पोखरा । गतसाल आर्थिक वर्षको अन्त्यतिर रकमान्तर गरेर ७१ लाख रुपैयाँको मोटरसाइकल खरिद गरेको गण्डकी सरकारले यसवर्ष पनि करोडौँका गाडी खरिद गर्ने भएको छ । गतवर्ष आन्तरिक मामिला तथा कानून मन्त्रालयले सुरक्षित मुद्रणालय स्थापनाको लागि भनेर विनियोजन गरिएको एक करोड रुपैयाँबाट गण्डकी सरकारले उक्त परिमाणका मोटरसाइकल खरिद गरेको थियो । ती मोटरसाइकल विभिन्न प्रहरी कार्यालयलाई वितरण गरिएको थियो ।
यसपटक पनि सरकारले करोडौँ मूल्यमा ११ वटा स्कर्पियो गाडी खरिद गर्ने भएको छ । मन्त्रिपरिषदको आइतबारको बैठकले ११ वटा गाडी खरिद गर्ने निर्णय गरेको हो ।
बजारमूल्य अनुसार अहिले ४८ लाख देखि ७१ लाख रुपैयाँसम्ममा स्कर्पियो गाडीहरु पाइन्छन् ।
तर, सरकारले भने नयाँ मोडेलका गाडी किन्ने जनाएको छ । नयाँ मोडेलको एउटा स्कर्पियोको मूल्य ७१ लाख भन्दा बढि छ । यही दरमा गाडी किन्दामात्रै प्रदेश सरकारले ७ करोड ८१ लाख रुपैयाँ भन्दा बढि हुन आउँछ । कम मूल्यको गाडी खरिद गर्दामात्रै पनि ६ करोड ५० लाख रुपैयाँ भन्दा बढि खर्च सरकारले भुक्तानी गर्नुपर्ने हुन्छ ।
सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले ११ वटा स्कर्पियो किन्ने निर्णय भएको बताए । यस्तै, हरेक जिल्लामा रहेका जिल्ला अस्पताललाई दिने बताए । तर, सरकार आफैँले गाडी नकिन्ने र सम्बन्धित जिल्ला अस्पतालले किन्ने गाडीको भुक्तानी दिइने उनले बताए ।
“सम्बन्धित जिल्ला अस्पतालले नै गाडी किन्छन्, भुक्तानी मात्रै हामीले दिने हो । प्रदेशका ११ वटै जिल्लाका जिल्ला अस्पताललाई स्कर्पियो गाडी दिने, त्यसको एक्ज्याक्ट मूल्य थाहा भएन, सबै जिल्लालाई दिने भन्ने निर्णय भएको छ,” उनले भने । गाडी खरिद गरेपछि त्यसको भुक्तानी आर्थिक मामिला तथा योजना मन्त्रालयले गर्ने उनले जानकारी दिए । मन्त्रालय स्रोतका अनुसार बजेट रकमान्तर गरेर अर्थ विविधको पूँजीगत खर्च शिर्षकबाट भुक्तानी दिइनेछ छ ।