पोखरा । राष्ट्रिय उत्पादनमा गण्डकीबाट २८ प्रतिशत योगदान दिने नगदेबाली कफीको यस वर्षको उत्पादन ४० प्रतिशतले घट्ने भएको छ । राष्ट्रिय कफी विकास बोर्डले नै यसको प्रक्षेपण गरिसकेको छ । बोर्डको भनाइ छ, “नौ लाख किलो फ्रेस चेरीमध्ये यस वर्ष पाँच लाख ४० हजार किलोभन्दा कम उत्पादन हुने प्रक्षेपण गरेका छौँ ।”
गण्डकीका मनाङ र मुस्ताङ बाहेकका नौ जिल्लामा अहिले कफी खेती हुँदै आइरहेको छ । मुख्य सिजनमा नै कफीमा समस्या देखिएपछि उत्पादन घट्नेमा बोर्ड चिन्तित बनेको छ ।
मुलतः पुस, माघ र फागुन महिना कफी उत्पादनका लागि मुख्य सिजन हो । यो समय कफीका दाना पाक्ने र टिप्ने समय पनि हो ।
तर, पछिल्ला दुई सातायता टिप्न ठिक्क परेका दाना एकाएक ओइलाएका छन् । कफीका पात ओइलाउने, मर्ने, झर्ने, हाँगा सुक्ने, बोटमा रहेका फल सुक्ने र बोट नै मर्ने समस्या देखापरेको छ । यो समस्या गण्डकीमा मात्र नभई कफी उत्पादन हुने देशका २३ वटा जिल्लामा नै देखापरेको छ ।
कफी किसान यो समस्याबाट आक्रान्त भएपछि उनीहरूले सम्बन्धित निकायमा खबर गरे । कफीमा समस्या देखिएपछि वागवानी अनुसन्धान केन्द्र (नार्क) का वरिष्ठ वैज्ञानिक युवराज भुषाल, कृषि विकास निर्देशनालयका वरिष्ठ वागवानी विकास अधिकृत किरण सिग्देल, मन्त्रालयका क्षति मूल्यांकन शाखाका अधिकृत सागर घिमिरे, रोगकिरा विज्ञ रुपनाथ अधिकारीलगायत कफी विकास बोर्डका पदाधिकारी र प्राविधिक, अन्नपूर्ण गाउँपालिकाका पदाधिकारी सहितको टोलीले बुधबार अन्नपूर्ण गाउँपालिका १ ढिकुरपोखरीको कफी खेतीको स्थलगत अध्ययन पनि गर्यो ।
माछापुच्छ्रे उत्तम कफी सहकारीका अध्यक्ष कुलाधर भुगाइले दुखेसो पोखे, “चीनमा भाइरस आए जस्तै नेपालमा पनि कफी भाइरस आएको कारण किसान समस्यामा परेका छन्, लागेको फल रातो भएर पाक्छ अनि टिपौँला भनेर बसेका किसानले न फल टिप्न पाएका छन्, न बोट नै जोगाउन, फल पनि सेतो भएर सुक्ने गरेको छ, बोट पनि सुक्ने गरेको छ ।”
उक्त वडामा मात्रै ६१० रोपनी क्षेत्रफलमा कफी खेती हुने गरेको छ । संस्थागत कफी खेती यहाँ २०६३ देखि नै हुँदै आएको छ । कफी लगाउन सुरु गरेको करिब १३ वर्षको अवधिमा पहिलोपटक यो समस्या देखिएको उनले बताए ।
अघिल्लो वर्ष २० हजार कफीका बिरुवा रोपेका त्यहाँका किसानले यो वर्ष ३० हजार बिरुवा लगाएका थिए । तर, अहिले कफी खेती गर्ने किसानको अवस्था दयनीय छ । कफीको बिमा पनि छैन । बिमाका लागि पाँचसय बगान हुुनपर्ने भनेपछि त्यहाँ किसानले बिमा पनि गर्न पाएनन् ।
राष्ट्रिय चिया तथा कफी विकास बोर्ड पोखराका निमित्त क्षेत्रीय निर्देशक चन्द्र पुरी भन्छन्, “यस वर्षको अत्यधिक चिसोका कारण १ महिना अगाडिबाट व्यावसायिक कफी खेती हुँदै आएका २३ भन्दा बढी जिल्लामा कफीको पात ओइलाने, पात हरियोमै झर्ने, हाँगा सुक्दै जाने, बोटमा रहेका फल सुक्ने र बोटै मर्ने समस्या आक्रामक रूपमा देखा परेको छ ।”
अध्ययनपछि टोलीले यसलाई कफीको कोरोनासँग तुलना गरेको छ ।
