असाधारण ‘छिरिङ’: खप्तडमा गल्फकोर्स बनाउने सपना अधुरै !

असाधारण ‘छिरिङ’: खप्तडमा गल्फकोर्स बनाउने सपना अधुरै !

मैले  छिरिङलाई चिनेको २० वर्ष भयो, उसको कुनै पनि क्रियाकलाप सामान्य व्यक्तिको जस्तो थिएन । अत्यन्त असाधारण, विषम परिस्थितिलाई ह्यान्डल गर्न सक्ने व्यक्तित्व हो, आङछिरिङ । हामी उसलाई छिरिङ भन्थ्यौं ।

उसको कुनै प्रकृति साधारण मानिससँग मिल्दैन थियो । उसले हरेक व्यवसायी, व्यक्ति, समाज र देशलाई हेर्ने प्रकृति एकदमै भिन्न थियो । कुनै निर्णय लिन, काममा, सोच्ने प्रक्रियामा उसको राष्ट्र, राष्ट्रलाई हुने फाइदा, खेलकुदको विकास, पर्यटन पहिलो प्राथमिकतामा पर्थ्यो । ऊ नेपालमा हुने सबै काम नेपालीले नै गर्नुपर्छ भन्ने सोच राख्थ्यो । तसर्थ उसलाई एक दुईवटा घटनाबाट सम्झिन सकिँदैन ।

मेरो २० वर्षे मित्रतामा उसलाई कदापि तनावमा पाइनँ । बिसौं, तिसौं कम्पनी चलाइरहेको र अरु सोही संख्यामा व्यवसाय पाइपलाइनमा रहेको मान्छेले कहिले तनावमा काम गरेको देखिनँ । यो साधारणपन हो र ?

यही लयमा आफ्नो संस्थाको पनि राम्रो व्यवसाय हुनुपर्छ भनेर सोच्ने व्यक्ति हो, छिरिङ ।

मैले गल्फ खेल्न सुरु गरेपछि गल्फ कोर्समै छिरिङलाई चिनेको हुँ । गल्फमा ऊ अत्यन्त सफल र मिहिनेती खेलाडी हो । छिरिङ एक वर्षमै सिंगल ह्यान्डिक्याप भएको हो । साधारण व्यक्ति त्यस्तो हुनै सक्दैन ।

गल्फका कारण हाम्रो चिनजान भयो, ऊ मलाई दाजु भन्थ्यो भने उसलाई म भाइ भन्थें, नामले पनि बोलाउँदैनथ्यौंं हामी एकअर्कालाई ।

कतिपय प्रतियोगिता हामी सँगै खेलेका छौं । एउटा सानो कलले मान्छेले खेल बिगार्छ, तर ऊ यसको अपवाद थियो । सुरुदेखि अन्त्यसम्म फोनमा कुरा गरेर खेल्न सक्थ्यो । एउटा सट बिग्रिए रिकभरि गर्न सबैलाई गाह्रो हुन्थ्यो, तर ऊ प्रोफेसनल झैं खेल्थ्यो । ऊसलाई फरक पर्दैनथ्यो । ऊ हुनसक्ने बेस्ट सट निकाल्न सक्थ्यो ।

तसर्थ, उसलाई एउटा वाक्यमा सम्झिन सक्दिनँ । २० वर्षको सम्बन्धमा उसका केही कुरा नेगेटिभ देखिनँ । कुनै कुरालाई सहज रुपमा समाधान समाधान गर्न सक्ने व्यक्ति थियो, ऊ । उसको व्यवसाय ट्राभल, ट्रेड र पर्यटनबाट सुरु भएको हो । नेपालमा माओवादी द्वन्द्वकाल उत्कर्षमा पुगेको अवस्थामा पनि उसले हिम्मत हारेको थिएन । उसले उल्टै मसँग गोकर्ण गल्फ कोर्स किन्ने कुरा गर्यो । डामाडोल भइसकेको गल्फ व्यवसाय ऊ एक्वायर गर्न चाहन्थ्यो । र, उसले त्यो लिएर चलायो । यो उसको व्यवसायको नजरले मात्र सम्भव थिएन । खेलसँगको प्रमेकै कारण उसले यसो गरेको हो ।

