फाइल तस्बिर ।
पोखरा । गण्डकी प्रदेशका विभिन्न जिल्लामा रहेका विदेशी पर्यटकलाई फिर्ता गर्ने तयारी भइरहेको छ । यसका लागि स्थानीय तह, पर्यटन सम्बद्ध संस्था र सम्बन्धित देशका दूतावासले समन्वय गरिरहेका छन ।
प्रदेशको अन्नपूर्ण पदमार्ग क्षेत्रमा पर्यटकहरु कोरोनाका कारण सरकारले गरेको लकडाउनसँगै रोकिएका छन् । 'ट्रेकिङ एजेन्सिज् अफ नेपाल (टान) सँगको समन्वयमा उनीहरुलाई स्वदेश फर्काउन लागिएको हो ।
मुस्ताङमा रोकिएका झन्डै तीन दर्जन पर्यटक बिहीबार साँझसम्ममा पोखरा आइपुग्नेछन् । उनीहरुलाई दुईवटा बसमार्फत ल्याउन लागिएको टान पश्चिमाञ्चलका वरिष्ठ उपाध्यक्ष सुशील पौडेलले जानकारी दिए । पोखरा ल्याउनुपूर्व उनीहरुको जोमसोममा नै स्वस्थ्य परिक्षणका सबै विधि अपनाइएको थियो । बसमा मुक्तिनाथबाट आएकाहरुको सामान पोखराकै होटलमा रहेको अवस्थामा उनीहरुलाई कसरी ‘लगेज’ लिने र कसरी लैजाने भन्नेबारे छलफल भइरहेको उनले बताए ।
कास्कीको हकमा भने पर्यटकहरुको तथ्यांक संकलन हुँदैछ । पौडेलका अनुसार अहिले घान्द्रकुमा १५ जनाजति विदेशी पर्यटक रहेको जानकारी आएको छ । तीमध्ये ४ जना जर्मन नागरिक छन् । जर्मन दूतावासले आफ्ना नागरिकहरुलाई जहाज चार्टर्ड गरेर जर्मन लैजाँदै छ । अहिले बिरेठाँटीमा पनि फ्रान्सेली र जर्मनहरु रहेका छन् ।
जिल्ला प्रशासनले सवारी पास नदिँदा उनीहरुलाई बिरेठाँटीबाट पनि कसरी ल्याउने भन्ने समस्या रहेको पौडेलले बताए ।
अहिले अन्नपूर्ण क्षेत्रमा रहेकाहरुलाई भने त्यहाँको झिँनु भन्ने ठाउँमा जम्मा गरिएको छ । उनीहरुलाई अहिले झिँनुमा रोकिएको छ । अन्नपूर्ण बेसक्याम्पबाट अझै ८ जना विदेशीहरु तलतिर झर्दैछन् । उनीहरु झिँनु आएपछि बल्ल सबैलाई तल झारिनेछ ।
शुक्रबारसम्म सबै पोखरा आइपुग्ने र उनीहरुलाई कसरी लैजाने भन्ने बारेमा निर्णय हुने उनले बताए । पदयात्रामा रहेका सबै नागरिकहरु आफ्नो दूतावासको सम्पर्कमा छन् । उनीहरुमध्ये केही यही बस्न चाहन्छन् । उनीहरुबारे के गर्ने भन्ने छलफल हुँदैछ ।
अहिले पोखरा र अन्नपूर्ण क्षेत्रमा फ्रेन्स, जर्मन, बेल्जियम, कोरिययन लगायतका पर्यटक छन् । यता, नेपालस्थित कोरियन दूतावासका राजनीतिक सल्लाहकार अर्जुन राई पनि आफ्ना देशका नागरिकको जानकारी लिन पोखरामा छन् । उनले यही मार्च २० तारिखमा आफ्ना नागरिकलाई कोरियाले विमान चार्टर्ड गरि लैजाने भएकाले होटल तथा ट्रेकिङ एजेन्सीहरुलाई कोरियन नागरिकको जानकारी दिन आग्रह गरेका छन् ।
यस्तै आग्रह फ्रान्सको दूतावासले पनि गरेको छ । पोखरामा बुधबारबाटै कुनै पनि विमान कम्पनीले उडान भरेका छैनन् । यहाँ रहेका पर्यटकहरुलाई काठमाण्डौ फर्काउन आ–आफ्ना दूताबासले विमान कम्पनीहरुसँग पनि समन्वय थालेका छन् ।