पोखरा । आइतबार सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि दोस्रो दिन पनि छलफल जारी रह्यो । सोमबारदेखि चलेको छलफल मंगलबार पनि निरन्तर रहँदा सांसदहरूले धेरै प्रश्न पनि उठाए, सुझाव पनि दिए र प्रशंसा पनि गरे ।
मंगलबारको छलफलमा सहभागी सांसदहरू कसले के भने–
विष्णुप्रसाद लामिछाने, नेपाली कांग्रेस
भनौँ सम्धीको चित्त दुख्ने, नभनौँ, छोरीको नाक बुच्चै । मैले सरसर्ती हेरेँ । नीति तथा कार्यक्रम समय सापेक्षअनुसार आएन कि भन्ने मलाई लाग्छ । वास्तवमा अहिलेको परिस्थिति के हो ? त्योसँग जुध्न सक्ने किसिमको नीति कार्यक्रम आएन कि ?
कोरोनाले थिलोथिलो परेको अवस्थामा, पहिलो प्राथमिकतामा ती जनता जसले सरकारको अपेक्षा गरेर बसिरहेका छन्, जो अहिले पनि पीडामा छन्, उनीहरूको स्वास्थ्योपचार, राहत कसरी दिने भन्नेमा ध्यान नदिएको लाग्छ । दुर्भाग्य छ, अहिले पनि हाम्रो क्वारेन्टाइनमा बस्ने व्यक्तिले आत्महत्या गर्नेस्थिति कसरी सिर्जना भयो ?
हामीले गर्वसाथ क्वारेन्टाइन, हस्पिटल बनाएका छौँ भन्यौँ, तर वास्तविकता अर्कै छ । जनताले मेरो सरकार छ, सरकारले केही गर्छ भन्ने विश्वास हुनुपर्ने हो । हाम्रो काम भनेको कसरी आत्मनिर्भर बनाउने भन्नेतर्फ लाग्नुपर्ने हो, यी कार्यक्रम र योजना भए हामी आत्मनिर्भर हुन्थ्यौं भन्ने आउनुपर्ने हो, खै त ?
सुकुम्बासीको बारेमा मैले लगातार कुरा उठाउँदै आएको छु । आफ्नो नाममा एकधुर पनि जग्गा नहुनेको बारेमा नीति तथा कार्यक्रमले सम्बोधन नगरेको उनले बताए । सुकुम्बासीलाई नीति तथा कार्यक्रमले जनता नै नमानेको उनको भनाइ छ । वैज्ञानिक कृषिलाई जोड दिन उनले सुझाव दिए ।
दीपक कोइराला, नेकपा
गण्डकी प्रदेशले कोरोनासँग लड्नका लागि तयारी गरेका योजना, कार्यहरू पर्याप्त नभए तापनि प्रशंसायोग्य रहेका छन् । संघीयता भर्खर कार्यान्वयनको चरणमा छ, संघीयता व्यवस्थापनको कार्य बाँकी रहे तापनि सरकारले गरेको मिहिनेत सह्रानीय छ । आगामी दिनमा कोरोना परास्त गर्न सरकार सक्षम हुने विश्वास लिएको छु ।
राम्रोभन्दा सत्तापक्षको भएर भन्यो भन्ने लाग्ला, सत्तापक्षकै भएर पनि विरोध गर्न केही पाइएला भनेर हेरेँ, तर पनि यो नीति तथा कार्यक्रममा उल्लेख भएका विषयवस्तु नै निकै सकारात्मक छन् । संविधानको प्रस्तावनाले समाजवाद उन्मुख भनेको छ, हाम्रो नीति तथा कार्यक्रमले पनि यसलाई सहयोग गरेको छ । समृद्ध प्रदेशको नारा छ, त्यो पनि पूरा गर्ने देखिएको छ ।
समग्रतामा हेर्दा, संविधानले भनेको दिशातर्फ अगाडि बढेको छ ।
प्रदेशले आफैंलाई कसरी बनाउने भन्ने विषयमा पनि बोलेको छ । हाम्रा संरचना, इकाईलाई कसरी बलियो बनाउने, भन्ने समेत यसमा समेटिएको छ ।
मनबहादुर गुरुङ, नेकपा
शिथिल भएको अर्थतन्त्रलाई जीवन्त बनाउने विषयमा नीति तथा कार्यक्रम बोलेको छ । हरित सहर बनाउने, विद्युतीय तारलाई भूमिगत बनाउन उनले सुझाव दिए । लक्षित वर्गलाई पानी बिजुली निःशुल्क बनाउने, राजधानीलाई इन्टरनेट फ्रि बनाउने, पानी वितरण प्रणाली, सेती नदी किनारको रामघाटलाई पार्क बनाउनुपर्ने उनले सुझाव दिए । कोरोनाले लकडाउन भएर मात्रै विकास निर्माणमा ढिलाइ भएको अन्यथा सरकारले विकासको मूलढोका खोल्नेमा आफू विश्वस्त रहेको उनले बताए ।
खिमविक्रम शाही, राष्ट्रिय जनमोर्चा
नीति कार्यक्रम पढ्दा राम्रा छन्, तर लेख्दैमा सुन्दैमा राम्रो हुने होइन । हिजो पञ्चहरूले पनि राम्रै लेख्थे, माटो सुहाउँदो भनेर ब्रिफिङ गर्थे । यसअघिका सरकारले पनि राम्रै लेखेका थिए ।
यसलाई कार्यान्वयन गर्न जिम्मेवार सबैको आचरणमा परिवर्तन हुन जरुरी छ । व्यवस्था परिवर्तन भएर के गर्नु, हामी परिवर्तन हुनुप¥यो नि । उनले यो व्यवस्था नेपालको परिवेशअनुसार पनि नभएको जनाए ।
नीति तथा कार्यक्रममा उल्लेख गरिएका र प्राथमिकता दिइएका कार्यक्रमको कार्यान्वयनमा ध्यान दिन उनले सरकारलाई सुझाव दिए ।
धनञ्जय दवाडी, नेकपा
असामान्य अवस्था रहे तापनि गण्डकी अन्य प्रदेशभन्दा अब्बल छ । कोरोनाले पार्ने प्रभावको विश्लेषण गर्न कार्यदल बनाउने पनि गण्डकी नै हो । यसको प्रशंसा गर्नुपर्छ । नीति तथा कार्यक्रम जनताको पक्षमा छ । किसानलाई बजार बढाउने, उत्पादन बढाउनेतर्फ उन्मुख छ ।
प्रविधिको विकास गरी ज्ञानको दायरा बढाएर त्यसलाई कृषिमा जोड्ने जस्ता कार्यक्रम आएकाले यसले किसानको सीप र क्षमता बढाउन मद्द पुग्ने उनले बताए ।
सरकारले योजना बनाएर नै विकास गर्ने, गण्डकीले यातायात, खानेपानी, ऊर्जा नीति तय गरेको र अरू पनि थप विकासका योजनाहरू बनाउने नीति अगाडि सारेको छ । नीतिकेन्द्रित रहेर प्रदेश समृद्ध बनाउन कार्यक्रम पनि ल्याएको छ, यही नीतिका आधारमा विकास सम्भव छ । यसलाई स्वागत गरौँ ।
रोजगारी गुमाएका र विदेशबाट आउने जनशक्तिलाई रोजगारमा जोड्ने खालको कार्यक्रम ल्याएको छ । प्रदेश सरकारले जनशक्तिलाई तालिम दिएर काममा लगाउँछु भनेको छ, यसले बाहिरिएको पैसा रोक्न सकिन्छ । नेपालबाट सातौँ नम्बरमा भारतमा विप्रेषण जान्छ, यसलाई रोक्न सरकारले लिएको नीति तथा कार्यक्रम ठिक छ । हाम्रो अर्थतन्त्र सुदृढ हुन्छ ।
धानमा असिना आउँछ, नोक्सान गर्छ तर पनि किसानले अर्को वर्ष फेरि धान रोप्छ । अहिले कोरोना पनि त्यस्तै हो, कोरोनासँग जुध्दैजुध्दै समृद्धिको बाटोतर्फ अगाडि बढ्न सरकारलाई आग्रह गर्छु ।
प्रतिपक्षीलाई उनले कालिदास ‘क’ दुब्लाएको देखेर रोएको उदाहरण दिँदै ‘१२ वर्ष रामायण पढ्यो सीता कसकी जोई’ भनेजस्तै भएको भन्दै व्यंग्यपूर्ण जवाफ फर्काए ।
कोपिला बोहोरा, नेपाली कांग्रेस
जनतालाई दोस्रोपटक सरकारले राहत वितरण गरोस् । सुकुम्बासीहरूलाई सधैं कुराले टार्ने काम भएको छ, उनीहरूलाई न्याय दिनुपर्छ । सत्तापक्ष र प्रतिपक्ष भन्नेछ । एउटै लोगो, एउटै ड्रेस छ, तर हामीलाई गर्ने व्यवहार फरक छ । एउटा बगैचामा सयौँ फूल फुल्छन भन्ने बुझौँ ।
मैले कति योजना लिएर गएँ, तर अहिलेसम्म पाएको छैन । आधा आकाश भन्ने महिलाका बारेमा नीति तथा कार्यक्रममा के छ ?
हामी नीति नियम बनाउन आएका हौँ, मैले सरकारलाई महिलाहरूको आयआर्जन कहाँ छ भन्ने देखाउन आग्रह गर्छु । कागजमा मात्रै लेखेर हुँदैन, कार्यान्वयन पनि गर्नुपर्छ । जातीय विभेद भएको छ, यसको पनि अन्त्य होस् ।
रामबहादुर गुरुङ, नेकपा
नीति तथा कार्यक्रम विकासको मुटु हो । प्रतिपक्षलाई व्यंग्य हाने, ‘कतिपय माननीयले राम्रो छैन, भन्नुहुन्छ,, रातिमा पढेर आउनुभएको हो कि, यसमा थप्ने भनेको बिगार्नेमात्रै हो ।’
गरिब मुलुक भन्ने तर, २५ खर्बको आयात गर्ने मुलुकलाई धनी भन्ने कि गरिब भनेर उनले प्रश्न गरे । आयात घटाएर निर्यात बढाउनुपर्नेमा उनले जोड दिए ।
ललितकला गुरुङ, नेपाली कांग्रेस
उनले चालु आर्थिक वर्षका कार्यक्रमको बारेमा बोल्दै, ती कार्यक्रमहरू अनुभूत गर्न नपाइएको भन्दै सरकारमाथि प्रश्न गरिन् । सवारी चालक अनुमतिपत्रको सहज व्यवस्था गर्न भनिएको तर, बेवास्ता भएको, लाइसेन्स प्राप्तिमा सहजता नभएको भन्दै सरकारले नीति तथा कार्यक्रममा राखेको तर किन कार्यान्वयन नगरेको भन्ने प्रश्न गरिन् ।
कमर्चारीलाई पुरस्कार दिने कुरालाई सरकारले उपलब्धिमा राख्नु गलत रहेको उनले बताइन् । धेरै कार्यक्रम कपिपेस्ट गरेर ल्याइएको छ ।
छलफलमा सांसदहरू प्रभा कोइराला, इन्द्रलाल सापकोटा, डोबाटे विश्वकर्मा, डिलमाया रोकामगरले समेत भाग लिएका थिए ।