औद्योगिक विकासका खम्बा थिए दिवाकर, अघि बढिरहे कहिल्यै पछि फर्केनन् ...

औद्योगिक विकासका खम्बा थिए दिवाकर, अघि बढिरहे कहिल्यै पछि फर्केनन् ...

विराटनगर । कर्मवीर रामलाल गोल्छाले जुटबाट सुरु गरेको कारोबार फस्टाउँदै आजको गोल्छा अर्गनाइजेसन बनाउन उनका सन्तानले झन् मेहनत गर्नुपर्‍यो । व्यवसायिक घरानाको रुप दिन रामलालका दुई छोरा हंसराज र हुलासचन्दले थपेको इटालाई थप मजबुत पिलर बनाउने काम हंसराजका माइला छोरा दिवाकरले गरे । पारिवारिक मिलन र दिवाकरको औद्योगिक योजनाको जगमा आजको गोल्छा अर्गनाइजेसन उभिएको छ ।

गोल्छा अर्गनाइजेसनका वरिष्ठ उपाध्यक्ष दिवाकर गोल्छाको उपचारको क्रममा भारतको चेन्नईमा ६६ वर्षको उमेरमा मंगलबार राति साढे ११ बजे असामयिक निधन भएको छ । उनी ३० जुलाई १९५३ मा जन्मिएका थिए । उनकी श्रीमती जयश्री गोल्छा र छोराहरु हितेष तथा हिमांशु छन् । परिवारका माइला छोरा दिवाकरले आफ्ना हजुरबुवा स्व. रामलालको कर्मवीरताको पदचिन्ह पच्छ्याउँदै आफ्नो परिवारको औद्योगिक विरासतलाई झन् मजबुत बनाउने काम गरे । विराटनगरको रानीबाट सुरु भएको गोल्छा परिवारको औद्योगिक यात्रा अहिले अन्तर्राष्ट्रियस्तरसम्म पुग्न सफल भएको छ । यसको धेरै श्रेय उनलाई पनि जान्छ ।

दिवाकरले पिता हंसराज र काका हुलासचन्दले स्थापना गरेको गोल्छा अर्गनाइजेसनको सम्वर्द्धन र औद्योगिकरणमा महत्वपूर्ण योगदान दिएका थिए । २०३४ सालमा रानीको हनुमान जुट इण्डष्ट्रिज र हंस राइस मिल आगलागी भयो । सम्पूर्ण रुपमा जलेको उद्योगको क्षति निकै डरलाग्दो थियो । तर, २५ वर्षको उमेरमा कर्मक्षेत्रमा हामफालेका गोल्छाले फेरि आफ्नौ औद्योगिक सोच र योजनालाई अघि बढाउँदै लगे त्यसपछि पछाडि फर्केर हेरेनन् । दिवाकरले दर्जनौँ उद्योग स्थापना गरे  । उनका कान्छा भाई राजकुमार गोल्छाको भनाइमा नेपालमा उद्योग विकास र कृषिमा आधारित उद्योग स्थापनासँगै रोजगारी सिर्जना गराउन दिवाकरको ठूलो योगदान रहन गयो । राजकुमारले भने,‘‘दाजुको दूरदृष्टि र योजनागत प्रयासकै कारण हो आज गोल्छा अर्गनाइजेसन यो अवस्थामा आइपुगेको छ ।’’

दिवाकरले कृषिजन्य उद्योगलाई बढावा दिएर २५ सय मानिसलाई रोजगारी दिलाएका थिए । उनको नेतृत्वमा २४ वटा उद्योग स्थापित भए । हुलास स्टिल, हुलास वायर, अरिहन्त मल्टिफाइवर्स, श्रीराम सुगर मिल्स, इस्टर्न सुगर मिल्स, भुदेव खाद्य उद्योग, धिरज चामल उद्योग, हितेष तेल उद्योग आदि सबैमा उनले नेतृत्वदायी भूमिका निर्वाह गरे । 

छोरी स्वेता गोल्छाको २०५५ सालमा असामयिक निधन भएपछि केही समय दिवाकरको सामान्य दिनचर्यामा निकै असर गर्‍यो । उनलाई सम्हालिन समय लाग्यो तर हिम्मत हारेनन् । छोरी गुमाउनुको पीडाबाट तङ्ग्रिएपछि उनले आफ्नो पुस्तौनी उद्योग धन्दालाई अझ उचाईमा पुर्‍याउन खटिरहे । उनी पहिलो संविधान सभा सदस्य पनि बनेका थिए । सदनमा समेत उद्योगी तथा व्यवसायीको हितका लागि लविङ गरिरहे । नेपाल उद्योग वाणिज्य महासंघको २०५६–०५८ र २०६०–०६२ दुई कार्यकाल उपाध्यक्ष र २०६२–६४ मा प्रथम उपाध्यक्षको जिम्मेवारी सफलतापूर्वक निर्वाह गरे । उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेका शब्दमा गोल्छा विराटनगरका औद्योगिक क्षेत्रमा समेत उनलाई निकै सम्मान दिइन्छ । ‘‘उहाँको कर्मशीलता नै पहिचान थियो,’’ घिमिरेले भने,‘‘विराटनगरले होनहार र एक कर्मयोद्धा गुमाएको छ ।’’ मोरङ व्यापार संघका अध्यक्ष पवनकुमार सारडाले गोल्छाको निधनले औद्योगिक क्षेत्रलाई निकै ठूलो क्षति भएको बताए । 

किड्नी ट्रान्सप्लान्ट भएको दुई सातामै उनको निधन हुन पुग्यो । चैत २८ गते बिहीबार पशुपति आर्यघाटमा अन्तिम संस्कार हुने पारिवारिक स्रोतले जनाएको छ । 

प्रतिकृया दिनुहोस
ad