site stats
बाह्रखरी गल्फ
उदयपुरको विकास : कृषि, पर्यटन, जलस्रोत र खानी समृद्धिको आधार

उदयपुर । प्र्रदेश–१ को समृद्धिको आधार कृषि, पर्यटन, जलस्रोत र खानी भएको भएको सरोकारवालाहरूले बताएका छन् । 
बाह्रखरी मिडियाले उदयपुरको गाईंघाटमा गरेको एनसेल बाह्रखरी गल्फअन्तर्गतको राउन्ड टेबलमा सहभागी उद्योगी व्यवसायीहरूले यस्तो बताएका हुन् ।

सरकारले सरकारले उद्योग व्यवसायमा ध्यान नदिएको उनीहरुको गुनासो छ । 

त्रियुगा उद्योग वाणिज्य संघका अध्यक्ष रमेश विश्वकर्माले जिल्लामा उद्योग स्थापना हुने क्रम बढिरहेको बताए । “सहज रूपमा उद्योग स्थापनाका लागि स्थानीय निकाय, सरकारी कार्यालय, प्रदेश सरकारबीच समन्व हुन सकेको छैन,” उनले भने, “लगानीकर्ता भित्र्याउन स्थानीय सरकारसँग बारम्बार कुरा गरेका छौँ । तर, स्थानीय सरकारले आफ्ने भूमिका निर्वाह गर्न सकिरहेको छैन । मदन भण्डारी राजमार्गमा गाडी चल्न थालेसँगै पहुँच बढेको छ । तर, उत्पादित वस्तुको बजारीकरण हुन सकेको छैन ।” 

Himalayan Bank
Dabur nepal
Agni Group

जिल्लामा धेरै पर्यटकीय गन्तव्यमा पुग्न सहज बाटो नभएको उनीहरुको गुनासो छ ।  उदयपुर सिमेन्टका महाप्रबन्धक गोपी पराजुलीले उद्योग व्यवसायलाई सहज गराउन एकद्वार प्रणालीको विकास हुन नसकेको बताए । 

Global bank

सो क्रममा उनले कृषि, पर्यटन र जलस्रोत जिल्लाको समृद्धिको आधार भएको बताए । 

जिल्लामा एसियामै उत्कृष्ट खानी छन् । जुन कृषि, पर्यटनसँग पनि जोडिएका छन् । यिनको भरपुर उपयोग गर्नुपर्छ । 
जिल्ला समन्वय समिति प्रमुख खड्क परियारले आफूले आर्थिक विकासलाई अगाडि बढाउन उद्योग, पर्यटन, कृषि क्षेत्रमा काम गरिरहेको बताए ।

“कृषि, होटेल, पर्यटन (धार्मिक, ऐतिहासिक), चुन ढुंगाढंगा, तामा खानी उदयपुर विकासका सम्भावित क्षेत्र हुन् ।” जिल्लामा साना, मझौला, ठूला उद्योगमा राम्रो प्रगति भएको बताउँदै उनले कृषिमा आत्मनिर्भर हुँदै गएको बताए । 

उद्योग तथा कृषिमा यान्त्रीकरण तथा व्यवसायीकरणमा जोड दिएको उनले बताए ।  व्यवसायी सुनील ठाकुरले जिल्लामा एयरपोर्टको आवश्यक भएको बताए । 

राउन्ड टेबलमा सहभागी स्थानीय जनप्रतिनिधि, उद्योगी व्यवसायीलगायतले जिल्लासहित समग्र प्रदेश–१ को समृद्धिको आधारका विषयमा व्यक्त भनाइ यस्ता छन् । 

हेमन्त भण्डारी, युवा उद्यमी


राज्यका नीति सही भए पनि कार्यान्वयन भएका छैनन् ।  युवा उद्यमीका लागि लगानी सबैभन्दा ठूलो समस्या बनेको छ ।सरकारले बिनोधितो कर्जा दिने भने बैंकले धितो नराखी कर्जा दिदैनन् । 

एकजना युवासँग राम्रो योजना छ । तर, धितो नहुँदा उसले ऋण पाउँदैन । जसका कारण उसको योजना मरेर जान्छ ।   युवामा काम गर्ने सोच, जागर हुन्छ, योजना हुन्छ । सरकारले  योजना हेरेर लगानी गर्नुपर्छ ।

तर, यहाँ काम नगरी कागज मिलाउनेले लगानी पाइरहेका छन् ।  तर, व्यहारिक रूपमा काम गर्ने, कागज मिलाउन नसक्नेहरुले लगानी पाइरहेका छैनन् । 

