site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कोरोना संक्रमितको शव व्यवस्थापनमा हराएको गण्डकी सरकार !
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad
SkywellSkywell

पोखरा । बजेट अधिवेशनको पहिलो दिन र नीति तथा कार्यक्रममाथिको छलफल । प्रदेश सरकारका प्रमुख मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले भने, "कोरोनाका कारण प्रदेश सरकारको औचित्य पुष्टि भएको छ ।’

उनले यतिमात्र भनेन्, “कोरोना रोकथाममा प्रदेश सरकारहरुले खेलेको महत्वपूर्ण भूमिकाबाट प्रदेश सरकारको भूमिका पुन: पुष्टि भएको छ । प्रदेश सरकार नभएको भए कोरोना महामारी झन् भयावह हुन्थ्यो । संघीयतामा नगएको भए २० हजार संक्रमित पुगिसक्थ्यो । संघीय शासन प्रणालीको पुष्टि फेरि पनि भएको छ । यो अप्ठेरो परिस्थितिमा प्रदेश सरकारले काम गरेर संघीय पुष्टि भएको छ । संघीय सरकारतिर फर्केर भन्छु- प्रदेश सरकारको संकटको बेलाको भूमिकालाई नजरअन्दाज नगरियोस् । नेपाल सरकारले नीति तथा कार्यक्रम ल्याउँदा स्थानीय तहले प्रभावकारी भूमिका खेलेको भनेर प्रशंसा गर्‍यो । कोभिड १९ को रोकथाम र उपचारमा प्रदेश सरकारले प्रभावकारी ढंगले स्थानीयसँग समन्वय गरेर खेलेको भूमिका अहम् रह्यो । प्रदेश सरकारको औचित्य खोजिरहेकाहरुलाई हाम्रो व्यवहार र कामले मुतोड जवाफ दिएको छ । कठिन बेलामा नेतृत्वको पहिचान हुन्छ । प्रदेश सरकारहरुले, स्थानीय तहरुले जसरी नेतृत्व प्रदान गरे, त्यसले संघीय प्रणालीको पुष्टि गरेको छ ।”

बारम्बार उनले कोरोनाको बारेमा गण्डकीले नै सुरुमा लकडाउन गरेको र त्यसैको सिको संघ सरकारले गरेको दाबी गरे । तीन थान पीसिआरबाट कोरोना चेक गरिएको, क्वारेन्टिनको व्यवस्था गरिएको, अर्को पीसिआर किन्‍ने र परिक्षणको दायरा बढाउने उनले बताएका थिए । जिल्ला प्रशासन कार्यालयदेखि सुरक्षाकर्मी र स्वास्थ्य कार्यालयहरुलाई दिएको सहयोगको व्याख्या गर्दै, ‘सरकारले औचित्य पुष्टि गरेको’ बताए ।

KFC Island Ad
NIC Asia

मुख्यमन्त्रीले तीन थान पीसिआरबाट कोरोना परिक्षण गरिएको बताए पनि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहतको जनस्वास्थ्य प्रयोगशालाले एउटा मेसिनले मात्र परिक्षण गर्ने गरिएको जनाएको छ ।

मुख्यमन्त्रीले कोरोना रोकथाममा एक नम्बर गण्डकी प्रदेश गरिरहेको दाबी गरिरहँदा सोमबार भने प्रदेश सरकार हरायो । यो त्यही सोमबार हो, जहाँ गण्डकीमा कोरोना संक्रमणको कारण एक पुरुषको निधन भएको थियो । त्यही दुखको घडीमा गण्डकी सरकारले आफ्नो उपस्थिती देखाउन सकेन ।

स्याङ्जाको वालिङका एक व्यक्तिको कोरोना संक्रमणको निधन भएको १४ घण्टा बित्दा गण्डकी प्रदेशसभाको बैठकमा प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले शोक व्यक्त गरे । मृतकको नामै तोकेका मन्त्री चुमानले शवलाई श्रद्धाञ्जली दिइरहँदा त्यो शव किन १४ घण्टादेखि व्यवस्थापन हुन सकेको छैन भन्ने बारेमा बोलेनन् । उनले प्रहरीको जस्तो रिपोर्टिङ गरे । विभागीय मन्त्री नरदेवी पुनमगर पनि संसदमा बोलिन् । तर, उनले मृतकको शव व्यवस्थापनमा किन ढिलाई भयो भन्ने विषयमा भने एक शब्द पनि बोलिनन् ।

१४ घण्टामा सदनले निधनको औपचारिक जानकारी पायो । तर, त्यही १४ घण्टासम्म मृतकको शव भने पश्चिमाञ्चल क्षेत्रीय अस्पतालकै आइसोलेसनमा प्लाष्टिकमा बेरिएको थियो ।

अन्तिममा आइतबार राति साढे ११ बजे निधन भएका ती पुरुषको शव १९ घण्टापछि सोमबार साँझ रिट्ठेघाटमा अन्त्येष्टी भयो । त्यही शवले एउटा सरकारको वास्तविक हैसियत पनि देखायो ।

निधन भएको पुष्टि हुनासाथ अस्पतालले एक घण्टाभित्रै शवलाई प्लाष्टिक ब्यागभित्र राखेर व्यवस्थापनको लागि तैनाथ पारेको थियो । अस्पतालले आफ्नो व्यवस्थापनलाई तीव्रता दियो । 
कोरोनाबाट निधन हुनेको शव व्यवस्थापन कार्यविधीले निधन भएको खण्डमा शव व्यवस्थापन नेपाली सेनाको समन्वयमा व्यवस्थापन गर्ने भनेको छ ।

प्रदेश सरकार मातहतको स्वास्थ्य निर्देशनालयले सोमबार बिहानै विज्ञप्ती जारी गरेर निधन भएको पुष्टि भयो । त्यसपछि प्रदेश सरकारको भूमिका देखाउने निर्देशनालय भने दिनभर गायब भयो । विज्ञप्ती जारी गरेर हराएको निर्देशनालयले सरकारी प्रतिनिधित्व देखाएन । किन ढिलाइ भयो भनेर चासो पनि देखाएन । मन्त्रीहरु त आउने कुरै भएन ।

कास्कीका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले बिहानै नेपाली सेनाको फुलबारी ब्यारेकको भगवती दल गणलाई तैनाथ रहन भनेका थिए । जनशक्ति उपलब्ध गराउन सेनाको टोली तत्कालै तैनाथ गरिएको गणका कर्नेल मदनजंग कार्कीले जानकारी दिए ।

पालो आयो महानगरको । कार्यविधीले जग्गा व्यवस्थापनको जिम्मा स्थानीय सरकारलाई दिएको छ । महानगरले सुरुमा हरियोखर्कमा जग्गा व्यवस्थापन गर्‍यो । स्थानीयले अवरोध गरे । त्यसपछि वडा नं. ११ स्थित रिट्ठेघाटमा जग्गा खोजियो । फेरि लफडा भयो । वडाध्यक्ष सहित प्रहरी घाइते भए । १८ जना पक्राउ समेत परे । पछि प्रहरी परिचालन गरिएपछि सेनाले शवलाई जमिनमा मिलायो । एउटा अन्त्य त्यहाँ भयो ।

दुखजिलो गरेर भएतापनि शव व्यवस्थापन भयो ।

तर, स्थानीयको अवरोधमात्रै होइन । शवलाई अन्त्येष्टि स्थलसम्म लैजान उत्तिकै बाधाहरु थिए । नदेखिएका ती बाधाहरुमा शववाहनको व्यवस्थापन पनि थियो । शववाहनको व्यवस्थापनको जिम्मा महानगरलाई सीसीएमसी बैठकले दिएको थियो । महानगरपालिकाले पनि सुरुमा शववाहन रहेको बतायो । तर, महानगर पछि हट्यो । स्थानीय सरकारले शववाहनको व्यवस्थापन गर्न सकेन ।

शववाहन नभई शव लैजान नसकिने भएपछि कास्कीका प्रहरी प्रमुख दानबहादुर कार्की आफैं पश्चिमाञ्चल क्षेत्रीय अस्पताल गए । उनले नै एम्बुलेन्स र चालकको व्यवस्थापन गरे । शव लैजाने व्यवस्था भएपछि पनि सामान्य प्राविधिक उपकरणहरुको ख्याल भने कसैले गरेनन् । बिरामी बोक्ने स्ट्रेचर समेत उपलब्ध नभएपछि अन्तिममा अस्पतालले आफ्नै स्ट्रेचर दियो । उक्त स्ट्रेचर शवसँगै जमिनमुनि गाडिएको छ ।

