पोखरा । आइतबार गण्डकी प्रदेशले आगामी आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम ल्यायो । प्रदेश प्रमुख अमिक शेरचनले प्रदेशसभा बैठकमा वाचन गरेको १८६ बुँदे नीति तथा कार्यक्रमले विगतकै कार्यक्रमलाई दोहोर्याएको छ । प्राथमिकताको पुनःप्राथमिकीकरण गरेर कोरोना केन्द्रित बनाउन खोजिएको छ ।
कोरोनाले प्रदेशको जनजीवन र अर्थतन्त्रमा पारेको असर, लकडाउनले विभिन्न उद्योग, व्यवसाय, पर्यटनलगायतका क्षेत्रमा पारेको प्रभाव, सरकारका वार्षिक कार्यक्रम, प्रथम पञ्चवर्षीय योजना र दीगो विकासका लक्ष्य प्राप्तिमा पुगेका समस्या, तथा गण्डकी सरकारले कोरोनाविरुद्ध चालेका १८ वटा कदमहरु पनि नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।
तर, कोरोनाकै विषयमा सरकारले नभएको कार्य पनि नीति तथा कार्यक्रममा समावेश गरेको छ । प्रदेश प्रमुख शेरचनले पेश गरेको नीति तथा कार्यक्रममा भनिएको छ, “पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कोभिड १९ संक्रमणको परीक्षण गर्ने तीनवटा पीसीआर मेसिन जडान गरि सञ्चालनमा ल्याइएको छ । पीसीआर र आरडीटी परीक्षण भइरहेको छ । संक्रमणको शंका लागेका र विदेशबाट आएका व्यक्तिको आवश्यकता र प्राथमिकताका आधारमा परीक्षण गर्ने व्यवस्था मिलाइएको छ ।”
नीति तथा कार्यक्रममा समावेश भएको र सरकारले गरेको भनिएको यो कार्यको अस्पताल मातहतको जनस्वास्थ्य प्रयोगशालाले नै अस्विकार गर्छ । पीसीआर मेसिन तीनवटा छन्, तर परीक्षण भने एउटाबाट मात्र गर्ने गरिएको छ ।
जनस्वास्थ्य प्रयोगशालाकी निमित्त निर्देशक सपना सुवेदीले अहिले पनि एउटा मेसिनबाट मात्रै पीसीआर गर्दै आइएको बताइन् । पीसीआर मेसिन तीनवटा भए पनि काम भने स्वाब परीक्षण भने एउटा मेसिनबाट मात्र गरिँदै आएको छ ।
संघले चैतमै चीनबाट खरिद गरेको एक पीसीआर मेसिन प्रदेशमा पठाएको पनि थियो । ओम्नी समूहले ल्याएको उक्त मेसिनले दिनमा १२ वटामात्रै परीक्षण गरेपछि हाल थन्क्याइएको छ ।
प्रदेश सरकारले पछि ल्यायो एउटा मेसिन । रियल टाइम पीसीआर मेसिनलाई सरकारले २९ लाख ८८ हजार रुपैयाँमा दुई हप्ता अघि खरिद गरेको हो । जर्मनीबाट आएको नयाँ पीसीआर मेसिनले अहिलेसम्म पनि पूर्ण क्षमतामा काम गर्न सकेको छैन । त्यसले पनि काम गर्छ कि गर्दैन भनेर टेस्ट परीक्षण मात्र गरिएको छ । यो मेसिन व्याकपको रुपमा किनिएको थियो । जनशक्तिको पनि अभाव हुँदा र मेसिन कहाँ राख्ने भनेर टुंगो पनि लागिसकेको छैन ।
“त्यसको फङ्सन कस्तो छ भनेर फाइनल कन्ट्रयाक्ट गर्नुभन्दा अगाडि परिक्षण गर्न मात्र लगिएको हो । यसलाई सञ्चालन गर्न प्राविधिकहरु पनि छैनन्, भने कहाँ राख्ने भनेर टुंगो लागिसकेको पनि छैन । अहिले काम गर्ने भनेकै एउटा मेसिनले मात्रै हो,” उनले भनिन् ।
अहिले पोखरामा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमै रहेको पुरानो पीसीआर मेसिनबाट मात्रै कोरोना परिक्षण हुने गरेको छ ।
प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा। विनोदविन्दु शर्माले प्रदेश सरकारले किनेको मेसिन क्षेत्रीय क्षयरोग केन्द्रमा राखिने बताए । एउटै व्यवस्थापनले हेर्न सक्ने गरि दुई ठाउँबाट परीक्षण गर्ने तयारी भइरहेको उनले जानकारी दिए । अहिले दुवै मेसिन एउटै सेटमा राखिएको जनाए । छुट्टाछुट्टै राख्दा जनशक्ति पनि छुट्टै चाहिने हुन्छ । त्यसको पनि व्यवस्थापन गर्न लागिएको उनले जानकारी दिए ।
एउटा मेसिन सञ्चालन गर्न ६ प्रयोगशालाकर्मी आवश्यक हुन्छ । नयाँ मेसिन आएपछि कर्मचारी थप्ने प्रक्रिया सुरु भएको उनले बताए । पूर्ण क्षमतामा चल्दा दोब्बर परीक्षण बढाउन सकिन्छ । परीक्षणको दर कम हुँदा नमुना संकलनले समेत तीव्रता पाएको छैन ।
यता, सरकारले भने अर्को पीसीआर मेसिन किन्नको लागि पनि सोमबार टेण्डर प्रकाशन गरेको छ । हाल दैनिक दुई देखि २५० जनाको दैनिक स्वाब परीक्षण हुँदै आएको छ । हालसम्म गण्डकीमा २७ जनामा कोरोना संक्रमण भेटिएको छ ।
प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार हालसम्म ३ हजार ४९३ जनाको पीसीआर परीक्षण गरिएको छ । जसमध्ये २७ जनामा संक्रमण भेटिएको छ भने ३ हजार ५४ जनाको नतिजा नेगेटिभ आएको छ । ४१५ को नतिजा नआएको र २ जना भने निको भएर फर्किसकेका छन् ।