योजना बनाउनेलाई भन्दा दुःख गरेर काम गर्नेलाई प्रोत्सहित गराउन सरकारले फिल्ड भिजिट गरी बिनाधितो कर्जा उपलब्ध गराउनुपर्छ । अहिले ऐलानी जग्गामा उद्यम गर्नेहरूले धितो पाउन सकिरहेका छैनन् । 


भक्तिविलास पोखरेल,  पत्रकार

मिडियाले कहाँ के भएको छ भन्ने जानकारी गराउने हो ।  जानकारी पाए मात्रै मिडियाले सूचना सम्प्रेषण गर्न सक्छ ।  कृषिमा लगानी गरी रोजगारी बढाउने भनिए पनि व्यवहारमा आउन सकेको छैन । राज्यबाट पाउने सेवा सुविधा गरिब किसानले भन्दा पहुँचवालाले पाइरहेका छन् । 

स्थानीय सरकारले साना उद्योगी तथा कृषकले उत्पादन गरेका वस्तुको बजारीकरणका लागि सहयोग गर्नुपर्छ ।  हाल साना उद्योगी, व्यवसायीलाई लगानी गरिएको छैन ।  उत्पादन बढाउने क्षेत्रमा लगानी बढाउनुपर्छ । 

राज्यका नीति तथा हामीले गरेका प्रतिबद्धता कार्यान्वयन भए जिल्लासहित प्रदेश र देशको आर्थिक समृद्धि हासिल हुनसक्छ । 

डेबिट बस्नेत, होटेल व्यवसायी 

पछिल्लो समय उदयपुरमा होटेल र पर्यटन व्यवसायमा लगानी बढेको छ  ।  होटेल व्यवसायले पर्यटनलाई जोडेको छ ।  रौतापोखरीबाट सगरमाथाको रेन्ज देखिन्छ । यस क्षेत्रमा रहेका होमस्टेलाई व्यवस्थित गर्नुपर्छ ।  निजी बैंकको तुलनामा सरकारी बैंकबाट सेवा पाउन मुस्किल छ । 

प्रदीप गिरी, गिरी बन्धु प्लास्टिक उद्योग


स्थानीय सरकारले साना, मझौला उद्योगीलाई कुनै सहयोग गरेको छैन ।  यहाँका उत्पादन गुणस्तरीय भए पनि स्थानीय सरकार तथा सरकारी कार्यालयले प्रयोग गर्दैनन् । यसरी स्वदेशी उत्पादन तथा उद्योगको प्रवद्र्धन कसरी हुन्छ ?

सरकारले उद्योग व्यवसाय प्रवद्र्धनका लागि आवश्यक पूर्वाधारको विकास गर्नुपर्छ । तर, यसो हुन सकिरहेको छैन ।  अहिलेसम्म हामीले आफ्नै बलबुताले काम गरेका छौँ । स्थानीय सरकारले सहयोग गरेको छैन । 

अम्बिका रेग्मी, महिला उद्यमी

स्थानीय सरकारले महिला उद्यमीलाई प्रोत्साहनका लागि  यस किसिमको कार्यक्रम गरेकोमा बाह्रखरीलाई धन्यवाद ।  म लघु उद्यमी हो । म २०७० सालयता मसला उद्योग गरिरहेकी छु ।  उदयपुरमा मजस्ता धेरै महिला उद्यमी छन् ।  तीनै तहका सरकारले कर लिनेबाहेक अन्य कुनै काम गरेका छ्रैनन् । 

बरु संघ संस्थाले सीपमूलक काम गरेका छन् । यसमा केही भूमिका स्थानीय सरकारको पनि छ ।  तर, तालिम सकिएपछि काम कसरी भइरहेको छ, के कस्ता समस्या छन्, के आवश्यक छन् भन्नेमा कसैले चासो दिएको छैन । 

उद्यमी मात्रै सिर्जना गरेर हुँदैन । उनीहरुलाई स्रोत साधनको प्रयोग गर्नुपर्छ ।  साना उद्योगको उत्पादन लागत बढी हुँदा ठूला उद्योगसँग गर्न गाह्रो छ । 

बैंकले उद्योगीको अवस्था के छ भनी वास्ता नगरी बारम्बार किस्ता तिर्न ताकेता गरिरहेका छन् ।  कागज मिलाउन जान्नेहरूले मात्रै राज्यबाट पाउने सहयोग पाइरहेका छन् ।

