चुनावमा प्रतिस्पर्धा गर्नुपर्ने भएपछि अध्यक्ष बन्नुभएन, म अध्यक्ष बन्नुको श्रेय उहाँलाई नै जान्छ

चुनावमा प्रतिस्पर्धा गर्नुपर्ने भएपछि अध्यक्ष बन्नुभएन, म अध्यक्ष बन्नुको श्रेय उहाँलाई नै जान्छ

दिवाकरजीलाई मैले नेपाल उद्योग वाणिज्य महासंघ प्रवेशपछि चिनेको हुँ । मैले उहाँलाई व्यापारभन्दा उद्योगमा लगानी गर्न रुचाउने उद्यमी भनेर चिन्छु । पढाइ सकेपछि उहाँलाई बुबाले उद्योग हेर्ने काम दिनुभयो । सोबेला उहाँले युरोप भ्रमण गरे उद्योगहरु हेर्नुभयो अरे ।
नेपाल फर्केपछि उद्योगमा लगानी गर्न बढी जोड दिने इच्छा प्रकट गर्नुभएको कुरा मलाई सुनाउनुहुन्थ्यो । उद्योगबिना राज्य समृद्ध बन्न नसक्ने बुझेर उहाँ उद्योग स्थापनामा लाग्नुभएको हो । उद्योग स्थापनामा लाग्दा नेपालमा स्टिल मिल, वायर मिल स्थापना गर्न उहाँ लाग्नुभयो ।
नेपाल उद्योग वाणिज्य महासंघमा पनि उहाँले उद्योग क्षेत्र नै हेर्नुभयो । उद्योगका नीतिनियम निर्माण परिमार्जनमा उहाँको ठूलो भूमिका छ । नेपाल भारत व्यापार सन्धीमा उहाँ कडी नै हुनुहुन्थ्यो । सहुलियत भन्सार दरमा भारत प्रवेश गर्ने नेपाली सामग्रीको सूची तयार पार्न उहाँको ठूलो भूमिका छ । महासंघले भारत प्रवेशका लागि ‘सर्टिफिकेट अफ ओरिजिन’ इस्यु गर्ने अधिकार पनि सोही पालामा हो ।

एकमुष्ट रुपमा उहाँ उद्योगमा विश्वास गर्ने व्यवसायी हो । उहाँको परिवारमा समेत मेरो राम्रो सम्बन्ध छ । महासंघमा म छिरेपछि मित्रताका लागि आवश्यक पर्ने गुण उहाँसँग भएको पाएँ । परिवार साँच्चै नै उत्कृष्ट परिवार हो ।
महासंघमा उहाँ धेरै पहिले आएपनि अध्यक्ष बन्न पाउनु भएन । हाम्रो चाहना उहाँ अध्यक्ष बन्नुपर्ने थियो । तर, चुनावी मैदानमा होमिन उहाँ चाहनुभएन । महासंघमा लामो समय सेवा गरेका कारण उहाँ निर्विरोध अध्यक्ष बन्नुपर्ने हामी सबैको धारणा थियो । तर, उहाँले प्रतिस्पर्धा चाहनुभएन ।

जिल्ला–जिल्लामा गएर आफ्नो चर्चा गर्न उहाँको इच्छा थिएन । यसकारण जिल्लाको संघका प्रतिनिधिलाई उहाँ चिन्नुहुँदैन थियो । चण्डी ढकालपछि उहाँ नै अध्यक्ष हुने पालो थियो । तर,  निर्वाचनबाट अध्यक्ष हुन असहज भएपछि उहाँले त्यो बाटो लिन चाहनुभएन ।

सोबेला दिवाकरजीलाई नै निर्विरोध अध्यक्ष बनाउने चर्चा चलिरहेकै थियो तर चण्डीजीले फेरि उठ्ने इच्छा जनाउनुभयो । सोहीकारण उहाँ अध्यक्ष बन्नुभएन । उल्टै मलाई अध्यक्षमा चुनाव लड्न सुझाव दिनुभयो । त्यो आँट भरोसा ममा देख्नुभयो । साथ पनि दिनुभयो । त्यसकारण पनि मैले अध्यक्षको निर्वाचनमा विजयी भएँ । मेरो जितको श्रेय उहाँलाई नै जान्छ ।

म अध्यक्ष बन्नुको पछि उहाँकै हात छ । सायद उहाँपछि म अध्यक्ष हुन्थेँ होला तर उहाँले मलाई ब्याकअप दिनुभयो । म अध्यक्ष बनेपछि पनि उहाँले मलाई समय–समयमा सल्लाह सुझाव दिनुहुन्थ्यो । हामी साथी बन्नुको परिवेश उद्योग नै हो । म पनि उद्योगकै कारण मात्र देशको दीर्घकालीन विकास हुन्छ भन्ने सोच राख्ने मान्छे हुँ ।

महासंघमा दिवाकरजी र मेरो काम उद्योग हेर्ने नै थियो । औद्योगिकरणको उच्चतम बिन्दुमा हामी आइपुगेका छैनौं । तर एउटा व्यक्ति र परिवारले उद्योग विकासमा जेजति गर्नुपर्ने हो उहाँ र गोल्छा परिवारले गरेको छ । दिवाकरजी धेरै समयसम्म काम गर्न सक्ने मान्छे हुनुहुन्थ्यो । मलाई अचम्म लाग्थ्यो । जता जाँदा पनि उद्योगकै कुरा गर्नुहुन्थ्यो । देश विदेश घुमेर पाएको सिकेको अनुभव उहाँ नेपालमा उद्योग स्थापना गर्न परिचालन गर्नुहुन्थ्यो । उपादकत्व विकास गर्ने र राज्यको पहिचान बनाउने काममा उहाँ तल्लीन हुनुहुन्थ्यो ।
उहाँबाट लिने प्रेरणा यही हो ।

नेपाल भारत व्यापार सन्धीबाट नेपाल धेरैभन्दा धेरै लाभान्वित होस् भन्ने उहाँ चाहनुहुन्थ्यो । यसबाट नेपाल ठूलो मात्रामा फाइदा लिन सक्थ्यो । सन्धीमाधि एक्स्प्लोइटेसन हुँदा सन्धीमा उल्लेख वस्तुलाई राम्रो नजरले हेरिएन । त्यो दुःखद् छ । उहाँ यसबारे सँधै सोचिरहनुहुन्थ्यो ।
पछिल्लो समय उहाँलाई नभेटेको धेरै भएको थियो । उहाँ बिरामी हुनुहुन्छ भन्ने थाहा पाएर पनि व्यस्तताका कारण भेट्न जान पाइनँ । यस्तो समाचार सुन्छुजस्तो लागेको थिएन । उहाँको देहवसानले असल मार्गदर्शन गर्ने व्यक्ति गुमाएको महसुस मैले गरेको छु । मृगौला प्रत्यारोपण गर्दा उहाँका देहवसान भयो । तर, नेपालमा नै मृगौला प्रत्यारोपण हुने गरेपनि उहाँ किन भारत जानुभयो भन्ने प्रश्न मेरो छ ।

मैले असल मित्र गुमाएको छु । राज्यले कुशल व्यवसायी र असल राजनेता र स्रोत गुमाएको छ ।
 

प्रतिकृया दिनुहोस
ad