पोखरा । “मेरो पार्टी सभापतिलाई जहाँनेर बचाउनुपर्ने हो त्यहाँनेर बचाउँछु, जहाँनेर सोध्नुपर्ने हो त्यहाँनेर सोध्छु, मेरो क्षमताले भ्यायो भने समय आउँदैछ बदल्छु,” नेपाली कांग्रेसका युवा नेता गगन थापाले यो जवाफ दिनुपूर्व सहभागीले सोधेको प्रश्न थियो, ‘हिजो गिरिजाको विरुद्ध औँला ठड्याएर बोल्ने गगन थापाहरु आज शेरबहादुरको बचावट गर्दै हिँड्दैछन, यसको उत्तर चाहियो ।’
पोखरामा जारी आठौँ संस्करणको आईएमई साहित्य महोत्सवको तेस्रो दिनको पहिलो सेसन थियो, ‘अबको नेतृत्व कस्तो ?’
वक्ता थिए नागरिक उडड्यन, पर्यटन तथा संस्कृती मन्त्री योगेश भट्टराई, प्रतिनिधि सभा सदस्य गगन थापा र साझा पार्टीका संयोजक रवीन्द्र मिश्र । सहजीकरण गरेका थिए, नयाँ पत्रिकाका सम्पादक उमेश चौहानले ।
अहिलेको राजनीतिक परिस्थितिदेखि लिएर चर्चामा रहेको रियालिटी शोबाट नेता जन्माउने प्रश्नोत्तर पनि सेसनमा चल्यो ।
२०७४ को चुनावमा एकीकरण भएर चुनावमा होमिएका साझा र विवेकशीलको फुटको कारणबारे मिश्रलाई प्रश्न सोधियो ।
मिश्रले जवाफ दिए, “हामीलाई ठेस लागेको छ र पनि हामी हिँडिरहेका छौँ । सबै ढोका बन्द भइसकेको छैन । पुराना राजनीतिक दलहरुले विगतमा कतिचोटि जुटे र फुटे भनेर जनता निराश भएका होइनन् । उनीहरुले डेलिभर गर्न सकेनन् भनेर निराश भएका हुन् । यात्राको क्रममा कहिलेकाहिँ ठेस लाग्छ, तर ठेस लागेकोबाट हामीले शिक्षा लिएर उभिएर हिँड्दै छौँ ।”
कर्मचारीदेखि प्रहरी, सेना, न्यायालयमा पनि राजनीतिकरण गरिएको भन्ने प्रश्न भट्टराईलाई सोधियो । उनले चिनियाँ सेनाको उदाहरण दिँदै भने, “एकदुई शब्दमा के भन्छु भने १९८० अगाडि त्यही सेना हो जसले आफैँलाई ध्वंस गर्न हिँड्यो । देङ स्याओ पिङको नेतृत्वपछि त्यही सेना हो जसले चीनलाई बनाउन हिँड्यो । कसरी चलाउनुहुन्छ भन्ने कुरा मेजर हो ।”
अहिले सामाजिक सञ्जालमा बहस र चर्चा भइरहेको एउटा रियालिटि शो ‘द लिडर’ कार्यक्रमलाई पनि योगेश भट्टराईले व्यङ्ग्य हाने, “नेतृत्व प्रक्रियाबाट जन्मिने हो । कुनै जोखाना हेरेर जन्मिने होइन ।”
उनै भट्टराईलाई कालापानी, लिपुलेकलगायत सीमा मिचिएको बारेमा पनि प्रश्न गरे । दर्शकहरुलाई मन्त्रीले जवाफ दिए यसमा सबै दलको एकमत छ । राष्ट्रियताको विषयमा सरकारले कूटनीतिक तवरले वार्ता गरेर समाधान गर्दछ ।
यही विषयलाई लिएर प्रमुख प्रतिपक्षी कांग्रेसको धारणा दर्शकले सोधे ।
गगन थापाले जवाफ दिए, “कालापानी पनि नछाड्ने, बालुवाटार पनि नछाड्ने, गोकर्ण पनि नछाड्ने, कालापानीको बारेमा सरकारलाई खबरदारीसँगै मद्धत गर्ने हो । बालुवाटार र गोकर्ण जस्तो ठाउँमा सरकारसँग भिड्ने हो ।”
उपस्थित दर्शकले मिश्रलाई प्रश्न गरे– तपाईँको पनि कोट मैलो देखिन लाग्यो नि ?
मिश्रले भने, “तपाईँ पनि पुरानै जस्तो हुन लाग्नुभयोकि भन्ने होला, हो फोहोर पोखरीमा फोहोर सफा गर्न भनेर पसेको हो, मैलो लागेको छ । पोखरी सफा गरेर निस्कने हो ।”
रवीन्द्रले बीबीसीमा हाम्रै समाचार पढ्दै हुन्थे
गाउँका उपभोक्ता समितिदेखि लिएर शिक्षकहरु सबै राजनीतिक कार्यकर्ता बनेको टिप्पणी गर्दै मिश्रले भने, “अहिलेका राजनीतिक दलका संरचना भनेका हतियारबिनाका फौजी संरचना हुन् ।”
मन्त्री भट्टराईले जवाफ दिए, “नेपाल कम्युनिष्ट पार्टी र नेपाली कांग्रेसजस्ता दलले चलाएको डोजरबाट मैदान सम्याउन नसकेको भए यो लोकतन्त्रको नयाँ मैदान बनाउन नसकेको भए, गगन थापाजी र म रत्नपार्कमा मसाल जुलुश गरिरहेका हुन्थ्यौँ र रविन्द्र मिश्रले बीसीसीमा हाम्रो समाचार फुकिरहेका हुन्थे ।”
“हामीहरु चुनौतीमा छौँ । तपाईका प्रश्नहरुको ठिक ढंगले कामबाट जवाफ दिएन सकेनौँ भने हामीले गणतन्त्र ल्याउने बेलामा अग्रभागमा थियौँ भनेर पुजा गरिरहनुपर्छ भन्ने छैन,” भट्टराईले भने ।
मिश्रलाई थापाले पनि व्यङ्ग्य गरे, “पुरानो नेता, सबै खराब तिनको आचरण खराब, हामीमात्रै सज्जन छौँ भन्नेबाट छलफल गर्यौँ भने ठिक ठाउँमा पुगिँदैन, तिनमा पनि केही गुण छन्, योग्यता छन्, त्यसकारण न नेता भए । लिन मिल्ने कुरा लिने हो, नमिल्ने कुरा लिने होइन ।”
मिश्रले दुवै नेताहरुलाई जवाफ फर्काए, “राष्ट्रिय ध्वजावाहक छाडेर व्यापारिक घरानाको प्लेन चढ्नु, चढ्नुमात्र होइन, दुर्भाग्यवश त्यही मृत्युवरण पनि गर्नुछ । त्यसैकारण पनि राजनीतिक नेतृत्वको आचरणमा हामीलाई गम्भीर समस्या छ ।”
उनले थपे, “हामी यस्तो नेतृत्व चाहन्छौँ, जसले बालुवाटार काण्ड नगरोस्, जसले आलम काण्ड नगरोस्, फेरि गोकर्ण रिसोर्ट काण्ड नगरोस्, नेपाल ट्रष्टको जग्गा व्यापारिक साँठगाँठमा नदिओस् ।”