पोखरा । जारी १३ औँ दक्षिण एसियाली खेलकुद (साग) मा नेपाली महिला फुटबल सावित्रा भण्डारीले नयाँ कीर्तिमान बनाएकी छन् । माल्दिभ्सविरुद्ध ह्याट्रिक गरेसँगै साबित्रा नेपालका लागि सर्वाधिक गोलकर्ता बनेकी छन् । उनको ह्याट्रिकको मद्दतमा नेपालले जारी सागको फाइनलमा स्थान बनाएको छ ।
पोखरा रंगशालामा बिहीबार साबित्राले दुई किर्तिमान बनाइन् । पहिलो थियो पूर्वकप्तान अनु लामाको ३५ गोलको कीर्तिमान भंग र दोस्रो सर्वाधिक गोलकर्ताको नयाँ कीर्तिमान ।
अब साबित्रा नेपालकी लागि सर्वाधिक गोल गर्ने एकमात्र खेलाडी बनेकी छन् । पहिचानमा नयाँ शब्द (सर्वाधिक गोलकर्ता) थपेकी सावित्राले श्रीलंकाविरुद्ध नै नयाँ कीर्तिमान बनाउने लक्ष्यमा रहेको बताएकी पनि सफल नभएको बताइन् ।
तर दोस्रो खेलमा माल्दिभ्सविरुद्ध १६ मिनेटमा पहिलो गोल गरेकी साबित्राले २० औं मिनेटमा दोस्रो तथा ९१ औँ मिनेटमा ह्याट्रिक पुरा गरेकी थिइन् । जारी १३ औँ सागमा पहिलो ह्याट्रिक गरेकी साबित्राले किर्तिमानलाई श्रीलंकाविरुद्धको खेलमा नै पुरा लक्ष्य बनाएकी थिइन् । तर उनी सफल भइनन् ।
कीर्तिमानका लागि माल्दिभ्ससँगको खेल पर्खिएकी साबित्रा अन्नत सफल भइन् । “जे होस म खुशी नै छु । श्रीलंकाविरुद्ध नै मैले त्यसलाई ब्रेक गर्छु भनेको थिएँ । सकिन । आज पाएको 'चान्सलाई युटिलाइज्' गरेँ, नयाँ रेकर्ड बनाउन सफल भएँ । एकदम खुशी छु, रेकर्ड ब्रेक गर्दा,” उनले भनिन् ।
श्रीलंकाविरुद्धको खेल नेपालले १-० ले जित्दा बैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेकी सरु लिम्बुले गोल गरेकी थिइन् ।
माल्दिभ्सविरुद्धको खेलमा ह्याट्रिक गरेकी साबित्रा मैदानमा निकै उत्साहित देखिन्थन् । किनकी उनले यसअघि भारतमा सम्पन्न १२ औं सागमा माल्दिभ्सलाई पाँच गोल गरेकी थिइन् ।
“जुन लास्ट म्याच २०१६ मा माल्दिभ्सविरुद्ध खेल्दा मैले पाँच गोल गरेकी थिएँ । मलाई यति कन्फिडेन्ट थियो कि मैले पाएको बलहरुमा ह्याट्रिक गर्छु । मैले आजको मार्जिन नै ४ देखि ५ गोल राखेको थिएँ । त्यही मार्जिनले गर्दा म आज 'सक्सेस' भएँ । कोचले तीन पोइन्टको ड्युटी दिनुभएको थियो । त्यही तीन पोइन्ट नै मैले सोचेको थिएँ । भारतसँगको तयारी पूरा भयो ।”
नेपाली टोलीले अब शनिबार भारतसँग खेल्नेछ । नेपाली टोलीले अहिलेसम्म सागमा भारतमाथि जित निकाल्न सकेको छैन् । यद्यपि भारतमा भएको हिरो गोल्डकपमा भने नेपालले भारतमाथि जित निकालेको थियो ।
गत फागुनमा घरेलु मैदानमा भएको पाँचौं महिला साफ च्याम्पियनसिपमा नेपाल फाइनलमा भारतसँग पराजित भएको थियो । शनिबार नेपाल भारतसँग विराटनगरमा बेहोरेको हारको बदला लिने लक्ष्यमा छ ।
साबित्रा भन्छिन्,“गोल्डको फिफ्टी÷फिफ्टी चान्सेस छ । हिरो गोल्डकपमा उनीहरुको भूमिमा हामीले जितेका छौँ, साफ च्याम्पियसीपमा उनीहरुले हाम्रो भूमिमा जितेका छन्,” उनले भनिन्, “यसपाली हामीले बदला लिनेछौँ ।”