पोखरा । जर्ज फ्लोयडको हत्यापछि सुरुमा अमेरिकाको केही सहर आन्दोलित भयो । रंगभेदको कारण अमेरिकी प्रहरीबाट घाँटी थिचेर हत्या गरिएका फ्लोयडको समर्थन पछि अमेरिकाभरि फैलियो र त्यसले विश्वव्यापी रुप लियो । ‘ब्ल्याक लिभ्स म्याटर’ सहित विश्वभरि प्रदर्शन भयो । अमेरिकी प्रहरीले माफी नै माग्यो । रंगभेदको विश्वव्यापी बाछिटाले नेपाल पनि अछुतो रहेन । यसबाहेक विश्वव्यापी कोरोना महामारीले विश्व नै आक्रान्त छ ।
गत जेठ ३२ गते कैलालीको लम्कीचुहामा क्वारेन्टिनमा बसेकी एक महिलामाथि सामुहिक बलात्कार भयो । मध्यरातमा तीन युवाले बलात्कार गरेपछि क्वारेन्टिनको सुरक्षाको बारेमा देशभरि विरोध प्रदर्शन भयो । तनहुँमा मात्रै बुधबार क्वारेन्टिनमा रहेका एक पुरुषले आत्महत्या गरे । क्वारेन्टिनबाट भाग्नेको संख्या निकै छ । धनुषामा बुधबार नै राजु सदाको उपचार नपाएर निधन भयो ।
कोरोना महामारीले निम्त्याएका यस्ता विकृति र अपराध नियन्त्रण गर्न नसकेको भन्दै सरकारको विरोध हुँदै आइरहेको छ । स्वतन्त्र युवाहरुले पीसीआर परीक्षणको माग गर्दै गतसाता देशव्यापी प्रदर्शन नै गरे । सडकदेखि सदनसम्म सरकारले क्वारेन्टिन व्यवस्थित बनाउन नसकेको, सुरक्षा दिन नसकेको पीसीआरको रिपोर्टमा ढिलाइ आएको विषयमा सांसदहरुले आवाज उठाए ।
गण्डकी पनि त्यसमा अछुतो रहेन । गण्डकीका सांसदहरुले उठाएका थिए, “क्वारेन्टिनमा बलात्कार भइरहेको छ, पीसीआर रिपोर्ट तीन हप्तासम्म आउँदैन, स्वास्थ्यकर्मीलाई पीपीई उपलब्ध गराउनुपर्छ, प्रदेश सरकारले पीसीआर परीक्षणको दायरा बढाओस् ।” गण्डकीको संसदमा यो आवाज बोल्ने प्रतिपक्षमात्र होइन, सत्तापक्षका सांसद पनि छन् ।
तर, गण्डकीका एक सांसदले प्रतिपक्षी सांसदलाई लक्षित गर्दै फरकखालको अभिव्यक्ति दिए । असार ६ गते गण्डकी प्रदेशमा बजेट वक्तव्यमाथि छलफल चल्दै थियो । ६ गतेको छलफलमा सहभागी हुने सांसदमा राजीव पहारीको नाम पनि थियो । सत्तारुढ नेकपाका प्रत्यक्ष निर्वाचित पहारी साविकको एमालेको भ्रातृसंगठन युवा संघका पूर्वाध्यक्ष समेत हुन् ।
बजेट वक्तव्यमाथिको छलफलमा सहभागी उनले दिएको अभिव्यक्ति भने फरक थियो । जुन अभिव्यक्तिको अहिले पनि गण्डकी प्रदेशमा आलोचना भइरहेको छ ।
उनले भनेका थिए, “यो सरकार भनेको भिजन, मिसन र एक्सन भएको नेकपाको सरकार हो । यसको कार्यकाल पूरा पाँचवर्ष छ । बाँकी अझै साढे २ वर्ष छ । यहाँहरुले सदिच्छा राख्नुभएको छ, सरकारले यो सबै पूरा गर्दछ ।”
सुरुमा नै कवितामार्फत व्यङ्ग्य गर्दै उनले भनेका थिए,
‘हामी एउटा कुरा सिक्यौँ,
विरोध गर्नुपर्छ यहाँ,
मौका यही हो,
सकेसम्म जनतालाई भ्रम छर्नुपर्छ यहाँ,
ठिक र बेठिक छुट्याउने त हाम्रो धर्म नै होइन,
भ्रम र निराशाको जाल थापी सत्यलाई छोप्नुपर्छ यहाँ ।’
कविताबाट उनले झुट र भ्रमका कपोकल्पित कथा रचेको आरोप लगाए ।
त्यसपछिको उनले प्रतिपक्षीलाई जवाफ दिन लागे । उनको जवाफ क्वारेन्टिनमा बलात्कार भएकोदेखि लिएर स्वास्थ्य सामग्री खरिदमा भएको भ्रष्टाचारको विषयमा समेत थियो ।
“अहिले म गण्डकी प्रदेशसभामा बोलिरहेको छु । दिल्लीमा पानी पर्यो भनेर पोखरामा छाता ओढ्ने मान्यतालाई म आत्मसात गर्न सक्दिन । गण्डकी प्रदेशको जनप्रतिनिधि हो, यहाँको बारेमा बोल्नु सिंगो धर्ती नै मैले थेगेको छु भन्ने भ्रमबाट मुक्त हुनुपर्छ । सामग्री खरिदमा भ्रष्टाचारको कुरा उठे, क्वारेन्टिनमा बलात्कार भएको कुरा उठे, खाना नपाएर भोकभोकै भएका कुरा उठे, अन्य कोभिड १९ को परीक्षण गर्न पाएनन् भन्ने कुरा आए । म शिष्टता र शालिनताका साथ प्रश्न गर्न चाहन्छु, गण्डकी प्रदेशमा सामग्री खरिद गर्दा कहाँ के कुरामा भ्रष्टाचार भएको छ ? प्रमाण देखाउनुस्, सँगै गएर मुद्दा हालौँला । क्वारेन्टिनभित्र यस प्रदेशमा कहाँ कसको बलात्कार भएको छ ? को खान नपाएर भोकै मरेको छ, कसले पीसीआर परीक्षण गर्न कसले पाएको छैन ? कुन स्वास्थ्यकर्मीले पीसीआर पाएको छैन ? तथ्य दिन पर्दैन ? नत्र त्यसै सरकार भ्रष्टाचारमा लिप्त छ, मनपरि छ भनेर जे आयो त्यो बोल्न मिल्छ ? के हामी बोलेको कुराप्रति जिम्मेवार र जवाफदेही हुन पर्दैन ? हावामा मुड्की हान्नुको कुनै अर्थ हुँदैन । कम्तीमा माननीयज्यूहरु बोलेको कुरा सुनौँसुनौँ लाग्ने, टिपौँटिपौँ लाग्ने त हुनुपर्यो । सँधै एउटै कुरा, एकोहोरो सुगा रटाइ आजसम्म ।”
उनी त्यतिमा रोकिएनन् ।
“धनगढीमा बाटोमा हिँड्दा गाइले हिर्काउन आयो भनेर पोखरामा घरमा बाँधेर राखेको सोझो दुधालु गाईलाई गाली मात्रै होइन, लौराले चुट्न खोज्न भनेको के को न्यानो हुनुजस्तो मात्रै हो । जनताले यसो भनेका छन् भन्दै आफ्नो मनको गुनासो पोख्न पाइयो, तर जनतासँग त मुख्यमन्त्री प्रत्येक दिन एक घण्टा अन्तरक्रिया गर्नुभएको छ,” उनको अभिव्यक्ति थियो ।
उनको अभिव्यक्तिलाई लिएर प्रदेश सभा सदस्यहरुले नै विरोध गरेका छन् ।
पुष्पा केसी भण्डारी (नेकपा)
त्यो त हाम्रो र तिम्रो प्रदेश भन्ने नै हुँदैन । असामान्य घटना हो । उहाँले भनेको पछि बुझेँ मैले । मेरो आफ्नो धारणामा चाहिँ मैले मुख्यमन्त्री र सामाजिक विकासमन्त्रीलाई पनि भनेको छु ।
देशको मात्र होइन, संसारभरि कहिँपनि यस्तो खालको घटना घट्यो भने त्यो चाहिँ सबैको सरोकारको विषय हुन्छ । नेपालभित्र भएको छ भने, अझ सरोकारको विषय हुन्छ । त्यसले चाहिँ प्रदेश र देश भन्दैन, एउटा महिला हो, महिला कुनै पनि ठाउँमा सुरक्षित हुनुपर्छ, महिलाको अस्मिताको रक्षा भएको हुनपर्छ ।
भएन भने त्यसको जवाफदेही सम्बन्धित निकाय हुनुपर्छ र उसले न्याय पाएको हुनुपर्छ । भविष्यमा यस्ता घटना नघट्नको लागि सरकारले पहल गरेको हुनुपर्छ । म सँधै यसको वकालत गर्छु । मान्छेलाई दोष लगाएको होइन, तर असामान्य घटनामा मेरो धारणा यही हो । महिला भनेपछि जहाँको सुकै किन नहोस्, उसले बच्न र बाँच्न पाएको हुनुपर्छ । क्वारेन्टाइन, आइसोलेसन सुरक्षित हुनपर्छ ।
ओमकला गौतम, सचेतक– नेपाली कांग्रेस
माननीय जस्तो व्यक्तिले जघन्य अपराधको विषयलाई हल्कारुपमा लिनु दुखद घटना हो । उहाँले बजेट वक्तव्यको छलफलमा उक्त कुरा उठाउनुभयो, अहिले मन्त्रालयगत छलफल चलेको छ । सामाजिक विकास मन्त्रालयको छलफलमा हामी आवाज उठाउँछौँ । अहिले शून्य र विशेष समय पनि छैन, तर हाम्रो नोटिसमा छ ।
महिलाप्रति भएको दुव्र्यवहारको विषयमा यसरी सामान्य तरिकाले लिनु, हाम्रो प्रदेशमा भएको होइन भन्नु, उहाँबाट यस्तो अभिव्यक्ति आउँछ भन्ने लागेको थिएन । त्यही दिन नियमापत्ति गर्थेँ तर म त्यो दिन सदनमा पुरै समय बस्न पाइन ।
संघीयताको कार्यान्वयनको चरणमा छौँ, तर, हाम्रो प्रदेशमा भएको होइन भनेर घटनालाई विषयान्तर गर्न खोजिनु, त्यो पनि एउटा माननीयबाट । यो एकदमै गलत भयो । यो व्यक्तिको होइन, प्रवृत्तिको विरोध हो ।
धनमाया पोखरेल लामा– जनता समाजवादी पार्टी
अब उहाँले बजेट वक्तव्यको छलफलमा भन्नुभयो भनेर हामीले पनि नियम मिच्न त भएन नि । शून्य र विशेष समय पनि आउँछ, हामी त्यहाँ बोल्छौँ । उहाँले नबोल्नुपर्ने कुरा नै बोलेको हो । बजेटको छलफलपछि चाहिँ हामीले आवाज उठाउँछौँ । मैलो नोटिस पनि गरेको छु । उहाँले गल्ती नै बोल्नुभएको हो ।
पियारी थापा– राष्ट्रिय जनमोर्चा
उहाँचाहिँ अब कसरी प्रस्तुत हुनुभयो हामीले त्यो सोचेको पनि थिएनौँ । अमेरिकामा रंगभेदको विषयमा विश्वभरि आन्दोलन भएको छ । त्यति हल्कारुपमा प्रस्तुत हुनुहुन्छ भन्ने मलाई लागेको थिएन । ओभरस्मार्ट बन्न खोज्दा उहाँको प्रस्तुति एकदमै आपत्तिजनक थियो । अब सामाजिक विकास मन्त्रालयको छलफल पनि छ, विभागीय मन्त्रालय पनि भयो, हामीले त्यतिबेला कुरा उठाउँछौँ । गण्डकीको बाहेक अरु विषयमा बोल्न हुन्न भन्ने तर उहाँले भारत र पाकिस्तानको पनि उदाहरण दिनुभएको छ । हामीले आवाज उठाउँछौँ ।