पोखरा । गुगल, फेसबुकले हाम्रो भाषा अनुवाद गर्छन्, तर के त्यो अनुवाद सही छ त ? नेपालमा नेपाली बाहेकका अन्य भाषाको अनुवाद किन भएको छैन ? कसरी भाषा अनुवाद हुन्छ ? अन्य भाषाहरुलाई अनुवाद गर्न कस्तो कम्प्युटर प्रोग्रामिङ गर्ने ? पोखरास्थित गण्डकी बोर्डिङ स्कुलमा पछिल्लो १० दिनसम्म आर्टिफिसियल इन्टलिजेन्स (एआई) को बारेमा अध्यापन गराइएको छ । विभिन्न १२ देशका एक सय चालीस विद्यार्थीहरुले १० दिनसम्म कक्षा लिएका छन् ।
यही कक्षामा विद्यार्थीहरुलाई माथि उल्लिखित प्रश्नहरुको बारेमा पनि जानकारी गराइयो ।
यो १० दिनमा नै उनीहरुलाई पछिल्ला समय विज्ञान र प्रविधिका बारेमा भएका नवीनतम सोच र खोजहरुको बारेमा जानकारी विभिन्न विश्वप्रख्यात विद्यालयका प्रोफसर, प्रसिद्ध खोज संस्थाका रिसर्चर र उक्त स्थानसम्म पुगेका नेपालीहरुले जानकारी दिए ।
अहिले फेसबुकमा फोटो पोष्ट गर्दा फेस ट्यागको पनि सुविधा छ । त्यस्तो प्रविधिको विकास कसरी भयो ? सामाजिक सञ्जालका अलावा स्वास्थ्य, विज्ञान, प्रविधिलगायतका क्षेत्रमा प्रयोग भइरहेको एआइको प्रयोगबारेको आधारभूत जानकारी विद्यार्थीहरुलाई गराइएको छ ।
“गुगलको अनुवादलाई कसरी उत्कृष्ट गराउने, नेपालका अन्य भाषाको अनुवाद गर्न सक्ने कम्प्युटर क्षमताको विकास कसरी गर्ने भन्ने विषयमा विद्यार्थीहरुलाई आधारभूत तहको अध्यापन गराएका हौँ,” नामी अध्ययन संस्थाका रिसर्च साइन्टिष्ट विशेष खनालले भने ।
यही संस्थाले १० दिनसम्म एआईको बारेमा अध्ययनको व्यवस्थापन गरेको हो ।
पीएचडी होल्डरदेखि मास्टर्स, ब्याचलर तहका विद्यार्थीहरु कक्षामा सहभागी छन् । विशेषगरि म्याथ र कम्प्युटर प्रोग्रामिङको बारेमा विद्यार्थीहरुलाई अध्यापन गराइएको छ ।
“अमेजनमा सामान कसरी किन्ने ? आफूलाई चाहिने फिल्म कसरी चुज गर्ने ? स्वास्थ्य क्षेत्रका एमआरआई, सिटीस्क्यान जस्ता अत्यधुनिक प्रविधिहरु छन् । त्यसबाट प्राप्त हुने इमेजबाट कसरी काम गर्ने, रोग पहिचानको विषय, त्यसमा देखिने जटिलता । रोबोटिक्स सम्बन्धी अध्यापन गराइएको छ,” उनले भने ।
सहभागी विद्यार्थीहरुलाई मासाचुसेट्स, हार्वड विश्वविद्यालय जस्ता प्रतिष्ठित शिक्षण संस्थाका प्रोफेसरहरुले अध्यापन गराएका हुन् ।
विज्ञान र प्रविधिको क्षेत्रमा नेपाल निकै पछाडि छ । तर पनि नेपालले प्रविधिको क्षेत्रमा विभिन्न एपदेखि रोबर्टसम्म बनाएका छन् । नेपालको प्रविधिको क्षेत्रमा क्रियाशील व्यक्तिहरु पनि कक्षामा सहभागी छन् ।
“प्रविधिलाई विश्वसँग कसरी प्रतिष्पर्धी बनाउने भन्ने विषयमा आधारभूत ज्ञान दिइएको हो । नेपालमा यस्तो ज्ञानको कमी छ । संसारका उत्कृष्ट प्रयोगशालामा काम गरेका २५ जनाले पढाइरहेका छन्,” खनालले भने ।
कक्षा विशेषगरि साइन्स एण्ड टेक्नोलोजी सहित एआइमा भएको विकासको बारेमा केन्द्रित छ । नेपाल, भारत, श्रीलंका, बंगलादेश, फिलिपिन्स, सिंगापुर, रसिया, युगाण्डा, स्विटजरल्याण्ड, पोल्याण्डसहितका विद्यार्थीहरुबीच अनुभव सेयरिङ गर्ने, सिक्ने, सिकाउनेका साथै विभिन्न विधागत सेसनबाट विद्यार्थीहरुलाई जानकारी दिइएको हो ।
गतवर्ष काठमाडौंैपछि नेपालमा नै दोस्रोपटक एआइको कक्षा सञ्चालन भएको गण्डकी बोर्डिङ स्कुलका शिक्षक अशोकराज पराजुलीले जानकारी दिए ।