गोकर्ण नेपालको एकमात्र १८ होल भएको गल्फकोर्स भएका कारण यसलाई मर्न दिन नहुने उसको सोच थियो । देशलाई चिनाउन सकिने भेन्यू भएका कारण र यसबाट व्यवसाय पनि गर्न सकिने भएका कारण ऊ यो कोर्स किन्न चाहन्थ्यो । जतिसुकै विषम परिस्थिति ह्यान्डल गर्न सकिने ऊ सोच राख्दथ्यो । यो सोच नै असामान्य हो ।

मैले ऊसँग स्नुकर खेल्न पाइनँ । तर, अन्नपूर्ण होटलमा बिहानदेखि बेलुकासम्म स्नुकर खेल्न सक्थ्यो ऊ, खेल्नेमात्र होइन, सबैभन्दा उत्कृष्ट थियो ऊ । विषम परिस्थितिमा पूर्ण ध्यान केन्द्रित गरी उच्चतम प्रतिफल निकाल्ने क्षमता उसमा थियो । मैले भाइजस्तो मित्र गुमाएँ, आज राष्ट्रले आकलन गर्न नसकिने अपुरणीय क्षति बेहोरेको छ ।

लो प्रोफाइलमा बस्न चाहने

उसको ट्रेकिङ व्यवसायमा प्रोफाइल हाइ गर्न जरुरत थिएन । साधारणपना उसको सामथ्र्य बन्यो । सोच्ने प्रक्रिया, निर्णय लिने क्षमता र सिचुएसन ह्यान्डल गर्ने क्षमता उच्च थियो उसमा, बाहिरी आवरण र भेषभुषामा ध्यान थिएन उसमा ।

तर, उसको पब्क्लिक रिलेसन प्रोफाइन नेपालमा एक नम्बरमा थियो, यसमा शंका थिएन । म मित्र भएपनि त्यहाँ भित्र छिर्ने प्रयास गरिनँ ।  ठूलो पीआर भएको पुष्टि उसको शवयात्रामा देखिएको जनलहरले प्रमाणित गर्दछ । म ऊ दिवंगत भएको दिनदेखि उसको घर नियमित गएको छु । त्यहाँ आउने मान्छे छिरिङलाई नजिकबाट चिन्नेदेखि कहिल्यै नचिनेका पनि छन् । सरकारी कर्मचारी, कूटनीतिज्ञ, नेतासम्म उसको घर आएको देख्दा छिरिङप्रति समाजको प्रेम मलाई छर्लंगै हुने गरेको छ ।

ती मान्छे उसले भेटेका मात्र छैनन्, भित्रबाट आदर गरेका मान्छेमात्र थिएनन् । ४ वर्षअघि भेटेको र व्यक्तिव्य कदर आउनेको संख्या सयौं थियो ।  त्यति मान्छे कमाउनका कारण उसको सकारात्मक सोचमात्रै हो । 

गल्फ कोर्सभित्र आङछिरिङको सपना

एभरेस्ट बेसक्याम्प नजिक कोङ्दे भन्ने एउटा होटल छ । त्यहाँ उसले बल र गल्फको १ नम्बर उड, ड्राइभर लिएर गएको रहेछ । ५ हजार मिटरको उचाइमा उसलाई गल्फ खेल्न मन लागेछ । त्यसबेला रोयटर्सका गोपाल चित्रकार सँगै गएका रहेछन् । बिनायोजना चित्रकारले छिरिङले सट हानेको फोटो खिचेछन्, त्यो फोटो एमदम हिट भएछ । संसारका अधिकांश ठूला दैनिकको हेडलाइन बनेछ सो फाटो । यो फोटोमा टाइगर उड्सको इनक्वाइरी आएछ । सो बेला उड्स उच्च फर्ममा थिए । यही फोटोका कारण उड्स र छिरिङबीच सम्बन्ध स्थापित भयो । यसपछि हामीले टाइगर उड्सलाई एउटा प्रस्ताव पठायौं । हाम्रो प्रस्तावअनुसार उड्स नेपाल आउन तयार देखिए । योजना बमोजिम एउटा प्रतियोगिता खेल्ने जसमा १७ होल गोकर्णमा खेल्ने र अठारौं होल कोङ्देमा अस्थायी होल बनाएर खेल्न कुरा भयो ।

