धुर्मुस, पहिले मेरी बास्सैको हास्यपात्र । कसैलाई हँसाउनु सामान्य कला पक्कै होइन । हँसाउनका लागि त्यस्तै पात्र प्रवृत्ति खोजेर हाँस्यजगतमा चिनिएका सीताराम कट्टेल अब व्यक्ति रहेनन् । उनले नै भनेका थिए, “धुर्मस अब व्यक्ति नभई संस्था हो ।”
हँसाउने कार्यमा उनी केही वर्षयता पछाडि छन् । तर, त्यही हाँसोपछाडिको पीडालाई उनले यतिबेला जिम्मेवारीको नाम दिएका छन् । त्यही जिम्मेवारीको पछिल्लो रूप हो, निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको चौघेरो ।
अहिले त्यहाँ ड्रेन बनेका छन्, नाली खनिएका छन्, रड र सिमेन्टको थुप्रो छ । त्यही भताभुंग जमिन, लथालिंग भौतिक वस्तुको थुप्रोलाई कीर्तिमानधारी रंगशालाको आकार दिन उनले रातदिन एक पारेका छन् ।
०००
सदाझैँ, हामी पुग्दा उनी साइकलमै थिए, साइकलको पाइडल हान्दै हामी उनीसँग गफिँदा २०७६ सालको माघले पाँचौं दिन गुजार्दै थियो । प्रभातीय समयमा उनले रंगशाला घुमाए, प्रगति सुनाए, उधारोमा किनिएका सामानहरू देखाए । अनि सुनाए, रंगशाला निर्माणको योजना कसरी बन्यो, त्यो अठोट कहाँबाट आयो र कामको थालनी कसरी भयो ? सामाजिक सञ्जालका टिकाटिप्पणीदेखि लिएर सरकारले जग्गा दिएको डीपीआर बनेको र अहिलेसम्म भइरहेको काममा सहयोग गर्ने मनकारीहरूलाई सम्झिए ।
“यो रंगशाला बनेपछि कसैले गौतम कहाँ बनेका हुन् भनेर चिनाइरहन आवश्यक छैन्, राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा यही रंगशालाले प्रचार गराउनेछ, अहिले मेरो दिमागमा रंगशालाबाहेक केही छैन, उठेदेखि नसुतेसम्म मेरो दिमागमा रंगशाला मात्रै छ, मलाई कसैले डाइभर्ट गर्न सक्दैन, सुत्दा पनि म रंगशालाकै विषयमा कसैले कम्प्लेन गरेको सपना देख्छु ।” यही जवाफले उनको रंगशालाप्रतिको दृढता देखाइरहेको थियो ।
तर पनि, सोध्यौं, “सानी छोरीको याद आउँदैन ?”
उनको जवाफले त्यहाँ उनको दृढता, कामप्रतिको लगावसँगै उनको मनमा गुम्सिएको गुनासा, छोरीसँगको औपचारिकता जस्तो सम्बन्धले दिने पीडालाई कसरी सहन सकेको होला भन्ने सोच्न बाध्य बनायो ।
उनले भनेका थिए, “छोरी यहीँ आएर गइन् । फागुन ३० मा ६ वर्ष पुग्छिन्, मैले उनीसँग बिताएको पलको हिसाब गर्ने हो भने ४ महिना होला । उनी मसँग झ्याम्मिन्नन्, जस्तो एउटा अभिभावका लागि बच्चाको त्यो तोतेबोली बाबा भनेको मामु भनेको बच्चा खेलाउने त्यो रहर अधुरै रह्यो, अब मैले चाहेर पनि त्यो समय पाउँदिनँ जस्तो लाग्छ ।”
रहर हुँदाहुँदै पनि छोरी छाडेर हिँड्नको अन्तर्य र बाध्यता पनि उनले सुनाए ।
“आठ महिनादेखि छाडेको हो । कुञ्जनाचाहिँ छोरीसँगै हुँदा पनि... उनले पनि त्यति धेरै बिताउन पाइनन्, सुत्केरी अवस्थामौ छोडेर हिँड्नुपर्यो अमेरिका जाँदा पनि ११ महिनाको छोरी छोडेर जानुपर्यो, अमेरिकाबाट फर्केको भोलिपल्टै उनी टेन्टमा छाडेर हिँडया हो । काभ्रे बस्ती बनाउँदा । साढे २ महिना बिताएर पनि छोरी टेन्टमै थिइन् । पछि उनी हुर्किँदै गइन् । उनको स्कुलमा म एकपटक मात्रै पुगेको छु ।”
उनकी छोरी अहिले एलकेजीमा पढ्छिन् । उनको छोरीसँग संवाद पनि हुन्छ । तर, छोरीसँगको बोलीमा जुन भावना हुनुपथ्र्यो, छोरीको स्नेहपूर्ण बोली उनले सुन्न पाउँदैनन् ।
“फोनमा कुरा हुन्छ, धुर्मुस बाबा भन्छे, के छ छोरी भन्यो, ठीक छ भन्यो, अनि सकियो । अन्तर्वार्ता जस्तो,” उनले सुनाए ।
यतिमात्रै होइन, पछिल्ला ६ वर्षमा धुर्मुस–सुन्तली दम्पतिले धेरै अवसर पनि गुमाएका छन् । उम्दा कलाकार, विदेशबाट आइरहने निमन्त्रणा, त्यहाँको सुखसयल त्यागेर चितवनको भित्रपट्टिको दलदले जग्गामा दिनचर्या बिताउन उनलाई देशको माया लागेर नै हो ।
“विगत ६ वर्षदेखि सबै छोडेर लागेको छु, म एक राम्रो दर्शकले मन पराएको कलाकार स्वदेश विदेशका कार्यक्रममा श्रीमान–श्रीमती हाँस्थ्यौँ डुल्थ्यौँ घुम्थ्यौँ होला । सबै चिज छोडेर म यहाँ लाग्नुको पछाडि के हो भन्दाखेरि अब देश बनाउने बेला आएन र ?” उनको प्रश्न छ ।
हामीलाई चाहिएको विकास हो, म विकाससँग जोडिएको अभियन्ता हो । मचाहिँ मनग्ये पैसा कलाकारिताबाट गरिरहेको मान्छे चटक्क छोडेर आउँदा म मेरो डिरेक्सनमा चलेको छैन होला । गडको डिरेक्सनबाट चलेको छैन होला ।
रंगशालाकै निम्ति नाता पनि जोडिए, उधारो त कति कति... चलचित्र पनि रंगशालाकै लागि अन्तर्मनका कुरापछि उनी फेरि रंगशालामै फर्किए । अहिले रंगशाला निर्मार्णाथ सहयोगको लागि धनधाञ्याञ्चल महायज्ञ सञ्चालन भइरहेको छ । रंगशालाकै डीपीआर हुने बखत समय निकालेर उनले चलचित्र पनि खेले, ‘सेन्टी भाइरस’ जो प्रदर्शन तयारीमा छ ।
यो चलचित्र हेर्ने दर्शकले टिकटको पैसा खेर गएको अनुभव गर्न नपर्ने उनले बताए ।
“सामाजिक सेवामा चलचित्रले व्यापार गरेको खण्डमा खर्च गर्ने सम्झौता हो । रंगशालाको डीपीआर भएको बखतमा निर्माण गरिएको हो । यो नितान्त क्रिकेट स्टेडियमका लागि बनाइएको चलचित्र हो । हामीलाई सहयोग गर्ने धेरै महानुभावको इच्छा छ । चलचित्रलाई हुनुपर्ने मसला त छ । तर, टिकट किन खेर जाँदैन भने, तर सय दुइसय तीनसय लिएर उपस्थित हुँदा धेरैलाई अप्ठ्यारो पनि भएहोला । चलचित्र हेर्दा सिधै रंगशालाको लागि जाने भयो । हामीले निर्मातासँग त्यहीअनुसार समझदारी नै गरेका छौँ,” उनले भने ।
चलचित्र, भ्युटावर, महायज्ञको अलावा त्यहाँ दैनिकजसो सहयोग आइरहेको छ । मम बेचेर पनि रंगशालालाई रकम उठाइएको छ । रंगशालालाई भरतपुर महानगरले जग्गा दिएको हो, समन्वय पनि त्यही अनुसार भएको छ । साढे ६ करोड बजेट पनि घोषणा भएको छ । यहाँको सरकारसँग समन्वय भएको छ । यो रंगशालालाई ३ करोड नेपालीकै लगानीमा बनेको हेर्ने उनको इच्छा छ ।
तर, पनि खुद्रे सहयोगले तीन अर्बको लगानीलाई भने धान्न असम्भव नै छ । तर, पनि उनी आशावादी छन्, उनीप्रतिको विश्वासका कारण रंगशालामा देखिएका निर्माण सामग्रीहरू उधारोमा आएका छन् । “धेरै कारोबार उधारोमा छ । सिमेन्ट डन्डी भनौं, हार्डवेयरमा उधारो छ । पछिल्लो समय दैनिकजस्तो सहयोग आएको छ । हामीले अपरेटिभ कस्ट धानेका छौँ । जस्तै मजदुरको पैसा... चार पाँच लाखको हाराहारीमा खर्च हुन्छ । भनेको समयमा सिमेन्ट, गिटी रड आउनुपर्यो । अब यहाँ छिनमै सामान बिग्रन्छ । उहाँले विश्वास गर्नुभएको छ । केहीले छिटो गर्नुप¥यो भन्नुहुन्छ, मैले मिलाउँदै छु आउँदै छ भन्छु, मेरो यहाँ नातासम्बन्ध पनि छ, नाता जेडको छु, मामा, काका, फुपू, भान्जा सम्बन्ध यस्तो छ मेरो ..।” उनले सुनाए ।
तर, क्रिकेट मैदान उठाउन आफ्नै ज्यान रित्याउन तयार भएर आएका छन् । “रंगशालाको लगानी ३ अर्ब हो, पर व्यक्ति १०० रुपैयाँ दिए पनि पुग्छ । अबउप्रान्त म कुनै पनि काममा मागेर कुनै पनि काम गर्ने वाला छैन । यो अन्तिमपटकको अपिल हो । देशको लागि केही गर्ने भन्ने इच्छा चाहना सबै नेपालीको लागि छ । यो अवसर र मौका हो ।” उनले भने ।
०००
रंगशालामा सिस्टम छ । चारवटा समूह छन् । धुर्मुस ५ बजे नै सबै टोलीलाई उठाउँछन् । केही समय व्यायाम गर्छन्, राष्ट्रगान गाउँछन् र मैदान छिर्छन् । खानका लागि पनि चारवटा मेस छन् । सबैको समयतालिका छ । विभाग छ । विभागअनुसार काम गर्छन्, अनि साँझमा ब्रिफिङ हुन्छ । भोलिका लागि के चाहिने हो त्यसको सूची तयार गर्छन्, अनि त्यसदिनको काम सकिन्छ ।
रंगशालाको आवश्यकतालाई जनताको साथ चाहिएको छ
रंगशाला आउनुपूर्व धुर्मुस–सुन्तली फाउन्डेसनले भूकम्पपीडितका लागि एकीकृत बस्ती निर्माण गरी हस्तान्तरणसमेत गरिसकेको छ । त्यहाँ पाएको साथले नै उनलाई रंगशाला बनाउने आँट आएको हो ।
“अवधारणा के हो भन्ने विषयमा बुझ्न आवश्यक थियो । अहिलेको योजना धेरै ठूलो थियो टिकाटिप्पणी भएकै हो । तर मलाई के विश्वास थियो भने जब संरचना खडा हुँदै जान्छ, किनभने हाम्रो स्वार्थ छैन, हामीले देशका लागि काम गरेका हौं,” उनको जवाफ छ । देश बनाउन अब नागरिक नै लाग्न पनि उनले सुझाव दिए र भने, यसपछिका कुनै पनि कार्यमा म सहयोग आह्वान गर्नेछैन ।
“हामी भाषणमा मात्र सीमित गर्यौँ, देश त कहिल्यै बनेन्, बन्ने दिशातर्फ पनि हामी ढुक्क हुने अवस्था रहेन नि । धेरै व्यवस्था परिवर्तन भए, अब त नागरिक नै लाग्ने होला । जो–जो जिम्मेवारी लिएर बस्नुभएको छ, जुन पद लिएर बस्नुभएको छ, पदको मात्र इमानदार भएको खण्डमा पनि राष्ट्र बन्न सक्छ नि । म एउटा कलाकार हो त्योभन्दा माथि म यो देशको नागरिक हो । नेपाली हुनुमा जुन गर्व छ, त्यो त संसारमा त्यसमा जति मजा आनन्द केहीमा पनि छैनन् नि त ।” रंगशालामा अहिले ३५३ कामदार खटिरहेका छन् । यही अनुपातमा काम भए तोकिएकै समयमा रंगशाला बन्नेमा उनी ढुक्क पनि छन् । रंगशालामा अब विधिवत रूपमा जग हाल्ने कार्य सुरु हुँदै छ । जग हालेको मितिले २ वर्षभित्रै काम सकिनेमा उनी ढुक्क छन् ।
रंगशाला बनेपछि पहिलो म्याच कसलाई खेलाउने ? प्रश्नमा उनले जवाफ दिए, “मेरो चाहनाभन्दा पनि आईसीसीले राख्नुपर्ने हो । आइसिसीले म्याच राख्ने कन्फर्म भएको छ । ४ महिनामा ग्राउड तयार हुन्छ । नेपालको पहिलो अन्तर्राष्ट्रिय मैदान तयार हुँदा त्यही नै इतिहास होला । मचाहिँ काम भइसकेपछि मात्र खुसी हुनेछु । चार महिनापछि गेम खेल्न पाइन्छ ।” तर, पनि प्याराफिटलगायत कामहरू भने बाँकी नै रहनेछन् । बहुउद्देश्यीय हिसाबले निर्माणाधीन रंगशालामा क्रिकेटसहित २२ खेल खेल्न मिल्नेछ । ३० हजार दर्शक क्षमताको प्याराफिटसहित रंगशाला तयार हुनेछ ।
राजनीतिको कुरा नै नगरौं...
सामाजिक अभियान र कलाकारितामा उनका जबरजस्त फ्यान बन्दै र थपिँदै छन् । यही आधारमा के तपाईं पछि राजनीतिमा जाने त होइन नि ? प्रश्न पूरा नहुँदै उनले त्यसलाई इन्कार गरे ।
“आजका दिनसम्म त्यस्तो केही छैन । मलाई कुनै सांसद बन्नका लागि, मेरो दिमागमा न कुनै राजनीतिमा जग खन्नका लागि कुनै पार्टीमा आबद्ध हुन, न म सांसद बन्न राष्ट्रपति प्रधानमन्त्री बन्नका लागि हिँडेको मान्छे हो । म जनताको सेवक भएर काम गर्ने हो, जीवनको अन्तिम अवस्थासम्म पनि म सेवकै भएर काम गर्छु, नेपालको झन्डा उच्च बनाउने काम गर्छु, मचाहिँ पार्टीको झन्डा बोकेर हिँड्नका लागि काम गरेको होइन, यहाँ देखिएका झन्डा पनि त्यही भएर राखेको हो ।”
– कुराकानीमा आधारित
तस्बिर : सीताराम कट्टेल (धुर्मुस) को फेसबुकबाट