पोखरा । गण्डकी प्रदेशमा तीनवटा कोरोनाका केस छन्, जसको संक्रमण कसरी भयो भन्ने प्रश्नको जवाफ हालसम्म भेटिएको छैन । गत शुक्रबार कास्कीमा कोरोनाको पहिलो संक्रमण पुष्टि भयो ।
जिल्लाभित्रै रहेका ६० वर्षीय पुरुषको उपचारका क्रममा कोरोना संक्रमण भेटिएको पुष्टि भयो । शुक्रबार कोरोना पुष्टि हुनुपूर्व ती पुरुष आफ्नै डेरामा बेहोस भेटिएका थिए । अघिल्लो मंगलबार बेहोस भेटिएका उनलाई उपचारका लागि साथीहरुको सहायतामा सुरुमा पृथ्वीचोकस्थित गण्डकी मेडिकल कलेज लगियो ।
तर, उनका परिवार काठमाडौं नै भएको हुनाले हेलिकप्टर नै चार्टर गरेर काठमाडौं स्थित हेम्स अस्पताल रिफर गरिए । त्यसको तीनदिनपछि उनमा कोरोना संक्रमण रहेको पुष्टि भएको थियो । हेम्समा उपचारपश्चात् उनी अहिले कोरोना संक्रमणमुक्त भएका छन् । उनलाई शुक्रबार नै डिस्चार्ज गरिएको छ । अस्पतालले पनि विज्ञप्ति जारी गर्दै उनलाई डिस्चार्ज गरिएको जनाएको छ ।
डेरा, अफिस, खाजा खाने ठाउँ, तरकारी किन्ने ठाउँ, कलेज र आफू कानुनी सल्लाहकार रहेको वित्तीय संस्थाबाहेक अन्यत्र नगएका ती पुरुषमा कोरोना संक्रमण कसरी भेटियो ? यसको भेउ प्रदेश स्वास्थ्य निर्देशनालयले अझै पाउन सकेको छैन ।
गोरखामा पनि गत साता हिरासतमा रहेका एक किशोरमा कोरोना संक्रमण भेटिएको थियो । कहाँबाट, कसरी संक्रमित हुन पुगे यसको जवाफ स्थानीय तहसँग छैन ।
शुक्रबार पनि पोखरास्थित मनिपाल शिक्षण अस्पतालमा पर्वतका एक बिरामीमा कोरोना संक्रमण भेटिएको पुष्टि भयो । सडक दुर्घटनामा परी उपचार गराउन आएका ती पुरुषलाई पर्वतबाट नभई अस्पतालबाट नै संक्रमण भएको कुश्मा नगरपालिकाका मेयर रामचन्द्र जोशीले बताएका छन् ।
काठमाडौं लगिएका र शुक्रबार डिस्चार्ज भएका बिरामीको पनि अस्पतालमा नै संक्रमण पुष्टि भएको थियो ।
के अस्पतालबाट कोरोना संक्रमण फैलिएको हो त ? हो भने कसरी ?
कास्कीका पहिला संक्रमितको संक्रमणको कारण पत्ता लगाउन र ट्रेसिङ गर्न खटिएका स्वास्थ्य कार्यालय प्रमुख बाबुराम आचार्यले अहिले नै निष्कर्षमा पुग्न नसकिने बताउँछन् ।
कास्कीका संक्रमितको सम्पर्कमा आएका ३९ जनाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । उनीहरु हालसम्म पनि क्वारेन्टिनमा नै छन् ।
तर, संक्रमण फैलिएको विषयमा कुनै नयाँ क्लु नभेटिएको आचार्यले बताए । “अनौपचारिक तवरबाट कुराकानी त भएको छ । तर, नयाँ कुरा चाहिँ आएको छैन । एकपटक उहाँसँगै कुरा गरेपछि केही पत्ता लाग्ला कि ?” उनले भने ।
यसबीचमा हेम्स अस्पतालसँग पनि कुरा भएको र उनले मर्निङ वाक जाने गरेको विषयमा कुराकानी गरेको आचार्यले जनाए । अब दोस्रो चरणको अनुसन्धान गर्न सम्बन्धित व्यक्तिसँगै कुरा गर्ने उनले जानकारी दिए ।
“मर्निङ वाक जानुहुन्थ्यो भन्ने कुरा अस्पतालमार्फत् आएको छ । अब, उहाँ आएपछि स्वास्थ्यवस्था हेरेर समय नै लिएर केही प्रश्नोत्तर गर्नेछौँ । हामीले हिस्ट्री लिने हो । उहाँले दुई सातासम्म कहाँकहाँ ट्राभल गर्नुभयो त्यही बुझ्नेछौँ,” उनले भने ।
तर, त्यसपछि पनि कुनै परिणाम नभेटे हेम्स अस्पतालबाटै कोरोना संक्रमण भएको हो भन्नेतर्फ सोच्न सकिने उनी बताउँछन् ।
“अहिले आइसकेका कुराहरुबाहेक नयाँ केही विशेष आउँछ कि भनेर बुझ्ने हो, हामीले । अब त्यसपछि पनि कुनै नतिजामा पुग्न सकिएन भने काठमाडौंबाटै सरेको पो हो कि ? यस विषयमा निर्णयमा पुग्न चाहिँ कति समयमा देखिनुपर्थ्यो, त्यो टाइम ड्युरेसनको बारेमा प्राविधिकसँग अनि मन्त्रालयसँग पनि छलफल गर्छौँ, तर अहिले नै नतिजा आउने छाँटकाँट छैन,” उनको भनाइ छ ।
तर, बाहिर कतै नगएका व्यक्तिमा संक्रमण भेटिएपछि के कोरोना संक्रमण समुदायस्तरमा फैलिएको हो त ? यसमा आशंका गर्न सकिने पनि उनको भनाइ छ ।
“बाहिर कतैबाट भेटिएको छैन, समुदायमा फैलिएको हो कि ? अब यहाँ ३९ जनाको आएको छैन । अस्पतालबाटै पनि फैलिएको हो कि ? हामी अन्यथा समुदायस्तरमा नै पीसीआर परीक्षण गर्छौँ,” आचार्यले भने ।
यता, शुक्रबार अस्पतालमा नै कोरोना संक्रमण भेटिएपछि अहिले मनिपाल अस्पताल प्रशासनको बैठक बसिरहेको छ । कोरोना संक्रमण कहाँबाट फैलियो भन्ने विषयमा अस्पतालमा बिरामी भेटिएपछि अस्पतालले नै ट्रेसिङ गर्ने पोखरा महानगरका स्वास्थ्य शाखा प्रमुख हेमन्त आचार्यले जानकारी दिए ।
अस्पताल प्रशासनले बैठक सकिएपछि मात्रै थप जानकारी दिने बताएको छ ।