ञापनपत्र समेत बुझाएका थिए ।
 
स्थानीयले सूर्योदय नगरपालिका–६ का वडाध्यक्ष शिवकुमार बस्नेतले बलमिच्याइँ गरेको स्थानीयको आरोप छ । कन्याममा बिनिता नेपाल, दीपक नेपाल, प्रकाश नेपाल र जीवन नेपालको नाममा रहेको जमिन हुँदै गुप्तीगाउँ जाने सडक निर्माण गरिएको जग्गा धनी जीवन नेपालले बताए ।


 
नेपाल नेपाली काङ्ग्रेस सूर्योदयका नवनिर्वाचित नगरसभापति हुन् । सो क्षेत्रमा नेपाल परिवारको नाममा २०२८ सालमा दर्ता कायम रहेको १३२ रोपनी जग्गा छ ।

सडकको १५ मिटर कटाउँदा करिब १२ फुट जमिनमा ६ मिटरको सडक खन्दा बगानको जमिन अतिक्रमण मात्रै नभई सुन्दरता खल्बलिएको स्थानीयको आरोप छ । वडाअध्यक्ष र पार्टीका पहुँचवाला नेताको मिलेमतोमा सडक निर्माणको काम भएको स्थानीय बताउँछन् ।

वडाध्यक्ष बस्नेतले भने सडक निर्माणमा आफ्नो कुनै स्वार्थ नरहेको दाबी गरेका छन् । “मलाई जसरी आरोप लगाइएको छ, त्यसमा कुनै सत्यता छैन,” उनले भने । बस्नेतले  कुनै स्वार्थ समूहसँग आफ्नो संलग्नता नरहेको स्पष्ट पारे ।  

कन्यामको सौन्दर्यका लागि भन्दै सूर्योदय नगरपालिकाले चियाले ढाकिएको संरचना भत्काएर कंक्रिट जालो निर्माण गरिसकेको छ । यद्यपि, कन्याममा लामो समय बस्नका लागि कुनै संरचना नबनेको होटेल एसोसिएसन इलामका अध्यक्ष देवी पौड्याल बताउँछन् । 

कन्याममा पर्यटक नभई भिजिटर’ आउने गरेको पौड्यालको भनाइ छ । उनी भन्छन्, “तिनै भिजिटरलाई हामी पर्यटक भनी गणना गर्छौं, त्यो दुर्भाग्य हो ।” 

वनभोजस्थलको रूपमा विकास भएको कन्याममा पर्यटक भित्र्याउन दिगो सोचका साथ काम गर्नुपर्ने युवा निश्कल राई बताउँछन् । उनले कन्यामको सौन्दर्य कंक्रिट अतिक्रमणको चपेटामा परेको बताए । 

स्थानीयलाई मात्र हैन सरकारी सेवामा आएकालाई पनि कन्याम भत्केको मन परेको छैन । कन्याम देशकै गहना ठान्ने इलामका प्रहरी उपरीक्षक महेन्द्रकुमार श्रेष्ठ भन्छन् । 

बाह्र वर्षअघिको इलाम र अहिलेको इलाममा खासै फरक छैन ।  धेरैले कन्याम चिनेका छन् । तर, कन्यामले सौन्दर्य गुमाउँदै गएको उनको बुझाइ छ । उनी भन्छन् “कन्याम खनेर कंक्रिट भइसक्यो अहिले पनि खनिँदै छ यसले राम्रो गर्दैन,” उनी भन्छन्, “इलाममा पर्यटक डाँडो र प्रकृति हेर्न आउने हो । कन्यामको चियाबारीको हरियाली दृष्यको स्वाद लिँदै घोडा चढ्ने र वनभोज खान तराईबाट आउने पर्यटकको चाप बढेको छ । श्रीअन्तुलगायत क्षेत्रको भ्रमणमा पर्यटकको लर्को लाग्न थालेको छ ।”

पछिल्लो समय देशका पश्चिमी जिल्लाहरुबाट इलाम घुम्न आउनेहरुको संख्या बढ्दै गइरहेको इलाम–झापा सीमावर्ती पर्यटन सूचना केन्द्र जोरकलसको तथ्यांकले देखाउँछ ।
 
कन्याम, हाँसपोखरी, श्रीअन्तुलगायत पर्यटकीय क्षेत्रसहित सदरमुकाम इलाम, माईपोखरी पुग्ने पर्यटक बढेको सूचना केन्द्रका सूचना अधिकृत गगन घिमिरेले बताए । उनले भने “माघ महिनामा पर्यटक आगमनको संख्या तुलनात्मक रूपमा न्यून छ ।”

कन्यामको सुन्दरतामा रमाउँदै प्रदेश–१ का पूर्वमुख्यमन्त्री शेरधन राई ।

पहाडी क्षेत्रका तीर्थस्थल र रमणीयस्थलको घुमघामका लागि झापालगायत तराई क्षेत्रबाट आउने गरेको सूर्योदय होटेल व्यवसायी संघका सदस्य प्रज्ज्वल प्रधानले बताए । उनले भने, “इलाम बजारसहित माईपोखरी, ढापपोखरी, सन्दकपुर, माङमालुङ, राँके, पानिटारलगायत क्षेत्रमा पर्यटक पुग्ने क्रम बढ्दो छ । पछिल्लो समय घुमघाम संस्कृतिको विकाससँगै इलामका पर्यटनस्थल तथा गन्तव्य बढ्दै गएका हुन् ।” आन्तरिक पर्यटनको मुख्य गन्तब्यमध्येको एक इलाम पनि भएको उनको भनाइ छ । 

तराई–पहाड सबैतिरका पर्यटकको साझा गन्तव्य बन्न थालेको इलाममा विद्यार्थी, अनुसन्धानकर्ता र बिदा मनाउने आउने गरेको घिमिरेले बताए । 

इलाममा स्याङ्जा, नवलपरासी, धादिङ, पाल्पा, गोर्खा, काठमाडाैँ, पोखरासहित जिल्लाबाट पर्यटक आउने गरेको सूचना केन्द्रले जनाएको छ ।
 

प्रकाशित मिति: सोमबार, फागुन ९, २०७८  ०८:५४
प्रतिक्रिया दिनुहोस्