site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
 विद्याको जीवनमा त्यो फागुन १५, यो मंसिर १५
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad
SkywellSkywell

अनेकौं आकलन र अड्कलबाजीका बीच कास्की–२ को उपनिर्वाचनमा भारी मतान्तरसहित विजय हुँदै नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवार विद्या भट्टराईले अन्ततः आफ्नो जीवनयात्रा संसद्तर्फ डोर्‍याएकी छन् । शनिबार भएको मतदान र आइतबार सम्पन्न मतगणनामा उनले नेपाली कांग्रेसका उमेदवार खेमराज पौडेललाई ८ हजार ४०३ मत उछिनिन् । विजयको झण्डा फहराइन् ।

संसद् भवनको बाटो खुलेसँगै विद्याको राजनीतिक पुनरागमन भएको छ । उनी अब कास्की–२ बाट प्रतिनिधिसभामा जनताको प्रतिनिधिको रूपमा उभिनेछिन् । जनताको मत र मन दुवै जितेर संसद्को बाटोतिर अघि बढ्दैगर्दा आफ्नो जीवनका नौ महिना भने निकै कठिन अवस्थामा गुजारिन् । 
राजनीतिबाट ओझेल परेर अध्यापन–प्राध्यापनतिर पाइला अगाडि बढाउँदै गर्दा विद्याले सायदै सोचेकी हुँदिहुन्– म पुनः आँसुको भेल तरेर राजनीतिमै फर्कनुपर्छ ।

० ० ०

KFC Island Ad
NIC Asia

ठीक नौ महिनाअघि । फागुन १५, २०७५ को ओसिलो दिनलाई स्मरण गरौं । 

मध्य फागुनको उच्चाटलाग्दो दिन निकै विरक्तलाग्दो दियो । छिनछिनमा पानी परिरहने । एककिसिमले आङमा ठिहिरो जमाउने थियो । र, उस्तै अँध्यारो पनि ।

तर विद्या बेखबर थिइन् ।

त्रिभुवन विश्वविद्यालयको अनुसन्धान केन्द्रमा काम सुरू गरेको ४० दिनमात्र भएको थियो । त्यसदिन पनि आफ्नो काम तल्लिन थिइन् ।

यता विद्याको जीवनमा सुनामी आइसकेको थियो ।

पति संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी ताप्लेजुङमा विमानस्थल अवलोकन गर्न गएका थिए । तर मन्त्री क्वाटरबाट बाहिरिँदै गर्दा उनले शुभयात्र भन्न समेत पाएकी थिइनन् । हतारो छपक्कै छोपेको थियो ।
उनी कार्यालय जाने बेलासम्ममा अधिकारी हिँडिसकेका थिए ।

कार्यालय पुगेको दुई घण्टा नबिन्तै उनको मोबाइमा लगातार घण्टी बज्न थाल्यो । फोन एकातिर थन्क्याएर काममा व्यस्त रहेकी विद्याले फोन बजिरहेको चालै पाइनन् । त्यतिबेरसम्म उनको जीवनमा अकल्पनीय घटना घटिसकेको थियो । सहकर्मीले हेलिकप्टर दुर्घटनाको खबर सुनाए । 
विद्या रन्थनिँदै विश्वविद्यालयबाट निस्किएर मूल सडकमा आइन् । विद्या पैदलै मन्त्री क्वाटरतिर सोझिएको थाहा पाएपछि त्रिविले गाडी पठाइदियो ।

उनी त्यही गाडी चढेर  पुल्चोकतर्फ सोझिइन् । सीधै मन्त्री क्वार्टर पुगिन् । सानो छोरा स्वराज भर्खर स्कुलबाट आएका रहेछन् । उनको अनुहारमा पहिलेजस्तै कान्ति थियो । आफ्नो थाप्लामाथि खनिएको ‘भ्रामरी’बारे विल्कुल अनभिज्ञ थिए । सदाझैँ भावभङ्गिमामा आमाको काखमा लुटपुटिए । 

