पोखरा । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा थप २७८ जनामा कोरोना संक्रमण भएको जानकारी गरायो । २७८ जना नयाँ संक्रमित थपिँदा कास्कीको हकमा पहिलो केस पनि शुक्रबार नै पुष्टि भयो । कास्कीका ६० वर्षीय एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । ती पुरुष यतिबेला कास्कीमा नभइ काठमाडौंस्थित ह्याम्स अस्पतालमा उपचाररत छन् ।
चारदिन पहिले डेरामा नै बेहोस भएका ती पुरुषलाई तत्कालै गण्डकी मेडिकल कलेज लगिएको थियो । पछि उनलाई थप उपचारको लागि हेलिकप्टरबाट काठमाडौं लगिएको थियो । शुक्रबार उनैलाई कोरोना संक्रमण पुष्टि भयो । कास्कीमा शनिबार तीनसहित चारजनामा कोरोना संक्रमित भेटिएका छन् । शनिबार भेटिएका सबै भारतबाट आएका हुन् ।
तर, जिल्लाभित्रै रहेका व्यक्तिमा कसरी कोरोना संक्रमण भयो त ? यो प्रश्नको जवाफ खोज्न प्रदेश स्वास्थ्य निर्देशनालय र पोखरा महानगरपालिका शुक्रबारदेखि लागिपरेका छन् । तर, हालसम्मको नतिजा भने शून्य छ । पोखरामा डेरा गरेर बस्ने ती व्यक्ति नियमितजसो खाजा खाने ठाउँमा जाने गरेको खुलेको छ । यस्तै, अफिस र प्रोफेसरहरुसँग प्रत्यक्ष सम्पर्क रहेको बुझिएको छ ।
सोडियम निकै कम हुँदा काठमाडौं रिफर, काठमाडौंमा कोरोना
पोखरा महानगरपालिका वडा नं. ८ मा बस्ने ती पुरुष पेशाले कानुन व्यवसायी हुन् । उनले पोखराकै एक क्याम्पसमा प्राध्यापन गर्छन् भने उनी एक बैंकका कानुनी सल्लाहकार हुन् । तर उनको परिवार भने काठमाडौंमै छन् । गण्डकी मेडिकल कलेज स्रोतका अनुसार बेहोस् भएर त्यहाँ लगिएपछि डाक्टरहरुले आवश्यक सुरक्षा सामग्री लगाएरै उनको जाँच गरेका थिए ।
मेनेन्जाइटिसका कारण बेहोस भएको भनिएका उनलाई सोहीदिन काठमाडौं लगिएको हो । उनको शरीरमा सोडियमको मात्रा निकै कम भएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।
प्राइमरी ट्रेसिङ : ४० जनाको लिष्ट तयार
संक्रमण पुष्टि भएपछि निर्देशनालयले थालेको कन्ट्याक्ट ट्रेसिङमा ४० जना प्राइमरी लिष्टमा परेका छन् । कन्ट्याक्ट ट्रेस गर्न जिल्ला स्वास्थ्य कार्यालय र विश्व स्वास्थ्य संगठनको एक्सपर्ट टिम खटिएको स्वास्थ्य निर्देशनालयका निर्देशक डा. बिनोदविन्दु शर्माले जानकारी दिए । टोलीले शनिबार साँझसम्ममा ४० जनाको लिष्ट तयार पारिसकेको छ ।
उक्त सूचीमा गण्डकी विकास बैंकका २२ जनासहित प्रोफेसर, औषधी पसलेदेखि कपाल काट्ने व्यक्तिसम्म छन् । अस्पताल लैजाने ट्याक्सी चालक, काठमाडौं पुर्याउने हेलिकप्टर र हेलिकप्टरमा गएका सबैजना प्राइमरी ट्रेसिङमा परेका छन् । स्वास्थ्य कार्यालयका प्रमुख बाबुराम आचार्यका अनुसार ४० जनालाई नै आइतबार परीक्षणको लागि स्वाब लिइनेछ ।