स्थानीय सरकारले भौतिक पूर्वाधारमा मात्रै खर्च गर्ने गर्ने गरेको छ ।  तर, स्थानीय तहले सिलाइ कटाइ, गुडिया बनाउनेबाहेक साना उद्योग स्थापना गरौँ भनेर कहिल्यै सोचेनन् । उनीहरू चुनाव जित्ने, चुनावी खर्च उठाउने काममा मात्रै सिमित भए । 
स्थानीय तहमा आवश्यकताअनुरूप सिपमूलक तालिम हुन आवश्यक छ । 

गोपी पराजुली, महाप्रबन्धक, उदयपुर सिमेन्ट

२०५१ सालमा जापान सरकारले उदयपुर सिमेन्ट उद्योगमा सात अर्बको लगानी गरेको थियो ।  निजी क्षेत्रलाई ब्यालेन्समा राख्न सरकारले उद्योग सञ्चालन गर्नुपर्छ । 

उद्योग व्यवसायको सन्दर्भमा एकद्वार प्रणाली कार्यान्वयन हुनुपर्छ ।  हाल एक हजार राजस्व तिर्न दुई हजार खर्च गर्नुपर्ने अवस्था छ । नमुना जिल्ला बनाउन प्रणालीमा सुधार गर्नुपर्छ ।  कृषि, पर्यटन र जलस्रोत नै जिल्लाको समृद्धिका आधार हुन् । 
सिनानीमा खानी कृषि, पर्यटनसँग जोडिएको खानी हो ।  यो खानीमा जस्तो अन्य खानीमा सिमेन्टमा हुनुपर्ने गुणस्तर अन्य खानीमा पाइँदैन ।  यहाँको खानीमा दुई प्रतिशतभन्दा कम म्याग्नेसियम छ । यहाँको क्लिकर दक्षिण एसियँकै उत्कृष्ट हो । यहाँ सात करोड ३५ लाख मेट्रिकटन सिमेन्ट उत्पादन गर्ने क्षमता छ । जुन कुल क्षमताको १० प्रतिशत हो । 

हामीले क्षमताको ३० प्रतिशतभन्दा कम उत्पादन गरिरहेका छौँ । ५० प्रतिशत क्षमताको उत्पादन गर्ने हो भने नाफामा जान्छौँ ।उहाँखानीको अपार सम्भावना छ ।  यो खानीको भरपुर प्रयोग गर्नुपर्ने छ । त्यसको प्रयोग बढीभन्दा बढी गर्नुपर्नेछ । उदयपुर जिल्लाबासीका लागि मात्रै ५/७ प्रतिशत सेयर दिँदा जिल्लाबाट अर्बौ रुपैयाँ उठाउन सकिन्छ ।  हाल ओपीसी सिमेन्ट मात्रै उत्पान भइरहेको छ । हामी दिनको ६ हजार मेट्रिकटन क्लिंकर उत्पादन गर्न सक्छौँ । 

जिल्लाको विकासका लागि हामीले उद्योगको विकास गर्नुपर्छ ।  उद्योगको आफ्नै २०/३० विगााहा कृषि जमिन छ । पर्यटनका लागि पूर्वाधार आवश्यक छ । 

खड्क परियार, प्रमुख, जिल्ला समन्वय समिति, उदयपुर

जिल्लावासीलाई सुखी र समृद्ध बनाउन, उद्योग, पर्यटन, कृषि क्षेत्रमा काम गरिरहेका छौँ । हामी राज्यको लिएको तीनखम्बे अर्थ नीतिअनुरूप पुँजी निर्माण गरी विकासतपर्फ अघि बढ्ने अभियानमा छौँ । 

हाल समग्र सरकारी कार्यालयको समन्वय गर्ने काम भइरहेको छ । त्यसमा पनि राम्रो कामलाई प्रोत्साहित गरिरहेका छौँ । 
साना, मझौला, ठूला उद्योगमा राम्रो प्रगति भएको छ । 

प्रत्येक वडामा एक करोडबराबरको लगानीमा उद्योग स्थापना गर्ने लक्ष्य भए पनि सोबमोजिम काम हुन सकिरहेको छैन । हामी दूधमा आत्मनिर्भर भएर निर्यात गरिरहेका छौँ । 

कृषिजन्य वस्तु, कृषिमा आत्मनिर्भर हुँदै गएका छौँ । त्यसैगरी, उद्योग तथा कृषिमा यान्त्रीकरण, व्यवसायीकरण गरी उत्पादन र उत्पादकत्व वृद्धि गर्ने, तरकारी संकलन गर्ने केन्द्र बनाउने, कोल्डस्टोर बनाउने काम भइरहेको छ । 

