पोखरा । लेकसाइडका अधिकांश रेस्टुराँहरू बन्द छन् । चाउथेको रोयल पाम रिसोर्ट त बन्द नै भइसक्यो । यो रिसोर्टका ३५ कर्मचारीलाई बिदा गरिएको छ । रिसोर्टको सुरक्षा एकजना सुरक्षाकर्मीले गरिरहेका छन् । लेकसाइडको होटल पोखरा भिलेज प्रालि पनि बन्द भयो । केही होटेलहरूले कामदारहरूलाई बिदाइ पनि गरिसके ।
पाँचतारे होटेल पोखरा ग्रान्डले ११० जनालाई छुट्टीमा पठाएको छ । त्यहाँ पनि पाहुना निकै कम छन् । पछिल्लो समय लेकसाइडमा मान्छेको भिड देखिएको भनेको नै अंग्रेजी नयाँ वर्ष २०२० को पहिलो रातमा थियो । तर, २०२० को सुरुवात देखि नै पर्यटकीय नगरी पोखराको लक्षण भने राम्रो देखिएको छैन । यसवर्षको रंगको पर्व होलीमा लेकसाइडले रंगविहीन अनुभव गर्यो ।
लेकसाइडका गल्लीहरू सम्साँझै सुनसान छन् । पर्यटक आवागमन त शून्यप्राय छ । खर्बौँ लगानीको पोखराको पर्यटन यतिबेला उच्च जोखिममा परेको छ । कारण, विश्वभरि नै महामारीको रुप लिएको कोरोना भाइरस हो ।
विशेषतः यो पर्यटकीय सिजन हो । गतसाल यही समयमा पोखराका गल्लीहरूमा भेटिने पर्यटकहरू अहिले भेटिँदैनन् । विगतमा समूह समूहमा देखिने विदेशी पर्यटकमात्र नभएर यतिखेर आन्तरिक पर्यटक पनि देखिन छोडेका छन् । पर्यटकहरूलाई स्वागत गर्न आतुर होटेलहरूका ढोका बन्द हुन मात्र बाँकी छन् । सायदै लेकसाइडले यस्तो अवस्था पहिले भोगेको थियो ।
अग्रिम बुकिङ रद्द, आवागमन ठप्प
संसारभर कोरोनाको संक्रमण सुरु भएयता विभिन्न देशबाट पर्यटकले गरेको अग्रिम बुकिङ पनि रद्द भएका छन् । विदेशी पर्यटकको आवागमन पनि ठप्पै छ । नेपाल आउन चाहेका चिनियाँ पाहुनाको बुकिङ करिब शतप्रतिशत रद्द भइसकेको छ भने जापान, कोरियालगायत मुलुकका पर्यटकले पनि धमाधम बुकिङ रद्द गरिसकेका छन् ।
फेब्रुअरीदेखि सुरु हुने पर्यटकीय सिजनमा यो बेला चिनियाँसँगै, जापान, कोरियासहित युरोपियन मुलुकबाट पनि पर्यटक आउँथे । तर कोरिया, जापानलगायत मुलकका पर्यटकले बुकिङ रद्द गरिसकेको व्यवसायीले बताए । माउन्ट कैलाश रिसोर्टका सञ्चालक नरेश भट्टराईका अनुसार कोरियाका सबै पाहुनाको बुकिङ रद्द भइसकेको छ ।
यतिबेला जापानी पाहुनाको सिजन पनि हो । तर, अहिलेसम्म जापानी पाहुनाको बुकिङ पनि नआएको उनले बताए। भारतीय पाहुनाको बुकिङसमेत नआएको भट्टराईले बताए । कोरोना भाइरसको संक्रमणसँगै चिनियाँ आगमनमा असर परे पनि अरु मुलुकका पाहुना भने घुम्न आउनेमा व्यवसायी विश्वस्त थिए । तर, अरु मुलुकका पाहुना आगमन पनि अनिश्चित बन्दै गएको व्यवसायीको गुनासो छ ।
सिजनको सुखद पर्खाइमा रहेका व्यवसायी एकाएक बुकिङ रद्द भएपछि थप चिन्तित बनेका छन् । टेम्पल ट्री रिसोर्टका म्यानेजर कृष्ण आचार्यले पनि सिजनको बुकिङ निकै खस्केर आएको बताए । उनका अनुसार भाइरस संक्रमण फैलिइरहेका मुलुकका पाहुनाले भने धमाधम बुकिङ रद्द गरिरहेका छन् भने अहिलेसम्म सुरक्षित भनिएका मुलुकका पाहुना आगमन अवस्था पनि कमजोर रहेको उनले बताए ।
