पोखरा । जिल्ला फुटबल संघ कास्कीका अध्यक्ष मिलन गुरुङलाई तीन झापड हानेपछि गुरुङको जाहेरीका आधारमा कास्की हिरासतमा तीन रात बिताएका गण्डकी प्रदेशसभा सदस्य राजीव गुरुङ आइतबार साँझ छुटेका छन् । जिल्ला प्रशासन कार्यालय कास्कीले उनलाई छ हजार धरौटी लिएर तारेखमा छोडेको हो ।
उनलाई प्रहरीले बिहीबार पक्राउ गरेको थियो ।
तारेखमा रिहा हुनेबित्तिकै मनाङेले सञ्चारकर्मीसँग कुराकानी गरे र भने, “मलाई कास्कीको हिरासत मन पर्यो ।” उनलाई सोधिएको प्रश्न थियो, “कास्कीको पनि हिरासतमा बस्नुभयो र काठमाडौंमा पनि हिरासतमा बस्नुभएको छ, कस्तो रह्यो अनुभव ?”
उनले भने, “काठमाडौंमा भन्दा ठिक रहेछ, यहाँ उडुस देखिन के मैले, काठमाडौंमा उडुस बढी हुन्छ के मलाई त मजै लाग्यो, रेस्ट गर्न पायो । २ दिन मजाले सुतेँ ।” उनले जिल्ला फुटबल संघ कास्कीका अध्यक्ष मिलन गुरुङले आफ्नै बेवकुफीका कारण मुद्दा खेपेको बताए ।
“त्यो मान्छे बेवकुफ लाग्यो मलाई । अहिले उसले आफैं दुख पाएको छ, मैले त्यसलाई मुद्दा हालेको पनि छैन् । मुद्दालाई राजनीतिकरण गरे । मनाङबाट आएको टिमलाई हेरेन भन्ने सानो डिस्कसलाई यत्रो मुद्दा बनाइयो । हाम्रो मनाङलाई गाह्रो छ, हाम्रो बेस यहाँ होइन् । मैले जिल्लावासीलाई परेको प्रब्लम मैले हेर्नैपर्छ । तर, यसले यस्तो ठुलो स्क्याण्डल बनाइदियो र अहिले आफैले दुख पाएको छ । अहिलेसम्म १५ १६ जना मुद्धा हाल्न आएका छन् । आफै ठग्यो, ठगले मुद्धा हालेपछि देश सकियो त,” उनले भने ।
मिलन गुरुङलाई पनि प्रहरीले शुक्रबार बैंक ठगी प्रकरणमा पक्राउ गरेको थियो ।
जिल्ला फुटबल संघ भ्रष्टाचार बल्ल खुलेको उनले बताए । यस्तै, एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पालाई पनि मनाङेले प्लेनमा नै सुतेको भनेर व्यंग्य हाने ।
“एन्फाको भ्रष्टाचार बल्ल खुलेको हो । एन्फा कसैको बाउको सम्पत्ति होइन् । विदेशीले नेपालीलाई खेलोस भनेर पठाएको हो, यिनीहरुले एक्लै खाका छन् । फिफाको पैसा सबै मिलेर खान थाले । एन्फाको अध्यक्षलाई हेर्नुस जहिले प्लेनमा हिँड्छ, शेर्पा हो त्यो, खासमा पहिले गाइड हो त्यो, अहिले अध्यक्ष भएपछि बौलाएको छ, प्लेनमै सुत्छ रे त्यो,” मनाङेले भने ।