पोखरा । राजीव गुरुङ उर्फ दीपक मनाङे सांसद बन्नुपूर्वको पाटो छुट्टै छ । माननीयको हैसियत पाउनुअघि उनको छवि अर्कै थियो । कुनै समय गुण्डा नाइकेको परिचय बनाएका मनाङे राजनीतिमा प्रवेश गरेर ०७४ को प्रदेशसभा निर्वाचनबाट विजयी समेत भए ।
चुनावताका उम्मेदवार छनोटको क्रममा तत्कालीन नेकपा एमालेले मनाङेलाई उठाउने विषयमा चर्को विरोध भएपछि मनाङेले त्यतिबेला दलीय उम्मेदवार बन्न पाएनन् । उनी स्वतन्त्र नै लडे, तत्कालीन एमालेले आफ्नो आधिकारिक उम्मेदवारको मनोनयन फिर्ता गरायो र ब्याकफोर्स दिएर मनाङेलाई जिताएको थियो ।
तर, निर्वाचित भए पनि तत्कालै माननीय बन्न भने पाएनन् ।
कारण उनको विगत थियो । विसं २०६१ सालमा अर्का गुण्डा नाइके चक्रे मिलनलाई खुकुरी प्रहार गरेको अभियोगमा उनलाई सरकारले ज्यान मार्ने उद्योगमा मुद्दा चलाएको थियो ।
२०७५ वैशाखमा पक्राउ परी जेलचलान भएका मनाङे पुसको पहिलो साता थुनामुक्त भए । त्यसको हप्तापछि नै उनले प्रदेशसभामा सपथग्रहणको लागि निवेदन दिएका थिए ।
सुरुमा सपथ नखुवाउने मनस्थितिमा पुगेका सभामुख नेत्रनाथ अधिकारीले पछि मनाङेसँग भेटवार्ता गरेपछि माघ १४ मा बल्ल माननीयको हैसियत पाएका थिए ।
त्यसको भोलिपल्टै मनाङे विहारी गाडी लिएर संसद्मा छिरेका थिए ।
त्यसयता गण्डकी सरकारले दुई अधिवेशन सकिसकेको छ । चालु वर्षको बजेट अधिवेशनपछि अहिले हिउँदे अधिवेशन चलिरहेको छ ।
अहिलेसम्मको संसदको बजेट अधिवेशनदेखि लिएर, हिउँदे अधिवेशन, शून्य र विशेष समयमा मनाङेले बोलेको रेकर्ड छैन ।
तर, दुई अधिवेशन सकिइसक्दा पनि संसदमा एकपटक पनि नबोलेर बुद्ध बनेका मनाङेले मंगलबार मुख्यमन्त्री कपमा रावणको रुप देखाए ।
बुधबारको पत्रकार सम्मेलनमा भने, “तपाईंहरु गान्धीतिरको हुनुहुँदोरहेछ । म चााहिँ रावणतिर परें ।”
२०७५ माघ १४ गते सभामुख नेत्रनाथ अधिकारीबाट उनले सांसदको सपथ खाएका हुन् । उनलाई गत असार १९ मा नेकपा प्रदेश इन्चार्ज तथा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पार्टीमा भित्र्याएका थिए ।