पोखरा । जिल्ला प्रशासन कार्यालय कास्कीले बुधबार कास्कीमा कुनै किसिमको भेला, मेला, भेटघाट, जमघट, सेमिनार नगर्न भन्दै सूचना जारी गरेको छ । तर, बिहीबारदेखि पोखरा रंगशालामा मोफसलकै प्रतिष्ठित १८ औँ संस्करणको ‘आहारारा गोल्डकप’ प्रतियोगिता सुरु हुँदैछ । सहारा क्लब पोखराले मंगलबार पत्रकार सम्मेलन गरेर प्रतियोगिता गरिछाड्ने दाबी गर्यो । सोही कुरा बुधबार पनि आयोजकले दोहोर्याएको छ भने प्रतियोगिता गरिछाड्ने प्रतिबद्धता पनि जनाएको छ ।
कास्कीबाहेक चितवनसहित प्रदेश ५ सरकारले पनि सोही प्रकृतिका सूचना जारी गरेका छन् । विश्वभरि महामारीको रुप लिइरहेको कोरोना बारे सतर्कता अपनाउन यस्ता सूचना जारी गरेतापनि पोखरामा आहारारा गोल्डकप गरिछाड्नेमा आयोजक लागि परेको छ ।
नेपालको हकमा फुटबल खेलको लोकप्रियता निकै छ । विश्वभरि नै फुटबलका पारखी छन् । विश्वकै सबैभन्दा बढि दर्शकले हेर्ने भनेको खेल नै फुटबल हो । नेपालजस्तो देशमा यस्ता प्रतियोगिताहरु भइराख्नु सुखद नै हो । तर, अहिले परिस्थिती भने फेरिएको छ । कोरोना सतर्कता भन्दै सरकारले नै ट्राभल एड्भाइजारी पनि जारी गरेको छ । अन अराइभल भिसा नदिने निर्णय पनि सरकारले गरेको छ । कोरोना सतर्कताको लागि सुरक्षा अपनाउन सरकारले आग्रह गरिरहेको छ । विश्व स्वास्थ्य संगठनले नेपाललाई उच्च जोखिममा राखेको पनि छ । यस्तो अवस्थामा हरेक नेपालीले सतर्कता अपनाउन जरुरी छ ।
सोही कुरालाई ध्यानमा राखेरै जिल्ला प्रशासन कार्यालय कास्कीले विज्ञप्तीमार्फत, “कास्की जिल्ला देशकै उत्कृष्ट पर्यटकीय क्षेत्र भएको र पर्यटकको आगमन बढी हुने हुँदा कोरोना भाइरसको संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सम्पूर्ण जिल्लावासीहरु स्वास्थ्य अवस्थाबारे सचेत रहन, व्यक्तिगत सरसफाइमा ध्यान दिन, खोक्दा-हाच्छ्युँ गर्दा रुमाल प्रयोग गर्न, भिडभाडमा नजान, रोकथामका उपाय अवलम्वन गर्न र कुनै लक्षण देखिएमा नजिकको स्वास्थ्य संस्थामा सम्पर्क राख्न ” अनुरोध गरेको हो ।
कोरोना भाइरस यस क्षेत्रमा भित्रिन नदिन र शंकास्पद व्यक्तिहरु भेटिएको खण्डमा के कसरी उनीहरुलाई उपचार गर्ने भन्ने विषयमा पोखरा महानगरपालिका, गण्डकी प्रदेश सरकार र क्षेत्रीय स्वास्थ्य निर्देशनालयसँग छलफल समेत अगाडि बढाइएको प्रशासनले जनाएको छ ।
यता, बिहिबार देखि नै १० लाख रुपैयाँ पुरस्कार राशीको ‘आहारारा गोल्डकप’ को तयारी पनि सकिएको छ । बिहिबार पहिलो खेल आयोजक सहारा क्लब र ब्रिगेड ब्वाइज्बीच उद्घाटन खेल हुँदैछ । जिल्ला प्रशासनले चाहिँ प्रशासनको अनुरोध उल्लंघन गरेमा कुनै पनि प्रशासनिक सहयोग उपलब्ध नगराउने जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले स्पष्ट रुपमै भने, “हामीले कुनै सुरक्षा उपलब्ध गराउँदैनौँ ।” १५ हजार बढि क्षमताको पोखरा रंगशालामा हजारौँ खेलपे्रमीहरु उपस्थित हुँदा त्यहाँ सुरक्षाकर्मी उपलब्ध नहुने स्पष्ट सन्देश प्रजिअ केसीले दिए ।
आहा रारा गोल्डकप के हुन्छ ?
यता प्रदेश सरकारले पनि कोरोनाको सतर्कता अपनाउन र सुरक्षित रहन आग्रह गरेको छ । सरकारका प्रमुख सचिव हरि बस्यालले भने, “यस्तोमा कुनै मेला, प्रदर्शनी, खेलहरु हुन हुँदैन ।”
सुरक्षाको व्यवस्थाबिनै आयोजकचाहिँ खेल गराइछाड्नेतर्फ उन्मुख छ ।
फुटबल भनेको आक्रामक खेल हो । आक्रामक खेलका समर्थक पनि आक्रामक हुन्छन । कतिपय स्थितीमा खेलाडी बिच नै झडप हुन्छ भने समर्थकहरुबिच पनि हुलदंगा हुने गरेको छ । खेल सुरक्षाको लागि प्रशासनले नै सुरक्षाकर्मी खटाउने हो ।
तर, आयोजकको भनाई एउटै छ, खेल हुन्छ । “भवितव्य त जे पनि हुन सक्छ नि, त्यस्तो विषयमा त हाम्रो बुझाई नै छैन् ।” आयोजक सहारा क्लवका अध्यक्ष केशव थापाले बताए । उनले यतिमात्र भनेनन, प्रशासनले सुरक्षा दिनेमा पनि विश्वस्त देखिए ।
फुटबलकै बारेमा कुरा गर्दा इटालीमा जारी सिरि-ए का तीन खेल स्थगित गर्ने निर्णय त्यहाँको सरकारले गरेको छ । इटालीमा कोरोना संक्रमितको संख्या बढेको छ भने मृत्यु हुनेको संख्या पनि बढेको छ ।
तर, नेपालको हकमा भने कोरोना संक्रमित अहिलेसम्म भेटिइसकेका छैनन् । शंकास्पद व्यक्तिहरुमा पनि कोरोना संक्रमण नभएको पाइएको छ । आयोजक सहारा क्लबले सोही कुरा पनि दोहोर्यायो । “नेपालमा कोरोना भाइरसै छैन भन्छ, हुँदै नभएको हावा कुरा बढि भयो कि,” उनले भने ।
भोलि बिहिबारदेखि सुरु हुने खेल चैत १ गतेसम्म चल्नेछ । जहाँ कोरोना संक्रमित भेटिएको भारतको गान्तोक सिटी पनि प्रतियोगितामा सहभागी हुँदैछ । तीन विभागीय टिम सहित कुल १० टिमले प्रतियोगिता खेल्ने आयोजकको भनाई छ ।
प्रतियोगिताबाट आयोजकले एक करोड १८ लाख रुपैयाँ आम्दानी गर्ने लक्ष्य लिएको छ भने ९९ लाख ३८ हजार रुपैयाँ खर्च हुने अनुमान गरेको छ ।