हामीले कृषिलाई प्राथमिकता दिएका छौँ ।  वन, वन सम्पदा, जडिबुटी (तेजपत्ता निर्यात) हुँदै आएको छ । मासुमा आत्मनिर्भर गराउन लागेका छौँ । 

उदयपुरमा पर्यटकीय महत्त्व बोकेका रौतापोखरी, ताप्रिपोखरी, उदयपुर गढीलगायत धार्मिक एवं पर्यटकीय स्थान छन् ।  उदयपुरमा चुनढुंगाको पनि प्रवल सम्भावना छ । यसका अलावा यहाँ फलाम, तामा खानी पनि छन् ।  उदयपुर मदनभण्डारी, सिद्धिचरण र सगरमाथा राजमार्गसँग जोडिएकाले बजारीकरणमा सहज भएको छ । 

त्यसैगरी, हामीले स्वस्थ नागरिक अभियान चलाइरहेका छौँ । 

हाल स्वास्थ्यचौकी र  उदयपुर जिल्ला अस्पताल स्तरोन्नति गर्ने काम भइरहेको छ । जिल्लामा मेडिकल अस्पतालको विकास गर्ने लक्ष्यका साथ हामी अगाडि बढिरहेका छौँ । 

उद्योग स्थापनाका लागि नीतिगत सुधार र वित्तीय क्षेत्रमा पहुँच बढाउन आवश्यक छ ।  जिल्लाका साना, मझौला, ठूला उद्योग स्थापना गर्दै प्रवद्र्धन गर्नुपर्छ । 

सुनील ठाकुर, व्यवसायी

जिल्लामा एउटा एयरपोर्ट भइदिए होटेल, शिक्षा, मेडिकल क्षेत्रमा सहयोग पुग्छ ।  पूर्वाधारको विकास भए उद्योग फस्टाउँछन् । 
स्थानीय सरकारबाट पनि कस्तो उद्योग स्थापना गर्ने, प्रपोजल आउनुपर्छ । कस्तो सेवा सुविधा स्थानीय निकायले दिन सक्छ, त्यसमा पनि स्थानीय सरकारले सहयोग गर्नुपर्छ । 

तेजबहादुर पाण्डे, सहकारी, प्रतिनिधि


सहकारी सरकारले लिएको तीनखम्बे अर्थ नीतिमध्येमा पर्छ ।  तर, कुनै पनि सहकारी उद्देश्यअनुरूप चलेका छैनन् ।  सहकारी सीमित व्यक्तिले चलाइरहेका छन् । ऐन, नियम पालना गरेको देखिँदैन । 
सहकारीले उत्पादनमूलुक क्षेत्रमा लगानी गरेको छैनन् । 

सरकारले आत्मनिर्भरताका लागि तालिम दिए पुँजीका लागि तालिम लिएका व्यक्ति सहकारीसम्म आइपग्दैनन् ।  ठूला व्यापारीले मात्रै सहकारीबाट ऋण लिइरहेका छन् ।

साना लगानीकर्तालाई सहकारीसमक्ष पुर्‍याउने हो भने उनीहरूको जीवनस्तरमा सुधार हुने थियो ।  तितेपातीको साबुन बनाएर राम्रो आम्दानी लिन सकिन्छ । यसले  राम्रो सन्देश पनि दिन्छ । लागत पनि ठूलो छैन ।  त्यसैगरी, हामीले निमको साबुन उत्पादन गर्न सकिरहका छैनौँ । यसको पनि राम्रो अवसर छ । 

उत्पादित वस्तुको बजारीकरण हुन सकिरहेको छैन । यसका लागि स्थानीय सरकार, राज्यले सहयोग गर्नुपर्छ । 

मधुकर थापा, अध्यक्ष, घरेलु तथा साना उद्योग व्यवसायी महासंघ, उदयपुर

लघु, घरेलु तथा साना उद्योगले अर्थतन्त्रमा ठूलो योगदान दिएको छ । तर, राज्यले उचित सहयोग गरेको छैन ।  ठूला उद्योग फस््ट्याउनको लागि घरेलु, उद्योग फस्ट्याउन आवश्यक छ । 

नवयुवा उद्यमी धेरै छन् । तर, स्थानीय प्रतिनिधिलाई उद्योगी व्यवसायीको कुरा सुन्ने फुर्सद छैन ।  जिल्लाका कुनै पनि पालिकाले युवा उद्यमीलाई प्रोत्सान गरेको छैन । 

