पोखरा । अन्य प्रदेशहरूले बजेट अधिवेशन बोलाउने मिति तय गरिसक्दा गण्डकीमा भने हिउँदे अधिवेशन टुंग्याउने तिथि तय भइसकेको थिएन । चैत ६ यता रोकिएको प्रदेशसभा बैठक बोलाउने, एकादुई विधेयक पारित गर्ने र अधिवेशन स्थगित गर्ने मनसाय सभामुख नेत्रनाथ अधिकारीले वैशाख तेस्रो सातातिर प्रकट गरेका थिए ।
वैशाख २३ गते मन्त्रिपरिषदले अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखलाई आह्वान गर्ने निर्णयसँगै हिउँदे अधिवेशन अन्त्य भयो । अब, बजेट अधिवेशन सुरु हुने बेला भएको छ । सरकारले अधिवेशन आह्वान भने गरिसकेको छैन । अन्तरसरकारी वित्त ऐन, २०७४ मा उल्लेख भएअनुसार असार १ गते नै बजेट आउनुपर्छ भने १५ दिनअगाडि नै विधेयकको सिद्धान्त र कार्यक्रममाथिको छलफल गर्नुपर्छ, यस्तै, प्रदेशको आर्थिक कार्यविधि ऐनको दफा १३ मा पनि असार १ गते आगामी वर्षको राजस्व र व्ययको अनुमान (बजेट) प्रदेशसभामा पेस गर्नुपर्ने व्यवस्था गरिएको छ ।
ऐनको यो व्यवस्थाअनुसार जेठ दोस्रो साता बजेट अधिवेशन सुरु हुनैपर्छ । यता, सरकारले भने पहिलो साता नै अधिवेशन बोलाउने र प्रिबजेट छलफलपूवै केही विधेयक पारित गर्नुपर्ने आवश्यकता रहेको जनाएको छ । बजेट अधिवेशनको आह्वान गर्न र बैठकको मिति तय गर्न जति सजिलो छ, तर, मिति तय भएपछि बैठक कहाँ बस्ने भन्ने टुंगो लगाउन पनि उत्तिकै गाह्रो र सकस पूर्ण छ ।
२०७४ को प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनपछि गण्डकीको प्रदेशसभा भवन नदीपुरमा रहेको नगर विकास प्रशिक्षण केन्द्रलाई तोक्ने निर्णय भएको थियो । उक्त अल्पकालीन निर्णयकै आधारमा अहिलेसम्म गण्डकीको प्रदेशसभा बैठक त्यहीँ चलिरहेको छ ।
हालसम्मका अधिवेशन त्यही प्रशिक्षण केन्द्रको हलभित्र चलाइँदै आइएको छ । तर, अहिले परिस्थिति फेरिएको छ । सदनभित्र अटेसमटेस रूपमा काठका कुर्ची छन् । कोरोना महामारीबाट सजगता अपनाउन भौतिक दूरी कायम गर्नुपर्ने भन्ने स्वास्थ्य विज्ञहरूको सुझाव छ । तर, साबिककै स्थितीमा प्रदेशसभा भवनभित्र भौतिक दूरी कायम सम्भव छैन । संकुचित संरचनाका कारण एक मिटरको दूरी कायम गर्न असम्भव छ । सभामुखको रोस्टम र सांसदहरू बस्ने स्थानको दूरीबाहेक सत्तारुढ, प्रतिपक्षी दलका सांसदहरूबीचको दूरी लगभग टाँसिएको छभन्दा पनि हुन्छ ।
६० सांसद भएको सानो प्रदेशसभा भए पनि अहिलेकै भवनमा गण्डकीले बजेट अधिवेशन चलाउन सम्भव छैन । यसको विकल्प खोल्न लागिएको सभामुख अधिकारीले जानकारी दिए । उनका अनुसार आज (आइतबार) पोखरा महानगरको सभागृह चोकस्थितको सभाहललाई प्रदेशसभा सचिवालयले अवलोकन गर्दै छ । सम्भवतः महानगरको सभाहलमैै गण्डकीको बजेट अधिवेशन सञ्चालन गरिने निश्चित जस्तै रहेको प्रदेशसभा सचिवालयका निमित्त सचिव राजेन्द्र न्यौपानेले जानकारी दिए ।
“उसो त अर्को विकल्पमा हालकै प्रदेशसभा भवनबाहिरको खुला परिसरमा पाल टाँगेर चलाउने भन्ने पनि छलफल भएको थियो । तर, घाम लागे गर्मी हुने र हावाहुरी तथा पानी पर्दा पनि त्यो भरपर्दो विकल्प नहुने राय आएपछि अर्को विकल्प खोज्न लागेका छौँ,” उनले भने ।
गण्डकीको संसद पाल टाँगेर चलाउने कि सिटी हलमा ?