यसमा टाइगर उड्स सकारात्मक देखिए । त्यो रेस्पोन्स टाइगर उड्सको प्रेमसम्बन्धी स्क्यान्डलले अवरोध पुर्यायो । उड्स अन्डरग्राउन्ड भएपछि छिरिङको योजना स्क्राप भएको थियो । एउटा हातबाट फुस्किसकेको प्रतियोगितामा कमब्याक गर्न सफल बनेको थियो ऊ । मैले सोचेको थिइनँ । ६ ओभर खेलेको मान्छे ब्याकनाइनमा ३ अन्डर खेलेर प्रतियोगिता जितेको अहिलेसम्म देखेको छैन मैले । अन्तिम अवस्थामा पनि गेम छोड्न नहुने कुरा ऊ सिकाउँथ्यो ।

गल्फ टुरिज्मलाई हाइटमा पुर्याउने सपना

गल्फ पर्यटनाई हाइटमा पुर्याउने सपनामा हामीले काम गर्न पाएनौं । अरु विभिन्न व्यवसायका समस्या समाधान गर्दागर्दै यसलाई साकार बनाउनै सकेन । नेपालको गल्फ प्रोमोट गर्नुपर्ने थाइल्यान्ड, कोरिया, जापान, चीन र सिंगापुरमा हो । यी देशमा गल्फ खेल एकदमै प्राथमिकतामा छ । कोरिया र जापानमा त तीन–पाँच महिना गल्फ खेल्नै सकिँदैन ।

तर, यहाँ १२ महिना नै खेल्ने मौसम छ । मैले उसलाई यही सुझाव दिन्थें । ऊ पनि भन्थ्यो, “दाइ, हामीले गर्नुपर्ने नै यही हो ।” तर यो सम्भव हुन सकेन । यही विषयमा उसको एउटा सपना थियो । ‘हाई–इन्ड’ टुरिजम विकास गर्नुपर्नेमा उसको जोड थियो । ठमेल आउने १–२ लाख खर्च गर्ने पर्यटन विकासमा ऊ धेरै बल दिँदैनथ्यो । ऊ चाहन्थ्यो, पर्यटक नेपाल आउन् र ठूलो धनरासी खर्च गरेर जाउन् । हुन पनि उसको कम्पनीबाट आउने पर्यटकको स्तर माथिल्लो हुन्थ्यो ।

“बिडम्बना के छ भने, २–४ वटा पर्यटन गन्तव्य भएका सिंगापुर, थाइल्यान्डमा लाखौं पर्यटक जान्छन् । थोरै सपिङ, खाना, हस्पिटालिटी, इन्टरटेनमेन्ट ट्रेड दिँदा ती साना टापुमा लाखौं पर्यटक जान्छन् । तर, यहाँ टोलटोलमा पर्यटन गन्तव्य छन् । एउटा पोखरीलाई बेरबार पारेर पर्यटकीय गन्तव्य सिर्जना गर्न सकिन्छ,” ऊ भन्थ्यो । पशुपति, बौद्ध, सगरमाथा, रारा गर्दै जोड्दै जानुस् कैयौं भन्छन् । अरु देशमा त्यस्ता साइट औंलामा गनेर भ्याउनेमात्रै छन् ।