छोराको चहकिलो मुहारदेखेपछि विद्याले थोरै त्राण पाइन् । आफ्नो अनुहारको बादल हटाइन् । मनको अँध्यारो पन्छाइन् । आँखाको आँसु आँखामै दबाइन् । छोराको मुहारतिर हेरेर फिसिक्क हाँसिन् । पुलकित हुँदै छोरो फुत्त भित्र पस्यो । 

चुकचुकाउँदै शुभेच्छुक, आफन्त आउनेक्रम बढिहाल्यो । पाँच बजेसम्म सयौँ मानिस निवास पुगिसकेका थिए । तर कसैले मुख फोरेर यसै भयो भन्न सकेनन् । आउजाउ गर्नेले केही नबताएपछि दुर्घटनामात्रै होला भनेर मनलाई आफैँ थुम्थुम्याइन् ।

अपराह्नसम्म विद्याको मनले रवीन्द्रको जीवनदीप निभिसकेको निक्र्याेल गरिसकेको थिएन ।

पाँच बज्यो । 

राजन भट्टराई बसेको ठाउँबाट जुरुक्क उठे । विद्यालाई माथिल्लो तलामा बोलाए । मन मसक्क बाँधेर, आँखाको आँसु हत्केलाले थामेर भने, “बहिनी ! ज्वाइँ रहनुभएन ! अब आफूलाई सम्हाल !”

दिनको रङ रातमा नबदलिँदै विद्याको जीवन अन्धकारले छोप्यो । चन्द्रागिरिमा डुबेको घाम सदाका लागि अस्ताएको भान भयो ।  मनको बाँध भत्कियो । आँखाबाट बलिन्द्रधारा आँसु चुहिए । मन्त्री क्वार्टरमा सान्त्वना दिन भेला भएकाहरूको सम्झाउने, बुझाउने तागत क्षीण भयो ।

राजनीतिको आरनमा अर्जापिएकी र सङ्घर्षको घामपानी सहेकी स्पातजस्ती विद्याले आफ्नै हत्केलाले आँसु थामिन् । आफैँले आफूलाई सान्त्वना दिइन् । आफैँले आफूलाई ढाडस थिइन् । आगाका फिलिङ्गाजस्ता, तामाका मुनाजस्ता दुई छोराको अनुहारले उनलाई आँसुमा बगिरहन दिएन । तिनै छोराको उद्दीप्त अनुहार शोकबाट बौरिने ओखती बन्यो ।

राजनीतिको त्यो विश्राम

रवीन्द्रले आफ्नो भौतिक शरीर लिएर गएका दिए । सपनाहरू विद्याकै काखमा सुम्पिएर । रवीन्द्रको उन्मुक्त हाँसो । जीवन्त माया ओझेल परे पनि कास्केली जनताको सपना र आफ्नै जीवनको सपना पूरा गर्ने दायित्य विद्याको काँधमा सरेको थियो ।
राजनीतिले नै रवीन्द्रसँग भेट गराइदिएकाले त्यो लिगेसीबाट पर हुन कसरी सक्थिन् र !

रवीन्द्रसँगको भेटघाटदेखि २१ वर्षे वैवाहिक सम्बन्ध र राजनीतिक जीवनाका पाना पछि बाह्रखरीको कुराकानीमा उनले सुनाएकी थिइन् ।

“राम्रो चिनजान भएको २०५० पछि हो । चिन्न त म त्यो भन्दा अगाडि नै आत्मीय साथीका हिसाबले चिन्थेँ,” उनले ती दिन सम्झँदै भनिन्, “२०५० सालमा हेटौडामा सम्पन्न अनेरास्ववियुको १२ औँ राष्ट्रिय सम्मेलनमा उहाँ कोषाध्यक्षमा निर्वाचित हुनुभयो । म महिला विभाग प्रमुख थिएँ । पछि अर्को अधिवेशनमा उहाँ महासचिव बन्नुभयो । म महिला विभाग प्रमुख नै बनेँ । त्यतिबेला ११ जनाको सचिवालय सदस्य बन्यो । त्यो अधिवेशनदेखि नै संगठनभित्र दुईवटा धार देखिएका थिए । वामदेव गौतम नेतृत्वमा माले गठन हुँदा सचिवालय भित्र ५–५ जनाको मत विभाजन भयो । म त्यतिबेला निर्णायक थिएँ । हामी पार्टी विभाजन पछि पनि सँगै भयौँ ।”  

