तस्बिर : केही महिनाअघि पोखरामा लेकसाइटमा दुर्घटनामा परेको भारतीय गाडीसँगै चाइनिज गाडी
पोखरा । यातायात व्यवस्थापन ऐन, २०४९ को दफा २९ ले विदेशमा दर्ता भएका सवारी अनुमति नलिई चलाउन पाइँदैन् । उपदफा ३० अनुसार विदेशमा दर्ता भएको सवारी नेपालभित्र चलाउने अनुमति मागेमा अधिकार प्राप्त अधिकारीले तोकिएको दस्तुर लिई बढीमा एक महिनासम्मको लागि त्यस्तो सवारी चलाउने अनुमति दिन सक्नेछ भन्ने व्यवस्था छ ।
अनुमति लिए पनि यी सवारीसाधनहरुले नेपालभित्र यातायात सेवा सञ्चालन गर्ने अनुमति पाउँदैनन् । तर, अहिले पोखरामा यत्रतत्र भारतीय नम्बरप्लेटका सवारी देखिन्छन् । निजी सवारी लिएर पोखरा घुम्न आउने, मुस्ताङ जाने भारतीय पर्यटकको संख्या पनि उल्लेख्य छ ।
भारतीय पर्यटकहरुले सार्वजनिक सवारी नै समेत लिएर आउने गरेका छन् । सवारीमात्रै होइन, खानपिनको व्यवस्थासमेत गरेर पोखरा आउने भारतीय पर्यटकहरुका कारण यहाँको पर्यटनमा कुनै सहयोग पनि नगरेको स्वयम्, पर्यटन व्यवसायीहरुको भनाई छ । यी सवारी साधनहरुलाई निषेध गर्न माग गरिएको छ ।
पोखरा पर्यटन परिषदले आइतबार जिल्ला प्रशासन कार्यालय, कास्कीलाई भारतीय सवारी साधन व्यवस्थापन गर्न माग गरेको छ । परिषदका अध्यक्ष चिरञ्जीवी पोखरेलले हस्ताक्षर गरेको पत्रमा भारतीय सार्वजनिक सवारीका कारण दुर्घटनाको कारण समेत बनेको र यहाँका सार्वजनिक सवारीहरुलाई आर्थिक मार परेको उल्लेख गरिएको छ ।
“भारतीय सवारीहरु शहरका विभिन्न चोक र बाटोबारे जानकारी बिना नै यत्रतत्र भारतीय सवारी साधनहरु सञ्चालन भइरहँदा दुर्घटना बढ्दै गएको र ट्राफिक जाम बढ्दै गएको अवस्थालाई मध्यनजर गर्दै भारतबाट आउने नीजि पर्यटक वाहन बाहेक सार्वजनिक यातायातका साधनहरु यस क्ष्ोत्रमा प्रयोग गर्न नदिई यसै क्षेत्रमा सञ्चालित सार्वजनिक सवारी साधनहरु प्रयोग गर्ने व्यवस्था मिलाई दिनुहुन अनुरोध गर्दछौँ । यसो गर्न सकेमा मात्र पोखरामा आउने भारतीय पर्यटकहरुको बसाई लम्बिनुका साथै पर्यटन वाहन र अन्य सार्वजनिक सवारीका व्यवसायीहरुले आर्थिक उन्नती गर्न सक्छन्,” विज्ञप्तीमा उल्लेख छ ।
पोखराका पर्यटन व्यवसायीहरुले गत भदौ ११ गते पोखरा आएका पर्यटन मन्त्री योगेश भट्टराईलाई ११ बुँदे ज्ञापनपत्रमा पनि भारतीय सार्वजनिक यातायातका साधनहरु पोखरा आएपछि निश्चित स्थानमा सुरक्षित रुपले पार्किङ्ग गर्ने र स्थानीय सार्वजनिक सवारी साधनबाट दृश्यावलोकन गराउने व्यवस्था हुनुपर्ने बताएका थिए ।
अहिले गण्डकी प्रदेश सरकार आन्तरिक पर्यटन वर्ष २०१९ को संघारमा छ भने नेपाल सरकार भ्रमण वर्ष २०२० को उद्धाटनको पूर्वसन्ध्यामा छ । सरकारले ११० वटा र गण्डकी प्रदेश सरकारले ११० वटा पर्यटकीय गन्तव्य तोक्दै पर्यटकहरुलाई भ्रमणको लागि निमन्त्रणा दिएका छन् ।
