

काठमाडौं । स्वास्थ्य सेवा विभागको महानिर्देशकको जिम्मेवारी पुनः डा. दीपेन्द्ररमण सिंहलाई दिइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजदेखि पदभार ग्रहण गर्ने गरी डा. सिंहलाई विभागको महानिर्देशकको जिम्मेवारी दिएको हो ।
यसअघि, विभागको निमित्त महानिर्देशक रहेका डा. आरपी बिच्छाको उमेर हदका कारण आज नै सेवा अवधि पूरा हुँदै छ । तर, विशेषज्ञको रूपमा डा. बिच्छाको सेवा अवधि दुई वर्ष थप गरिएको छ । यसरी सेवा अवधि थप गरेका कर्मचारीलाई कार्यकारी जिम्मेवारी दिन नमिल्ने व्यवस्था स्वास्थ्य सेवा ऐनमा रहेकाले विभागको महानिर्देशकमा डा. सिंहलाई पठाएको मन्त्रालयले जनाएको छ ।
डा. बिच्छा नियुत्त हुनुअघि विभागको महानिर्देशक डा. दीपेन्द्र नै थिए । तर, शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएपछि गएको साउन १९ गते १२औँ तहका डा. सिंहलाई मन्त्रालयमा तानेर ११औँ तहका डा. बिच्छालाई विभागको निमित्त महानिर्देशकको जिम्मेवारी दिइएको थियो ।