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रमुख सचेतक मणिभद्र शर्मा कँडेलले महानगरको सभाहल वा सभागृह हललाई विकल्पका रुपमा अगािड ल्याइएको उनले जानकारी दिए । मुख्यमन्त्रीसँगको शनिबारको भिडियो कन्फरेन्समा पनि अहिलेको भवन साँघुरो हुँदा अर्को ठाउँ खोजेर अधिवेशन चलाउने भन्नेबारे छलफल भएको कँडेलले जानकारी दिए ।
मुख्यमन्त्रीले भनेअनुरूप सबै सांसदलाई भौतिक दूरी कायम राखेर सदन चलाउने उपयुक्त विकल्प भनेको सभागृह चोकको दीपेन्द्र सभाागृह नै हो । प्रदेशसभा सचिवालयका निमित्त सचिव न्यौपानेले पनि सोही हलमा कति दूरी कायम गर्न सकिन्छ भन्नेसहित, शौचालय र अन्य संरचनाको अवलोकन गरिने जानकारी दिए ।
गण्डकीको बजेट अधिवेशन त्यहीँ सुरु हुँदा पोखरा महानगरले पनि आफ्नो नीति कार्यक्रम र बजेट सोही हलमा सञ्चालन गर्नेछ । जेठमा प्रदेश सरकारले नीति तथा कार्यक्रम, त्यसपछि नीति तथा कार्यक्रममाथिको छलफल र असार १ मा बजेट ल्याएपछि बजेटमाथिको छलफल चल्दा बजेट अधिवेशन यसअघि हरेक दिन सञ्चालन हुने गरेका छन् । अहिले पनि हरेक दिन बजेट अधिवेशन चले पोखरा महानगरको नीति कार्यक्रम र बजेट पनि प्रभावित हुने देखिएको छ ।
पोखरा महानगरपालिकाका मेयर मानबहादुर जीसी भन्छन्, “सभागृहमा संसद चलाउने भन्ने छलफल भएको छ, खाली भएको दिनु पनि पर्यो, हाम्रो नीति तथा कार्यक्रम पनि त्यहीँ ल्याउने हो । उनीहरूको जेठमा सुरु होला, अब लकडाउन लम्बियो भने दुवैलाई डिस्टर्ब नहुने गरी चलाउनुपर्ला नि ।”
गण्डकीको प्रदेशसभा भवनको डीपीआर
यता, लगातारका नीति तथा कार्यक्रम र बजेटमा प्रदेशसभा भवनको नाम र अंक तोकिए पनि अहिलेसम्म प्रदेशसभा भवनको शिलान्यास भइसकेको छैन । प्रदेशसभा भवन भने साबिककै ठाउँमा हुने निश्चित भइसकेको छ । कार्यव्यवस्था परामर्श समितिको बैठकले पनि साबिककै ठाउँमा प्रदेशसभा भवन बनाउन उपयुक्त हुने राय दिइसकेको छ ।
उसो त सरकारले यस वर्ष प्रदेशसभा भवनको डीपीआर तयार गर्न २० लाख रुपैयाँ बजेट पनि छुट्याएको छ । भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको सहरी विकास तथा भौतिक योजना शाखाका सिभिल इन्जिनियर अनुप थापाले कन्सेप्ट ड्रइङ मात्र तयार भएको जानकारी दिए । “काठमाडौंको टिमले यो काम गरिरहेको छ, उहाँहरूले पनि कन्सेप्ट ड्रइङ मात्र बनाउनुभएको छ । एउटा प्रिजेन्टेसन पनि भयो । लकडाउन भएपछि अहिले अरु प्रोग्रेस छैन्, असारसम्ममा सकिएला,” उनले भने ।