अहिले पोखरामा चाइनिज मात्र नभई अन्य युरोपियन मुलुकबाट आउने पर्यटकको पनि अग्रिम बुकिङ रद्द भइसकेको होटल पिस प्लाजा लेकसाइडका सञ्चालक एवं पश्चिमाञ्चल होटेल सङ्घका पूर्वअध्यक्ष भरतराज पराजुलीले बताए । उनका अनुसार पोखरामा अप्रिलका लागि गरिएका अग्रिम बुकिङ लगभग शतप्रतिशत नै रद्द भइसकेको छ । यसअघि मार्चमा ७० प्रतिशत अग्रिम बुकिङ रद्द भएको जानकारी दिँदै उहाँले फेब्रुअरीमा ३० प्रतिशत अग्रिम बुकिङ रद्द भएको बताए । पोखरामा मात्रै पर्यटकीयस्तरका ७ सय ५० होटल सञ्चालित छन् । जसमा ३० हजार ‘बेड’ क्षमता छ ।
साहसिक खेलहरू पनि स्थगित
पोखरालगायत गण्डकी क्षेत्रमा प्याराग्लाइडिङका सम्पूर्ण उडान बन्द हुने भएका छन । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सतर्कता अपनाउन गण्डकी प्रदेश भित्र सञ्चालन भएका प्याराग्लाइडिङका व्यवसायिक (टेन्डम) सोलो र प्रशिक्षण लगायतका सम्पूर्ण उडानहरू बन्द हुने नेपाल हवाई खेलकुद संस्था (ना) ले जनाएको छ ।
व्यवसायिक प्याराग्लाइडिङहरूको छाता संस्था ‘ना’ ले चैत १० गते देखि २१ गते सम्म कुनै पनि उडान नर्गन , नगराउन आफ्ना मातहातका सम्पूर्ण व्यवसायी र पाइलटहरूलाई आग्रह गरेको हो । संस्थाका महासचिव बलराम आचार्यले भाइरसको संक्रमण जोखिमबाट सजग रहन आग्रह गर्दै सम्पुर्ण व्यवसायी र पाइलटहरूलाई सूचना जारी गरी उडान नगर्न अनुरोध गरेका छन् । सूचनालाई अटेर गर्दै कसैले उडान गरेमा नियमानुसार कार्वाही गरिने समेत सूचनामा उल्लेख गरिएको छ ।
पोखरामा करिब ६० वटा व्यवसायिक प्याराग्लाइडिङ कम्पनीले उडान भर्दै आएका छन् । ३ सय ५० भन्दा बढी पाइलटहरू कार्यरत रहेका पोखरामा पछिल्लो समय दैनिक २ सय देखि ३ सय व्यवसायिक उडानहरू हुने गरेको व्यवसायी बताउँछन् ।
डुंगा चलेनन्, पर्यटक बस गुडेनन्
पर्यटकको आगमन ठप्प भए पछि उनीहरूको आवागमनमा गुडेका पर्यटक बसले यतिखेर काम पाउन छोडेका छन् । नेपाल पर्यटक यातायात व्यवसायी सङ्घ गण्डकी प्रदेशका अध्यक्ष बोबरजंग गुरुङका अनुसार सङ्घमा आबद्ध ४५० वटा पर्यटक बसले पर्यटकको आवागमनमा सहयोग पुर्याइरहेका थिए । तर, पर्यटक नै उक्त सेवा नै बन्द भएको छ ।
आइतबारदेखि फेवातालको डुंगा व्यवसाय पनि रोकिएको छ । फेवा डुङ्गा व्यवसायी संगठन पोखरा ६, बैदामको आइतबार बिहान बसेको बैठकले आजबाट अर्को सुचना जारी नभएसम्म डुंगा नचलाउने निर्णय गरेको हो । संगठनका अध्यक्ष बुद्धी बहादुर नेपालीले नेपाल सरकारले २५ जना भन्दा बढी भेला नहुनुभन्दै सुचना प्रवाह गरेसँगै आफुहरूले डुङ्गा बन्द गर्ने निर्णय गरेको बताए ।
बाराही मन्दिर दर्शन गर्न आउने दर्शनार्थीको भीड कम भएको र फेवातालमा डुंगा सयर गर्ने पर्यटकमा समेत कमी आएको उनले बताए । फेवातालमा हाल ७ सय भन्दा माथि डुङगा छन् । डुंगा व्यवसायीदेखि चालकसम्मको दैनिक गुजारा यसैबाट चल्छ । महामारीको रुपमा फैलिएको कोरोनाले उनीहरूको दैनिकीमा समेत असर परेको भान हुन्छ ।
तस्बिरहरु सौजन्य : प्रेम थापा