पोखरा । कोरोना संक्रमणले निधन भएका स्याङ्जाको वालिङ नगरपालिकाका ५८ वर्षका पुरुषको शव व्यवस्थापनको जिम्मा नेपाली सेनाको फुलबारी ब्यारेकको भगवती दल गणलाई दिइएको छ । मृगौला, सुगरसहित रक्तचापका पीडित ती पुरुषमा आइतबारमात्रै कोरोना संक्रमण पुष्टि भएको थियो ।
पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आइसोलेसनमा उपचाररत उनको आइतबार राति ११:२५ बजे निधन भएको अस्पतालका निर्देशक डा. अर्जुन आचार्यले जानकारी दिए ।
गण्डकी प्रदेशमा कोरोना संक्रमणले निधन हुने उनी पहिलो व्यक्ति हुन् । उनको शव अहिले पनि अस्पतालकै आइसोलेसनमा राखिएको छ । पोखरा महानगरपालिकाले शव व्यवस्थापन कहाँ गर्ने भन्ने टुंगो लगाइनसकेका कारण शव अहिले पनि अस्पतालमै रहेको छ ।
कास्कीका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले उनको शव ‘कोभिड १९ का कारण मृत्यु भएका व्यक्तिहरुको शव व्यवस्थापन कार्यविधि’ अनुसार नै शव व्यवस्थापन गरिने र त्यसको समन्वय गर्न नेपाली सेनालाई भनिएको जानकारी दिए ।
नेपाली सेनाको विजयपुर ब्यारेकका लेफ्टिनेन्ट कर्णेल विजयदेव कुँवरले फुलबारी ब्यारेकको भगवती दल गणले शव व्यवस्थापनको समन्वय गर्ने जानकारी दिए । “हाम्रो टोली तयार छ, तर फिल्डको टुंगो लागिसकेको छैन, टुंगो लाग्नासाथ सेनाले समन्वय अगाडि बढाउँछ”, उनले भने ।
यता, स्वास्थ्य कार्यालयले भने कार्यविधि अनुसारको आवश्यक सबै स्वास्थ्य सामग्री उपलब्ध गराइसकेको जानकारी दिएको छ । कार्यालय प्रमुख बाबुराम आचार्यले आवश्यक सामग्रीहरु उपलब्ध गराइसकिएको जानकारी दिए ।
पोखरा महानगरपालिकाले भने शव व्यवस्थापन कहाँ गर्ने भन्ने टुंगो लागिनसकेको जनाएको छ । महानगरका स्वास्थ्य शाखा प्रमुख हेमन्त पौडेलले भने, “फिल्डको खोजी भइरहेको छ, अरु व्यवस्थापन नेपाली सेनाले गर्ने हो, यार्ड व्यवस्थापन चाहिँ स्थानीय सरकारले गर्ने हो, हरियोखर्कमा गर्ने कि भन्नेमा छलफल भएको छ, तर टुंगो लागेको छैन ।”
कोरोनाले स्याङ्जाका एकजनाको पोखरामा मृत्यु
यता, निधन भएका पुरुषको सम्पर्कमा आएका चिकित्सकको टोलीसहित सम्पर्कमा आएका सबैको ट्रेसिङ गरिने निर्देशनालयले जनाएको छ । निर्देशनालयका आपतकालीन कार्यसञ्चालन केन्द्र संयोजक नवराज शर्माले परिवार सहित चिकित्सक र प्रत्यक्ष सम्पर्कमा रहेकाहरुको ट्रेसिङ गरी केही दिनभित्र स्वाब परीक्षण गरिने जानकारी दिए ।
गण्डकीमा कोरोनाबाट निधन भएका ती पुरुष यसअघि भारतमा उपचारका लागि गएका थिए । भारतमा उपचारका लागि गएका उनी २१ गते वालिङ फर्किएका थिए । सोही दिन नै क्वारेन्टिनमा राखिएको थियो । उनकी छोरी पोखरामा रहेकाले हेरचाहका लागि २२ गते उनलाई पोखरा ल्याइएको थियो । उनलाई मृगौला र उच्च रक्तचापको समस्या रहेको थियो ।