“प्राइमरीमा ४० जनाजति प्राइमरी कन्ट्याक्टमा आउनुभएको छ । हामीले सबैलाई एसएमएस गरेका छौँ, थप प्रक्रिया पनि अगाडि बढाइरहेका छौँ । उहाँसँग प्राइमरी कन्ट्याक्टमा रहनुभएकाहरुको ट्रेसिङ गर्दैछौँ,” उनले भने । निर्देशनालयका निर्देशक डा. बिनोद विन्दु शर्माले स्वाब लिनेबारे सल्लाह गरिरहेको जानकारी दिए ।
“हामी सल्लाह गर्दैछौँ । ४० देखि ४५ जना फस्र्ट कन्ट्याक्टमा रहेकाको ट्रेसिङ भएको छ । भोलि उहाँहरुको स्याम्पल कसरी लिने भनेर प्लान गर्दैछौँ । उहाँहरु सबैलाई मेसेज पठाएका छौँ, एसएमएस पठाएर स्याम्पल कलेक्सन गर्छौँ । उहाँहरु अहिले सेल्फ क्वारेन्टाइनमा हुनुहुन्छ । सबैलाई खबर गरेका छौँ,” उनले भने ।
प्रत्यक्ष सम्पर्कमा रहेका ४० जनै अहिले सेल्फ क्वारेन्टाइनमा छन् ।
उनीहरुको स्वाब लिने र कसैको पोजेटिभ देखिएमा दोस्रो तहको ट्रेसिङ गरिने निर्देशनालयले जानकारी दिएको छ । स्रोतका अनुसार दोस्रो तहमा प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्साल समेत पर्छन् । मन्त्री लम्साल शुक्रबार विश्व वातावरण दिवसको कार्यक्रममा सहभागी भएका थिए ।
जहाँ, कोरोना संक्रमितसँग प्रत्यक्ष सम्पर्कमा रहेका व्यक्ति आयोजक रहेका थिए ।
मन्त्री लम्सालले कार्यक्रममा सहभागी भएको स्वीकार्दै ‘टाढैबाट हेरेको र एउटा बिरुवा रोपेर फर्किएको’ जानकारी दिए ।
अस्पतालको जवाफ कुर्दैछ निर्देशनालय
जिल्ला नछाडेका, डेरा, कार्यालय र खाजाघर जाने ती व्यक्तिलाई कसरी लाग्यो त कोरोना ? यो पहेली फुकाउन निर्देशनालयले कोरोना संक्रमित अस्पताल काठमाडौंलाई पत्राचार गरेको जनाएको छ ।
डा. शर्मा भन्छन्, “उहाँ बेहोस् भएको कारण, किड्नीमा समस्या देखिएको पनि छ भनिएको छ । त्यो कारणले बेहोस् भएको हो भने उहाँलाई यहाँ (पोखरामा) संक्रमण नभएको हुन सक्छ । त्यो हामीले रुल आउट गर्दैछौँ, क्लिनिकल्ली काठमाडौंकै अस्पतालले पनि हामीसँग समन्वय गर्दैछ ।”
कास्कीका तीनजना अस्पतालको आइसोलेसनमा
शनिबार कोरोना संक्रमण पुष्टि भएका रुपा गाउँपालिकाका २ पुरुष र पोखराका १ सहित तीनजना पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएका छन् । रुपा गाउँपालिकाको क्वारेन्टिनमा बसेका २३ र ३२ वर्षका पुरुष र पोखरा महानगरको लेकसिटी हस्पिटलमा क्वारेन्टाइनमा बसेका ५९ वर्षका पुरुष आइसोलेसनमा भर्ना भएको अस्पतालका निर्देशक डा. अर्जुन आचार्यले जानकारी दिए ।
उनका अनुसार संक्रमित तीनैजनाको स्वास्थ्य अवस्था सामान्य छ । यस्तै, सोही अस्पतालमा उपचाररत स्याङजाको वालिङकी कोरोना संक्रमित महिलालाई शनिबार नै जिल्लाको हेलुस्थित कालिका सामुदायिक अस्पताल लगिएको छ । जिल्लामा आइसोलेसन बनाइएकाले उनलाई उपचारका लागि उतै लगिएको हो ।
वालिङ १३ घर भएकी ३९ वर्षीया ती महिलामा १४ जेठमा कोरोना पुष्टि भएको थियो ।
स्याङ्जा जिल्ला अस्पतालमा महिलाका लागि छुट्टै आइसोलेसन नभएपछि जेठ १५ गते पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आइसोलेसनमा ल्याइएको थियो । उनको स्वास्थ्यअवस्था पनि सामान्य छ ।