शव पुर्‍याएर फर्केको एम्बुलेन्सलाई डिसइन्फेक्सन गर्ने, चालकलाई क्वारेन्टाइनमा राख्‍ने कुरामा कुनै पनि निकायले चासो दिएनन् । एम्बुलेन्स चालकलाई क्वारेन्टाइनमा बस्न नपर्ने भनि घर पठाइयो ।

योसहित व्यवस्थापनमा नदेखिएका अनेकौँ समस्याको व्यवस्थापनमा प्रदेश सरकारको भूमिका भने देखिएन । अस्पतालको आडैमा स्वास्थ्य निर्देशनालय छ । तर, निर्देशनालयबाट कसैले पनि व्यवस्थापनमा समन्वय नगरेको आरोप अस्पतालका एक कर्मचारीले बताए ।

"प्रदेश सरकार कहाँ गयो ?" ती पदाधिकारीले प्रश्न गरे ।

यता प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्मासँग भने सम्पर्क हुन सकेन । शव व्यवस्थापनको दिन आवश्यक समन्वय गर्न उनी देखिएनन । "अपरान्हतिर उहाँ निर्देशनालयतिरै देखिनुभएको थियो । तर, अस्पताल भने आउनुभएन," ती कर्मचारीले भने ।

स्वास्थ्य कार्यालय कास्कीका प्रमुख बाबुराम आचार्यले भने पहिलोपटक भएको हुँदा केही त्रुटीहरु भएको स्वीकार गरे । “तयारी नपुगेकै हो, प्रतिनिधित्वको हकमा अगाडि देखिने नदेखिने भन्ने कुरा होला, तर, सबै व्यवस्थापन हामीले गरेका हौँ,” उनले भने ।

आगामी दिनदेखि कमजोरी सुधारेर थप चुस्त रुपमा व्यवस्थापन गरिने उनले जानकारी दिए ।

सरकारको तयारीको दुरावस्था देखियो : सांसद थापा

सांसद विन्दुकमार थापाले १९ घण्टासम्म पनि शव व्यवस्थापन गर्न नसक्नुले सरकारको तयारी देखिएको बताएका छन् । शव व्यवस्थापनको क्रममा स्थानीयले अवरोध गरेपछि त्यसको सहजीकरणको लागि आफू गएको र प्रदेश सरकारको फितलो व्यवस्थापनले नै उक्त परिस्थिती आएको उनले बताएका छन् ।

सांसद थापाले एक विज्ञप्ति जारी गर्दै “सरकारले कोभिड-१९ का कारण मृत्यु भएका व्यक्तिहरुको शव कसरी व्यवस्थापन गर्ने भनेर संक्षिप्त कार्यविधि, २०७६ बनाएको छ । कार्यविधिमा कोभिड १९ को कारण मृत्यु भएको शव उचित व्यवस्थापन र शवलाई छिटो भन्दा छिटो अन्तिम संस्कार गर्नुपर्छ भनेको छ । 

कार्यविधी बनेको यतिका समय विति सक्दा पनि शव व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा सरकारको कुनै तयारी देखिएन । बिना मापदण्ड बनेका अव्यवस्थित क्वारेन्टाइनलाई व्यवस्थित गर्ने त परको कुरा कोरोनाका कारण मृत्यु भएका व्यक्तिको शव १९ घण्टासम्म व्यवस्थापन गर्न नसक्नुले सरकारको तयारी कस्तो छ प्रष्ट पार्छ,” भनेका छन ।

शव व्यवस्थापन गर्ने नाममा जनतालाई त्रसित गर्ने होइन, सुरक्षित स्थानको छनोट, व्यवस्थापन र संभावित जोखिमको बारेमा सचेत गराउने उनले आग्रह गरे । उक्त दिन आफूले नै प्रमुख जिल्ला अधिकारी र महानगर प्रमुखसँग फोनसम्पर्क गरि शव व्यवस्थापन गरेको बताए । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ २८, २०७७  १९:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro