site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
 उधारोमा किनिएका फ्रिजमा थन्कियो १६ सयभन्दा धेरै स्वाब
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad
SkywellSkywell

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले २० दिन पहिले नै प्रदेश सरकारले किनेको पीसीआरबाट परीक्षण सुरु गरिएको दाबी गरे पनि हालसम्म उक्त मेसिनबाट परिक्षण सुरु भएको छैन । ओम्नी समूहले किनेर संघले प्रदेशलाई दिएको मेसिन त्यत्तिकै थन्किएको छ । अहिले गण्डकीमा पश्चिमाञ्चल क्षेत्रीय अस्पताल मातहतको प्रयोगशालाबाट मात्रै कोरोना परिक्षण हुँदै आएको छ । गण्डकीले किन्ने भनेको नयाँ मेसिन टेण्डर प्रक्रियामा नै छ ।

यता, सरकारले भने नीति तथा कार्यक्रममा नै तीनवटा मेसिनबाट कोरोना परीक्षण गरिएको भनेर घोषणा गर्यो । सरकारले घोषणा गरे पनि पछिल्लो समय भने कोरोना परीक्षण गर्ने प्रयोगशालामा भद्रगोल छ । मुख्यमन्त्रीले कोरोना महामारीमा एक नम्बरमा गण्डकीले तयारी गरेको दाबी गरिरहँदा प्रयोगशालामा १६ सयभनदा बढी स्वाब नर्मल फ्रिजमा थन्किएका छन् ।

गत सोमबार मात्रै गण्डकीमा कोरोना संक्रमणले निधन भएका एक व्यक्तिको शव व्यवस्थापनमा प्रदेश सरकार हराएको भनेर आलोचना भएको थियो ।

KFC Island Ad
NIC Asia

दुई दिन अघि कोरोना परीक्षणकोे रिपोर्ट पनि आएन । मेसिन चलाइएको तर, कुनै पनि नतिजा नआएपछि प्रदेश स्वास्थ्य निर्देशनालयले विज्ञप्ती जारी गरेन ।

जनस्वास्थ्य प्रयोगशालाका निमित्त प्रमुख सपना सुवेदी भन्छिन्, “नयाँ रिएजेन्ट आएको थियो, भ्यालिडेसन हुँदैथियो, रिजल्ट आउट हुनेगरि कुनै पनि निस्किएन । नयाँ रिएजेन्ट आएपछि केही काम गर्नुपर्ने हुन्छ । प्रोसेस नसकिएका कारण नआएको हो ।”

नयाँ मेसिन क्षेत्रीय क्षयरोग केन्द्रमा लगेर राखिएको छ । त्यो मेसिनको प्रमाणीकरण भइसकेको छैन । प्रमाणीकरण नहुँदासम्म मेसिनले आउटपुट दिँदैन । त्यहाँ काम छुट्टै गर्न ल्याब टेक्निसियन छैनन् । एउटा मेसिन सञ्चालन गर्न ६ प्रयोगशालाकर्मी आवश्यक हुन्छ । नयाँ कर्मचारीको हकमा सामाजिक विकास मन्त्री नरदेवी पुनमगरले संसदमा जवाफ दिने क्रममा तीनजना प्राविधिकहरु खोजिएको बताएकी थिइन् । नयाँ मेसिन आएपछि कर्मचारी थप्नुपर्ने हो, तर हालसम्म नयाँ कर्मचारी भर्ना गरिएको छैन ।

अहिले प्रयोगशालामा दुई सिफ्टमा काम भइरहेको छ । त्यहीँका प्राविधिक नै क्षयरोगमा राखिएको ल्याबमा पनि काम गर्ने सुवेदीले जानकारी दिइन् । अहिले दैनिक २ सयको हाराहारीमा कोरोना परीक्षण हुँदै आएको प्रयोगशालाले जनाएको छ ।

यता, पछिल्लो समय ह्वात्तै संक्रमण बढेपछि स्वाब पनि थुप्रिएको छ । प्रयोगशालाले ठूलो संख्यामा स्वाब परीक्षण गर्न नसकेपछि यही हप्तामात्रै प्रदेश सरकारले चारवटा फ्रिज किनेको छ । इमर्जेन्सी भएको भन्दै सरकारले उधारोमा चारवटा फ्रिज किनेको हो । यसअघि पनि दुइवटा फ्रिज किनिसकिएको थियो ।

“चारवटा फ्रिज किनेका छौँ । नर्मल फ्रिज नै किनेका हौँ । नयाँ स्वाबलाई चाहिँ नर्मल फ्रिजमा राखिएको हो,” सुवेदीले भनिन् ।

प्रदेश आपूर्ति व्यवस्थापन केन्द्रका निर्देशक खिमबहादुर खड्काका अनुसार सुरुमा किनिएका दुइवटा फ्रिज प्रतिफ्रिज ८५ हजार रुपैयाँमा किनिएको हो ।

अहिले किनिएका फ्रिज पनि सोही मूल्यमा किनिएको हुनसक्ने उनले जानकारी दिए । 

“२ देखि ८ डिग्रीसम्मको फ्रिज किनेका हौँ । जिल्लाबाट तत्काल ल्याएर राख्नुपर्यो । जिल्लाबाट आइस ब्यागमा ल्याइएको हुन्छ । त्यसैलाई मेन्टेन गर्नको लागि हो । सुरुमा २ वटा फ्रिज ल्याइएको थियो । ८५ हजार रुपैयाँ पर्ने ल्याब हुन् । ह्वात्तै स्वाब बढ्यो, अनि इमर्जेन्सीमा किनेका हौँ,” उनले भने ।

उधारोमा किनिएका फ्रिजको भुक्तानी भने सरकारले दिएको छैन ।

प्रदेश स्वास्थ्य निर्देशकको गैह्रजिम्मेवार रवैया

अघिल्लो शुक्रबार कास्कीमा पहिलोपटक कोरोना संक्रमण भेटियो । डेरामा बेहोस भेटिएका ती व्यक्तिलाई काठमाडौंमा उपचारको क्रममा कोरोना संक्रमण रहेको पुष्टि भएको थियो । ती व्यक्ति अहिले कोरोना संक्रमणमुक्त भइसके ।

तर, पहिलो केस भेटिएपछि कास्कीमा एक किसिमको आतंक नै फैलियो । कारण, जिल्ला नछोडेका ती व्यक्तिमा संक्रमण भेटिनुले समुदायस्तरमा कोरोना भेटिएको हो कि भन्ने प्रश्नहरु पनि उठे । उनलाई संक्रमण कसरी भयो ? अहिलेसम्म पत्ता लागेको छैन । 

भीआईपी प्रोफाइलका ती व्यक्तिको सम्पर्कमा धेरै जना थिए । स्वास्थ्य कार्यालयले प्राइमरी तथ्यांकको रुपमा ३९ जनालाई टे«सिङ गर्यो । उनीहरुको स्वाब पनि संकलन भयो ।
स्वाब दिएकामध्येमा एकजना थिए, नागरिक अभियन्ता राम पौडेल । स्वाब संकलन लिइसकेपछि उनीहरुले बारम्बार प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माँसँग सम्पर्क गर्न खोजे । तर, निर्देशक शर्माले कुनै प्रतिक्रिया दिएनन ।

प्रतिक्रिया नदिएपछि आजित भएर २९ गते उनले सामाजिक सञ्जालमा लेखे, “गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता एवम स्वास्थ्य निर्देशक जस्तो जिम्मेवार व्यक्तिले गत हप्ता टे«सिङ सूचीमा परेका ३९ जना व्यक्तिका तर्फबाट पटकपटक फोन सम्पर्क र मेसेज गर्दासमेत कुनै प्रतिक्रिया नदिनुभएकोमा उहाँको उक्त गैह्रजिम्मेवार रबैयाप्रति पीडित पक्षका तर्फबाट गहिरो दुःख प्रकट गर्दछौँ ।”

यस्तै, उनले पीसीआर नतिजाको लामो पर्खाइले जनता निराश भएको हुँदा आवश्यक जनशक्तिसहित पीसीआर परीक्षणको दायरा बढाउन आग्रह समेत गरेका छन् । 

३९ जनाकै स्वाब परीक्षणको नतिजा नेगेटिभ आएको छ ।

गत हप्तामात्रै निर्देशनालयले एकैपटक स्वाब लिए पनि केहीको मात्रै परीक्षण नतिजा सार्वजनिक गर्दा पर्वतका संक्रमितहरु मुस्किलले गाउँ छिर्नबाट बचेका थिए । आधाबाटोमा पुगेका उनीहरुलाई पछि फेरि फर्काएर क्वारेन्टिनमा राखिएको थियो ।

निर्देशक शर्मा तीनै व्यक्ति हुन्, जसले गत जेठ १८ गते विज्ञप्ती जारी गर्दै ‘म्याग्दीका संक्रमितसँगै पोखरा आएका २ जना सम्पर्कविहिन रहेको र उनीहरुसँगै लमजुङका ३ र गोरखाका १ जना पनि सम्पर्कविहिन छन्, कृपया सम्पर्कमा आउनुहोला’ भनेर विज्ञप्ती जारी गरेका थिए ।

उक्त विज्ञप्तीले ‘आतंक’ फैलाएको भन्दै उनको विरोध समेत भएको थियो ।

गत सोमबार कोरोनाका कारण शव व्यवस्थापनमा ढिलाई हुँदा निर्देशक डा. शर्मा भने पोखरा बाहिर थिए । १९ घण्टासम्म अस्पतालमै रहेको शवको व्यवस्थापनमा उनले मुख्यमन्त्रीलाई समेत गलत रिपोर्टिङ गरेको स्रोतले जनाएको छ । अस्पतालको आडमै रहेको निर्देशनालयमा उनी सोही दिन अपरान्हमा देखिएको तर, शव व्यवस्थापनमा भने कुनै चासो नदेखाएको भन्दै प्रदेश सरकारको समेत विरोध भएको थियो ।
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ ३१, २०७७  ११:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro