पोखरा । एउटा आशा, जीवनको लागि गरेको संघर्ष, जीवन जिउन संघर्षसँग खेलिएका पौँठेजोरीको याद र अहिलेको सफलता । अनि मनमा जन्मथलोको माया र स्मरणहरु ।
विहादी सम्झिन्छन्, कोलवर्नका मेयर । उनै जगन्नाथ शर्मा, जो बेलायती राजनीतिको माथिल्लो सिँडी चढ्ने नेपालीमध्येका औँलामा गन्न सकिने एक व्यक्ति र व्यक्तित्व ।
पुस १५ गतेको रात, जनवरी १ तारिखभन्दा अघिल्लो दिन । लेकसाइडमा स्ट्रिट फेस्टिभलले अंग्रेजी नयाँ वर्षको स्वागत गर्दै थियो, त्यही स्ट्रिट फेस्टिभलमा नेपाली स्वादको मम चाख्दै गरेको अवस्थामा पोखरामा भेटिए, जगन्नाथ ।
अनौपचारिक भेटमा उनले भने, “भिजिट नेपाल २०२० को लागि हामीले के सहयोग गर्न सक्छौँ, भन्ने उद्देश्य नै अहिले म नेपाल आउनुको कारण हो ।”
त्यसपछि उनले सुनाए, वर्तमान अवस्थामा आइपुग्नु अगाडिको जीवन । बाल्यकालमा संस्कृत पढ्ने बालकदेखि अंग्रेजको देश बेलायतको कोलवर्न सिटीको जिम्मेवार मेयर पदमा पुग्दासम्मको अनुभव ।
विहादी गाउँपालिका ३, रानीपानी पर्वत, (पहिलेको रानीपानी गाउँ विकास समिति वडा नं. ९) । त्यतिबेलाको सामाजिक परिवेश अनुसारको मध्यम खालको घरमा पौडेल जन्मिएका थिए । बाल्यकाल उनको गाई बाख्रा चराउनमा नै बित्यो । पौडेल परिवारको छोरा हुनुको कारण परिवारले उनलाई संस्कृत पढाएर पण्डित बनाउन चाहन्थ्यो । कारण, घरको एउटा छोरा पण्डित भए संस्कार र संस्कृति दुवै जोगिने ।
उनले सुरुमा गुरुकोमा गएर संस्कृतको पाठ लिए । “त्यतिबेला पाठ लिने भन्ने हुन्थ्यो, अनि आएर गाइबाख्रा हेर्ने हुन्थ्यो,” उनले सम्झिन्छन् ।
गाईबाख्रा हेर्न जाने ड्युटी सकिएपछि कहिले रातमा त कहिले दिनमा उनले संस्कृतको पास लिए ।
संस्कृत पढेर पण्डित बन्ने परिवारको धोको छाडेर उनले अंग्रेजी पढ्ने साहस कसरी देखाए त ? यसको अनुभव पनि उनले सुनाए ।
“अंग्रेजी पढ्छु भन्दा समस्या पक्कै थियो । संस्कृत नभई अंग्रेजी पढेपछि केही गर्न सकिन्छ कि भन्ने थियो । एउटा छोरा पण्डित बनाउनुपर्छ, हाम्रो संस्कार र संस्कृति पनि जोगिन्छ भन्ने परिवारको सोचाई थियो । संस्कृत पढ्दा मलाई दुइवटा समस्या भयो, एउटा फुर्सतमा मात्र गुरुकोमा गएर पास लिने । अघिपछि गाईबाख्रा, घाँस मै दिन बित्ने थियो । म गए पनि हुने नगए पनि हुने थियो,” उनी स्मरण गर्दै भन्छन् ।
अनि सोचेँ, मलाई यसरी पारा लाग्छ जस्तो लागेन, आमा पनि त्यतिखेरै बित्नुभएको थियो, मलाई चाहिँ मेरो आमा बितेपछि विद्यालय नै जानुपर्छ भन्ने लाग्यो । बुवाले चाहिँ संस्कृत नै पढ्न भन्नुभएको थियो । अनि विद्यालय नै जान्छु भनेर जिद्धी गरेपछि म सिधै ६ क्लासमा भर्ना भएँ । त्यतिबेला ४,५ देखि अंग्रेजी पढाइ हुन्थ्यो । मैले एबिसीडि नै त्यतिबेला पढ्न सुरु गरेँ ।
उनले अनुभवसहित त्यतिबेलाको शिक्षा प्रणाली र विद्यालयको अवस्थाबारे पनि बताए,“छोरी मान्छेहरु एकदमै थोरै, अनि उच्च वर्गका सामाजिक चेतना भएका परिवारबाट मात्रै जान्थे, विद्यालय चाहिँ अलिकति टिनले छाएको थियो, फुसले बारेको, माटोको भित्ताभित्र, जहाँ मैले शिक्षा लिएको थिएँ ।”
२०३८ सालमा नेपालतारा माध्यमिक विद्यालयबाट एसएलसी दिएपछि उनी थप शिक्षाका लागि पाल्पा गए । त्यहाँ सिएमए अध्ययनपछि काठमाडौं ।
काठमाडौंमा पढाइ सँगसँगै पाटनको हस्पिटलमा काम गरे, ललितपुरको गाउँमा कम्युनिटी काम गरे ।
त्यहाँ उनलाई आर्थिक समस्याले गाँज्यो । भनेको समयमा पैसा नपाइने । त्यो आवश्यकताले उनलाई प्रहरी सेवातर्फ मोड्यो ।
“काठमाडौं गएपछि पढ्न पनि पाइन्छ भनेर काम गर्न राजी भएको थिएँ । तर, त्यो टाढा नै थियो । त्यहिबेला पुलिस हस्पिटलमा जागिर खुलेको थियो । फर्म भरेँ, सेलेक्ट भएँ, असइको तालिम पनि गरेँ र त्यहाँ काम गरेँ । असइको तलब आइराख्थ्यो । त्यहाँपछि फेरि महाराजगञ्जमा पढ्न जान्थेँ । मेरो नाम निस्क्यो । पुलिस हस्पिटलले मलाई पढ्नको लागि अनुमति दियो,” उनले स्मरण गरे ।
महाराजगञ्जमा सर्टिफिकेट लेभलको अध्ययनपछि उनले प्राइभेटमा त्रिचन्द्रमा अर्थशास्त्र र राजनीतिशास्त्रमा ब्याच्लर डिग्री अध्ययन गरे । त्यति नै बेला अष्ट्रेलियामा अध्ययनको लागि छात्रवृत्ति खुलेको थियो, त्यहाँ पनि उनले फर्म भरे र छनोट पनि भए ।
उनको विदेश यात्राको सुरुवात नै त्यही थियो । छात्रवृत्ति भएपछि आर्थिक समस्या नहुने, काम पनि गर्न थाले । सन् १९९५ मा उनी अष्ट्रेलिया लागेका थिए ।
... फेरि विदेशिए
उच्च शिक्षाका लागि अवसर पाएर अष्ट्रेलिया गएतापनि मनमा भने आफ्नै देश । ६ वर्षसम्म अष्ट्रेलियामा काम गरेपछि उनले जागिर सदाका लागि छाडे र नेपाल फर्किए ।
नेपालमा जापानीज र अष्ट्रेलियन सरकारको प्रोजेक्ट ल्याउने र समुदायमा काम गर्ने उनको सोच भने सोच नै रह्यो । कारण, त्यतिबेलाको राजनीतिक परिस्थिति ।
सरकार र तत्कालीन माओवादीबिचको द्वन्द्व चरमोत्कर्षमा पुगेको थियो । देशभित्रको गृहयुद्धमा उनको नेपालमा काम गर्ने सपना पनि सहिद बन्यो ।
दुई विदेशी सरकारको आर्थिक सहयोगमा नेपालमा काम गर्ने भनेर आएता पनि नेपालको राजनीतिक परिस्थितीकाबीच सरकारले त्यता खासै चासो दिन सकेन ।
प्रोजेक्टमा पनि खासै पैसा नहुने र दीगो नहुने संकेत देखिएन ।
चार महिनासम्म कुर्दा पनि संकेत नपाएपछि उनी फेरि विदेशिन बाध्य भए ।
“त्यतिबेला पनि पुलिसको जागिर त छँदै थियो तर समुदाय मा आधारित काम गर्छुँ भन्ने थियो । ४ महिनासम्म बसेँ, तर सकारात्मक संकेत देखिएन । त्यसपछि मैले युकेमा भिसा एप्लाई गरेँ, त्यहा जब अफर त थियो भिसा थिएन् । त्यसपछि भिसा पनि लाग्यो, नेपालमा नै केही गरौँ भनेर आएको वातावरण नै भएन्, पोलिसी लेभलमा सरकारले एप्रोभ नै नगरेपछि काम नै भएन,” बेलायत छिर्नुभन्दा अगाडिको उनले अनुभव सुनाए ।
बेलायतमा गएपछि हस्पिटलको कामदेखि अहिलेको मुकामसम्मको अनुभव पनि संघर्षकारी नै छ ।
उनी भन्छन्, “युकेमा गएपछि स्कटल्याण्डको एडिनबरामा नेशनल हेल्थ सर्भिसेस, यहाँको सरकारी जस्तै । त्यहाँ काम गरेँ । वेष्टन जर्नी हस्पिटल भन्ने थियो । त्यसपछि प्रमोसन भएर अर्को हस्पिटलमा काम गरेँ । काम गर्दै जाँदा त्यहाँको रक्षा मन्त्रालय अन्तर्गतको स्वास्थ्य सेवामा एप्लाई गरेँ, त्यहाँबाट मलाई स्पोर्टस मेडिसिनमा मास्टर्स र पिएचडीको लागि रक्षा मन्त्रालय अन्तर्गतको आर्मीबाट स्कोलारसीप पाएँ । त्यहीँबाट मेरो जब पनि निरन्तर भयो र पिएचडी पनि गरेँ । त्यहाँको स्वास्थ्य विभागको टप लेभलसम्म पुगेको थिएँ । प्रहरी हेल्थ थियो ।”
राजनीतिमा इन्ट्री
त्यतिबेला उनले कम्युनिटी सर्भिस क्षेत्रमा पनि काम गरिरहेका नै थिए । प्रशासनको काम त्यहाँको पनि उस्तै खालको रहेको उनी बताउँछन् । चिनेको भए हुने, नत्र ढिलो ..... त्यस्तै ।
कामकै शिलशिलामा एकपटक त्यहाँका काउन्सिलरसँग उनको झगडा पनि भयो । “आर्मीमा काम गर्दागर्दै लोकलमा कम्युनिटी सर्भिस लगायतका काम पनि गरिरहेको थिएँ, त्यसपछि मलाई त्यहाँको राजनीतिमा रुचि जाग्यो, कति कुरा काम त हामीले भनेको चाहिँ हुन्छ भन्ने तर काम नगरिदिने हुँदा खेरि एकपटक चाहिँ त्यहाँको काउन्सिलरसँग झगडा नै भयो,” उनी भन्छन् ।
उनले एउटा प्रपोजल ल्याउने र काम गर्ने विषयमा विवाद हुन पुगेको थियोे । त्यहाँका पदाधिकारीहरुले प्रक्रियाको बारेमा बेवास्ता गरेपछि नै उनी राजनीतिमा होमिने र चुनाव जितेर देखाउने अठोट गरे ।
तर, उनको अठोटलाई त्यहाँका पदाधिकारीले पत्याएनन्, जगन्नाथ चुनावमा होमिए र २०१४–१५ को डेपुटी मेयर नै बनेर देखाइदिए । गतसाल मे महिनामा भएको अर्को चुनावमा उनी कन्जरभेटिभ पार्टीबाट दुइतिहाई मतका साथ मेयरमा नै निर्वाचित भए ।
मेडिसिनमा विद्यावारिधि गरेका डा. शर्माको विभागीय व्यवस्थापन र सैनिकहरूलाई घाइते हुनबाट बचाउने एवं बिरामी भएकालाई चाँडो निको पार्ने जिम्मेवारी छ ।
गाउँ किन रित्ता ?
उनी जन्मेको घर २०७२ को महाविनाशकारी भूकम्पले पूर्ण रुपमा क्षति पुर्याएको छ । उक्त घरमा अहिले कोही पनि छैनन् । उनीमात्रै होइन्, सद्धे घर हुनेहरु पनि गाउँमा छैनन् । धेरै परिवार बसाइसराईं गरेर गएका कारण बाँदरहरुले रित्ता घरमा बिगबिगी मच्चाउने गरेका छन् ।
ग्रामीण क्षेत्रमा बसाइसराईंको कारणबारे प्रश्न गर्दा उनले जवाफ दिए, “अझै पनि गाउँमा समय अनुसारको विकास त हुने नै भयो, तर पनि हुनपर्ने चाहिँ भएको छैन् । पहिले र अहिलेको मानिसको अपेक्षा पनि निकै बढि छ । मानिसहरुले सूचना सहजै पाएका छन् ।, स्वतन्त्रता पनि पाएका छन् । दुःख नगरी धनी बन्ने मानिसको चाहना पनि भयो ।”
बसाइसराइबारे उनले कारण पनि बताए ।
बाहिर गए केही भइहाल्छ कि भन्ने आशाले पनि गएका छन् । गाउँमा नै बसे पनि प्रतिष्पर्धाको लागि त गाउँ र शहरमा शिक्षा अर्थ सबै कुरा असमान छन ।
जहिलेसुकै सरकारले पाउने सुविधा, बाहिर गए राम्रो शिक्षा पाइएला, बोर्डिङ पढाएपछि रामो शिक्षा पाइन्छ भन्ने कुरा छ ।
गाउँमा खेतीपातीबाहेक अन्य जब अपरच्युनिटी पनि छैन । अझ हाम्रा पालामा त टिचर नै थिएनन्, ।
“मेरो त जन्मगाउँ, त्यहाँबाट हुर्केको हुनाले गाउँमा कति दुःख छ कति मेहनती छन्, मलाई थाहा छ । उनीहरु कति डिस्ट्रयाक्ट एक किसिमले आर्टिफिसयल्ली नै उनीहरुलाई डिष्ट्रयाक्ट गरिएको छ । एजुकेशन छैन, आर्थिक स्थिती कमजोर छ, जग्गाको भाउ पनि छैन् । अवसर पाएका छैनन्, हामीले केही गर्न सकिन्छ कि भनेर मैले सोचिरहेकोे छु,” उनले भने ।
जन्मगाउँलाई स्थानीय सरकारमार्फत भगिनी सम्बन्ध काम गर्ने र त्यहाँको स्किल, नलेज र आइडिया दिन सकिन्छ कि भन्ने योजनालाई उनले अहिले अगािड बढाएका छन् ।
“मैले ब्रिटेन र नेपाल सरकारबीच पुलको काम गर्न सक्छु । भगिनी सम्बन्ध कायम गर्न सकिन्छ । भगिनी सम्बन्ध कायम गरे यताको मानिस उता र यताको मानिस उता जान पाउँछन् । केही कुरा सिकिन्छ । शिक्षामा नै केही गर्न सक्यो भने, शिक्षा भनेको भविष्यको इम्पावर गर्ने हो । सरकारले पनि उक्त क्षेत्रको विकासको लागि राम्रो शिक्षा पठाउनुपर्यो, अरु इन्फ्रास्टक्चर चाहिने हो । हामीले त्यहाँको शिक्षण संस्था र स्वास्थ्य संस्थाबिच एक्सचेन्ज गर्न सकिन्छ र मैले पहल पनि गर्दैछु,” उनले भने ।
खर्चिलो चुनावले विकृति
उनले निर्वाचनमा शिक्षा र स्वास्थ्यलाई एजेण्डा बनाएका थिए । गाउँमा पनि शिक्षालाई नै महत्व दिएर अगाडि बढाउनुपर्ने उनको सुझाव छ ।
“समस्या के हो भन्दा अहिले गाउँको स्थिती त्यति थाहा छैन् । शिक्षकको अभाव छैन्, उनीहरु कत्तिको अपडेटेड छन्, विद्यार्थीलाई मैले जानेको कुरा सिकाउने भन्ने किसिमको संकल्प नगरेसम्म सरकारले मात्रै गरेर हुँदैन् । मैले सुनेको जागिरको लागि मात्र गर्ने गरेका छन्,” उनले भने ।
रोजगारअनुसारको शिक्षा र सो अनुसारको नीतिमा जोड दिएर गुणस्तीय शिक्षा दिन सकिने उनको बुझाई छ । महंगो चुनावका कारण विकृति आएको र त्यही विकृतिले नै संस्कार बिग्रेको उनको ठम्याई छ ।
शिक्षाले व्यवहारिक बनाउने हो, घोकेर मात्रै भएन, अब रोजगार अनुसारको शिक्षा हुनुपर्छ । रोजगारसँग मात्रै दाँज्न पनि मिल्दैन, हामीले नै क्रियसन गर्ने किसिमको एजुकेसन दिन सक्नुपर्यो । कति मानिसहरु सहरबाट गाउँ पनि फर्केका छन् । रोजगार मात्रै हेरेर शिक्षा दिनु पनि गलत नै हो । शिक्षकले चाहिँ विद्यार्थीहरुलाई जागिरमात्रै हो भन्ने कन्सेप्ट चेन्ज गर्नुपर्छ ।
अर्को कुरा पोलिसीले पनि फरक पार्ने कुरा हो । नेपालमा सबैभन्दा ठुलो विकृति आएको चाहिँ चुनाव महंगो छ, चुनाव जितेपछि त्यही खर्च उठाउने परिपाटीले हाम्रो संस्कार नै बिग्रेको हो ।
नेपालमा डेढलाख पर्यटक पठाउछौँ
सुरुमा नै उनले भनेका थिए, “भिजिट नेपाल २०२० को लागि हामीले के सहयोग गर्न सक्छौँ, भन्ने उद्धेश्य नै अहिले म नेपाल आउनुको कारण हो ।”
बेलायतको उच्च पद नीति बनाउने तहमा पुगेका नेपालीबाट सरकारले अपेक्षा राख्नु स्वाभाविक नै हो । गण्डकी प्रदेशमा जन्मिएका कारण गण्डकी सरकारले पनि आशा राखेको छ । अहिले नेपालमा भ्रमण वर्ष २०२० र गण्डकीमा छिमेकी पर्यटन वर्ष २०२० चलिरहेको छ । दुवैको उद्धेश्य बढि पर्यटक ल्याउने र अर्थतन्त्रमा सहयोग पुगोस भन्ने हो ।
यसबारेमा उनले बेलायतका डेढलाख नेपालीलाई यसपटक फ्यामिली टुर नेपालमा गर्नुहोस भनेर अनुरोध गर्ने बताए । सँगै पर्यटन सुधारका केही टिप्स पनि दिए ।
“हामीले चाहिँ बेलायतमा प्रचारप्रसार व्यापक गरिराखेका छौँ, नेपालमा पर्यटनबाट लाभ लिन सकिन्छ । पर्यटकले असाध्यै मन पराउनुहुन्छ । अर्को धार्मिक पर्यटनमार्फत पनि हामीले पर्यटक ल्याउन सक्छौँ । बेलायतमा झण्डै डेढलाख नेपाली छौँ । सबै वर्षमा एकदुईपटक बाहिर जानुपर्छ भन्ने छ, यो पटक सबै नेपालमा जाऔँ, भन्ने छ । साथीहरुलाई पनि,” उनले थपे, “अर्को चुनौती के छ भने, खर्च सक्ने वातावरण पनि बनाइदिनुपर्यो, भिड मात्र बढाएर हुने पनि होइन, खर्च गर्ने ठाउँहरु प्रशस्त बनाउनुपर्छ ।”
पर्यटकहरु आइसकेपछि खर्च गर्ने वातावरण तय गर्ने र पर्यटकले खर्च गर्दा उनीहरु पनि सन्तुष्ट हुनुपर्नेमा उनले जोड दिए ।
“युरोपबाट एयरलाइन्स भए त सहज हुन्थ्यो नभएपनि समन्वय गरेर गर्न सके हुन्छ, पर्यटक आएपछि ठगिएको महसुस गर्न नपरोस । त्यो वातावरण सरकारले गराइदियो भने पर्यटक आउँछन् र हामी पनि त्यसमा लागिरहेका छौँ । अहिले म आउनुको कारण पनि पर्यटक कसरी भित्र्याउन सकिन्छ भन्नको लागि हो ।” उनको भनाई छ ।
म, मकैको फूला भएछु...
अन्त्यमा उनलाई सोधियो, “जन्मगाउँको याद आउँदैन ?” उनले भने, “म कालीगण्डकी तिरमा बाख्रा चराएको सम्झिन्छु, झिलिङमा बाँदरसँग पौँठेजोरी खेलेको सम्झिन्छु, तात्तातो खाना खाएर विद्यालय कुदेको सम्झिन्छु, साथीहरुसँग भलिबल खेलेको सम्झिन्छु, मकै भुट्दा मकै भुट्ने भाँडो (हाँडी) बाट केही फूला उछिट्टिएर बाहिर पुग्छन्, म त्यही मकैको फूला भएँछु ।”
संवादको अन्तिममा उनले सुझव दिए र भने, “मेहनत गर्नुहोस्, लक्ष्य लिनुहोस्, त्यो लक्ष्य पूरा नभएको अर्को विकल्पको लक्ष्य पनि बनाइराख्नुस् है । निरन्तर लागिरहनुहोस् । उतारचढाव जिन्दगीको प्रक्रिया नै हो । मेहनत र लक्ष्यलाई चाहिँ लिइराख्नुहोस् ...।”