पोखरा । बागलुङमा यसअघि नै दुईजना कोरोना संक्रमित भेटिएका थिए । उनीहरु स्वास्थ्यलाभसमेत गरिसकेका छन् । एक महिनाअघि (वैशाख १३ गते) बागलुङकी संक्रमित दोस्री युवती संक्रमणमुक्त हुँदै डिस्चार्ज बनेकी थिइन् ।
कोरोनामुक्त बनेको एक महिनापछि बागलुङमा एकैदिन ६ संक्रमित भेटिएका छन् । उनीहरु सबै भारतबाट आएका हुन् । स्वास्थ्य निर्देशनालयले भने यसको औपचारिक पुष्टि गरिसकेको छैन । तर, जनस्वास्थ्य प्रयोगशाला स्रोतका अनुसार मंगलबार राति नै निर्देशनालयलाई रिपोर्ट दिइसकेको जनाएको छ । तर, निर्देशनालयले औपचारिक पुष्टि गरिसकेको छैन । निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्मा भने बागलुङतर्फ लागेका छन् ।
जिल्लाको बडिगाड गाउँपालिकाको त्रिभुवन मावि क्वारेन्टाइनमा रहेका दुईजना र तमानखोला गाउँपालिकाको धनगौज्योति मावि क्वारेन्टाइनमा रहेका चारजनामा कोरोना संक्रमण भएको प्रयोगशाला स्रोतले जानकारी दियो । संक्रमित सबैलाई धौलागिरि अस्पताल ल्याउने तयारी भइरहेको छ ।
प्रदेशसभा बैठकमा मंगलबार बागलुङका सांसद इन्द्रलाल सापकोटाले ३१५ जना भारतबाट आएको तथ्यांक दिएका थिए । यस्तै, उनले बागलुङमा एक हजारजना भारतबाट आउन सक्ने हुँदा क्वारेन्टाइनसहित स्वाब परीक्षण, स्वाब परीक्षणका लागि भीटीएम मेसिनको अभाव रहेको विषयमा ध्यानाकर्षण गराएका थिए ।