साथी–साथीको सम्बन्ध प्रेममा बदलिइसकेको थियो । उनीहरू निकै अगाडि बढिसकेका थिए ।

त्यतिबेला संगठनभित्र उनीहरूको सम्बन्धलाई लिएर अनेकन अड्कलबाजी हुन्थे । रवीन्द्र– विद्याको प्रेम क्षणिक हो भन्ने बुझाइले पनि घर गरिरहेको हुन्थे ।

त्यसलाई उनीहरूले गलत सावित गरिदिए ।

“मेरो खुट्टामा समस्या थियो । त्यही कारण देखाएर रवीन्द्रले विद्यालाई विवाह गर्दैन, प्रेमको भ्रम मात्र छरेको हो भन्ने एउटा जमात थियो । अर्कोचाहिँ हामीलाई समर्थन गर्ने समूह पनि थियो । त्यो समूहले चाँडोभन्दा चाँडो हामीहरू विवाह बन्धनमा बाँधिएको हेर्न चाहन्थ्यो,” उनी भन्छिन् ।

२०५६ सालमा उनीहरू बीच विवाह भयो । विवाहपश्चात् उनी केही समय विद्यार्थी राजनीतिमै अटाइन् । दुवै एकै ठाउँमा हुँदा आफूलाई विकास गर्न र नेतृत्व गर्न गाह्रो होला ठानेर सल्लाहमै विद्याले आफूलाई विद्यार्थी राजनीतिको मञ्चबाट ओरालिन् ।

जनसङ्गठनका अरू हाँगाबिगाले पनि उनको भूमिकाको अपेक्षा गरिरहेको थियो । उनी पार्टीकै महिला सङ्गठन अनेमसङ्घतिर लागिन् । कार्यालय सचिव भएर काम गरिन् । तर लामो समय होइन ।

“त्यसपछि म राजनीतिमा त्यति सक्रिय हुन छाडेकी थिएँ । मैले आफ्नो पढाइलाई निरन्तरता दिएँ । उहाँले मलाई कहिल्यै यो, त्यो गर भनेर आदेश, निर्देश दिनुभएन । मैले राजनीतिमा विस्तारै निष्क्रिय हुँदा उहाँले कहिल्यै किन भनेर सोध्नुभएन, आफ्नो रुचि अनुसार नै अगाडि बढ्न भन्नुहुन्थ्यो । हात हालेका कुरामा अब्बल हुनुपर्छ भन्ने उहाँको मान्यता थियो,” उनी पति रवीन्द्रबारे सुनाउँछिन् ।

राजनीतिबाट निवृत्त भएपछि विद्याले प्राध्यापनतिर बाटो मोडिन् । तथापि विद्या र रवीन्द्रबीच  सल्लाह भइरहन्थ्यो । विद्याकै सहयोगमा रवीन्द्रको राजनीतिक जीवन शिखरित हुँदै गयो । 

मन्त्री भएपछि रवीन्द्र विद्याकै सहयोगमा अघि बढ्थे ।

वाइडबडीमा रवीन्द्रको नाम मुछियो । तर रवीन्द्र विचलित थिइनन् । सत्य छिट्टै उद्घाटित हुनेमा विश्वस्त थिए । विद्या अहिले पनि सम्झन्छिन्, “म निर्दोष छु भन्ने कुरा तिमी –लाई थाहा छ । म विचलित भएको छैन । राजनीतिमा यस्ता आरोप झेल्नुपर्छ । समयले नै यसको जवाफ दिँदै जान्छ । उहाँ भन्नुहुन्थ्यो ।”

र, फेरि राजनीतिमा

पतिवियोगको पीडा भुलाउँदै उनी फेरि नित्य काममा नै फर्किइन् । मन बाँधेर ओठमा मुस्कान छरेर छोराहरुको अभिभावकत्व पूरा गर्नु उनको दायित्व थियो । धेरैले आकलन र अनुमान गर्न थालेका थिए, विद्या अब पूर्णकालीन राजनीतिमा फर्किनेछन् । उनका पतिको अभिभारा, जनताका सपना, रविन्द्र अधिकारीका सपना अब विद्यालय पुरा गर्नेछिन् ।

विद्याको राजनीतिक जीवन पुरानै भएता पनि नियमित भने थिएन । पटकपटक संवादको बेलामा पनि उनले दिने एउटै जवाफ थियो, “पार्टीले के निर्णय गर्छ ।”

पार्टीले निर्णय नगरी मुख फोरेर परिस्थिति बिगार्नु हुँदैन भन्नेमा हमेसा सचेत देखिन्थिन्, विद्या ।  आफू निर्णय र आगामी यात्राबारे स्पष्ट थिइन् । कास्कीका जनताले पनि उनकै चाह राखे । उनलाई नै रवीन्द्रका सपनाको उत्तराधिकारी स्वीकार गरे ।

० ० ०

सरकारले मंसिर १४ गते उपनिर्वाचन गर्ने घोषणा गरेसँगै कास्कीको चुनावी माहोल पनि स्वभाविक रूपले नै तातिँदै गयो । देशमा नै एकमात्र उपनिर्वाचन हुने क्षेत्र र सत्तारुढ दलको उमेदवार को बन्ने भन्ने बहसले यहाँको राजनीतिक माहोल हरेक दिन गर्माउँदै गयो ।

निर्वाचन आयोगले कात्तिक २१ गते मनोनयन दर्ता गर्ने कार्यतालिका सार्वजनिक गरेपछि उम्मेदवार आकांक्षीहरू देखिन थाले । नेकपाको गढको रुपमा चिनिएको यस क्षेत्रबाट चुनावमा भाग लिएर संसदमा जाने रहर धेरै पाकापुराना तथा युवा नेताहरुले आकांक्षा राखे । तर, अनेकौँ आकांक्षाको बीचमा पनि विद्या भट्टराइले के भन्छिन्, भन्ने कौतुहलता पनि उत्तिकै थियो ।

त्यो, कौतुहलता मंसिर ८ गते नेपाल कम्युनिष्ट पार्टी नेकपा कास्कीले मेटाइदियो । नेकपा केन्द्रीय कमिटीले तीनजनाको नाम सिफारिस गर्न परिपत्र गरेता पनि यहाँको जिल्ला कमिटीले सर्वसम्मत रुपमा विद्या भट्टराइको नाम समर्थन ग¥यो र प्रदेशलाई सिफारिस ग¥यो । उक्त दिन पनि विद्या भट्टराइको जवाफ थियो, ‘अहिले नबोलौँ, प्रदेश कमिटीले के भन्छ कुरौँ ।’

प्रदेश कमिटीले विद्या बाहेक दुई जना थपेर केन्द्रमा सिफारिस गर्‍यो । तर, केन्द्रले विद्यालाई नै उम्मेदवार बनाउने निर्णय गरेपछि उनको राजनीतिक पुनरागमन भयो ।

तर, उम्मेदवार बनेतापनि चुनौतीका चाङ लिएर कास्की फर्किएकी थिइन्, विद्या । “म कस्केलीकी छोरी बनेर आएकी छु,”– पहिलोपटक नेकपाको जिल्ला कमिटीमा उनले दिएको अभिव्यक्ति थियो यो ।

त्यही अभिव्यक्तिलाई, रवीन्द्रका सपनालाई सार्थक पार्नका निम्ति, पोखराको विकास गर्नका निम्ति मत माग्दै उनी हरेकका घरदैलोमा पुगिन र कास्कीका मतदाताले उनलाई उपहारस्वरुप प्रतिनिधिसभा सदस्यमा विजयी गराए ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर १६, २०७६  ०७:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro