पोखरा । पोखरा आसपासमा विभिन्न क्षेत्रमा काम गर्ने मजदुर २८ गते पोखराबाट उदयपुरको बेल्टार फर्के । बस रिजर्भ गरेर गएका ती मजदुरहरुलाई सुरक्षित रुपमा गन्तव्यमा पुर्याउने जिम्मा थियो, चालक खगेन्द्र खड्कालाई । जो पृथ्वी राजमार्गमा ड्राइभरको काम गर्छन् । खड्कासँगै सहचालक रविशंकर पनि सँगै गएका थिए ।
२८ गते हिँडेका उनीहरुको गाडी मुग्लिङमा बिग्रियो । बस बनाइरहने ग्यारेजबाट उनले मिस्त्री मगाए । ट्रक चढेर मिस्त्री मुग्लिङ पुगे । बस बनेपछि २९ गते उनीहरु गन्तव्यमा पुगे । मजदुरहरुलाई गन्तव्यमा पुर्याएपछि पोखरा फर्किने क्रममा उनीहरुसँग सर्लाहीको लालबन्दीबाट सञ्जय गुरुङ पनि सोही बस चढे ।
बुधबार बिहान पोखरा आइपुगेका खड्का, रविशंकर र गुरुङ स्वाब टेस्ट लिन भन्दै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइयो । महानगरको वडाले आफूलाई पठाएको भनेतापनि महानगरले भने आफू जानकार नभएको बताएको छ ।
रामबजार बस्ने खड्का र रविशंकरसँगै नयाँबजारका गुरुङ पनि स्वाब परिक्षण गराउन प्रतिष्ठानको जनस्वास्थ्य प्रयोगशाला पुगे ।
बिहानै गएका तीनैजना त्यही बसभित्रै थिए । प्रयोगशालाको कम्पाउण्डबाहिर अरु धेरै मान्छेहरुको भीड पनि छ । बसभित्रै बसेका उनीहरु चिकित्सकले कतिबेला स्वाब टेस्ट लिन्छन् भनेर पालो कुरेर बसेका छन् ।
बिहानैदेखि भोकै भएपछि मिनिरल वाटरसँग बिस्कुट किनेर खाएको उनले बताए ।
तर, स्वाब परीक्षण कतिबेला हुन्छ उनीहरुलाई थाहा छैन् । पटकपटक चिकित्सकहरुलाई भनेता पनि उनीहरुको छेउछाउमा चिकित्सक पर्नै डराए । त्यहीँ कार्यरत एक कर्मचारी भन्दै थिए, “मास्क पनि नलगाई आएका रहेछन्, भनेर प्रयोगशालामा त खैलाबैला भइरहेको छ ।”
कुरा मास्क नलगाएकोमा मात्र सीमित थिएन, किनभने उनीहरु उदयपुरबाट फर्केका थिए । “उदयपुरबाट फर्केको भनेर नै हो, यस्तो खैलाबैला भएको,” अस्पतालमा कार्यरत एक कर्मचारीले नाम नबताउने शर्तमा भने ।
ती कर्मचारीले भनेझैँ, स्वाब टेस्ट दिन आएका ती तीन युवाले पनि चिकित्सकले, वास्ता नगरेको गुनासो गरे । “हामी बिहानै आएका हौँ, अहिलेसम्म वास्ता गर्दैनन्, घरि जा भन्दिन्छन्,” खड्काले भने । चिकित्सकले नै बेवास्ता गरेपछि बाँकी दुईजना त फर्केर पनि गएका थिए । तर, पछि फेरि फोन गरेर बोलाएपछि अहिले तीनै जना प्रयोगशाला बाहिर छन् ।
“जा भनेपछि उहाँहरु दुईजना चाहिँ जानुपनि भएको थियो । फेरि आउनुभयो । हामीले मास्क पनि लगाएर आएका छौँ,” उनले भने । यता, प्रतिष्ठान मातहत रहेको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका प्रमुख डा. अर्जुन आचार्यले भने क्वारेन्टाइनमा राखेर नै स्वाब टेस्ट गर्नुपर्ने बताए ।
“यदि उहाँहरु शंकास्पद हुनुहुँदो रहेछ भने यता आउँदा त कति बिरामी छन्, त्यो पनि बुझ्नुप¥यो,” उनले भने ।
बिहानैदेखि आएर स्वाब लिनुपर्छ भन्नेभन्दा पनि प्रयोगशाला खुल्ने समय बुझेर आउन उनले सुझाव दिए । यस्तै, ओपिडी पनि खुलेको हुँदा दुवैतर्फ हेनुपर्ने भएका कारण पनि समय व्यवस्थापन नमिल्न पनि सक्ने उनले बताए । तर, स्वाब लिन पठाउनेले नै सुरुमा क्वारेन्टाइनमा राख्नुपर्ने, अन्यथा सीधै यता पठाउँदा प्रतिष्ठानले जवाफ दिइरहन पनि नपर्ने उनको भनाई छ ।
“पिसिआरको जाँच हुने यसको समय छुट्टै छ, जाँच छुट्टै हुन्छ, त्यो नबुझी पिसिआर गर्न पठाउन भएन,” उनले भने । प्रयोगशलामा अहिले १९ जना जनशक्ति कार्यरत छन्, र यो संख्या अपुग रहेको उनले बताए । यस्तै, प्रदेशबाट पनि आउनुपर्ने कर्मचारीहरु नआएको उनको गुनासो छ ।
यता, प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले भने आफू त्यसबारे अनभिज्ञ रहेको बताए ।