पोखरा । स्याङजा प्रहरी कार्यालयका तीन दर्जन प्रहरीमा संक्रमण पुष्टि भएपछि सोमबारदेखि जिल्ला नै १० दिनको लागि सिल गरिएको छ । सोमबार मात्रै तेश्रोपटक आएको रिपोर्ट अनुसार स्याङ्जाका ३८ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरुसँग सम्पर्कमा आएकाहरुको 'कन्ट्याक्ट ट्रेसिङ'को काम भइरहेको छ ।
एउटा समूहमा ठूलोमात्रामा कोरोना संक्रमण पुष्टि भएको यो गण्डकीको पहिलो 'केस'समेत हो । देशभरको कोरोना संक्रमणसँग तुलनामा गण्डकीमा संक्रमितको संख्या भने कम छ । संख्या कम भएतापनि हिष्ट्री नभएका व्यक्तिमा संक्रमणको संख्या भने सयभन्दा बढि छ । कुल संक्रमितमध्ये ६५ प्रतिशत भारतबाट आएका छन भने २८ प्रतिशत भारतबाहेकका तेश्रो मुलुकबाट आएका ।
बाँकी ७ प्रतिशतका दरले हुन आउने १०३ जनामा कहाँबाट कोरोना लाग्यो त ? यसको जवाफ भने कसैसँग छैन । प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्मा भन्छन, “थाहा भएको राम्रो हो, तर थाहा नै छैन ।”
उनको भनाईले के पुष्टि गर्छ भने, हिष्ट्री नहुने तर कोरोना लाग्ने संक्रमितको संख्या पनि बढेको छ । यसको न्यूनीकरणबाहेक प्रदेश सरकारले संक्रमणको विन्दु पत्ता लगाउने सामर्थ्य भने छैन ।
स्याङजाका ३८ जना प्रहरी सहित कास्कीको पहिलो केस, पर्वतका स्वास्थ्यकर्मीको केस, मनिपालका डाक्टरको केस, पर्वतमा नै सडक दुर्घटनाका बिरामी, कास्कीका १९ महिने शिशु, गोरखाका सुरक्षाकर्मी । यी सबै हिष्ट्री नभएका संक्रमित हुन ।
लकडाउन खुला भएसँगै स्थानीय स्तरमा संक्रमणको दर पनि बढिरहेको छ ।
यसै विषयमा प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्मासँग गरिएको संक्षिप्त कुराकानी :
कोरोना संक्रमितको ट्रेसिङ कसरी गरियो ? संक्रमण कसरी फैलियो त ?
ट्राभल हिस्ट्री नभएका केसहरु ७ प्रतिशत छन् । कोरोनाका कुल संक्रमितमध्येमा भारतबाट आएका ६५ प्रतिशत छन् । भारतबाहेकका तेश्रो मुलुकबाट आएकाहरुको संक्रमित संख्या २८ प्रतिशत छ । ट्राभल हिस्ट्री नभएका १०३ जना छन् । भारतबाट आएका ८९४ जना छन् । अन्य ३७८ जना छन् । तीमध्ये जुन ७ प्रतिशतवाला हुनुहन्छ, सुरुमा भिमसेन गाउँपालिका ३ जनामा देखिएको थियो, हामीले ११७ जनाको स्याम्पल लिएका थियौं । पालुङटारमा १ जना देखिए । १०० जनाको स्याम्पल लियौँ । गोरखाकै सुरक्षाकर्मीमा भेटियो, ५८ जनाको स्वाब लियौँ । पर्वतमा ५ जना स्वास्थ्यकर्मीलाई २५५ जनाको स्वाब लियौँ । सबैको रिपोर्ट नेगेटिभ आयो ।
तर, स्याङजाको केसमा भने त्यसो हुन सकेको छैन । एक महिना अघि चापाकोटमा १ जना लाई भेटियो । हामीले प्राइमरी कन्ट्याक्टमा १५२ जना जनाको स्वाब लिएका थियौं । अहिले सुरक्षाकर्मीमा देखिएको छ । सुरुमा ४, १८ र फेरि २५ जनामा भेटिएको छ । ३८ जना सुरक्षाकर्मीमा संक्रमण पुष्टि भइसकेको छ ।
के कोरोना समुदायस्तरमा नै फैलिएको हो ? निर्देशनालयको तयारी के छ ?
११ वटै जिल्लामा यस्तो केस आउनसक्छन् भनेर तयारीमा बस्न 'केस इन्भेस्टिगेसन'को लागि २५२ जनालाई सैद्धान्तिक तालिम दिएका छौं । स्याङजाको केस देखाएर समुदायमा फैलिएको भन्न मिल्दैन । एउटा समूहबाट अर्को समूहमा सरेको भन्न मिल्दैन । छिटफुट रुपमा देखिनु स्वभाविक हो । हरेक ठाउँ, जिल्लामा देखिन्छ । यसलाई कन्ट्याक्ट गर्न नसक्दा चाहिँ समुदायमा जान सक्छ ।
विशेष रुपमा कन्ट्याक्ट गर्न पर्छ । हाम्रो टिम त्यहाँ गएको छ । प्रहरीको रुपमा संक्रमण भएको छ । स्याङजाका प्रहरीको सम्पर्कमा आएका ८२ जनाको स्याम्पल लिँदैछौँ । यो १८ जना संक्रमितसँगको सम्पर्कमा आएकाको मात्र हो ।
पछि थप भएका २५ जनाको होइन । मनिपाल शिक्षण अस्पतालका डाक्टरमा पनि देखिएको छ ।
स्याङजाको मुद्दाफाँटमा देखिएका प्रहरीमा कसरी फैलियो त ?
स्याङजाको कुरा गरौँ । प्रहरी कार्यालयमा पब्लिक धेरै आउनुहुन्छ । त्यहाँ टिम नै गएको छ । विश्व स्वास्थ्य संगठनको डाक्टर पनि जानुभएको छ । तर, कहाँबाट आयो भन्ने कसैलाई थाहा हुँदैन । थाहा भए राम्रो हो । बिरामी कहाँ-कहाँबाट आउँछन थाहा हुँदैन ।
पर्वतका स्वास्थ्यकर्मीले स्वाब पठाएर रिपोर्ट नआउँदै ५४ जनाको स्वास्थ्यजाँच गर्नुभएको थियो । उहाँहरु सबैको रिपोर्ट नेगेटिभ आयो । यस्तो हुन्छ । थाहा हुँदैन । कहिँ आमालाई देखिँदैन, बच्चालाई देखिने गरेको छ ।
यसले संसारलाई झुक्याइराखेको छ । हामीले गरिरहेको एक पछाडिको इतिहास, इभिडेन्सको आधारमा गरिरहेका छौँ । बच्चाबच्चीमा संक्रमण भएहोला, कुनै लक्षण देखिँदैन, स्वस्थ देखिन्छ तर संक्रमण भएको हुनसक्छ । गर्भवतीलाई लाग्यो भने उसको पछिको अवस्था कस्तो हुन्छ भन्न सकिँदैन । संक्रमित बच्चालाई एडल्ट हुँदा कस्तो असर पर्छ ?
त्यही भएर हामीले अहिले गरिरहेको भनेको चाहिँ यतिञ्जेलको विज्ञान अनुसार नै हो । सुरुमा ज्वरो, खोकी, स्वासप्रश्वासमा समस्या हुनुपर्छ भन्ने थियो । अहिले कुनै लक्षण नदेखिन सक्छ भन्ने भएको छ ।
लकडाउन खुल्यो भन्दैमा संक्रमण बन्द भयो भन्ने होइन, जोखिम बढेको छ । त्यसको लागि हामी तयार हुनुपर्छ ।
लकडाउन खुल्दा आवतजावत पनि बढ्छ, यसले झन चुनौती बढाउँदैन त ?
यो संक्रमणको दायरा बढ्दै जानु भनेको चुनौती हो । के अनुरोध गर्दछु भने जिल्ला सदरमुकाम त छँदैछन, चारवटा नाका गैँडाकोट, दाउन्ने, मुग्लिङ र राम्दीमा हाम्रो कुल क्षमताको २५ प्रतिशत त्यहाँ लगाउने हो भने मान्छेलाई स्क्रिनिङ, टेस्ट गर्नसक्छौँ । लकडाउन खुलेको छ, चेकजाँच गर्नुपर्छ भनेतापनि हाम्रो रिसोर्स छैन नि त ।
अहिले क्वारेन्टाइनमा रहेकाहरुको स्वाब लिएका छौँ, अदालतले भनेका, आइसोलेसनमा रहेका, मृतकहरुको, कन्ट्याक्ट टे«सिङमा नपरेका २२६६ जनाको स्वाब लिएका छौँ ।
३३ वटा स्वाब गु्रप बनाएर हामी अगाडि बढ्दैछौँ । अहिलेसम्म त एउटै फ्लोमा गइरहेका थियौँ । कपाल काट्ने, तरकारी पसल, ग्यारेजमा काम गर्नेहरुको पनि परिक्षण सुरु गरेका छौँ ।
परिक्षण आउनै दुई हप्ताभन्दा बढि समय लाग्ने ? निर्देशनालयले रेस्पोन्स नगरेको आरोप पनि सर्वसाधारणले लगाउँदै आएका छन नि ।
अहिले क्षेत्रीय क्षयरोग केन्द्रमा राखिएका २ वटा मेसिनबाट पिसिआर परिक्षण भइरहेको छ । परिक्षणलाई प्रभावकारी बनाउन हामीले चारवटा कुरामा ध्यान दिएका छौँ : जनशक्ति, पीसीआर, टेस्ट गर्ने समय र युनिटी ।
कुनै समय थियो ३ हजाभन्दा धेरै केस पेन्डिङमा थिए । दुई हप्तासम्म चेक गरेर भ्याउन हम्मे पर्थ्यो । अहिले २८ जनाले काम गर्नुहुन्छ । बिहान ७ देखि राती साढे १२ बजेसम्म काम गछौँ । दुइवटा युनिट छन । चारवटा पिसिआर मेसिन छन, अहिले तीनवटाबाट गरेका छौँ ।
कहिलेकाहीँ रिएजेन्टले काम गरेको छैन । पछिल्लो हप्ता दुई दिनसम्म पेन्डिङ् केस शून्यमा झार्यौँ । नेगेटिभ केस आउँदा दैनिक हजारौँ चेक गर्न सक्छौँ । पोजेटिभ आउँदा आधा संख्यामा परीक्षण हुने गरेको छ ।