‘दिवाकरमा संकटमा पनि निरास नहुने अचम्मको साहस थियो’

‘दिवाकरमा संकटमा पनि निरास नहुने अचम्मको साहस थियो’

दिवाकार गोल्छालाई मैले सम्झदा उ मेरो बाल्यकालदेखिकै मित्र हो । विद्यालय भिन्नै भएपनि ट्युसन र अन्य गतिविधि सँगैसँगै हुन्थ्यो । २०२२ सालदेखि सँगै हो । मैले २०२५ सालमा एसएलसी गरेको हो । दिवाकरले एक वर्ष ड्रप गरेर २०२६ सालमा विराटनगरको आदर्श विद्यालयबाट गरे । हाम्रो बाल्यकालका सम्झनादेखि हसी ठट्यौली धेरै हुन्थ्यो । उमेर हुँदा हामी निकै रामाइलो गर्दथ्यौं तर उमेर बढ्दै गएपछि भने हामी उद्योग व्यवसायमा बढी केन्द्रीत भइयो । उनी पनि व्यस्त बने । गोल्छाहरुले चलाएको हनुमान जुट भन्ने थियो । रानी विराटनगरमा निकै ठूलो आगलागी भयो । निकै ठूलो कारोबार हुन्थ्यो जुटको । जुटको निर्यात हुन्थ्यो । त्यत्रो भवितव्य हुँदासमेत बीमा गराउने चलन थिएन ।

ठूलो परिमाणमा जुट नष्ट भयो । आर्थिक हिसाबले गोल्छा हाउस समस्याग्रस्त हुने अवस्था देखियो । घरका सदस्य निरास हुँदासमेत दिवाकर निरास भएनन् । उनीसँग विशिष्ट किसिमको क्षमता थियो । उनको उत्साहमा कमी आएन । जस्तो समस्या आएपनि त्यसलाई सामना गर्न सक्ने र त्यसबाट बाहिर आउन सक्ने ‘इनबिल्ट’ क्षमता दिवाकरमा थियो । त्यो सामान्य मानिसहरुमा हुँदैन ।

मैले गरेको अनुभव पनि हो । आगलागीपछि गोल्छा हाउस आर्थिक हिसाबले कमजोर भएको बेला पनि बिग्रिएकै कामलाई ‘सेपअप’ गर्न उनी लागि परिरहे । आँट छाडेनन् । २०३९ तिर परम्परागत कृषिको व्यापारले मात्र अर्गनाइजेसन अघि बढ्दैन भन्ने सोच दिवाकरमा थियो । उनले सिमरामा हुलास स्टिल खोल्ने योजना बनाएका थिए ।

म पनि वीरगञ्ज पुगेको थिएँ । पटक पटक जाने आउने काम मेरो पनि चलिरहन्थ्यो । सँगै पनि गइन्थ्यो । उनको उद्योग स्थापना गर्नका लागि गइरहन्थे । एउटा कुरा सम्झन्छु । त्यतिबेला करोडको कारोबार गर्नु ठूलो कुरा हुन्थ्यो । म अर्गनाइजेसनको व्यापारलाई अर्बमा पुर्‍याउने योजना दिवाकरको थियो । उनले मलाई भन्थे,‘‘म मेरो व्यापारलाई अर्बमा पुर्‍याउँछु ’’ । आखिर पुर्‍याए पनि । हुलास स्टिलको कारण व्यापार बढेको थियो । त्यस लगत्तै उनले पछाडि हेर्दै हेरेनन् अनि २५ देखि ३० वटा उद्योग स्थापना गराए । एउटा औद्योगिक नायकको रुपमा दिवाकर उभिएका छन् । 

सामाजिक रुपमा भन्दा पनि उनी औद्योगिक गतिविधिमा बढी सक्रिय थिए । म मोरङ व्यापार संघको अध्यक्ष हुँदा उनी उपाध्यक्ष थिए । नेपाल उद्योग वाणिज्य महासंघमा पनि उपाध्यक्ष भएका थिए । तर, बढी राजनीतिक गतिविधि भएकोले त्यहाँ सक्रिय भएनन् । पछि छाडे । उनको फोकस उद्योगमै हुन्थ्यो । विराटनगरबासीले दिवाकरलाई देशको औद्योगिक रुपमा अघि बढाउन गोल्छा अर्गनाइजेसन र दिवाकर गोल्छाको ठूलो योगदान  ।

औद्योगिक धरातल खडा गर्ने काम अविष्मरणीय पनि छ । त्यही रुपमा दिवाकरलाई पनि सम्झनु पर्छ ।  यो हिसाबले पनि उनी बहुआयामिक व्यक्तित्व हुन । उनले त्यतिबेला साधनस्रोत कम भएको अवस्थामा पनि उद्योग क्षेत्रको विकासका लागि दिएको योगदान साँच्चै नै सम्झन लायक छ । म उसलाई साहस भएको सज्जन र एउटा भिजनरी व्यक्तिको रुपमा सम्झन्छु । मैले व्यक्तिगत रुपमा मित्र गुमाए पनि देशले एउटा ठूलो इन्टरप्रेनर गुमाएको छ । 

प्रतिकृया दिनुहोस
ad