काठमाडौं । सामान्य ज्वरो रुघाखोकी लागेका बिरामीहरुमा कडा प्रकारको एन्टिबायोटिकको प्रयोग गर्दा ज्यान जाने खतरा बढेको स्वास्थ्य विज्ञहरु बताउँछन् । विज्ञहरुका अनुसार औषधी पसल, फार्मेसी र क्लिनिकमा विरामी जादाँ आफूलाई राम्रो चिकित्सक कहलाउन कडा प्रकारको एन्टिबायोटिक दिने गरेको पाइएको छ ।
ग्रान्डी इन्टरनेशनल अस्पतालका आईसीयू तथा छातिरोग विशेषज्ञ डा.प्रज्वल श्रेष्ठका अनुसार चिकित्सक तथा स्वास्थ्यकर्मीहरु आफूले दिएको एन्टिबायोटिकले बिरामी ठिक भएनन् भन्ने अर्को पटक नआउने डरका कारण बिरामीलाई अन्दाजको भरमा धेरै प्रकारको एन्टिबायोटिक दिने गरेको भेटिन्छ । “जुन आवश्यकभन्दा बढी हुन्छ । त्यस्तो एन्टिबायोटिकले हाम्रो शरीरमा नकारात्मक असर पार्ने हुन्छ ।” उनले भन्ने, “कुनै एक बिरामी ज्वरोका कारण फार्मेसी वा अस्पतालमा आउँदा बिरामीले भनेको भरमा चिकित्सकले एन्टिबायोटिक दिएको पाइन्छ । त्यसरी एन्टिबायोटिक दिइहाल्नु हुँदैन । उसको कल्चर जाँच गरेर त्यसको रिर्पोट हेरेर मात्र एन्टिबायोटिक दिनुपर्छ ।”
जिल्लाबाट रिफर भएर आईसीयूमा भर्ना भएका बिरामीहरु हेर्दा अन्दाजका भरमा उनीहरुमा धेरै प्रकारका एन्टिबायोटिकको प्रयोग गरेको पाएको उनी बताउँछन् । त्यस्ता विरामीहरुमा पहिला प्रयोग गरेका एन्टिबायोटिकले काम गर्दैन । धेरै प्रकारको एन्टिबायोटिकको मिश्रण हुदाँ हुन्छ । त्यस्ता विरामीलाई कडा एन्टिबायोटिकको प्रयोग गर्नुपर्ने र जुन महंगो हुने भन्दै डा.श्रेष्ठ भन्छन्, “त्यसरी प्रयोग गर्दा बिरामी मृत्युसमेत हुने खतरा हुन्छ ।”
एन्टिबायोटिकले शरीरका खराब ब्याक्टेरियालाई मात्र नभएर शरीरको नियमित कामको लागि चाहिने ब्याक्टेरियालाई पनि नष्ट गर्ने चिकित्कसहरु बताउँछन् । कुनै पनि एन्टिबायोटिक चिकित्सकहरुको सल्लाह बिना लामो समयसम्म सेवन गर्दा स्वास्थ्यमा नकरात्मक असर गर्ने बरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. राजेन्द्र बराल बताउँछन् ।
“कहिलेकाहीँ बिरामी आफैँ पनि चिकित्सकले भनेको समयभन्दा अगाडि नै औषधी छोड्ने गर्छन् । जसले गर्दा पुनः समस्या बल्झिन्छ । मानिसमा त्यसको साटोमा अर्को एन्टिबायोटिकको प्रयोग गनुपर्ने हुन्छ । बिस्तारै कडा खालको एन्टिबायोटिक प्रयोग गर्दागर्दै विरामीको मृत्यु समेत हुन्छ,” उनले भन्ने, “ज्वरो आएर उपचारका लागि फार्मेसी तथा औषधी पसल गयो कि सुरुमै एन्टिबायोटिक दिइहाल्ने प्रवृत्ति बढ्दो छ ।” रोग निको पार्ने चिकित्सकका रुपमा नाम चलिसकेको केही चिकित्सकले त्यो ख्याति कायम राख्न कडा मात्रै होइन, दुईतीनटासम्म एन्टिबायोटिक चलाउने गरेको डा. बराल सुनाउँछन् ।
बरिष्ठ छाति रोग विशेषज्ञ डा. अर्जुन कार्कीका अनुसार चिकित्सकले पनि एन्टिबायोटिक औषधी विरामीलाई दिँदा राम्रोसँग जानकारी दिएर मात्रै दिनुपर्छ । तर कतिपय स्वाथ्यकर्मी र चिकित्सकहरुले औषधीबारेमा जानकारी नदिदाँ विरामीलाई थाहा नभएर पनि औषधी छोड्ने गरेको डा. कार्की बताउँछन् ।
उनले भन्ने, “कतिपय विकसित देशमा एन्टिबायोटिक सिफारिस गर्नुअघि चिकित्सकले अस्पतालकै प्रमुख निकायसँग अनुमति मागेर मात्र त्यसको प्रयोग गरेका हुन्छन् । तर, नेपालका चिकित्कसले मात्रै होइन, नर्स, कम्पाउन्डर, औषधी पसले, स्वास्थ्यकर्मी सबैले एन्टिबायोटिक चलाउने गरेका छन् । उपयुक्त योग्यता भएकाले मात्रै एन्टिबायोटिक दिन पाउने नियम बनाउनु पर्छ ।”
विश्व स्वास्थ्य संगठनले सन् २०५० सम्ममा एन्टिबायोटिकको प्रयोगका कारण मृत्यु हुनेको संख्या एक करोड पुग्ने अनुमान गरेको छ । जसको असर विकशितभन्दा विकाशोन्मुख देशहरु पर्ने बताइएको छ । मनलागि एन्टिबायोटिकको प्रयोग हुने दक्षिण एशियाली मुलुकहरु एन्टिबायोटिक रेसिस्टेन्सको उच्च जोखिममा रहेको संगठनले जनाएको छ ।
एन्टिबायोटिकको प्रयोग उच्च जोखिममा रहेको मुलुकको पहिलो नम्बरमा भारत र पाकिस्तान रहेका छन् । नेपालमा अहिलेसम्म एन्टिबायोटिक रेसिस्टेन्स सम्बन्धी कुनै पनि सर्वेक्षण भएको छैन ।