पोखरा । गण्डकी प्रदेशकै ठूलो शैक्षिक थलो पृथ्वीनारायण क्याम्पस अहिले अस्तव्यस्त छ । त्यहाँका २१८ आंशिक प्राध्यापक गत आइतबारदेखि आन्दोलनरत छन् । आन्दोलनले विद्यार्थीले कक्षा लिन पाएका छैनन् ।
स्थायी प्राध्यापकको समेत कक्षाभार थामेका आंशिकहरूको माग छ, ‘हामीलाई पनि करारमा लिनुपर्छ ।’ आन्दोलनको नेतृत्व गरिरहेका प्राध्यापक सुनील गौतम भन्छन्, “हामीलाई करार गरियोस् भन्ने हो, यस अर्थमा कि धेरै स्थायीहरू रिटायर्ड हुनुभएको छ । संख्या घट्दै छ । त्रिवि सेवाबाट पदपूर्तिको संख्या पनि निकै कम हुनेछ । यता, आंशिकको संख्या निकै धेरै छ । एकातर्फ स्थायी प्राध्यापकको संख्या घट्ने, स्थायी भएर आउने प्रक्रिया कम हुने, अर्कोतर्फ न्यून ज्याला दिएर राखिरहने, हाम्रो श्रमको शोषण भएको छ ।”
यो समस्या समाधानका लागि क्याम्पस प्रमुख चन्द्रबहादुर थापा एकपटक काठमाडौं पुगेर पनि आइसके । उनै थापाको पहलमा अहिले यहाँको वस्तुस्थिति बुझ्न त्रिविले शनिबार उपकुलपतिको प्रतिनिधित्व गर्दै ३ सदस्य खटाएको थियो । सोही टोलीको प्रतिवेदनका आधारमा मात्रै समस्या समाधानको केही विकल्प आउन सक्ने थापाले बताए ।
नियुक्तिमा भद्रगोल
यहाँको शैक्षिक इतिहास जस्तै, भद्रगोलको इतिहास पनि पुरानै छ । आंशिक प्राध्यापक राख्ने नीति लागू भएपछि नै यहाँ मागभन्दा बढी भर्ती गरिएका हुन् । यतिसम्म कि, एकजना आंशिक प्राध्यापक माग गर्दा १६ जनासम्म नियुक्त भएका छन् । राजनीतिक दलको भागबन्डा, नातेदार, आसेपासे, शक्ति केन्द्रको सिफारिस सबैलाई भाग लगाउँदा एकको ठाउँमा १६ जना नियुक्त गर्नुपरेको त्यहीँकै कर्मचारी बताउँछन् ।
२०७० मा पृथ्वीनारायण क्याम्पसका व्यवस्थापनतर्फका सहायक क्याम्पस प्रमुखले थप प्राध्यापकको माग गरे । बढी विद्यार्थीका कारण सेक्सन थप भएपछि नै आंशिक मागिएको थियो । तर, उक्त ‘ज्यालादारी (श्रेणीविहीन पदमा)’ १६ जनाले जागिर पाए । क्याम्पसको प्राध्यापक भएपछि प्राइभेटमा पनि जागिर जान खान सहज हुने भएका कारण पनि प्रतिस्पर्धा र शक्तिको टकराव बढी नै भयो । यस्तै, दुई प्राध्यापक मागिएकामा ८ जना भर्ना गरियो । भर्ना गर्नुको कारणमध्ये छैटौं नम्बरमा नाम निकाल्ने प्रतिस्पर्धीचाहिँ क्याम्पसकै एक प्राध्यापककी बुहारी थिइन् ।
अर्कोतर्फ आंशिकतर्फका प्राध्यापक थुप्रिनुमा त्यहीँका स्थायीहरूले आफ्नो भारवहन नगर्नु पनि हो । आंशिकका २१८ बाहेक क्याम्पसमा ३२० भन्दा बढी स्थायी प्राध्यापक छन् । नियमानुसार प्राध्यापकहरूले स्नातकको सातामा १५ र स्नातकोत्तरको सातामा १२ कक्षा लिनुपर्ने हो । तर, क्याम्पसकै एकजना प्राध्यापक भन्छन्, “आफ्नो भारवहनको त कुरै छाडौं, एउटा कक्षा पनि नलिने प्राध्यापकहरूसमेत हुनुहुन्छ ।” उनीहरूको भार पनि आंशिकले नै लिने गरेका छन् । “स्थायी प्राध्यापकहरूले भारवहन गरे आंशिकको आवश्यकता खासै रहँदैन,” उनले भने ।
त्रिवि सेवा आयोगले आंशिक प्राध्यापक राख्ने नीति लागु गरेपछि नै अहिलेको अवस्था सिर्जित भएको पूर्वक्याम्पस प्रमुख गेहेन्द्रेश्वर कोइरालाको भनाइ छ । “यो बेइमानी हो, नेतृत्वको बेइमानी हो । श्वविद्यालय र सरकारको बेइमानी हो । विश्वविद्यालयले लिएको नीति नै बेइमानी हो । यो संस्थाप्रति उत्तरदायी नभएको हो । सरकार र नेतृत्व दुवैको गैह्रजिम्मेवार कुरा हो,’’ उनले भने, ‘विश्वविद्यालयले जुन आंशिक प्राध्यापक राख्ने नीति लियो नि, यसले विश्वविद्यालय, विद्यार्थी, जो आंशिकमा छन्, उनीहरूको पनि जिन्दगी बर्बाद पारेको छ । यो समस्या आंशिकको मात्र नभई विश्वविद्यालय, प्राध्यापक, संस्था सबैको समस्या भएपछि विद्यार्थीको पनि समस्या हो ।”
तर, एकको सट्टामा १६ प्राध्यापक राखिनु सुशासन नहुनुको पराकाष्टा रहेको उनको भनाइ छ । प्राध्यापक आवश्यकता भएपछि आफ्ना पालामा पनि नीतिगत रूपमा बाध्य भई आंशिक राखेको तर आवश्यकताभन्दा बढी नराखेको उनको तर्क छ । आंशिकमा राखिएका प्राध्यापकलाई क्याम्पसले वार्षिक झन्डै ४ करोड रुपैयाँ तिर्छ । स्नातकमा पढाउने प्राध्यापकहरूले प्रतिपिरियड लगभग ३६० रुपैयाँ पाउँछन्, भने स्नातकोत्तर पढाउनेले प्रतिक्रेडिट आवर्स १५ हजार रुपैयाँ पाउँछन् । एक क्रेडिट आवर्समा १६ घण्टा हुन्छ । उनीहरूले क्रेडिट आवर्सअनुसार पाउने रकमका पनि १५ प्रतिशत कर कट्टी हुन्छ ।
अहिले क्याम्पसमा झन्डै १० हजार विद्यार्थी छन् । यता, विद्यार्थीहरूले नियमितको समस्या समाधान गर्नुपर्ने र पढाइ पनि नियमित गर्नुपर्ने भन्दै क्याम्पसको मुख्य प्रशासनको गेटमा तालाबन्दी गरेका छन् ।