लगानीमैत्री, उद्योगमैत्री वातावरण बनाउनेतर्फ स्थानीय सरकार मौन छ ।  कृषि उद्योगको उर्भरभूमि उदयपुर हुन सक्छ । तर, ध्यान दिइएको छैन । 

पर्यटनको रूपमा भ्यूटावर बनाउनेमात्रै ध्यान छ । पर्यटन पूर्वाधार बनाउने स्थानीय सरकारको ध्यान छैन । जिल्लामा धेरै सिमेन्ट उद्योग छन् ।

उदयपुर सिमेन्ट उद्योग बेच्न खोजिएको छ । त्यसलाई रोक्न जिल्लाबासीले दबाब दिनुपर्छ ।  कृषि उद्योग, वनमा आधारित जडिबुटी उद्योगको सम्भावना छ ।  हामीले बेसार, अदुवालाई प्याकेजिङ गर्ने उद्योग स्थापना गर्न लागेका छौँ । लघु, घरेलुको सम्भावना हुँदाहुँदै पनि बजारीकरणको सबैभन्दा ठूलो समस्या छ । 

स्वदेशी वस्तु उपयोग नीति आएको छ । तर, कार्यान्वयन हुन सकेको छैन । 

रमेश विश्वकर्मा, अध्यक्ष, त्रियुगा उद्योग वाणिज्य संघ

उद्योग स्थापना हुने क्रम बढिरहेको छ । तर, उद्योग स्थापनाका लागि स्थानीय निकाय, सरकारी कार्यालय, प्रदेश सरकारबाट समन्वय भइरहेको छैन । 

जिल्लामा उत्पादित वस्तुको कसरी खपत बढाउने विषयमा स्थानीय सरकारले ध्यान दिइरहेको छैन ।  स्थानीय उत्पादन सुन्तला, साग सब्जी फाल्नुपरेको छ । 

जिल्लामा पर्यटकीय प्रवद्र्धन गर्ने प्रयास भइरहेको छ ।  रौतासम्म पुग्ने सहज बाटो बने बाह्य पर्यटक भित्र्याउन सकिन्छ ।  स्थानीय सरकारले यहाँ भएका उद्यमीको संरक्षण कसरी गर्ने भन्ने विषयमा ध्यान दिनुपर्छ । 

पक्रम खाँ, अध्यक्ष, घरेलु तथा साना उद्योग विकास समिति, उदयपुर 

समृद्धिको कुरा वर्षांैदेखि उठ्दै आएको छ । तर, व्यवहारमा उत्रिन सकेको छैन ।  निजी क्षेत्रबाटै आएका सुझावअनुसार नीति बनाइन्छ । तर, कार्यान्वयनका क्रममा उनीहरुबीच विभिन्न विवाद हुन्छ । 

जिल्ला कार्यालय कार्यान्वयन गर्ने निकाय हो, नीति निर्माण गर्ने निकाय होइन । हाम्रो काम पुलको काम गर्ने मात्रै हो । 
औद्योगिक प्रवद्र्धन समितिमार्फत् समस्या समाधान गर्ने प्रयत्न भइरहेको छ । समितिको प्रयत्न असफल भए मन्त्रालयमा सिफारिस गर्छौँ ।  औद्योगिक ग्रामअन्तर्गत वेलखा नगरपालिकामा औद्योगिक सञ्चालन भइसकेको छ ।  त्रियुगा नगरपालिकामा पनि सुचारु गर्ने क्रममा छ । 

यहाँको समस्या मार्केटिङ हो । ठूला उद्योगले बजारीकरणको विषयमा अनुुसन्धान गर्छन् । तर, साना उद्योगले त्यो गर्न सक्दैनन् । 
जिल्लामा विदेशी वस्तुबारे जानकारी हुन्छ । जसका कारण साना उद्योग बजारबारे अनविज्ञ हुन्छन् ।  हामीले उत्पादित वस्तुको जानकारी गरउनुपर्छ । उत्पादित वस्तुको ब्रान्डिङ पनि आवश्यक छ । 
उद्योगमा काम गर्ने मजदुरले सरकारले तोकेको न्यूनतम ज्याला पाउन सकिरहेका छैनन् ।  हामीले उनीहरूबारे पनि बोल्नुपर्छ । 

प्रकाशित मिति: आइतबार, फागुन १, २०७८  १९:४१
प्रतिक्रिया दिनुहोस्
सम्पादकीय