पुरी भन्छन्, “कफीका बोट मात्रै नभएर यस वर्ष रोप्नका लागि तयार भएका कफी नर्सरीका बिरुवामा पनि ५० प्रतिशत क्षति पुगेको देखिन्छ जसबाट यस वर्ष कफी रोपणका लागि गुणस्तरीय बिरुवा सँगसँगै नर्सरीका लागि बिउ तयार गर्न पनि कठिन परेको छ जसबाट हजारौं कफी कृषकहरू मारमा परेका छन् । अन्य वर्षभन्दा यस वर्ष महामारीकै रूप लिएको यसलाई धेरै कृषकले कफीमा कोरोना भाइरससँग तुलना गरेका छन् ।”
गतसिजन यही समयमा एकलाख किलो कफी उत्पादन गरेको स्याङजाले अहिले यही समयमा जम्मा एकहजार किलो मात्रै उत्पादन गरेको बोर्डको तथ्यांक छ । “स्याङजाले एक लाख किलोभन्दा फ्रेस चेरी टिपिसक्नुपथ्र्यो, अहिलेसम्मको तथ्यांकमा जम्मा एकहजार किलो उत्पादन मात्रै छ । यो समस्या कास्कीमा पनि छ, तनहुँमा पनि छ, देशैभरि देखिएको छ,” उनले भने ।
बोर्डका अनुसार गण्डकी प्रदेशमा मात्रै वार्षिक २ लाखको संख्यामा कफी नर्सरी बिरुवा उत्पादन हुन्छन् । तर, कफीमा देखिएको यस प्रकोपका कारण एक लाख बिरुवामा क्षति पुगेको छ ।
कफीको फरक जात, भएका कारण पनि प्रकोप देखिएको हुनसक्ने उनको तर्क छ । उत्पादनमा व्यापक गिरावट आउने भएका कारण यो वर्ष कफी संकट वर्ष नै घोषणा गर्नुपर्ने उनको भनाइ छ ।
अध्ययन टोलीले मौसमी प्रभावका कारण समस्या आएको हुनसक्ने औंल्याएको छ ।
बागवानी अनुसन्धान केन्द्र पोखराका प्रमुख युवराज भुषाल, “यस वर्ष बढी चिसो भएका कारण समस्या देखिएको हुनसक्ने,” बताउँछन् ।
बिहान बेलुकीमा एकदमै चिसो र दिउँसोमा तातो हुने भएकाले कफीका लागि वातावरण अनुकुल बन्न नसकेका कारण समस्या आएको उनले बताए ।
यस्तै, अध्ययनपश्चात किसानहरूलाई प्राविधिकले नाइट्रोजनयुक्त प्रांगारिक मल प्रयोग गर्न सुझाव समेत दिइएको छ । “मरेका हाँगा तथा बोट काटी बोडऱ्ो पेस्ट लगाउने र बोटमा एक प्रतिशतको बोडऱ्ो मिश्रण स्प्रे गर्न सुझाव दिइएको छ, तत्काल कफी बोटमा नाइट्रोजनयुक्त प्रांगारिक मल राखी सिँचाइ गर्न भनेका छौँ,” उनले भने ।
गण्डकीका स्याङजा, तनहुँ, कास्कीसहित नौ जिल्लामा अहिले कफी खेती हुँदै आएको छ । यहाँ करिब १००० हेक्टरमा कफी बिस्तार भएको छ जसबाट १५० मेट्रिक टन ग्रिन बिन उत्पादन भएको तथ्यांकले देखाउँछ । स्याङजा, कास्की, पर्वत, लमजुङ, तनहँु, गोरखा जिल्लामा व्यावसायिक रूपमा नै सहकारी तथा उत्पादक संघमार्फत् कफीको उत्पादन, प्रशोधन र बजारीकरण हुँदै आएको छ ।
नेपाली कफी प्रांगारिक पद्धतिबाट उत्पादन हुँदै आएको तथा यसको स्वाद र गुणस्तर उच्च रहेकाले अन्य देशको कफीभन्दा नेपाली कफीको माग राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा करिब १४,००० मेट्रिक टन रहेको छ ।
नेपालमा हाल करिब ४३ जिल्लामा कफी बिस्तार भएको छ जसमध्ये २३ जिल्लामा व्यावसायिक कफी खेती हुँदै आएको छ । विसं १९९५ बाट सुरु भएको कफी खेती हालसम्म आइपुग्दा वार्षिक उत्पादन ५३० मे. टन ग्रिन बिन रहेको छ भने जम्मा २७६१ हेक्टरमा कफी बिस्तार भएको छ ।