पोखरा । आज मे १ । मजदुर दिवस । अहिलेको मजदुर दिवस फेरिएको छ । यसअघिका मजदुर दिवसमा पनि मजदुरी गर्न जानेहरु यसपटक भने महिनौँदेखि घरमै थन्किएका छन् । मजदुरी गरेर जिविका चलाउने मजदुरहरु यतिबेला आफू नै जीवित रहन महिनादिनदेखि घरमै बन्दाबन्दीमा छन् ।
कोभिड १९ को महामारीका कारण देश ठप्प जस्तै छ । निर्माण, उद्योगदेखि सबैखाले व्यापार व्यवसाय बन्द छन् । व्यापार व्यवसाय बन्द भएपछि मजदुरको मजदुरी पनि बन्दै भयो । दिनभरि श्रम बेच्ने र बेलुका त्यही श्रमबापत पाएको ज्यालाले खाद्यान्न किनेर जिविका चलाउने मजदुरहरुको दैनिकी कष्टकर नै छ ।
प्रदेश, स्थानीय र विभिन्न संघसंस्थाले बाँडेको राहतले उनीहरुलाई छाक टार्न सहयोग त गरेको छ, तर त्यो क्षणिक छ ।
यही बन्दाबन्दी बिच घरमै रहेका पोखरा १७ महतगौँडास्थित सितापाइला र समावेशी टोलका मजदुरहरु भने आफैलाई व्यस्त बनाउनेतर्फ लागे ।
छाप्रामा रात गुजार्ने मजदुरहरुको अगाडि उनीहरुको छाप्रा भन्दा धेरै फराकिला जग्गाहरु छन् ।
ती जग्गामा चौघेरै कंक्रिटले साँध बनाइएको छ । साँधभित्रको चारपाटे समतल जग्गामा झार उम्रिएको छ । हरेक दिन त्यही जग्गाको छेउतिर भिरालोमा छाप्रामा बस्ने मजदुरहरुलाई ती जग्गाको मालिक को हुन, कसले किनेका हुन, कसले बेचेका हुन, केही थाहा छैन ।
जब, बन्दाबन्दी सुरु भयो । मजदुरहरुको भान्सा रित्तिँदै गयो । ज्यालादारी गर्न नपाएपछि आर्थिक संकट पनि गहिरिँदै गयो । भोकको आगो निभाउन खानै पर्यो । खानका लागि काम गर्नुपर्यो, तर काम नै छैन ।
समृद्धी टोलमा बस्ने स्थानीयहरुले सोचे, आँखैअगाडि यत्रो खालि जग्गा छ, किन यहीँ श्रम नबगाउने ? उनीहरुले सोचे र बन्दाबन्दी सुरु भएलगत्तै, प्लटिङ बन्जर जमिनमा पसिना बगाउन थाले । पानी परिरहने र जमिन कमलो भएका कारण त्यहाँ प्लटिङ गरिएका धेरै जग्गामा अहिले खेतीको लागि तयार भएका छन् ।
कतिपय घडेरीमा त तरकारी उम्रि पनि सकेका छन् । शुक्रबार त्यहाँ पुग्दा वयोवृद्ध देखि महिला र बालबालिका प्लटिङ जग्गालाई उत्पादन दिने जग्गा बनाउनमा लागिपरेका थिए । कसैको हातमा कोदालो थियो त कसैको हातमा कुटो ।
सक्नेले डोजर नै झिकाएर चट्टानी माटोको सतह हटाए । त्यसपछि परम्परागत कृषि औजारले बाली लगाउन मिल्नेगरि माटो सम्याए, झार चाले । उनीहरुको श्रम अबको केही महिनाभित्रै उत्पादनमा बदलिनेछ ।
श्रम खेर जाला, साहु आए छाडिदिउँला....
पोखरा महानगरपालिका वडा नं. १७ समावेशी टोलमा पुग्दा कृष्णमान सिरेट त्यही प्लटिङ गरिएको जग्गामा कोदालो नचाउँदै थिए । उनले दुबो र अरु झारको पत्र चालिसकेका छन् । सिरेटले त्यहाँ मकै र बोडी छरेका छन् । प्राङ्गारिक मल नभएका कारण मकै उम्रिसकेपछि रासायनिक मल हाल्ने उनले बताए ।
त्यो जग्गा भन्दा अलिक तल अर्को प्लाटिङ घडेरीमा कृष्णप्रसाद अर्यालले मकै र तरकारी लगाउन जमिन सम्याउँदै थिए ।
“दुईचारबोट मकै लगाउने, तरकारी लगाएर खान पर्यो,” उनी भन्दै थिए ।
उनीसँगै उक्त क्षेत्रका प्राय घडेरीहरुमा अहिले स्थानीयहरुले तरकारीबाली लगाउन जमिन तयार गर्दैछन् ।
तर, ती प्लटिङ गरेर बिक्री गर्न ठिक्क पारिएका घडेरी कसका हुन् ? कसले किन्यो, कसले बेच्यो ? हकवाला को हो ? पूर्जावाला को हो ? त्यहाँ श्रम बगाउन, तरकारी खेती लगाउन अनुमति कसले दियो ? यी प्रश्नको जवाफ ती स्थानीयसँग छैन ।
न वडा जानकार छ, न स्थानीय सरकार ।
यसरी अरुको जग्गामा बिना जानकारी खेती गर्न पाइन्छ त ?
