पोखरा । कोभिड-१९ को महामारीविरुद्ध प्रदेश सरकारले विभिन्न गतिविधी सञ्चालन गरेको आइतबार एक सय दिन पुगेको छ । यस अवधिमा गण्डकी प्रदेशमा बागलुङका दुई जनामा कोरोना पोजेटिभ देखिएको थियो । उनीहरु दुवैजनाले स्वास्थ्यलाभ गरिसकेका छन् । दुईजना नै निको भएपछि गण्डकी कोरोना भाइरस संक्रमणको 'ग्रिन जोन'मा छ ।
यद्यपि स्वास्थ्य निर्देशनालयले भने परिक्षणको दायरा पनि बढाउँदै लगेको छ ।
अन्य प्रदेशसमा झैँ गण्डकीमा पनि दैनिक कोरोना परीक्षणको दायरा बढाइएको छ । हालसम्म गण्डकी प्रदेशका ६४६ जनाको पीसीआर परिक्षण गरिएको छ । तीमध्ये ६३४ जनाको नतिजा नेगेटिभ आएको छ भने पोजेटिभ नतिजा आएका दुवैजनाले स्वास्थ्यलाभ गरिसकेको निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए ।
१० जनाको पीसीआर नतिजा बाँकी
उनका अनुसार अझै १० जनाको नतिजा आउन बाँकी छ । पछिल्लो समय जमातीहरुमा कोरोना भेटिएपछि कास्कीमा पनि जमातीमा सहभागी हुन गएकाहरुलाई ट्रेसिङ गरी उनीहरुमा कोरोना परीक्षण गरिएको हो । कास्कीसहित अन्य जिल्लाका गरी कुल १० जनाको नतिजा आउन बाँकी छ ।
उक्त मंगलबारसम्म नतिजा आइपुग्ने निर्देशक शर्माले जनाए ।
यस्तै, हालसम्म कुल ६ हजार ७४ जनाको आरडीटी परीक्षण गरिएकोमा कसैमा पनि संक्रमण नभेटिएको निर्देशनालयले जनाएको छ । जिल्लागत रुपमा सबैभन्दा बढी कास्कीमा एक हजार एक सय ६६ जनाको आरडीटी परिक्षण गरिएको छ भने मुस्ताङमा ४१ जनाको आरडीटी परिक्षण गरिएको छ ।
कोरोना शून्य, डेंगु र दादुराका १० बिरामी
कोरोना संक्रमित दुवैजनाले स्वास्थ्यलाभ गरेपछि गण्डकीमा हाल कोरोना संक्रमितको संख्या शून्यमा झरेको छ । प्रदेश नै 'ग्रिन जोन'मा परेपछि प्रदेश सरकारको यही हप्ताको मन्त्रिपरिषद बैठकले मापदण्ड जारी गर्दै निर्माण र उद्योग व्यवसाय खोल्ने अनुमति पनि दिएको छ ।
तर, कोरोनाविरुद्धको सय दिनकै दिन यहाँ १० जना डेंगु र दादुरका बिरामी फेला परेका छन् । आइतबार गोरखामा चार र नवलपुरमा एक गरी पाँच जनामा दादुरा देखिएको निर्देशक विनोदविन्दु शर्माले जानकारी दिए । यस्तै, म्याग्दीमा चार र कास्कीमा एक गरी पाँच जना डेंगु संक्रमित भेटिएका छन् ।
गोरखाका भेटिएका चार जना दादुरा संक्रमित नौ महिनादेखि १७ वर्ष उमेर समूहका बालबालिका हुन् । प्रभावित क्षेत्रमा खोप कार्यक्रम सुरु गर्ने तयारी भइरहेको उनले बताए ।
कास्कीमा भेटिएका संक्रमित ७५ वर्षीय वृद्ध हुन् । यस्तै, म्याग्दीमा चारजनामा डेंगु संक्रमण देखिएको हो ।