पोखरा । मंगलबार स्याङजा जिल्लामा पहिलोपटक कोरोना संक्रमण भेटियो । वालिङ नगरपालिकाले वडा नं. ८ मा बनाएको क्वारेन्टाइनमा दुईजना संक्रमित भेटिएका हुन् । संक्रमण भेटिएपछि अहिले उनीहरुलाई जिल्ला अस्पताल स्याङजा लगिएको छ ।
उक्त भवनमा अन्य सातजना पनि क्वारेन्टाइनमा छन् ।
संक्रमण पुष्टि भएका ती दुवैजना पुरुष पाँच दिनअघि मात्रै दिल्लीबाट आएका थिए । वालिङ नगरपालिकाका प्रमुख दिलिपप्रताप खाँणले उनीहरु दिल्लीबाट आएको जानकारी दिए । दिल्लीबाट नेपालको सीमासम्म आएको र त्यसपछि नगरपालिकाले गाडी पठाएर ल्याएको उनले जानकारी दिए ।
स्याङजाकै चापाकोटका ४ जना र वालिङका ५ जनालाई नगरपालिकाले उद्धार गरेर सीधै क्वारेन्टाइनमा लगेको थियो । क्वारेन्टाइनमा राखेको तीन दिनपछि शनिबार उनीहरुको स्वाब संकलन गरि परीक्षणको लागि पोखरास्थित जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियोे । स्वाब परीक्षणको क्रममा उनीहरुमा संक्रमण देखिएपछि नगरपालिकाले अस्पताल पठाएको हो । अहिले उनीहरुको स्वास्थ्यस्थिती सामान्य रहेको जनाइएको छ ।
बाँकी ७ जनामा भने संक्रमण देखिएको छैन । अहिले वालिङमा ५५ जना क्वारेन्टाइनमा रहेका छन् । सबै व्यक्ति भारतबाटै आएका हुन् । नगरपालिकाले हरेक दिन २० जनाको स्वाब संकलन गर्ने गरेको नगरप्रमुख खाँणले जानकारी दिए ।