अर्का स्थानीय भरतराज गौतम भन्छन्, “यो घडेरी कसको हो हामीलाई थाहा छैन, मान्छे नि चिन्दैनौँ । अब उनीहरुलाई घडेरी चाहिएको खण्डमा हाम्रो घडेरी छाड्देउ भनेमा छाडिदिउँला । नभए, बाँझो जमिन हो, हामीले गरेर खाएका छौँ, के भयो र यसमा ? कसको के बिग्रियो र ?”
यो टोलमा एकाधले विभिन्न कार्यालयहरुमा काम गर्छन्, धेरैले मजदुरी नै गर्छन् ।
कोही अफिसमा काम गर्छन, धेरैले मजदुरी गर्छन्, तर, अफिस पनि खुलेका छैनन्, मजदुरी गर्ने मजबुर छन् ।
“सबै फुर्सदिला छन्, दैलामुनि यत्रो बाँझो जग्गा छ, बाँझो जमिनलाई किन सदुपयोग नगर्ने, अहिले सरकारको नीति पनि त्यही छ, भन्ने सुनेका थियौँ र हामीले प्रयोग गरेका हौँ । हामीले जग्गा कब्जा गर्न खोजेका होइनौँ, छाड्देउ भनेको दिन छाडिदिन्छौँ ।” गौतमले भने ।
तर, यसबारे वडा र स्थानीय सरकार दुवै जानकार भने छैनन् ।
“कुनै सरकारसँग हाम्रो समन्वय, सहकार्य छैन् । सरकार आएर नगर भन्यो भने छाडिदिउँला तर हामीले किन लगाउन पाउँदैनौँ भनेर सोध्नेछौँ,” उनले भने ।
यति ग¥यौ, गरेर खाओ त्यसपछि छाडिदिन भने पनि छाडिदिउँला, राजी छौँ, हामीलाई दिँदै दिन्नौ भनेपनि हाम्रो लगानी के गर्नु ? कसलाई सोधेर गरेका हौ भने पनि छाडिदिने, अरु के गर्ने ? हाम्रो श्रम खेर जाला । खन्यो भनेर भन्यो भने हाम्रो केही लाएन छाडिदिउँला ।
बाटुली नेपाली २०२१ सालदेखि त्यहीँ छन् । उनकै अगाडि यी घडेरीको पटकपटक बिक्री भयो, साहु फेरिए । त, उनले पनि यी जग्गा कसको हुन भेउ पाउने सामथ्र्य भएन् ।
“जग्गा बाँझै रह्यो, घर बनाउनेले बनाइसके । यस्तो बेलामा घरमा बसेर के गर्ने, खुर्सानी मकै, लगाउँ, भए खाउँला भनेर लगाएको हो,” उनले भनिन् ।
नियत असल होला, तर वैधता भएन : महानगर
पोखरा महानगरपालिकाले यसलाई एक किसिमको अराजकता भनेको छ । अनुमतिबिना व्यक्तिको सम्पत्तिमाथि असल नियतै राखेता पनि मनखुसी गर्न नपाइने महानगरका प्रवक्ता धनबहादुर नेपालीले बताए । उनको भनाइ यस्तो थियो–
बाँझो जग्गालाई उपयोग गरौँ भन्ने कुरा त सैद्धान्तिक रुपमा प्रोत्साहन गर्नुपर्ने कुरा पर्यो ।
तर, व्यक्तिको स्वामित्वको जग्गामा कस्तो खेती गर्ने, के गर्ने ? हकदार मान्छेसँग नबुझी अनुमति नलिई, समाधानको विषय भएन । कृषिको पाटोबाट सोच्दा त उत्पादन बढ्छ भन्ने होला तर अनुमति चाहिँ चाहियो नि ।
वैधानिक कुरा चाहिँ भएन, मनखुसीको कुरा भयो । यसले भोलि द्वन्द्व हुन सक्छ । यो गर्नै भएन नि । उद्धेश्य राम्रो होला, तर वैधानिक पक्ष बलियो नभइकिन गरेको काम कच्चा हुन्छ । वडासँग मिलेर जग्गावालाको सम्पर्क पत्ता लगाउने, कति अवधिसम्म जमिन बाँझै रहने हो पत्ता लगाउने र हामीले यो काम गरेका छौँ भनेर जानकारी दिँदा समन्वय गरेको भए द्वन्द्व हुन्नथियो होला । एक किसिमको अराजकता जस्तै देखियो नि यो ।
कहिलेकाहीँ दुर्घटना आफ्नै कारणले भए क्षतिपूर्ति हुँदैन् । उहाँहरुले श्रम गरेको छु भनेर भन्न मिल्दैन । असल मनसाय भएपनि मुलुक चल्ने विधिले नै हो । अनुमति नलिइकन गर्न छुट छैन्, स्थानीय सरकारको अनुमति बिना, व्यक्तिको मञ्जुरीनामा नलिई केही पनि गर्न पाइँदैन् ।