नभन्दै एकदिन उसले मलाई एउटा सपना सुनायो । गल्फको कुरा जोड्दै ऊ मलाई भन्थ्यो, “दाइ, कोर्स नै बनाउनु नपर्ने ठाउँ नेपालमा रहेछ, खप्तड ।” हो, छिमेकी देश भारतमा जहाँ गल्फ कोर्सको अभाव छ । जहाँ सप्ताहन्तमा बुकिङ खुलेको २ मिनेटमा कोर्स प्याक हुन्थे, ती अवसरलाई ऊ क्यापिटलाइज गर्न चाहन्थ्यो । खप्तड सोही अवसरको उत्कृष्ट विकल्प थियो । अलिकति हरियाली मिलाए प्राकृतिक गल्फ कोर्स बन्न सक्छ, ऊ यही अवसर ग्र्याब गर्न चाहन्थ्यो । यस्तो युनिक किसिमको गल्फ कोर्स बनाउन ऊ आफैं त्यहाँको सरकारसँग कुरा गर्न तम्सिएको थियो, “उनीहरु सकारात्मक छन्, त्यो गरौं” ऊ भन्थ्यो ।

असाधारण क्षमताको धनी

उसको भिजन असाधारण थियो । यसो केही भट्टायो कि बिजनेस गरौं सोचिहाल्थ्यो । केहीले अवरोध गर्ला कि भन्नेमा ऊ सोच्दैनथ्यो । ऊ भन्थ्यो, “उचित वातावरण आफैं मिलाउने हो ।”

सम्झँदै जाँदा उसका राम्रो धेरै कुरा खोतल्न सकिन्छ । तर, उसको सोच नै यो देशलाई उचित पर्यटकीय गन्तव्य कसरी बनाउन सकिन्छ भन्ने थियो । हामी रमाइलो कुरा गथ्र्यौं, सकारात्मक सोचको ऊर्जा उसबाट लिन्थ्यौं । उसको स्किल सिक्थ्यौं । किनकी स–साना अवरोधलाई ऊ समस्या मान्दैनथ्यो । एउटा दुर्घटनामा परेर उसको खुट्टामा समस्या आउँथ्यो । तर, ऊ खुट्टा केही भएको छैन जसरी खेल्थ्यो । हरेक खेलपछि थेरापी गर्नुपर्ने बाध्यताबाट माथि उठेर ऊ आफूलाई सबैको सामु अब्बल प्रस्तुत गथ्र्यो ।

आफ्नो समस्यालाई एकदिन पनि हाइलाइट गरेन । कुनै कमजोरी एक्स्प्रेस गरेन, जस्तोसुकै अफ्ठेरो पनि उसलाई सामान्य हुन्थ्यो । उसको असाधारण क्षमतामा इँटा थपिने अर्को गुण हो, फोन नम्बर सम्झिन सक्ने असाधारण क्षमता । ऊ कसैको फोन नम्बर सेभ गर्दैनथ्यो । जसको फोन पनि ऊ बटन थिचेरै डायल गथ्र्यो । उसलाई हजारौं नम्बर कण्ठस्थ हुन्थ्यो । उसलाई हरेक ठाउँका मान्छे आफ्ना कर्मचारीको नाम, पोस्ट र टेलिफोन नम्बर कण्ठ थियो ।

एउटा दिमागका त्यति धेरै कुरा अकुमुलेट गर्न सक्ने भएकाले मलाई लाग्दथ्यो उसको दिमागको गुणस्तर नै अर्को थियो । उसको एकेडेमिक क्वालिफिकेसन मलाई ज्ञान छैन । विकट स्थानमा बसेको, विषम परिस्थितिमा हुर्केकाले उसले औपचारिक शिक्षा लिन पाएन ।

तर, उसको कम्युनिकेसन क्वालिटी एकदमै उच्चकोटीको थियो । नेपाली वा अंग्रजी दुवै भाषामा उसको राम्रो कमान्ड थियो । शब्द चयन, फ्रेज चयन उसको अतुलनीय थियो, ऊ उत्तिकै ह्युमरस थियो । यो उसले कहाँ सिक्यो, मलाई थाहा छैन । बौद्धिक स्तरमा एकदमै अब्बल थियो ऊ ।

अटोमोबाइल, हेभि इक्युपमेन्ट व्यापारी तथा आङछिरिङ शेर्पाका सबैभन्दा नजिकका साथी । कन्टिनेन्टल समूहका अध्यक्ष सहृत घिमिरेसँग बाह्रखरीले गरेको कुराकानीका आधारमा  

प्रतिकृया दिनुहोस
ad