तर, भारतदेखि नै सार्वजनिक सवारी लिएर आउने पर्यटकहरु केही स्थानको मात्र भ्रमण गर्ने गरेको उल्लेख छ । “सुन्दर पर्यटकीय नगरी पोखरामा आउने भारतीय सवारीबाट यस क्षेत्रमा रहेका सबै पर्यटकीय गन्तव्यहरुको बारेमा जोडिएको ऐतिहासिक, सांस्कृतिक र प्राकृतिक महत्वका बारेमा व्यवस्थित किसिमले सूचना एवम् जानकारी नदिई २-४ वटा स्थानमा मात्र दृश्यावलोकन गराउने प्रवृत्तिको विकास हुँदै जाँदा अन्य स्थानहरु ओझेलमा परेको र पोखरामा भारतीय पर्यटकहरुको बसाई दर घट्दै गएको छ,” विज्ञप्तीमा भनिएको छ ।
यता जिल्ला प्रशासन कार्यालयले भने जिल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरी कार्यालयलाई पत्र लेख्दै सहयोग तथा समन्वय गर्न आदेश दिएको छ । ट्राफिक प्रहरी कार्यालय कास्कीका निमित्त प्रमुख जितजंग कार्कीले चाहिँ कानून अनुसार चल्न पाउनेलाई त्यत्तिकै रोक्ने कुरा हुँदैन । दैनिक राजस्व तिरेका सवारीहरु चल्ने गरेका छन् ।
“त्यसलाई अहिले पत्रकै आधारमा कार्यान्वयन गर्ने कुरा हुँदैन, एसपीलाई सोधेर के गर्न मिल्छ गरौँला,” उनले भने । नेपाल पर्यटक यातायात व्यवसायी संघ गण्डकीका अनुसार पर्यटन सवारीमा मात्रै झन्डै ४ अर्ब रुपयाँ लगानी रहेको छ । यस क्षेत्रमा ८०० पर्यटन सवारी गुड्ने गरेका छन् ।
गण्डकी प्रदेशको राजधानी पोखरा सहित गण्डकी प्रदेशका पर्यटकीय स्थलहरुमा २०७५ सालको साउन पछिका ११ महिनामा दुई लाख ८८ हजार विदेशी पर्यटक आएको तथ्यांक संकलन गरिएको थियो । गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका अनुसार हवाई मार्ग र स्थल मार्ग हुँदै आउने भारतीय पर्यटकको संख्या १ लाख १६ हजार रहेको देखिन्छ ।
नेपाल पर्यटन बोर्डका अनुसार भारतबाट सन् २०१८ मा एक लाख ९४ हजार ३२३ पर्यटक नेपाल आएका थिए । पछिल्ला बर्षहरुमा पोखरा आउने भारतीय पर्यटकको संख्या समेत बढ्न पुगेको देखिन्छ । पश्चिमाञ्चल होटल संघ पोखराले भारतीय शहरहरुमा संचालन गरेको चलिए पोखरा अभियान, नाट्टा गण्डकीले भारतमै संचालन गरेको फार्म ट्रिप र रेवान पोखराले पूर्वोत्तर भारतमा संचालन गरेको प्रचारात्मक अभियानले समेत त्यस्तो प्रभाव देखिएको बताउने गरिएको छ ।
परिषद्ले समेत नेपाल पर्यटन बोर्डसँग मिलेर पूर्वोत्तर भारतमा विभिन्न प्रबर्द्धनात्मक भ्रमण सञ्चालन गर्ने गरेको छ । १५ महिना अघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मुक्तिनाथ मन्दिर पुगेपछिसमेत भारतीय पर्यटक नेपालमा बढ्न पुगेको व्यवसायी बताउँछन् ।